३ हजार मिटर स्टिपलचेसमा कर्णालीका दुर्गा बुढाले जिते स्वर्णपदक {भिडियो}
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । पोखरा रंगशालामा सोमबार भएको खेलमा दुर्गाले जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलो हो । बुढाले ८ मिनेट ५५.९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् ।
एपीएफका अजित यादवले ९ मिनेट २१.१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेण्डसहित कांस्य जिते । त्यस्तै एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन् । जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । फाइनल चरणमा भने उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन् ।
यस अघि उनकै नाममा १५.२० सेकेन्डको कीर्तिमान थियो । यस स्पर्धामा आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत जितिन् । एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समय निकाल्दै कास्य हात पारिन । त्यस्तै हर्डल्स ११० मिटर पुरुषतर्फ आर्मीकै जीवन चौधरीले स्वर्ण पदक जितेका छन् । जीवनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत र आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डसहित कांस्य जिते ।
त्यस्तै एथलेटिक्सको डिस्कस थ्रोमा त्रिभुवन आर्मीका चित्रबहादुर वली र लुम्बिनी प्रदेशकी संगिता अधिकारीले स्वर्ण पदक जितेका छन् । वलीले ३८.४८ मिटर थ्रो गरेर स्वर्ण जितेका हुन् । ३२.७५ मिटर थ्रो गरेका नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत र ३१.१० मिटर थ्रो गरेका सुदूरपश्चिमका हेमन्त पालले कांस्य पदक जिते । महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटर थ्रो गरेर स्वर्ण जितेकी छन् ।
संगीताले जितेको स्वर्ण लुम्बिनी प्रदेशको पहिलो स्वर्ण हो । एपीएफकी जितकुमारी महतोले ३३.६० मिटर थ्रो गर्दै रजत र त्रिभुवन आर्मीकी मिलन बुढा मगरले ३२.३५ मिटर थ्रो गर्दै कांस्य पदक जिते ।
हेर्नुहोस् भिडियो:
Facebook Comment