मध्यपहाडी लोकमार्गबाट झरेको बाढीले गलकोटमा बगर भयो खेत

डिसी नेपाल
२६ भदौ २०७९ १७:३७

बागलुङ । लगातारको वर्षात्का कारण आएको बाढीले बागलुङको गलकोट क्षेत्रमा किसानको खेतबारी बगाएर बगर बनाएको छ । खेतबारी बगाउँदा किसानको करोडौँको बालीनाली नष्ट भएको छ ।

गत असारमा आएको बाढीबाट पशुचौपाया बगाए क्षति र्‍यएको थियो । त्यसको एक सातामा आएको बाढी पहिराले दुई सय रोपनी बढी जमिन बगर बनाएको स्थानीय पीडितले गुनासो गरे । बाढीपछिको पहिरोले किसानको घरगोठ बगाउँदा पशु चौपायाकोसमेत क्षति भएको छ ।

मध्यपहाडी लोकमार्गमा व्यवस्थित नाली नभएकाले सडकमै बगेको पानीले बाढीको रुप लिएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।

उक्त बाढीले सडक र खेतीमा व्यापक क्षति पुगेको हो । दर्जनौँ स्थानमा खसेका पहिरोले किसानको धानबाली नष्ट भएको छ । नरेठाँटीस्थित धँैसेमारे भन्ने स्थानमा मध्यपहाडी लोकमार्गबाट खसेको पहिरो र नालीको बाढीले दुई सय रोपनी जमिन बगर बनाएको हो । गत असारमा रोपेको धान सबै नष्ट भएको र तत्काल मर्मत गर्न नसकिने गरी खेत सबै बगर बनाएको किसानले गुनासो गरे ।

काठेखोला गाउँपालिका–५ को बिहुँदेखि गलकोट नगरतर्फको सबै सडकमा बग्ने पानीले बाढीको रुप लिँदा सडकका विभिन्न स्थानमा ठूलठूला पहिरो पनि खसेका छन् ।

नाली व्यवस्थापन नगरेकै कारण वडा नंं १ को झाँक्रीस्थान, काफलढुटा र रगेनीलगायतका स्थानमा घुम्ती नै खसेका छन् । मध्यपहाडी लोकमार्गले गत वर्ष नै रु ५० करोड बढी रकम विनियोजन गरेर नाली र घुम्ती व्यवस्थापन गर्ने काम ढिला गरिँदा सडक छियाँछियाँ भएको हो ।

समयमा धान रोप्न नपाए पनि जसोतसो रोपेको धानखेती सबै बगाएको स्थानीय यामबहादुर भण्डारीले गुनासो गरे । “खेत बगाएको मात्र छैन, बगर बनेको छ”, उनले भने, “वर्षातभर दुःख गरेर रोपियो अहिले सबै नष्ट भयो ।” जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सारेर राखिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा आउन नसकेको र पैदलयात्रासमेत कठिन रहेको स्थानीय विष्णु विश्वकर्माले बताए । वर्षाकै कारण मध्यपहाडी लोकमार्गको बागलुङदेखि हटियासम्मको ४५ किमी सडक छियाछिया भएको छ । वर्षात्कै कारण कालोपत्र तयारी भएको दुई सय ५० मिटर सडक बग्दा गत वर्षको झण्डै रु दुई करोड लगानी खेर गएको वडा नंं ४ का अध्यक्ष बलबहादुर खत्रीले बताए ।

केही समयअघिको वर्षात्ले भत्केको तोरी खोलादेखि ठाना जाने सडक, तथा घामपानी जाने सडकसमेत अझै बन्न सकेको छैन । ती सडकमा सवारी चल्न नसक्दा स्थानीय दैनिक उपभोग्य सामान बोकेरै लैजान बाध्य छन् । बाढीपीडितको राहतका लागि नगरपालिकाले सामान्य राहत दिने योजना बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *