भाइरल प्रभावित क्षेत्रमा पुन: आकस्मिक स्वास्थ्य शिविर
खोटाङ। खोटाङमा भाइरलले सयभन्दा बढी स्थानीय बिरामी भएको ठाउँमा पुनः आकस्मिक शिविर सञ्चालन गरिएको छ। भाइरलले १०३ जना बिरामी परेको ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलको बादेलमा दोस्रो पटक बुधबारबाट आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
दशैं अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरलले सयौं स्थानीय बिरामी परेपछि स्वास्थ्यचौकीसँगको समन्वयमा वडा कार्यालयले गत शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
औषधि वितरण गर्दा पनि निको नभएका बिरामीलाई लक्षित गर्दै स्वास्थ्यकर्मीसहित आकस्मिक स्वास्थ्य शिबिर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । भाइरलले थलिएका ४४ जना बिरामीको दोश्रोपल्ट स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिएको छ ।
शिविरमा ल्याइएका दुई वृद्धा सहित चार जनालाई स्लाइन दिइएको छ । स्वास्थ्यकर्मीका अनुसार गम्भीर अवस्थाका छ जनालाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, ऐसेलुखर्क लैजान सुझाव दिइएको गाउँपालिका अध्यक्ष राईले बताए ।
भाइरलले साविकको बाकाचोल–२ र ३ मा पर्ने बादेलका अधिकांश घरका स्थानीय बिरामी परेका छन् । अधिकांस बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रका डा. संगम न्यौपाने, ल्याव असिस्टेन्ट उमेश आचार्य, हेल्थ असिस्टेन्ट दिपेन्द्र मगर, स्वास्थ्य स्वयंसेविका रमिता राई लगायतको टोली सहित आकस्मिक स्वास्थ्य शिबिर आयोजना गरिएको हो ।
Facebook Comment