म्याग्दीको गुर्जामा असोजमै हिमपात

गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ ।विगतका वर्षमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएपछि स्थानीयवासी चिन्तित भएका छन् ।
विगत चार दिनदेखि भएको निरन्तर वर्षा अझै रोकिएको छैन । वर्षासँगै हिमपात भएपछि गुर्जाका लेकाली क्षेत्र सेताम्यै भएर अत्यधिक चिसो बढेपछि स्थानीयवासीलाई सास्ती भएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
धवलागिरि गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका छन्त्यालले आफू जान्ने भएदेखि असोजमा कहिल्यै पनि हिमपात भएको थाहा नपाएको बताए । हिमपातका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका र पशु चौपायालाई सास्ती भएको छन्त्यालले जानकारी दिए ।
विगतमा हिमपात हुँदा खुसी हुने किसान यस वर्ष भने असोजमा नै हिमपात भएकाले चिन्तित छन् । हिमपातले खेतीबालीलाई राम्रो हुने भए पनि यस वर्ष खेतीबाली लगाउने समय अगाडि नै हिमपात भएकाले किसान चिन्तित भएका हुन् । समुद्री सतहबाट तीन हजार तीन सय २० मिटर उचाइमा अवस्थित गुर्जामा बाक्लो हिउँ परेको छन्त्यालले जानकारी दिनुभयो । यसैगरी मनाङको उच्च लेकाली क्षेत्रमा पनि हिमपात भएको छ ।
Facebook Comment