गरम प्रधानमन्त्रीको नरम पुस्तक

राजाहरुको मृत्युदेखि माओवादीको फैलावटसम्म

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको “मेरो नौ दशक” पुस्तक बजारमा आयो। म हतार हतार पुस्तक किन्न भोटाहिटी पुगेँ।

टिका नभएको दशैको ३ दिनमा ३७७ पृष्ठ ध्यानपूर्वक अध्ययन गरेँ। सोही पुस्तकबाट प्राप्त ज्ञान र पाठ सेयर गर्न यो आलेख पस्किएको छु।

यो पुस्तकप्रतिको मेरो आशक्ति

संयोगले द्वन्द्वकालमा मैले तत्कालीन उहाँलगायत धेरै पूर्वप्रधानमन्त्रीहरुको सुरक्षा थ्रेट, निवास तथा कार्यालयको सुरक्षा अवस्था अवलोकन, मूल्यांकन र सुधार गरिदिने संबेदनशील जिम्मेवारी पाएको थिएँ। परिचय र सुरक्षा ब्रिफिङका क्रममा पूर्वप्रम थापा र उपाध्यक्ष डा. तुलसी गिरीसँग लामो अनौपचारिक कुराकानी भयो।

दुबैजना सेना परिचालन गरेर माओबादीलाई शीघ्र निमिट्यान्न पार्नुपर्दछ भन्ने हार्डलाइनर्स। उहाँहरुमाथि चौतर्फी थ्रेट चुलिएको थियो। किनभने सबै पूर्व पिएमहरुको भूमिगत माओवादीसँग सम्पर्क सूत्र थियो। सघन उठ्बस् थियो।

प्रतिशपर्धी, बिरोधीलाई अन्तर्घात, धम्की, चन्दा, अपहरण, बमप्रहार, सफाया गर्नलाई सबैले राजधानीमा माओवादीलाई रकम बोलकबोल गरेर उपयोग गर्दथे। प्रायः सबैसँग उक्त गुप्त प्रयोजनको लागि स्याटेलाईट् फोन र पृथक ल्याण्डलाइन थिए।

पिएमहरुले बिरोधीलाई पदच्युत गर्न र आफू सत्तारोहण हुन जबर्जस्ती राजीनामा, हस्ताक्षर संकलन, सांसद किनबेच र अपहरण गर्न गराउन माओवादीलाई खुलेयाम परिचालन र प्रयोग गरे। पछि पिएमहरुलाई डिपिएमहरुले उछिने। त्यसपछि “र” निकट मन्त्री र सांसदले।

मैले यो पुस्तकका लेखकलाई स्पष्ट आग्रह गरेँ-“नेपाल बिदेशी जासुुसहरुको मुख्यालय कहिले सम्म भैरहने? राजनीतिक अस्थिरता र थिचोमिचो पेलाई हेपाईको सिकार कतिञ्जेल भइरहने? बिगत र बर्तमानको भोगाई अनुभव, भावी चुनौती र समाधानको उपाय समावेश गरेर पुस्तक लेखिदिनुपर्‍यो। त्यो मातृभूमिलाई उपहार हुनेछ। भावी पुस्ता र नेतृत्वलाई रामबाण नै होला।

पुस्तकले बोलोस् हाम्रा साशक किन यति धेरै हेपिन्छन् पेलिन्छन् खेलाइन्छन् फेरिन्छन् र हिनताबोधमा बाँच्न बाध्य छन्? कसको हातमा छ हाम्रो स्वतन्त्रता र भबिष्य निर्धारणको चावी? कि सानो मुलुकको नियति नै यस्तै हो? नभन्दै ढिलो भएपनि पुस्तक आयो। मैले पुस्तकमा मेरा तिनै जिज्ञाशाको उत्तर खोजिरहेँ।

राजनीतिक महाजात्राको नेपाल खाल्डो

झण्डै पौने १ शताब्दि एकीकरण अभियानमा बित्यो। पूरै मुलुक र मुलुकबासी त्यही महायज्ञमा होमिए। गोर्खालीको बहादुरी प्रथम र दोश्रो बिश्वयुद्धमा ब्याटलटेस्टेड् ब्याटलप्रुफ छँदै थियो।

नेपाल अधिराज्यको रक्षा पुर्खाले खुँडा खुकुरी ढुंगा सिस्नो अरिङ्गालको भरमा गरेर बिश्वलाई चकित पारेकै थिए। जंगबहादुर राणाको हिम्मत र बहादुरी अद्वितीय थियो। १०४ बर्षसम्म न एनजिओ आइएनजिओ। न बिदेशी हस्तक्षेप र क्रिडास्थल।

मुलुकी ऐन निर्माण, सीमा ब्यबस्थापन, सेनाको आधुनिकीकरण, दरबार हाईस्कूल लगायत शिक्षाको जग बसाउने काम, युरोपियन शैलीका भवनहरु निर्माण, जनगणनाको थालनी, नापिनक्सा प्रारम्भ, छापाखाना स्थापना, सतीप्रथा उन्मुलन, नेपाललाई बिश्व समुदाय सामु चिनाउने कामको जस राणा साशकहरुलाई दिन किन कञ्जुस्याई भएको होला? कति धेरै पूर्वाग्रह र प्रतिशोध? बिखण्डनको बिजारोपण। पूँजिको ब्यापक पलायन।

फितलो र कमजोर उनको साशनसत्ताको फाईदा उठाएर स्वदेशी विदेशी षड्यन्त्रद्वारा उनको बंशनास भयो। ती राजनेताको सुधारप्रेम, प्रजातन्त्रप्रेज, बिकासप्रेम, जनताप्रेम, राष्ट्रप्रेम अद्वितीय थियो । जुन अतिबाद र बिस्तारबादलाई पचेन। राजा ज्ञानेन्द्रले राजकाज छन्द नै जानेनन्। न आन्तरिक र बाह्य हावालाई सुँघ्न सके। न इण्टेलिजेन्स, न पितापथ न दाजुपथ।

जुन राजा प्रजा मिलेर प्रजातन्त्र ल्याउने काम भयो तिनै राजाहरुको अकालमा मृत्यूबरण, बंशनास र बहिर्गमन। कति ठूलो रिस द्वेष र पूर्वाग्रह, प्रतिशोध। जात्रा देखाउने र जग हँसाउने काम।

साशकहरुको सत्ता शक्ति सम्पत्तिमोह कति धेरै। आपसमा काटामार। सत्ताच्युत र सत्तारोहणका पर्व नै पर्व। जात्रा नै जात्रा। मातृका-बिपी देखि, गिरिजा-किसुनजी-देउवा हुँदै केपी-माधव र प्रचण्ड-बाबुराम सम्म। नेपाल खाल्डोमा परापूर्वकालदेखि आजपर्यन्त यति धेरै राजनीतिक जुधाइ लडाइ र महाजात्राका फिल्महरु। छिमेकी र बिश्वलाई हसाउने र मनोरञ्जन गराउने जोक्कर फिल्मका श्रृङ्खलाहरु।

अद्भूत साँस्कृतिक शोभा झल्काउने जात्रैजात्राको नेपाल खाल्डोमा राजनीतिक महाजात्रा थपिएपछि अरु के चाहियो? यी कुराका केही झलकहरु पूर्वप्रम थापाका पुस्तकका पानाहरुमा पाइन्छन्।

राजनीतिक चरित्र, दलीय भावना-मूल्य-मान्यता, मेलमिलाप र एकताको संस्कार नभएको नेपाल खाल्डोका सबै साशकहरु उहिलेदेखि बिदेशशिक्षा, पराइ प्रशिक्षित, पराइ सुराकी, परनिर्भर हुँदै मालिकको बैसाखी टेकेर सत्ता र शक्तिमा रमाउने गरेको तथ्य जति रोचक छ उति घिनलाग्दो र टिठलाग्दो पनि छ।

राजनीति चेत र संस्कार शून्य राजनीतिक जात्राका नायक खलनायकहरु आजको बिन्दुमा आइपुग्दा सिद्धान्त र दर्शनबिहीन नैतिकहीन, असहिष्णु, निकृष्ट, दरिद्र भएको साश्वतसत्य घतलाग्दो छ।

इतिहास, धर्म कलाकृति, सम्पदा, कुटनीति, मानवता, सामाजिक सद्भाव खुइलिएको र हराएको कुरा मार्मिक छ। प्रतिशोध र बर्ग सफायाको राजनीतिले जात्राका नाइकेहरुले क्षणिक न्यानो महशुस गरी मुख मिठ्याएका होलान् तर मातृभूमि हारेको हार्यै छ।

राजाहरु राष्ट्रबादी राजनेता ?

प्रजातन्त्र ल्याउन राजा त्रिभुवनले राजगद्धी मात्र होइन सन्तानको जीउज्यान जोखिममा राखेको, सम्पूर्ण तनमनधन लगाएको, प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्न मरिमेटी लागेको बयानले उनलाई राजनेता ईङ्गीत गर्न खोजिएको छ।

अत्यन्त सरल, सालीन, भद्र, दयालु, मायालु ती राजाले राजनीतिक सुधार सहितको लोककल्याणकारी रामराज्य स्थापना गर्ने सपना बिपना पालेका थिए। मेलमिलाप, एकता, सुशासनको लागि उनले अहोरात्र मिहेनत गरे। सबैलाई सरकार चलाउन आलोपालो अवसर दिए।

तर भयो उल्टो। कहीं नभएको गुट फुट् कलहको भाँडभैलो जात्राले उनी मुटुका बिरामी भए। सास रहुञ्जेल उनी नेतागणलाई “मेलमिलाप गर, तबमात्र प्रजातन्त्र र राष्ट्र जोगिन्छ” भनेर अलापिरहेका थिए। नेताहरुले देश र देसबासीहरुलाई भुङ्ग्रोमा हालेको तनाव र पीडाले उनको असामयिक निधन भएको देखिन्छ। स्लोपोइजन निधन।

यो मुलुक, मुलुकबासी र माटोको औधी माया रक्षा कल्याण सम्मान गर्ने दुरदृष्टि भएका राजनेता राजा महेन्द्रको चिन्तन, लगन, अध्ययन, इण्टेलिजेन्स, शासकीय क्षमता, साहस, पहलता, निर्णय क्षमता, कुटनीतिक सन्तुलन, आर्थिक अनुसाशन, देशभक्ति, बिकासप्रेम र सुशासन अद्वितीय देखिन्छ।

बिहान ८ देखि राति ८ बजे सम्मको अनिवार्य कार्यालय, हरेक उजुरीको स्वअध्ययन र शीघ्र निर्णय, आफ्नो चिठी, भाषण, निर्देशन, कविता आफैं टाईप गर्ने प्रतिभा, राजनीतिक आर्थिक ब्यापारिक प्रशासनिक न्यायिक गतिबिधिमा राजपरिवार नातेदार इष्टमित्रलाई ढिम्किन नदिने कडा निगरानी, बर्षौ लामो पैदल यात्रा गरेर दूरदराजको जनभावना बुझ्ने जाँगर र हिम्मत तथा कडा दण्ड-पुरस्कार नीति लिएर अबलम्बन गरेको माटो सुहाउँदो निर्दलीय पंचायती ब्यवस्था रहर होइन बाध्यता र समय तथा आमजनताको माग थियो भन्ने लेखकको दाबी पुस्तकमा पढ्न पाइयो। त्यो ईख, दूरदर्शीता, समर्पण र त्याग आजपर्यन्त मुलुकमा कसैले प्रदर्शन गर्न नसकेको सत्य पनि घाम जस्तै छर्लङ छ।

दरबारको खर्च कटौती गर्न लाउने, राज परिवारलाई आचारसंहिता बनाएर बाँध्ने, प्रधानमन्त्री मन्त्रीगण प्रशासक र कुटनीतिज्ञहरुलाई आचारसंहिताले ठिंगुरा ठोक्ने, बिदेशी हस्तक्षेप रोकेर परनिर्भर मुलुकलाई आत्मनिर्भर बनाई छाड्ने, चीन-भारत युद्ध (विसं २०१९) र भारत–पाक युद्ध (२०२२) लाई ईशारा र पत्रद्वारा रोक्न सक्ने, भारतीय चेकपोइण्ट (१७) हटाउने, भारतीय मुद्रालाई नेपाली मुद्राले बिस्थापित गर्ने, ती राजनेताको उचाइ अद्वितीय थियो।

ब्यक्तिगत अुनशासन, सुशासन र उदाहरणीय छबिले गर्दा वेलायती, अमेरिकन, चिनिया, भारतीय समकक्षीहरु उनलाई बिलक्षणकारी राजनेता भन्दथे। ती साशक र राष्ट्र दुबैको उचाई अन्तर्राष्ट्रिय स्तरको थियो । अरु १० बर्ष बाँचिदिएको भए नेपालको कायापलट हुने थियो कि झैं अवश्य लाग्दछ। चरम आन्तरिक कलह, स्वदेशी बिदेशी सुराक, हस्तक्षेप र षड्यन्त्रको तनावले उनको पनि अकालमा निधन भयो।

राजा बीरेन्द्रको सरल, शान्त, भद्र, प्रजातान्त्रिक शासन शैली दरबारलाई पचेन। राजपरिवार, भारदार र सचिवालयको चँगुल र हस्तक्षेपबाट उनी घेरिए। दरबारको घेराबन्दीले सिंहदरबार अपहेलित भयो। बिदेश सम्बन्धमा दरार पैदा गराइयो। बिदेशी जासुसहरुको मेला लाग्यो। कालो ब्यापार र तस्करी बढ्यो।

द्वैधसाशन (राजदरबार सिंहदरबार) को छिद्र समातेर जनयुद्ध बिजारोपण गरियो। फितलो र कमजोर उनको साशनसत्ताको फाईदा उठाएर स्वदेशी विदेशी षड्यन्त्रद्वारा उनको बंशनास भयो। ती राजनेताको सुधारप्रेम, प्रजातन्त्रप्रेज, बिकासप्रेम, जनताप्रेम, राष्ट्रप्रेम अद्वितीय थियो । जुन अतिबाद र बिस्तारबादलाई पचेन।

राजा ज्ञानेन्द्रले राजकाज छन्द नै जानेनन्। न आन्तरिक र बाह्य हावालाई सुँघ्न सके। न इण्टेलिजेन्स, न पितापथ न दाजुपथ। न आन्तरिक शक्ति समन्वय र सुढृढीकरण न कुटनीतिक रणकौशल। न टेक्ने ठाउँ न समाउने हाँगो। उही थोत्रे अतिबादीहरुको घेराबन्दी र सहारा। परिणाम चंगा चट्।

स्वदेशी बिदेशी सबै शक्तिको करकापमा लिइदिनु परेको सत्ता सक्रियता अन्यथा थिएन। चरम अशान्ति बेथिति भद्रगोल रोकथामका लागि थियो। जनताको नासो छिटै जनतालाई फर्काउने सशर्तमा थियो । उनी बेकार सक्रिय राजतन्त्रको महाएम्बुसमा परे।

वर्तमान र बिगतलाई मूल्याँकन गर्दा आधुनिक राजाहरु राष्ट्रवादी थिए। तर सच्चा राजनेता राजा महेन्द्र थिए। राजा महेन्द्रका मन्त्री, प्रशासक, सेना-प्रहरी, राष्ट्रसेवक अनुशासित, निर्भिक, स्वाभिमान र त्यागी थिए। सबैको रगत र भावनामा असीम जनप्रेम र राष्ट्रप्रेम थियो।

शान्ति र बिकासको मुहान फुटेको थियो। सुराकी, अन्तर्घात, राष्ट्रघात्, कामठगी, भ्रष्टाचारको नाम निशाना थिएन। बिदेशी हस्तक्षेपबाट राजा महेन्द्रले पवित्र मातृभूमिलाई जोगाएका थिए। पंचायत सुधारको तयारी मस्यौदा र रोडम्याप लागू गर्न तयार राजाको अकालमा निधन भयो।

जसरी स्वतन्त्र भारतले ब्रिटिसकालीन कर्मचारीतन्त्रलाई निरन्तरता दियो, सोही पदमार्ग राजा त्रिभुवन र महेन्द्रले पछ्याए। अझ राजा महेन्द्रले बिश्वभरिका बिज्ञहरुलाई छानी छानी स्वदेश भित्र्याए, अवसर दिए।

ती प्रशासक न मन्त्री, न राजपरिवार न भारदारसँग झुक्थे, न डराउथे। राजा महेन्द्रको त्यो गोपनीयता, कडा कमाण्डकन्ट्रोल, लगाम, अनुगमन र दण्ड पुरस्कार नीति मातृभूमिलाई अनन्तकालसम्म जरुरी थियो।

यसरी मौलाएको रहेछ माओवादी

लेखकले सेनालाई अनुशासित, कर्तब्यनिष्ठ, ब्यावशायिक र परिवर्तनकामी भनेर प्रशंसा गरेका छन्। संबिधानसम्मत सरकारको आज्ञाकारी, नुनको सोझो गर्ने लचिलो सेना, राष्ट्रनिर्माण, जनहित, बिकास र राष्ट्रिय सुरक्षामा समर्पित रहिआएको दलील पेश गरेका छन्।

जनयुद्ध निरुपण गर्न सेना परिचालन अपरिहार्य भएकोले राजालाई मनाइसकेको, बजेट बिनियोजन गरिसकेको निर्णायक मोडमा नेपाल प्रहरीले हामी एक्लै सक्छौं भनेर दाबी गरेपछि माओवादी मौलाएको र सशक्त भएको भुक्तभोगी लेखकको जिक्किर रहस्यमय छ।

राष्ट्र सुरक्षा चिन्तनका केही बुँदा

१. देश निर्माणमा सारा नेपालीको धेरथोर योगदान छ। शाहबंश राजाहरुको अतुलनीय त्याग छ। न राणाहरुलाई हेला र निकाला गर्नुहुन्थ्यो न राजालाई बहिर्गमन। बेकारको प्रतिभा र पुँजी पलायन। राष्ट्रिय एकता कमजोर पार्ने काम। निजी स्वार्थ र जितमा मातृभूमि हराउने काम। तसर्थ, राष्ट्रिय मेलमिलाम र एकताबिना राष्ट्रिय सुरक्षा संभव छैन।

२. राजनीतिक दलमा प्रशिक्षण शून्य छ। आचारसंहिताविना कसरी हुन्छ स्वअनुसान र सुसाशन।

३. नेपालमा दलीय अनुसाशन, राजनीतिक चेत, दर्शन, सिद्धान्त मूल्य–मान्यता पटक्कै छैन। दलबदलु, दर्शनबदलु, देश होइन परदेशभक्तिमा सिपालु, जनता होइन मालिकहेरालु, स्वाभिमान भन्दा जासुस भएर सत्ता शक्ति सम्पति बटुलुको जगजगी र रजगजले यो पुष्टि भएकै छ।

४. बिदेश नीति सतर्क र सावधानीपूर्वक साशकले मात्र एकद्वार प्रणालीबाट संचालन गर्ने हो। चाइनाकार्ड भारतकार्ड पश्चिमाकार्ड खेल्ने खेलाउने ऐले छरपष्ट भए। साशकहरुका पत्नीले समेत ती कार्ड खेल्ने खेलाउने कुदिन आए। फलत बिदेश सम्बन्ध चकनाचुर भयो।

५. मजबुत र थितिको प्रशासनलाई अनपढ् अनविज्ञ पिएम गिरिजाले तहसनहस पारे। आज सम्पूर्ण राज्य संयन्त्र चरम राजनीतिकरण भएर निकम्मा भएका छन्। मुलुक कोही माईकलालले सम्हाल्न नसक्ने अवस्थामा पुगेको छ।

६. गुटबन्दी, दाउपेच, षड्यन्त्र, कलह, संघर्ष, फुट् र बिभाजन नेपाली राजनीति तथा साशकहरुको चरित्र बनेको छ। अस्थिरता राजनीतिको अर्को स्थायी पर्यावाची हो।

बिदेशी हस्तक्षेप र भ्रष्टाचारले मुलुक थिलथिलो भएको छ। सेनावाहेक राज्यका सम्पूर्ण संयन्त्र निकम्मा भइसकेका छन्। मुलुक समाप्त पार्ने सुनियोजित चालबाजीका पात्रहरुको राष्ट्रघात अक्षम्य छ।

निचोड

हक्की, निडर, गरम पिएमको गरम पुस्तक नआएर किन नरम पुस्तक आयो गर्भको रहस्य लागेको छ मलाई यो पुस्तक पढ्दा। तर, आशा छ अरु पाण्डुलिपि बाँकी नै होला र त्यो समयक्रममा आउनै पर्ने थियो, आउँदै होला।

सात सालको प्रजातन्त्र जुन तरिकाले प्राप्त भयो त्यो तरिका मातृभूमिलाई बरदान थियो कि कलह, फुट् र अस्थिरताको बिजारोपण गरेर सानो मुलुक निल्ने नियत?

सत्चालीस सालको प्रजातन्त्र उही षड्यन्त्रको पुनराबृत्ति थियो। समय घर्केकोले भारतीय भन्दा पश्चिमा घुसपैठ् र खेलमैदान भयो मुलुक।
जनयुद्ध भारतीय नियन्त्रण बाहिर जाँदा पश्चिमा मात्र होइन चीनको खुलेयाम क्रिडास्थल भयो नेपाल।

जनयुद्ध निरुपण गर्न सेना परिचालन अपरिहार्य भएकोले राजालाई मनाइसकेको, बजेट बिनियोजन गरिसकेको निर्णायक मोडमा नेपाल प्रहरीले हामी एक्लै सक्छौं भनेर दाबी गरेपछि माओवादी मौलाएको र सशक्त भएको भुक्तभोगी लेखकको जिक्किर रहस्यमय छ।

गणतन्त्र पाउनै नहुनेले प्रजातन्त्रको मुण्टोमा टेकेर कल्पना नगरेको धर्मनिरपेक्षता र संघीयता पायो, जुन अहिले सारालाई घाँडो भएको छ। ब्यक्ति ब्यक्तिको निजी स्वार्थको जित, मातृभूमिको प्रसव पीडा र पराजय!

दुनिया हसाउने फिल्मका पात्रहरु याने कि कथित् आजका साशकहरु कसैको मन मष्तिष्क र मेनुमा जनहित, राष्ट्रहित, राष्ट्रिय सुरक्षाको सपना बिपना नामनिशाना छैन।

छ त उही दाउपेच, षड्यन्त्र, घटिया गालीगलौज र काटमार। केबल सत्ता शक्ति र सम्पत्तिको लागि । त्यो साशनका नाममा खुलेयाम राष्ट्रघात हो। अक्षम्य अपराध हो।

२०४७ सालको संबिधान नेपाली माटो सुहाउँदो नेपाली आफैले लेखेको उत्कृृष्ट संबिधान थियो भन्ने तर्क गरेका रहेछन् सूर्यबहादुर थापाले पुस्तकमा।

उनको समेत दृष्टिलाई आधार मान्दा वर्तमान आयातित उंँटजस्तो अबैज्ञानिक र अब्यवहारिक संबिधान मातृभूमिलाई गलपासो बन्दै गएको निष्कर्ष निस्कन्छ। गणतन्त्रको घोषणापछि उनी स्वयंको यो संविधानप्रतिको निष्ठाबारे प्रश्न भने यथावत नै रहन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *