उम्मेदवार मनोनयन, आचारसंहितामा सर्वपक्षीय छलफल

गण्डकी । प्रदेश निर्वाचन कार्यालय, पोखराको आयोजनामा आज कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार मनोनयन प्रक्रिया, निर्वाचन आचारसंहितालगायत विषयमा सर्वपक्षीय छलफल भएको छ ।
छलफलमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
छलफलमा मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने विषयमा निर्वाचन आयोग दृढताका साथ लाग्ने बताउँदै यसका लागि सबैले आआफ्नोतर्फबाट इमान्दार सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवारका लागि चाहिने योग्यताबारे उल्लेख गर्दै उम्मेदवारी दर्ताका विधि र प्रक्रिया सम्बन्धमा जानकारी गराए ।
निर्वाचनका लागि आयोगले खर्चको सीमा निर्धारण गरेको जानकारी दिँदै पराजुलीले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १, २ र ३ का उम्मेदवारका लागि क्रमशः २९ लाख, २७ लाख र ३१ लाख रुपैयाँ खर्च सीमा तोकिएको बताए ।
उनका अनुसार प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नं १ (क) र (ख) का उम्मेदवारका लागि क्रमशः १७ र १५ लाख रुपैयाँ खर्च सिमा तोकिएको छ भने क्षेत्र नं २ (क) र (ख) का उम्मेदवारका लागि १५र१५ लाख रुपैयाँ तोकिएको छ । क्षेत्र नं ३(क) र (ख)का लागि १९र१९ लाख रुपैयाँ तोकिएको छ ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सुरक्षालगायतको उचित प्रबन्ध गराइने बताउँदै सबै राजनीतिक दलको साथ सहयोग मिल्ले विश्वास व्यक्त गरे । उक्त अवसरमा राजनीतिक दल, सञ्चारकर्मी लगायतले आचारसंहिता, त्यसकोे कार्यान्वयनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
Facebook Comment