टीकाराम दाजु

मुग्लाने, टेक्सास, अमेरिका
१ कार्तिक २०७९ १०:२२

उसबेला बिद्यालयमा पनि सबै गुरुहरूको प्यारो र जेहेन्दार छात्रको रूपमा गाउँभरिका सबैले उदाहरण दिने विद्यार्थी हुनुहुन्थ्यो रे टीकाराम दाजु। उहाँका सहपाठीहरू र छिमेकीहरुले अझै यो कुरा भन्न हिच्किचाउँदैनन्।

विद्यालयका हरेक गतिविधिमा अब्बल उनी सामाजिक कार्यमा पनि उत्तिकै चासो राख्थे रे उसै बेलादेखि। अरूभन्दा जिज्ञासु र उत्सुक स्वभावको उहाँमा हरेक गतिविधिमा सानै उमेरमा सक्रिय भएको कारण गाउँका ठूलाबडा भनाउँदाले पनि भन्ने गर्थे रे ‘यो केटाले केही गर्छ है , यो केटावाट चाहिं हाम्रो गाउको समग्र विकासमा केही आशा गर्न सकिन्छ है!’ भनेर।

स्कुलको कक्षा ९ हो कि १० कुनचाहिमा पढ्ने बेलामा टीकाराम दाजु कसैलाई खबर नगरी एकाएक हराउनुभएको रहेछ। विद्यालयमा गुरुहरूले चासो गरेपछि मामाघर गएको थिए भन्नु हुन्थ्यो रे।

घरकाले यो बिषयमा बोल्न चाहेनन्, गुपचुप नै रहे, छिमेकीले शंकाको नजरले हेरे। २÷४ दिनपछि यो कुरा त्यसै सेलायो तर गाउँमा अर्को हल्ला गाइँगुइँ चल्न थाल्यो स्कूलमा विद्यार्थी हकहितका लागि भित्रभित्रै संगठन बनेको छ अरे त्यसको अगुवा चाहिँ टीकाराम छ अरे भन्ने।

यो विषयलाई गाउँका तिनै ठूलाबडा भन्नेले टीकाराम बिग्रियो, स्कुल पुरै बिगार्ने भो भनेर हल्ला गरे भने अरूबेला अरू विषयमा अलिक चर्को कुरा गर्ने बाहिरफेर पनि देखेका, थोरैतिना शिक्षित र अलिक सचेत लाग्ने वर्ग चाहिँ चुपचाप बसे।

त्यसको केही दिनपछि विद्यालयवाट घर फर्किदै गर्दा बाटोमा आफ्नै कक्षाको लास्ट बेञ्चमा बस्ने साथी घनश्यामले अनायाश निहुँ खोजेर तैले स्कूल बिगार्ने, तँ अराष्ट्रिय र देशद्रोहीहरुको संगठन बनाउने भन्दै रगतपच्छे हुन्जेल पिटेछ।

हेर्दाको बलियोबाँगो खाइलाग्दो घनश्याम तर पढालेखाइमा सधै कमजोरले यस्ता शब्दहरु कसरी जान्यो कसले सिकायो भन्ने कुरा कसैले सुइँको सम्म पाएनन् तर यो घटनालाई लिएर फेरि गाउँ चकित पर्यो। तर त्यसपछि टिकाराम दाजुमा धेरै परिवर्तन आयो ।

हँसिलो फरासिलो मान्छे उहाँ कम खुल्ने र गम्भीर प्रकारको हुनु भएछ। विद्यालयको पढाइको वाहेक उहाँ के गर्नुहुन्छ कसो गर्नु हुन्छ भन्ने कसैले थाहा पाउन छोड्यो, कहिलेकाहीँ हराउनु हुन्थ्यो, अनौठा मान्छेहररू घरमा आएको देखिन्थ्यो। कसैले सोध्यो भने घरकाले टाढाका आफन्त भनेर उत्तर दिन्थे।

दाजुको विषयमा धेरै थाहा हुन छोड्यो, एस् एल् सी आयो, क्याम्पस जानु भो, २/४ बर्ष हराउनु भयो गाउँबाट कसैलाई थाहा भएन। मुलुकमा व्यवस्था परिवर्तन भयो अनि फेरि सुनिन थाल्यो दाजुको गुणगान यत्रतत्र जिल्लाभरि।

दाजुका नजिक बस्ने सहयोगीले यो खप्न सकेनन् अनि त्यो व्यक्तिप्रति जाइलागे। त्यसपछि उताका २, ४ भाइ तिनै सहयोगीमाथि जाइलागे। अलिअलि ठेलाठेल हुँदाहुँदै मुक्का हानाहान हुन थाल्यो। कोही त्यसमै थपिए, महिला वर्ग बाहिरतिर भागे कोही रमाइलो मान्दै हाँस्न थाले।

उहाँ त प्रगतिशीलको पक्षपोशक र परिवर्तनको सम्बाहक हुनुहुँदो रहेछ। उहाँ त अधिकार र स्वतन्त्रताको लागि लडाइ लड्ने मान्छे हुनुभएछ। चर्चा चुलिँदै गयो, भाषण गर्दा हरेकलाई लाग्थ्यो कि यो चाहिँ हाम्रो कुरा गर्छ , हाम्रो कथा र व्यथा बुझेको छ, यसले चाहिं हाम्रो जीवनमा काँचुली फेर्छ है भनेर। उहाँ एउटा राजनीतक दलको जिल्लाको ठूलै नेता र जिल्लावासीको लागि ठूलो आशाको किरण हुनु भएछ।

पार्टीको कामले गर्दा धेरैजसो समय गाउँबाहिर नै रहने उहाँ राजधानी काठमाण्डू आउजाउ गरिरहनु हुन्थ्यो। कहिलेकाहीं महिनौं दिनसम्म गाउँमा नदेख्दा पनि कसैले पनि कहाँ गएछ भनेर प्रश्न गर्दैन थियो।

तर एकपटक अलिक लामै समय हराउनु भएपछि सबैलाई चासो भयो कता गयो टीकाराम भनेर। उहाँ त अमेरिका पुग्नुभएको पो रहेछ। ३/४ बर्षमा सबैले बिर्सिए, आशा पनि मारे।

उहाँ पनि सपरिवार अमेरिकामै रमाएकोजस्तो देखिन्थ्यो यदाकदा सामजिक संजालहरुको देशका विभिन्न बिषयहरुमा २,४ वटा कुरा गर्ने बाहेक।

तर उतैतिरका साथीभाइको भनाइअनुसार चाहिं उहाँ अमेरिका बसेर पनि बढो देशप्रेम र मातृभूमिप्रतिको भक्तिभाषणले सबैको रगत उमाल्नु हुन्थ्यो रे। सधैं–‘म त नेपाल फर्किने हो मेरा बाल बच्चाहरुलाई अलिक सक्षम बनाइसकेपछि!’ भन्नुहुन्थ्यो रे।

‘यहाँ रमाउन हैन मेरो व्यक्तिगत जीवनको व्यावहरिकताप्रति जिम्मेवार हुन म अमेरिका आएको हो!’ हरेक ठाउमा भन्नु हुन्थ्यो-‘मैले देशको भारा तिर्नु छ, देशले मलाई निशुल्क यतिको सक्षम बनाएको छ, त्यही देशले मलाई यति बुझ्ने बनाउनको लागि निशुल्क शिक्षा दिएको छ।

त्यही देशले मलाई सानो छँदा निशुल्क खोपहरु लगाएर मलाई महामारीको शिकार हुनबाट जोगाएको छ। मलाई बनाएको नै त्यही देशले हो, मैले पनि मनभरि भावना त्यही देश मेरो देश भनेर बोकेको छु , रातो र चन्द्र सूर्य झन्डामा मलाई गर्व लाग्छ त्यसैले देशमा गएर केही गर्नु छ, ऋण तिर्नु छ देशको, आफ्नो मातृभूमिको ‘भन्नु हुन्थ्यो रे। आफूले काम गरेको दललाई समय समयमा गर्ने सरसहयोगमा सबैभन्दा अगाडि बढेर सक्रियता देखाउनु हुन्थ्यो रे।’

यसरी नै समय बित्यो। २ जना सन्तानका धनी उहाँका छोरा र छोरी कलेज जाने उमेर भएर लाखापाखा लागेपछि साथीभाइहरुसँग बिदाबारी भएर सधैंका लागि नेपाल पर्किनुभयो।

उहाँ सधैको लागि अमेरिका छोडेर नेपाल आएको खबर सुनेपछि फेरि पूरा जिल्ला खुशी भयो, जिल्लावासीहरूमा फेरि आशाको किरण पलायो। उहाँको सम्मानमा उहाँको आफ्नो दलले कार्यक्रम गर्ने निर्णय गर्यो गाउँमा। कार्यक्रममा वारिपारिका सबै यो दल त्यो दल नभनी सहभागी भए।

सबैको मुखबाट राम्रो मान्छे फर्किनु भो, सबैको खुशीको बिषय हो, उहाँबाट अब चाहिँ हाम्रो जिल्ला, हाम्रो क्षेत्रले केही न केही पाउँछ भन्ने सुनिन थाल्यो। आफू आफ्नो बाध्यताले केही समय हराएको मात्र हो, अब यो मेरो समाजका लागि केही गर्नको लागि फर्किएर आएको छु भन्ने शानदार भाषण उहाँले पनि गर्नु भो। सबै खुशीले गदगद भए।

फेरि उहाँको चर्चा यात्रतत्र सर्वत्र जिल्लाभरि हुन थाल्यो। सबै राजनीतिक दल र तह तप्काले उहाँको आवश्यकता रहेको कुरा गर्न थाले। जताततै वहाको हाइहाइ हुन थाल्यो। सबैले हरेक ठाउँमा सरसल्लाह लिन थाले। दाजु फेरि उस्तै व्यस्त रहन थाल्नु भयो सामाजिक कार्यमा।

अर्को बर्ष देशमा चुनाव आउन लागेको थियो। चुनावको चर्चासँग आफ्नो दल लगायत अरू दलका साथीभाइ कार्यकर्ता सबैले उहाँलाई सल्लह दिन थालेका थिए-‘हजुर अब कुनै जिम्मेवार पदमा बसेर हाम्रो जिल्लाबासीको भाग्य र भविश्य निर्माणमा लाग्नु पर्छ’ भनेर।

बिस्तारै यो दबाब बढ्दै गयो। जहाँ गए पनि जता गएपनि यसै भन्ने गर्थे सबैले। उहाँ जाने ठाउँमा मान्छेको भीड लाग्थ्यो। उहाँको उपस्थिति हुने बित्तकै सबैको मुहारमा खुशी छाएको हुन्थ्यो।

सबैले एउटा अभिभावक, एउटा आफ्नो प्रतिनिधि पाएको जस्तो अनुभूत गर्थे। सबैको चाहना र दबाव चुनावमा उठ्ने र यसमै सबै खुशी हुने जस्तो लगेर दाजुले पनि चुनावमा उठ्ने निर्णय गर्नुभयो।

चुनावको मिति नजिकिदै थियो। चुनावी सरगर्मी बढ्दै थियो। कुन दलवाट को उम्मेदवार कुनवाट को भनेर चर्चा परिचर्चा चिया पसल, भट्टी, मेलापात, पँधेरो हरेक ठाउँमा हुने गर्थ्यो।

फलानो दलबाट टीकाराम दाजु उम्मेदवारको सम्भावित नाम आएको कारण अरू दलका मान्छे पहिले नै थर्कमान भएका थिए। मनोनयन दर्ताको अघिल्लो दिन दाजुको पार्टीले बैठक डाक्यो, सम्पूर्ण कार्यकर्ताहरुलाई डाक्यो आफ्नो दलको तर्फबाट उम्मेदवारको निर्णय गर्नको लागि दाजु पनि आफना केही सहयोगीहरु साथमा बैठक हलमा प्रवेश गर्नु भयो तर यो उहाँ आउँदा र जाँदा सधैं हुने माहोल थिएन। उहाँ जहाँ जानुहुन्थ्यो त्यहाँ सधैं खुशीको माहोल हुन्थ्यो

उहाँ आएको देख्ने बित्तिकै सबैको मुहारमा खुशी छाउँथ्यो तर आज अलिक फरक जस्तो थियो सभा। २/४ जना मुसुक्क हाँस्नुवाहेक उहाँ आउँदा अरू सबै चुप थिए। मतलब नगरेजस्तो गरेका थिए। सभा शुरु भयो।

उद्घोषकले उम्मेदवारमा इच्छुक कार्यकर्ताले आफ्नो इच्छा प्रस्तुत गर्न समय दिए। टीकाराम दाजुले शुरुमै उठेर सबै जिल्लावासी र अन्य दलका पनि साथीभाइको रहर र सल्लाहको कारण आफू उम्मेदवार हुने भनेर के भन्नु मात्र भएको थियो।

सभाको बीचवाट कसैले चिच्यायो उमेर हुन्जेल विदेशमा गएर पसिना चुहाउने अनि अहिले आएर भाग खोजेर हुन्छ? यावत् यावत्। यतिसम्म पनि भन्न भ्यायो कि–टीकाराम मुर्दाबाद! मुर्दावाद!! दाजुका नजिक बस्ने सहयोगीले यो खप्न सकेनन् अनि त्यो व्यक्तिप्रति जाइलागे।

त्यसपछि उताका २, ४ भाइ तिनै सहयोगीमाथि जाइलागे। अलिअलि ठेलाठेल हुँदाहुँदै मुक्का हानाहान हुन थाल्यो। कोही त्यसमै थपिए, महिला वर्ग बाहिरतिर भागे कोही रमाइलो मान्दै हाँस्न थाले। यसै बीचमा कसैले पछाडिबाट आएर टीकाराम दाजुको टाउकामा कुनै कडा वस्तुले हान्यो,  त्यही ढल्नु भयो।

त्यसको २ दिनपछि अस्पतालमा टीकाराम दाजुको होस् खुल्यो, परिवारका मान्छे बाहेक छेउमा बसेको सहयोगीले मसिनो स्वरमा २ वटा समाचार सुनायो।

पहिलो भर्खरै अर्को पार्टीवाट उहाँको पार्टीमा प्रवेश गरेको घनश्याम जो उहाँको सहपाठी जसले हिजो उहाँलाई अर्राष्ट्रिय तत्व भन्दै रामधुलाई गरेको थियो उसलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेछ।

दोश्रो सभाको मर्यादा उल्लंघन गरेर अनुशासनहीन काम गरेको कारण देखाउँदै टीकाराम दाजुलाई पार्टीले पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *