गद्य कविता : दशैँ

बालकुमरी घिमिरे गजलिका
२२ असोज २०७९ १०:११

शरद्को पहारिलो
घाम लाग्न थाल्यो
खेतका गरामा
धानका बाला
झुल्न थाले

बारीका गरामा
कोदाका बाला
फुल्न थाले

आँगनको
एक छेउमा
मकैको
थाङ्ग्रो ठडियो

घरका पेटीहरू
टाल्दै छु
युवा
युवतीहरू मिलेर
गाउँका गोरेटा
बाटाहरू
मर्मत गर्दैछन्

पल्लो डाँडामा
रोटे

लिङ्गे पिङ्
हाल्ने`रे
यसपाली पनि
हिजो
बाबियो बटुल्दै
आएका थिए
ठिटाहरू

दश पाथी धान
उमालेको छु
ठुलो खड्कुलोमा
चन्द्र प्रधान
काका आउनु हुन्छ
आज राति
चिउरा कुट्नलाई

चनौटेबाट
रातो माटो पनि
ल्याई सकें नि मैले
घर पोत्नलाई

जमरा
पहेंलै भएका छन्

याँग्गेटारबाट
एक घरी
चिनी चम्पा
केरा ल्याएर
पकाउन
हालेको छु
भकारीमा
तर
तिमी छैनौ
यो सालको
दसैँ पनि
नुन नपुगेको
तिहुन् जस्तै त
हुने भो नि नानी ?
आमाले
भक्कानिदै भन्नु भयो

एक छिन् रोकिएर
पुन:
पहिला पहिला त
कस्तो रमाइलो हुन्थ्यो
दसैँ
तिमीले अघिल्लै दिन
पाँच भारी घाँस काटेर
माच भरी खात लगाउँथ्यौ
घरको सरसफाइ
लिपपोत गर्थ्यौ
पाहुनापाछा धान्थ्यौ
सामलतुमलको
जोहो गर्थ्यौं
आमा !
तिमीलाई
गाह्रो हुन्छ
सक्ने मात्र गर्नु है भन्थ्यौ
तर
खै
कसले भन्छ र
छोरी!मलाई
आमा
सक्दिनस् भनेर
अहिले
साहारा छैन
यसो अह्राइ कराइ गर्ने
कोही छैन
तिमी विदेश गइहाल्यौ
अब त म
मरें भनें पनि
आउन मिल्दैन होला है
छोरी?

पल्लो घर
भरिएको छपरिवारले
अरू बेला
बुढाबुढी मात्रै भए पनि
चाडबाडमा
एकै ठाउँमा भेला हुन्छन्
सपरिवार
रमाइलो गर्छन्
पालै पालो
माइत मामल जान्छन्
दसैँमा!

के गर्नु र छोरी!
आफ्नू त
कर्मै यस्तो
बुढेसकालको
सहारा होला भनेर
ठानेको थिएँ
पढ्छु भनेर विदेश गयौ
उतै हरायौ
अब त फर्केर आउँछ्यौ वा
आउँदिनौ
आश पनि मर्‍यो

यो दसैँ
नआइदिए पनि त
हुन्थ्यो नि
जस्तो लाग्छ

आमाका
विलौनाले
मन अमिलो भयो
म सुनी मात्रै रहेँ
हुन पनि त हो
त्यति दु:ख गरेर
सावाँ अक्षर
चिनाउनु भयो
अब उहाँलाई
सहारा चाहिएको बेला
म भने
धेरै टाढा छु
बाध्यताले

घर गाउँमै रम्ने मन
नभएको होइन
मलाई पनि
अहिल्यै घर
फर्किन मन लाग्छ
तर म चाहेर पनि
फर्कन सक्दिन
मैले आमाका विलौना
सुन्न बाहेक
अरू कुनै
विकल्प छैन
म बाँधिएको छु
यहाँको कानुनको
साङ्लोले
यहाँको नीतिनियमले

परिबन्धले
घर गइहाले पनि
म फर्केर आउन सक्दिन
मेरा लागि सबै
द्वार बन्द हुन्छन्
फर्केर जाऊँ
उता
केही अवसर छैन
मेरो योग्यताको
कदर हुँदैन

मेरा
आफन्तहरू
ठाउँमा छैनन्
दुख्छ मन
आफ्नो जन्म भूमिको
वास्तविकता देखेर
लाग्छ पिर
पुर्खाहरूको
उपहास गरिएको देखेर
हुन त म मात्रै होइन
लाखौँ लाख
मजस्ता
युवा युवतीको
उस्तै छ हाल
परदेशमा

छ मेरो
ज्यान विदेशमा
तर
घरीघरी धड्किने
धड्कन
गाउँ घरतिरै हुन्छ
झन् दसैँ
आए पछि त
बालपनको यादले
मस्तिष्कमा
डेरा जमाउँछ
राता अक्षता

पहेंला जमराले
शिर
सजिएको
याद आउँछ

आमा
र बाबाको
हात समाउँदै
नयाँ नाना लगाएर
रमाउँदै
आफन्त
र मान्य जनको
घरमा
टीका थापी
दक्षिणा गनेको
दिनको
झल्कोले
फेरि तिनै दिनमा पुर्‍याउँछ
मलाई
दशैँमा

हरेक वर्ष
टीकाको दिन
साथीसँगी
भेला भएर
टोल टोलमा
घुम्दै भए भरका
पिङ् खेलेर
रमाइलो गरिन्थ्यो
धर्ती छोडिन्थ्यो
ती दिनले
हरेक पल
सताउँ छ
लाग्छ
अहिल्यै जाऊँ
छन् छन् चुरी बजाउँदै
पस्किएर दिएको
ढिँडो खाऊँ
तिनै हातले
जयन्ती मङ्गला कालि..,भन्दै
राता अक्षता

पहेँला जमराले
शिर सजाऊँ

पोल्टाको
थैलीबाट झिकेर दिएको
पाँच रूपैँयाको
नोट समाउँदै
खुशीले उफ्रदै
मझेरीमा नाचौँ
पहिलाजस्तै
दशैँमा!!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *