लिम्पियाधुराको नक्सा, पहिलो जनगणना र सत्यमोहन
ललितपुरको बखुँबहाः यानी दरवार क्षेत्रको उत्तरी साँधबाट पूर्वतिर करिव २०० मिटर भित्र गएपछि दक्षिणपट्टिको चोक (बहाल) भित्र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवास ‘लोकसाहित्य भवन’ रहेको छ।
उनको निवासभित्र पस्ने वित्तिकै नेपाली वास्तुकलामा निर्मित आधुनिक भवनको भित्तैमा उनैले बनाउन लगाएका उनका मातापिता नुगलदेवी र शङ्करराज जोशीको प्रतिमा रहेका छन्।
एउटा संग्रहालयको रूपमा विकास गरिएको उनको निवासमा विगतदेखि आजसम्मको नेपाली मुद्रादेखि हुलाक टिकट, पुस्तकहरू तथा कला र संस्कृतिका विविध वस्तुहरू र उनले प्राप्त गरेका पदक र पुरस्कारहरूको ठूलो संग्रह गरिएको छ।
उनी आफूभने सँगैको भुईँतल्ले चिटिक्क परेको घरमा बस्ने गरेका थिए। भेट्न जाने व्यक्तिहरूलाई कि त संग्रहालय भवनको तल्लो तल्ला वा आफ्नो शयन खोपी वा बाहिर चोकमा भेट्ने गर्दथे।
बखुँबहाःको घर उनका बाबु शङ्करराज जोशीले किनेपछि ९० सालको भुकम्पमा भत्किएको तथा यसको मर्मत गरेर सत्यमोहन जोशीको परिवार यसैमा बसिरहेको अवस्थामा पुनः २०७२ सालको भुकम्पमा भत्किन पुगेको थियाे।
सत्यमोहनले ९० र ७२ सालका दुवै महाभुकम्पको तितोमिठो अनुभव गर्ने मौका पनि पाए। उनले कुनै समय त्रिभुवन विश्वविद्यालयमा नेवाः लोकसाहित्यको विशेषज्ञका रूपमा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई अध्यापन समेत गरेको र २०४१ सालमा लोकसाहित्य परिषदको स्थापना हुँदा पनि विशेष योगदान गरेकाले तत्कालीन सांसद विकास कोष र उनका हितैषीहरूको प्रयासले सो भवनको पुनर्निर्माण गरेर लोकसाहित्य भवनको रूपमा विकास गरिएको रहेछ।
गाउँले भाकाका यस्ता केही गीत उनले रेडियो नेपालमा पनि आफ्नै स्वरमा रेकर्ड गराएका रहेछन्। आफ्नो जीवनकालमा उनले झण्डै ६ दर्जन कृतिहरू प्रकाशित गरे। तीनमा नाटक, कविता सङ्ग्रह, निवन्ध, इतिहास, लोक संस्कृति तथा कला बारेका दस्तावेज र अन्य धेरै विधाका कृतिहरू पर्दछन्।
विगत २ वर्षको अन्तरालमा मैले पनि उनको निवासमा पटक पटक पुगेर उनीसँग भलाकुसारी गर्ने मौका पाएको थिएँ। पिताजी गोविन्दप्रसाद लोहनीको स्मृतिमा प्रकाशित ग्रन्थमा उनको लेख समावेश गर्न मैले अन्तर्वार्ता शैलीमा उनको विचार टिपोट गरेर लेखको रूप दिएको थिएँ।
त्यतिबेलाको कुराको स्मरण गर्दै उनले आफू जनगणना र तथ्याङ्कसम्बन्धि अन्तर्राष्ट्रिय तालिम लिएर फर्केसम्म पनि नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागबाटै मात्र मुलुकको तथ्याङ्क बटुल्ने र रिपोर्टहरू प्रकाशन गर्ने कार्य हुन्थ्यो र त्यस विभागका प्रमुख मेरा पिता गोविन्दप्रसाद लोहनी हुनुहुन्थ्यो भनेका थिए।
त्यतिबेला उनलाई लोहनीले राष्ट्र बैंकमा तथ्याङ्कसम्बन्धि कार्य गर्नलाई अनुरोध गर्दा हालै विदेशमा जनगणनाको तालिम लिएर फर्केकोले सोही कार्यमा सरकारले खटाउन लागेको कुरा बताएछन्। त्यसको केही समय पछि नेपालमा केन्द्रीय तथ्याङ्क विभागको स्थापना गर्न र आधुनिक कम्प्युटर भित्राउन पनि मेरा पिताको महत्वपूर्ण भूमिका रहेको कुरा उनैबाट सुन्नमा आएको हो।
त्यतिबेला १०१ वर्षका वयोवृद्ध भएका भए पनि उनी ८०-८१ वर्षका स्वस्थ व्यक्ति जस्ता देखिन्थे। चश्मा नलगाइकन पढ्न सक्ने तथा ज्यादै तेजिलो स्मरण शक्ति भएका मानिस।
आफ्नो बाल्यकाल, मेरा पिताजीसँग पहिलोपटक भेट भएको प्रसङ्गलगायत जागिरको सिलसिलामा मुलुकका विभिन्न विकट क्षेत्रहरूको भ्रमण गरेर ती ठाउँहरूका मानिसको रहनसहन, संस्कृति र गीतसङ्गीत तथा वातावरण र पशुपंक्षीका बारेमा र न्युजिल्याण्डको भ्रमण गर्दाको संस्मरण तथा त्यसपछिका पनि यावत कुराहरू उनले निक्कै रमाइलो पाराले सुनाएका थिए।
तर गत साल पौष महिनामा उनलाई भेट्न जाँदा भने बाक्लो ओढ्ने ओढेर कोठामा बसिरहेका उनले आफू ज्यादै कमजोर भएको र स्वासप्रस्वासमा पनि कठिनाइ हुँदै गएको तथा अब धेरै नबाँचिने हो कि भन्ने मनमा लाग्न थालेको कुरा बताएका थिए।
त्यतिबेला मैले र मेरा परम मित्र कवि विमल भौकाजीले उमेरअनुसार विरामी त भइरहने तर अहिले नै मृत्युको त्यस्तो कुरा सोच्न नहुने कुरा भनेर उनलाई ढाढस दिने कोशिश गरेका थियौँ। पिताजीको स्मृतिग्रन्थ हेर्दै उनले हामी दुई मित्रको कामको निक्कै प्रसंशा पनि गरेका थिए।
वि.सं. १९७७ साल वैशाख ३० गते जन्मेका सत्यमोहन जोशीको परिवार कृषि र जागिरमा नै आस्रित थियो भने उनीहरूको पुर्खौली पेशा भने ज्योतिष शास्त्र पनि थियो।
साइत हेर्ने, दिनदशा बताइदिने र कर्मकाण्ड गरिदिने कार्यबाट केही आम्दानी पनि हुने गर्दथ्यो। यस्ता काम सत्यमोहनले पनि केही हदसम्म जानेका थिए र पछिल्लो समयमा त हिन्दू शास्त्रमा उनले यति धेरै अध्ययन गरे कि लर्तरा पुरोहितहरू उनको अगाडि कर्मकाण्ड गर्दा विधिमा कुनै त्रुटि आएको थाहा पाउलान् भनेर निक्कै आत्तिन्थे।
पछि उनका पिताले लेखापढीको काम पनि सिकेर निक्कै सफा अक्षरमा उतार्ने कला जाने पश्चात मोहनशमशेर कहाँ डिट्ठासम्मको पदमा काम गर्न पाएका थिए।
शिक्षारम्भ आफ्ना पिता शङ्करराज र घरका पुरोहित गुरू विद्यानन्दबाट गरेका उनी केही समय पाटनका गुरुकुलहरूमा प्रारम्भिक नेपाली र अङ्ग्रेजी पढेका भएपनि उनका पिता मोहनशमशेरकहाँ काम गर्ने बेलातिर करिव १२ वर्षको उमेरदेखि दरवार हाइस्कुलमा पढ्न थालेका हुन्।
त्यतिबेला सो विद्यालयका हेडमास्टर रूद्रराज पाण्डे थिए भने विभिन्न कक्षामा अध्ययन गर्ने उनका साथीहरूमा नरकान्त अधिकारी, गोपाल राजभण्डारी, कृष्णराज भण्डारी, कमलमणि दीक्षित, विष्णुप्रसाद धिताल, हिमालयशमशेर राणा आदि थिए।
शुरुमा पिताको डेरा महाराजगञ्जबाट विद्यालय जाने गरेपनि पछि उनी पाटनदेखि नै हिँडेर विद्यालय ओहोरदोहोर गर्न थाले। दरवार हाइस्कुलबाट एसएलसी (म्याट्रिक) दोश्रो श्रेणीमा उत्तीर्ण भएपछि उनी त्रिचन्द्र कलेजमा भर्ना भए र त्यहाँबाट वि.संं. १९९९ मा आइए पास गरे।
२००१ सालमा जागिरे जीवन शुरु हुँदा भने उनी बीएमा अध्ययनरत थिए। १९९७ सालमा चारजना शहीदहरूलाई मृत्युदण्ड दिँदा सत्यमोहन जोशी त्रिचन्द्र कलेजमा नै अध्ययनरत थिए। शुक्रराज शास्त्रीको मृत शरीरलाई टेकुको खरीबोटमा झुण्डाएर राखिएको हृदयविदारक दृश्य त उनले आफ्नै आँखाले देखेका थिए।
आफ्नै विरादरीका पाटनमै घरबार भएका माधवराज जोशीका छोरा शुक्रराज जोशी ‘शास्त्री’को त्यो अवस्था देखेर उनको युवा मनमा ठूलो चोट परेको थियो। तर उनी किम्कर्तव्यविमुढ थिए।
१९९७-९८ सालतिर त्रिचन्द्र कलेजमा पढ्दा सोही भवनको पुस्तकालयपछाडि ‘नेपाली भाषा प्रकाशिनी समिति’ को कार्यालय थियो, जहाँ उनले बालकृष्ण समलाई पहिलो पटक देखेका थिए।
त्यहीँ छेउमा रहेको ‘भाषानुवाद परिषद’मा लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, पुष्कर शमशेर, श्यामदास वैष्णव, बद्रीनाथ भट्टराई आदिसँग दिनहुँ भेट हुन थालेपछि उनको हिमचिम यी व्यक्तित्वहरूसँग हुन थालेको थियो र त्यतिबेला उनले लेखेको बाल कविता पनि उनले देवकोटालाई सुनाउन भ्याएका थिए।
तुलसीलाल अमात्य पनि पाटनमा सत्यमोहन जोशीहरूको घरबाट नजिकै बस्ने अध्ययनशील व्यक्ति। उनले पद्मशमशेरसँग अनुमति लिएर स्थापना गरेको शारदा पुस्तकालयलाई सत्यमोहनले धेरै पुस्तकहरू सहयोगस्वरुप प्रदान गरेका रहेछन् त्यतिबेला।
२००७ सालको क्रान्ति चलिरहेको बेला ताका जागिरको सिलसिलामा कर्णाली क्षेत्रको तथ्याङ्क संकलन गर्न जाने बेलामा भने उनको प्रत्यक्ष भेट तुलसीलाल अमात्यसँग रक्सोलमा भएको थियो र लामो गफ पनि।
बिजयशमशेर र भीमबहादुर पाँडेले वि.सं. २००० मा ‘सिन्धुपाल्चोक जिल्लाको औद्योगिक नमुना सर्भे’ नामक विस्तृत प्रतिवेदन तयार गरेपछि यस्ता अध्ययनले मुलुकको विकासमा टेवा दिने देखेर त्यतिबेलाका राणाशासकहरूले २००१ सालमा ‘औद्योगिक–व्यापारिक समाचार सङ्ग्रह अड्डा’को स्थापना गरेर त्यसमा ५ जना अधिकृत र आवश्यक सहयोगी कर्मचारीसमेत गोर्खापत्रमा विज्ञापन गरेर नियुक्त गरे। सत्यमोहन पनि अधिकृतमा छानिए।
२००१ सालको दशैँ पश्चात जागिरको सिलसिलामा तनहुँ र लम्जुङमा करिव २ वर्ष तथ्याङ्क संकलनको काम गर्दा उनले त्यहाँका खासगरी मगर र गुरुङ संस्कृतिसँग निक्कै धेरै परिचित हुने मौका पाए। पछि उनी यस्तै कामको सिलसिलामा बर्दिया, कर्णाली र स्याङ्जामा पनि खटिए।
काठमाडौँ उपत्यकाका भन्दा धेरै फरक यी समुदाय र उपत्यका बाहिरको खुला संस्कृतिले उनी ज्यादै प्रभावित भए। त्यस्तै कर्णालीको खस सभ्यताको बारेमा पनि उनले विस्तृत अध्ययन गरेर अति नै महत्वपूर्ण दस्तावेज प्रकाशन गरेका थिए र दोश्रो विश्वयुद्धको बेलामा लाहुरे भएर विदेशमा लड्न जाने युवाहरूको ठूलो संख्या यही भेगबाट गएको थियो।
त्यतिबेलाको गाउँका गाउँ खाली भएको अवस्था, महिला तथा वृद्धवृद्धाहरूको क्रन्दन र बिछोडका गीतहरू तथा बाँचेर गाउँ फर्केका युवाहरूको खुशी र तीनले मुग्लानमा सिकेका भाषाबाट प्रभावित नेपाली लोकभाका र शब्द पनि उनले देख्न र सुन्न पाए। ती क्षेत्रका नाचगानको सूक्ष्म अध्ययन गर्ने मौका पनि पाए।
नेपालको पहिलो नक्शा बनाउने काममा सत्यमोहन जोशीको टोली खटियो। त्यतिबेलासम्म अङ्ग्रेजले बनाएको नक्शामा नै भर परिरहेको अवस्थामा उनीहरूले तत्कालीन परराष्ट्र मामिला हेर्ने जैशीकोठा/मुन्सीखानामा गएर त्यहाँ भएका टुक्रा टुक्रा नक्शाहरूको खोज तलाश गरी विस्तृत अध्ययन पश्चात नेपालका भित्री र अन्तर्राष्ट्रिय सिमानासमेत प्रष्ट हुनेगरी एक सग्लो नक्शाको निर्माण गरे।
यही बेलादेखि उनमा मुलुकका विभिन्न भागका भाषा तथा संस्कृतिबारे अध्ययन गर्ने जाँगर चल्न थाल्यो। युवावस्थादेखि नै आफूले देखे र सुनेका कुराहरूको टिपोट गर्ने बानीले गर्दा उनले १९९९ सालतिर देखि साप्ताहिक गोरखापत्र, नेपालको जेठो तथा कवि गोपालप्रसाद रिमालबाट सम्पादित पत्रिका ‘शारदा’ तथा नारायणप्रसाद बाँस्कोटाद्वारा सम्पादित ‘प्रगति’का कैयन् अङ्कमा संस्कृति र नाचगानसम्बन्धि लेखहरू प्रकाशित गराए। पछि उनले ती भेगका गीतहरूको एक सङ्ग्रह नै प्रकाशित गरे।
सोही सङ्ग्रहको निम्ति उनले मदन पुरस्कारसमेत प्राप्त गरे। गाउँले भाकाका यस्ता केही गीत उनले रेडियो नेपालमा पनि आफ्नै स्वरमा रेकर्ड गराएका रहेछन्। आफ्नो जीवनकालमा उनले झण्डै ६ दर्जन कृतिहरू प्रकाशित गरे। तीनमा नाटक, कविता सङ्ग्रह, निवन्ध, इतिहास, लोक संस्कृति तथा कला बारेका दस्तावेज र अन्य धेरै विधाका कृतिहरू पर्दछन्।
लेखपढ र गहन अध्ययनमा नै आनन्दित हुने र नेपाली राष्ट्रिय पोशाकमा मिलौँसम्मको दुरी तय गर्न रुचाउने उनले धन कमाउने वा भौतिक सुखका साधन थुपार्ने काममा कहिल्यै समय खर्चेनन्।
सत्यमोहन जोशीले आफ्नो जीवनकालमा ३ पटक मदन पुरस्कार जित्न सफल भएर कीर्तिमान नै कायम गरे भने अन्य पुरस्कार र पदकको त कुरै छोडौँ। अनगिन्ती। २०१३ सालको मदन पुरस्कार उनको पुस्तक ‘हाम्रो संस्कृति’को लागि प्रदान गरिएको थियो भने २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ र २०२८ मा ‘कर्णाली लोक संस्कृति’को लागि। २०७४ सालमा सरकारले उनलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि दिएको थियो।
पछिल्लो समयमा उनको मुहार र नाम अङ्कित हुलाक टिकट र सिक्काहरू पनि निस्काशन गरिएका छन्। उनकै नाममा पनि कैयन् पुरस्कार र पदकहरू दिइने गरेको छ।
तथ्याङ्क संकलनको वैज्ञानिक तरिका र त्यसमा पनि जनगणना सम्बन्धि तथ्याङ्क संकलनको अध्ययन गर्न सत्यमोहनको टोलीले त्यतिबेला भर्खरै स्थापना भएको संयुक्त राष्ट्र संघको तत्वावधानमा भारतको नयाँ दिल्लीमा २००६ सालमा तालिम लिने अवसर पायो। यही नै उनको पहिलो विदेश भ्रमण थियो। त्यसपछि फेरि यस्तै तालिममा सिलोन (हालको श्रीलङ्का) जाने अवसर मिल्यो ।
तालिमकै सिलसिलामा संयुक्त राष्ट्र संघकै सहयोगमा न्युजिल्याण्ड भ्रमण गर्ने सम्भवतः पहिलो नेपाली सत्यमोहन जोशी नै हुन पुगे। त्यतिबेला विदेश यात्रा आज जस्तो सजिलो थिएन। त्यसमाथि न्युजिल्याण्ड जस्ता्े टाढाको मुलुकको त नाम नै त्यति नसुनिएको बखत।
२०१० साल जेठ १९ गते न्युजिल्याण्डको लागि काठमाडौँबाट उडेका सत्यमोहन पटना, मुजफ्फरपुर हुँदै कलकत्तामा उत्रेका थिए। त्यसपछि त्यहाँबाट उडेर सिंगापुर, जकार्ता, अष्ट्रेलियाको डार्विन, सिड्नी र त्यहाँबाट न्युजिल्याण्डको राजधानी वेलिङ्ग्टन। झण्डै १ हप्ताको यात्रा।
त्यतिबेला केही दिन अघिमात्र न्युजिल्याण्डकै एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चढ्ने पहिला व्यक्ति हुने सौभाग्य पाएको बेलामा भएको यो भ्रमणबाट उनले त्यहाँ नेपाली भएको हैसियतले निक्कै मान सम्मान पाए भने त्यहाँ बिताएको ३ महिनामा आधुनिक तथ्याङ्क शास्त्र बारे पनि धेरै ज्ञान हासिल गर्ने मौका पाए।
यी तालिमहरू सकेर नेपाल फर्केपछि नेपालको पहिलो नक्शा बनाउने काममा सत्यमोहन जोशीको टोली खटियो। त्यतिबेलासम्म अङ्ग्रेजले बनाएको नक्शामा नै भर परिरहेको अवस्थामा उनीहरूले तत्कालीन परराष्ट्र मामिला हेर्ने जैशीकोठा/मुन्सीखानामा गएर त्यहाँ भएका टुक्रा टुक्रा नक्शाहरूको खोज तलाश गरी विस्तृत अध्ययन पश्चात नेपालका भित्री र अन्तर्राष्ट्रिय सिमानासमेत प्रष्ट हुनेगरी एक सग्लो नक्शाको निर्माण गरे।
त्यसको ७ वर्षपछि यानी २०१४ सालमा संयुक्त राष्ट्र संघकै सहयोगमा नेपालको पहिलो वैज्ञानिक तवरले गरिएको जनगणना पनि यही टोलीले सार्वजनिक ग¥यो। त्यतिबेला नेपालको जनसंख्या ९६ लाख २९ हजार ८६५ देखिएको थियो।
त्यो समयमा राष्ट्रिय जनगणना आजको जस्तो वैज्ञानिक र सहज तवरले गर्ने वातावरण थिएन। गणकहरूको लागि पनि यो नौलो काम र कम्प्युटर र क्यालकुलेटरसमेत नभएको त्यो जमानामा सबै कुरा खाताहरूमा लेखेर गर्नुपर्ने भएको तथा मुलुकको एक ठाउँबाट अर्को ठाउँमा पुग्न र जनगणनाको फारम पु¥याउनसमेत भारतको बाटो जानुपर्ने भएकोले यो काम निक्कै कठिन र चुनौतीपुर्ण थियो।
पश्चिमको लिम्पियाधुरादेखि पुर्वका ओलाङचुङगोलासम्म सत्यमोहन जोशीको टोलीले एकापसमा काम भाग लगाएर जनगणना र नक्शाको काम फत्ते गरेको थियो।
२०१६ सालमा पुरातत्व विभागका प्रथम निर्देशक हुँदा सत्यमोहन जोशीले धर्मोदय सभाका अध्यक्ष भिक्षु अमृतानन्दको नेतृत्वमा चीनको राजधानी बेइजिङको भ्रमण गर्ने मौका पाएका थिए। त्यतिबेला नै उनले नेपालबाट १२औँ शताब्दीमा अरनिको तिब्बत हुँदै कुब्लाई खाँको राज्य चीनको पेकिङ पुगेका र त्यहाँ उनले प्रख्यात श्वेत चैत्यको निर्माण गरेको कुरा सुन्नुका साथै सो चैत्य हेर्ने मौका पनि पाएका थिए।
त्यसपछि चीनमा नेपाली भाषा सिकाउन पटक पटक गएर लामो अवधिसम्म बस्ने मौका पाएपछि उनले कलाकार अरनिकोको बारेमा धेरै जानकारी हासिल गरेर ‘कलाकार अरनिको’ नामक पुस्तक प्रकाशन गरे। यसै पुस्तकको आधारमा अरनिको नेपालका राष्ट्रिय विभुतिमा पनि गनिन पुगे।
पुरातत्व विभागका निर्देशक छँदा नै सत्यमोहनले लुम्बिनीका कैयन् क्षेत्रहरूमा भेटिएका मूर्ति तथा पुरातात्विक महत्व बोकेका वस्तुहरू सुरक्षित तवरले राख्न संग्रहालय बनाउने सल्लाह पनि दिए र केही ठाउँको उत्खखन समेत गर्न लगाए। त्यस्तै उनले लिच्छवि काल, महेन्द्र मल्लको समय र राजा महेन्द्रको समयसम्म चलन चल्तिमा आएका मुद्राहरूको संकलन गरेर एक संग्रहालयसमेत बनाउन लगाए।
पश्चिमको लिम्पियाधुरादेखि पुर्वका ओलाङचुङगोलासम्म सत्यमोहन जोशीको टोलीले एकापसमा काम भाग लगाएर जनगणना र नक्शाको काम फत्ते गरेको थियो।
मुद्रा बारेमा विशेषज्ञता नै हासिल गरेकोले नेपाल राष्ट्र बैंकले पछिल्लो समयसम्म पनि उनीसँग मुद्रा विशेषज्ञको रूपमा सरसल्लाह लिने गरेको थियो। हालको सांस्कृतिक संस्थान भएको जमिन पनि उनैको पहलमा खरिद भएर नाच घर बनेको हो।
२०२६ सालदेखि २०३५ सालसम्म उनी प्रज्ञा प्रतिष्ठानको सहसदस्य र पछि सदस्य सचिव भएको बेला साहित्य, संस्कृति, इतिहास, रङ्गमञ्च र कलाको क्षेत्रमा पनि निक्कै विकास भएको थियो। नाटक महोत्सव तथा गाइजात्रा कार्यक्रम र कविता महोत्सव पनि त्यस्तै बेलातिर शुरु भएको थियो।
वृहत् नेपाली शब्दकोषको लेखन र प्रकाशन पनि प्रज्ञा प्रतिष्ठानले उनी सदस्य सचिव भएको बेलामा नै गरेको हो। प्रज्ञा प्रतिष्ठानमा नै रहँदा राजा वीरेन्द्रको राज्याभिषेकको उपलक्ष्यमा उनले नै ‘राजमुकुट र राज्याभिषेक’ नामक महत्वपुर्ण पुस्तक लेख्ने मौका पाएका थिए।
पछिल्लो जनआन्दोलन पश्चात नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएपछि सत्यमोहनकै अगुवाइमा नयाँ राष्ट्रगानको निर्माण गर्ने वृहत समिति बनेको थियो। मोदनाथ प्रश्रित, बैरागी काइँला, दुर्गालाल श्रेष्ठ, अम्बर गुरुङ लगायत १४ जना विद्वत व्यक्तित्व रहेको सो समितिले सर्वोत्कृष्ठ भनेर छानेको कवि व्याकुला माइलाको ‘सय थुङ्गा फुलका हामी एउटै माला नेपाली’मा अम्बर गुरुङले संगीत भरेपछि यो नै आज हाम्रो राष्ट्रगान हुन गएको हो।
विभिन्न जातजाति र धार्मिक-सांस्कृतिक विविधता भएको नेपालमा सबै वर्गको मूल्य र मान्यतालाई सामञ्जस्य नगरीकन देश बन्दैन भनेर पछिसम्म पनि भन्ने गरेका सत्यमोहन जोशीले २०७० सालमा ‘सिर्जना र दृष्टिकोण’को लागि सूर्य सुवेदीलाई दिएको अन्तर्वार्तामा ‘हाम्रो देशमा एउटै भाषा, एउटै जाति भइदिएको भए कुरै अर्कै हुन्थ्यो। यहाँ विभिन्न जातजाति र भाषाभाषीका मानिसहरू बसेका छन्।
यी सबैलाई समेटेर एउटा राष्ट्रिय संस्कृति बनाउनु पर्छ । सबैमा सांस्कृतिक सद्भाव उजागर गरेर राष्ट्रिय एकता वृद्धि गर्नु जरुरी छ।’ भनेका थिए। यही विचारमा उनी सदा दृढ रहेका थिए।
वि.सं. १९९४ साल फागुनमा बिहे गरेका सत्यमोहन जोशी र राधादेवी जोशीको सफल वैवाहिक जीवन उनको केही दिन अघि भएको देहावसान अर्थात् ८५ वर्षसम्म रहिरह्यो। केही वर्षअघि उनले मृत्यु पश्चात आफ्नो शरीर सुरक्षित राखेर चिकित्सा अध्ययनको लागि उपयोगी हुन सक्छ भने आफू यो शरीर मृत्युपर्यन्त सुम्पन तयार रहेको कुराको इच्छापत्र लेखिदिएका थिए।
उनको यो इच्छापश्चात उनकी पत्नी राधादेवीले पनि यस्तै इच्छापत्रमा हस्ताक्षर गरेकी छन्। उनकै इच्छा अनुसार उनको उपचार गरिरहेको किष्ट अस्पतालले उनको मृत्युपश्चात उनको पार्थिव शरीरको जिम्मा लिएको छ भने कार्तिक १ गतेको दिन सरकारले पनि उनको स्मृतिमा देशव्यापी सार्वजनिक बिदा दिएको छ।
तर उनका परिवारजनले हिन्दू परम्परा मुताविक उनको चिना स्मसान घाटमा लगेर जलाएको कुरा भने त्यति चित्त बुझ्दो देखिएको छैन। उनी जस्ता व्यक्तिको चिनाले पनि धेरै कुरा बताउन सक्ने भएकाले त्यस्तो दस्तावेजलाई संग्रहालयमा सुरक्षित राखेको भए उचित हुने थियो। मुलुकको निम्ति अति नै धेरै काम गरेका सरल तथा लगनशील शताब्दी पुरुष सत्यमोहन जोशीप्रति हार्दिक श्रद्धाञ्जली।
लेखक विकास अर्थशास्त्री र पूर्वबैंकर हुन् ।
Facebook Comment