चैत १५ भित्र योजना सम्पन्न गर्ने ऐसेलुखर्कको निर्णय
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालु आर्थिक वर्षको विभिन्न शिर्षकमा विनियोजित बजेट तथा योजना चैत १५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको १० औं बैठकले आर्थिक वर्ष २०७९\०८० मा सञ्चालन हुने योजना चैत १५ गतेभित्र सम्पन्न गर्नेरगराउने निर्णय गरेको हो ।
विगतका वर्षहरुमा समयमा उपभोक्ता समिति गठन नगर्ने, बेलामा सम्झौता नगर्ने तथा असार मसान्तमा हतारका काम सक्ने समस्या देखिएकाले चालु आर्थिक वर्षदेखि कात्तिक १५ गतेसम्ममा उपभोक्ता समिति गठन गरिसक्ने र मंसिर मसान्तभित्र सम्झौता गरिसक्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।
‘विगतका वर्ष अधिकांश ठूला तथा साना योजनाहरुको उपभोक्ता समिति गठन, सम्झौता तथा फरफारकको लागि आर्थिक वर्षको अन्तिममा तछाड–मछाड हुने गरेको देखिएको थियो,’ प्रवक्ता राजभण्डारीले भने, ‘बिल भरपाई मिलाउन हम्मेहम्मे परेको, पालिकाले कामको लोड थाम्न नसकेर रातरात काम गर्नु परेको तथा चुस्त दुरुस्त काम नभएको आंकलन सहित यो वर्ष समयमा नै काम सक्ने गरी तयारी गरिएको हो ।’
वर्षान्तमा काम गर्ने परिपाटीले दिगो विकास र पूर्वाधार निर्माण हुन नसकेको तथा विकासको नाममा विनाश भएको गाउँपालिकाको निष्कर्ष छ । राज्यले विकास निर्माणका लागि करोडौं लगानी गरेपनि समयमा काम नहुँदा बालुवामा पानी हाले सरह भइरहेको गाउँपालिकाले जनाएको छ ।
Facebook Comment