सत्यमोहन जाेशी : सत्ता र शक्ति बिना जनताको दिलको राजा
सत्ता छटपटायो। सत्ता बाठो भयो। सत्ताले मौकामा चौका हान्ने रचना बुन्यो। सत्ताले छिटो र धेरै गुन लगाउन र जस लिन होडबाजी गरेको गन्ध आयो। कस्ता बिचित्रका सत्ताहरु पूर्वाग्रह, दूराग्रह, प्रतिशोध साँधेर बस्ने।
आफैं जान्ने सुने देवत्व हुने र अरुको सत्तोसराप गरेर जग हँसाउने। नेपालका सत्ता पीडित ती धरोहर र सम्पदाहरुप्रति हार्दिक सहानुभूति र सम्मान अर्पण गर्न यो आलेख तयार पारेको छु।
म सत्ताको बिशेष दूत भएर होइन, सम्पदाको तटस्थ स्वयंसेवी भक्त भएर सत्यमोहन जोशीको दैलोमा हाजिर भएँ। बिनम्रसाथ जिज्ञाशाहरुको पोको खोलेँ।
“दक्ष उपचारिका, डाक्टर, औषधि, भिटामिन केही चाहिन्छ कि?”
-चाहिँदैन।
“पाको ड्राइभर, राम्रो मोटर चाहिन्छ?”
-चाहिँदैन।
“उपचार खर्च, आराम खर्च, अध्ययन अनुसन्धान खर्चको लागि केही नगद ब्यवस्था गरुँ कि?”
-चाहिँदैन।
“संजिबनी बुट्टी, कालजयी सुनको जन्तर, सुनले मोरेको एकमुखे रुद्राक्ष, अष्ट चिरञ्जीबी अमृत सिलाजित, यार्चागुम्बा चाहिन्छ कि?”
-चाहिँदैन।
“कुनै मान सम्मान्को अपेक्षा राख्नु भएको छ कि?”
-छैन।
“इतिहास, संस्कृति, साहित्य, कलाका संरक्षक धरोहरलाई मानार्थ कर्नेल जर्नेलको सम्मान कस्तो होला?”
-अँह हुँदैन।
“के भए पाए हुुन्थ्यो लाग्छ त हजुरलाई?”
-देशलाई छातीमा राखेर चिर निन्द्रामा पर्न पाए पुग्छ।
अलकत्र पिएको र फोहोरमा झरेको सिक्का खाएको देखेर हैरान बेहोरेको मलाई सत्य युगमा स्वर्गको सत्यवान् पुरुषसँग साक्षात्कार भएको गर्व महसुश भयो। मैले भने-“कुन धर्म र बिधिले जिउँदो बोल्ने भगवानको मन्दिरमा आइपुगेछु। नतमस्तक र कृतज्ञ छु।”
उहाँको निधारमा हर्षको प्रकाश छलल्कियो। मुहार चम्कियो। मुस्कुराउदै भन्नुभयो–“माटोले माग्दैन दिइरहनुपर्दछ भने जस्तै प्रकृति, कलाकीर्ति, संस्कृति, साहित्य, सम्पदा र इतिहासले पनि माग्दैन दिइरहनुपर्दछ। मैले माटोबाट धेरै पाइसकेँ। अब मैले दिने मात्र हो। दिन धेरै बाँकी थियो तर म अब बुढो भएँ।”
एकजना पूर्व साक्षात्कारका मुखारबिन्दुबाट सुनेको थिएँ। संरक्षक हुने कि अध्यक्ष, सभापति हुने कि प्रमुख, बाणिज्यदूत हुने कि राजदूत, मन्त्री हुने कि सल्लाहकार?
“भयो मलाई केही चाहिँदैन। स्वार्थी, हुनुहुन्न। इर्ष्या नकमाउँ। सुख शान्ति नभाँडूम्। पायो भनेर जे पायो त्यही लिनुहुँदैन। खानु हुँदैन। दिनुको मजा लिनुमा हुँदैन।” उहाँको कति नम्र, सरल र स्पष्ट अस्विकार। घैँटामा घाम लाग्ने सत्य तर्क। त्यागको खानी।
प्रकृति कि साहित्य संस्कृति महत्वपूर्ण? सबै बिनासका चरणमा छन्। तर प्रकृति कि धर्म साहित्य संस्कृतिलाई बढी बिनास? हामी निश्कर्षहीन बिषयभित्र प्रबेश गर्यौं। गफियौं। रमायौं र छिनमा भावुक भयौं।
उहाँले जिज्ञाशा राख्नुभयो-“तपाई त योद्धा। जनयुद्धको अनुभव सुनाउनुहोस्।”
मैले लम्बेतान् उत्तरलाई छोट्याएँ-“मैले जनयुद्ध देखिन। जनयुद्ध नभनूम्, हीरा जस्ता शान्तिकामी जनताको अपमान। मैले धनयुद्ध मात्र देखेँ। जताततै धन, नै धन। दर्जन बढी धनद्वार। भारत, चीन, पाकिस्तान, युरोप, अमेरिकालगायत आन्तरिक धनद्वारबाट धनबर्षा। सबै कथित युद्ध नायकलाई।
१ बोरा गाडेको धन (सुन) राज्यकोषमा दाखिला गरिदिएँ। बिदेशीको इशारा र लगानीमा एक दुईजना देशद्रोहीले गरेको राष्ट्रघातलाई कसरी जनयुद्ध भन्नु। पाप लाग्छ।
बरु सक्कली र साहसिक योद्धा हजुर हो। बिपरीत धार निःशस्त्र एक्लै अनन्तकालसम्म निरन्तर लडिरहने। त्यति धेरै सम्पदा संरक्षणको लडाईं। धनयुद्धको पहिलो टार्गेट धर्म, भाषा, साहित्य, शिक्षा, संस्कृति, इतिहास थियो।
दोश्रो टार्गेट बहुदलीय प्रजातन्त्र। राजा सेनासँग कहाँ थियो र बैरभाव, दुश्मनी? राजासँग घाँटी जोड्न सधैं मरिहत्ते। आज पर्यन्त। राजा अट्टेर भएर मात्र।”
अद्भूत देशभक्ति
राजनीतिलाई लाजनीति र ब्यापारलाई धिक्कार मान्ने खाँटी नेवार ठिटोको आखा मन मुटुमा खाली राष्ट्र र अपार राष्ट्रभक्ति। सपना, बिपना, अस्पताल सैयाको तनमन ध्यान डिकोड् गर्दा नसा नसामा देशभक्ति मात्र।
खुलामञ्चमा लाखौं जनतालाई सामेल गरेर देशभक्तिका भाषण छाट्ने नेताहरु उहाँका अगाडि निर्वस्त्र थिए। भाषणमा राष्ट्रबाद ब्यबहारमा राष्ट्रघात। फेसबुक र चुनावी घोषणापत्रमा सीमित बोक्रे खोक्रे छलकारी राष्ट्रवाद।
सत्यमोहनको सास्वत सत्य राष्ट्रवाद ३ करोड नेपालीलाई रुपान्तरण गर्न सके नेपाल शीघ्र आत्मनिर्भरता र स्वाभिमानको बाटो समातेर स्वर्गको हीरा हुने थियो।
अदम्य साहस
युवा होस कि बैंस। जात्रा पर्व मोह होस कि घर टोल मोह। दूरदराजका अनकण्टार भुगोलका पत्रपत्र भित्र पुगेर स्थानीय भाषा, साहित्य, संस्कृति अध्ययन, अनुसन्धान, उत्थान, संरक्षण गर्न मरिमेटी लाग्ने धर्तीपुत्रको अदम्य साहस पो साहस।
नाताबाद, कृपावाद, चाकडीवाद, घुसवाद, खुट्टा तान्, चारपाटा मुण्डन्, रुढीबादलाई उहाँले “कर्मण्ये बाधिकारस्तेमा फलेषु, कदाचन” पाठ र स्वअभ्यास गरेर देखाइरहनुभयो। काम र जिम्मेवारी कसैले दिने भन्दा मातृभूमिको माटोको पत्रपत्रभित्र आफैं खोजेर लिने उहाँको अभ्यास अपूर्व र उदाहरणीय थियो।
आज सडक साधन र हवाई साधनबाट समेत सुन्दर शान्त कर्णाली जान डराउने बरु विदेश पलायन भएर हराउने ब्रोइलर इनडोर पिँढीले उहाँको साहस सापटी लिन जरुरी छ।
सकारात्मक सोचका खानी
जति दबायो उति अग्लो कद। जति पेल्यो उति कडा। जति अपमान् झनझन् सम्मान। जति जेल नेल झन् सिर्जना र श्रीवृद्धिको भेल्। नाताबाद, कृपावाद, चाकडीवाद, घुसवाद, खुट्टा तान्, चारपाटा मुण्डन्, रुढीबादलाई उहाँले “कर्मण्ये बाधिकारस्तेमा फलेषु, कदाचन” पाठ र स्वअभ्यास गरेर देखाइरहनुभयो। काम र जिम्मेवारी कसैले दिने भन्दा मातृभूमिको माटोको पत्रपत्रभित्र आफैं खोजेर लिने उहाँको अभ्यास अपूर्व र उदाहरणीय थियो।
खरिदार भएर हाकिमको काम, हाकिम भएर खरिदारकाे समेत काममा निपुणता र स्वस्फूर्त ग्रहणमा बहुआयमिक सीप क्षमता कार्यकुलता प्रदर्शन हुन्थ्यो। जागिरमा अतिरिक्त समय (ओभर टायम) सम्पदा पूनर्उत्थान, पुननिर्माण, संरक्षण संवर्द्धनमा।
बर्खास्तीमा झन् सक्रियताका साथ सत्प्रतिशत समय र प्रयास अध्ययन, अनुसन्धान, लेखन, कीर्तिमा। उहाँले सत्ता, सरकारको चाकडी नगरि समयको भरपूर सदुपयोग गरिरहनुभयो।
समयले उहाँलाई पछ्याई रह्यो र कदर सम्मान गरिरह्यो। एकाग्र भै सम्पदा संरक्षणमा लागिरदा उहाँ आफैं सम्पदा हुनुभयो। समयले राष्ट्रिय सम्पदाभरि उहाँको नाम सुनौलो अक्षरले लेखिसकेको छ।
कर्मठ योद्धा
सबै परिवर्तन इतिहास, परम्परा, धर्म, साहित्य, संस्कृतिको बिरुद्ध थिए। कथित् गणतन्त्र र त्यसको जग नेपाल र नेपालको सम्पदाहरुको समूल नष्ट गर्न मञ्चन गरिएको थियो। आफ्नो आदर्श, धर्म, नैतिकता र कर्तब्यपथबाट उहाँ कहिले बिचलित हुनुभएन। न नोकरीको पिँजडामा रमाउनु भयो, न कर छल्ने लेबी बुझाउने गन्धा ब्यापारको चक्रब्युहमा फस्नुभयो।
बरु उहाँले सयथरि फूल फुल्ने सयौं बगैंचाको माली बन्ने बाटो कोर्नु भयो। सत्ता, शक्ति र सम्पति बिना आम जनताको दिलको राजा बन्ने बाटो रोज्नुभयो। बिपरीत धारको राष्ट्रिय सम्पदा बिरोधी गणतन्त्रलाई बाल दिनुभएन। उहाँ आजीवन अबिश्राम राष्ट्रिय सम्पदा संरक्षणको युद्धमा होमिनु भयो र हर क्षण पल विजयी भइरहनुभयो। स्वर्गबास पछि समेत अजर अमर रहने गरि।
प्रकृतिप्रेमी आत्मा
सुन्दर शान्त सुशील सौम्य उहाँको जन्मजात चरित्रले उहाँको अगाध प्रकृति प्रेमलाई जाहेर गर्दछ। तत्कालीन बिकट लमजुङ र अनकण्टार कर्णालीको रमणीयतामा निस्फिक्री विलीन भएको अभ्यास प्रकृतिप्रेमको द्योतक थियो।
मुसलधारे वर्षात् होस कि हुरि वा हिमपात् जुरेली जोडीको गुँडबास् र जीवन चलिरहेकै हुन्छ। कहा पाउनु जुरेलीले हीरा रत्न, सुनको गजुरजडित आलिसान महल? उहाँको अमूल्य यो प्राकृतिक आदर्श मेरो लागि भावी अनुसन्धानको अर्को पाटो हुनेछ।
दानी दाता
१ अर्ब बढी दान गर्नुहुने ९८ बर्षीय मैयादेबी श्रेष्ठ लाखौंलाई रुवाउदै सँगसँगै जस्तै अस्ताउनुभयो। जुरेली जीवन यापन गर्दै मातृभूमिलाई अनगिन्ती गुन लगाएर सत्यमोहनले अमूल्य पार्थिव शरीर भावी पिँढीलाई दान गर्नुभयो। राष्ट्रिय ढुकुटी छुन नपरोस् भनेर अन्तिमसम्म आफ्नो जीवन स्वस्थ र सक्रिय राख्नुभयो।
नेतृत्व गुण
जिम्मेवार कर्मचारी। कुशल सिर्जनशील र गतिशील प्रशासक। उदाहरणीय र त्यागी ब्यवस्थापक। अगुवाई र नेतृत्वमा सधैं हार्दिकता, पारदर्शिता, जवाफदेहीता र सानदार सफलताले कमाएको कीर्तिमान र लोकप्रियता।
उहाँको शताब्दीभरि मातृभूमि नेतृत्व खडेरी भै हैरान थिइन्। न्यूनतम् नेतृत्व गुण खुइलिएका नैतिकहीन निर्वस्त्र गोटी नेताहरु सत्ता शक्ति शोषणमा लिप्त भइरहँदा उहाँ भने नेतृत्वमा हुनुपर्ने हरसद्गुणको खानी हुनुहुन्थ्यो।
ती उन्मत्त मनमत्त, बलमत्त, धनमत्त, बिदेशी आशीर्वाद प्राप्त, अस्थिर बहुलठ्ठी साशकहरुले उहाको बहुमूल्य नेतृत्वगुण देखेको नदेखेई गरे।
महानता
प्रगतिमा इर्ष्या हुन्छ नै। साशक अन्धो भएपनि समय र साथीहरु बलवान भएपछि उहाँ मान सम्मान बिभुषण पुरस्कारको चाङले पुरिनुभयो।
आत्तिनु मात्तिनु पात्तिनु कल्पना बाहिरको कुरा, बरु झन् धेरै बिनम्र भएर र त्याग देखाएर मातृभूमिलाई टल्काउन चम्काउन समर्पित भइरहनुभयो। उहाँको त्यही निःस्वार्थ त्याग र महानताले आज आफै चम्किलो तारामा दर्ज हुनु भयो।
अपूर्व बिपना-अपूरो सपना
“आहा! प्रकृति संरक्षणका पुस्तकहरु? सायद पहिलो प्रकाशन। स्वर्गको सेवा नामैले मोहनी लगायो। गाडी पठाउनु पर्दैन। म बिस्तारै हिँडरे आउँछु। मेरो अहोभाग्य। ती पुस्तकहरुलाई मेरो घरमन्दिरमा सजारएर राख्ने छु।” नयाँ बर्ष २०७९ मा उहाँको सुन्दर आश्वासन प्राप्त भयो।
अपूर्व भेटघाट् र वारपार अनौपचारिक बातचितले म हर्षबिभोर थिएँ। पुस्तक बिमोचनमा शताब्दि पुरुषको साक्षात् आशीर्वाद प्राप्त हुने आत्मविश्वासले झन् पुकलित् थिएँ।
न बिमोचन बिलम्ब हुने कल्पना गरें न त सिधा शरीर, स्वस्थ जीवन, सधैं शिरठाडो सगरमाथा जस्तो अटल र बज्र लौह पुरुषको त्यो प्रज्वलित शक्तिसाली दीप यति छिटो निभिहाल्ने कल्पना गरेँ।
सुन्दर शान्त सुशील सौम्य उहाँको जन्मजात चरित्रले उहाँको अगाध प्रकृति प्रेमलाई जाहेर गर्दछ। तत्कालीन बिकट लमजुङ र अनकण्टार कर्णालीको रमणीयतामा निस्फिक्री विलीन भएको अभ्यास प्रकृतिप्रेमको द्योतक थियो।
मेरो त्यो सुनौलो सपना अपूरै रह्यो। खाली मैले उहाँलाई आजीवन आफ्नो मन मन्दिरमा सजाउने अहोभाग्य पाएँ। बाँचुञ्जेल देशभक्तिले ओतप्रोत जीवन देश रक्षा सेवा कल्याणमा लगाइरहनु पर्दछ भन्ने स्वास्वत सत्य आत्मसात् गर्न पाएँ।
मैले सिकेका पाठहरु
१) इतिहास, भाषा, धर्म, साहित्य, संस्कृति कलाकीर्ति, सम्पदाको रक्षा कल्याण सम्मान भएमात्र मुलुकको गौरव र अस्तित्व रक्षा संभव छ।
२) लाजनीतिमा रुपान्तरण भैसकेको फोहोरी राजनीति भन्दा सच्चा राष्ट्रभक्तिभावले गरेको निस्वार्थ राष्ट्रसेवा हजारौं गुना ठूलो त्याग र तपस्या हो।
३) दुर्वचन र दुष्कर्मले होइन मीठो बचन र सत्कर्मले नाममान सम्मान प्राप्त हुन्छ।
४) हण्डर–ठक्कर, कदर–पुरस्कार, दुःख–सुखमा आत्तिने मात्तिने पात्तिने होइन बरु जीबनलाई पाइन् हाल्दै धार लगाउँदै जाने हो।
५) वनको काँडो जस्तै आफैंले तिखार्दै लगेको टेक्ने न समाउने सादा जीबन सफल र सुगन्धित हुन्छ।
६) अस्थिर, उद्देश्य र गन्तब्यहीन बतासे जीवनको काम छैन। गतिशील सोचको सरल सादा जीवन अनन्तकालसम्म सुसंस्कृति, सुमति, एकनासको गतिमा लयबद्ध चलिरहनुपर्दछ।
७) सम्मान र सुवास सत्ता शक्ति सम्पतिमा होइन, प्रकृति माटो समय सेवा र जनताजनार्दनको मनभित्र खोज्नुपर्ने रहेछ। सत्ताताप र शक्तिको सम्मान अस्थायी हो। निस्वार्थ सेवाले आर्जित सम्मान चिरस्थायी हो।
८) मानिस दिएर दानी कहलाउला। तर नलिएर झन् महान् र लोकप्रिय हुन्छ।
९) बढी सम्मान, उपहारले स्वाभिमान लुटिन्छ। दास बनाउँदछ।
१०) नाम कमाउन भन्दा बदनामबाट जोगिन हमेसा सचेत साबधान र सतर्क रहनुपर्दछ। जीवनभरि बदनामका बुबिट्रयाप्स बिछ्याइएका हुन्छन्। अमूल्य जीवनलाई जोगाउँदै जगाउँदै निडर अघि बढिरहनुपर्दछ।
११) सादा जीवन उच्च बिचारको सत्कर्मले आ–आफ्नो भाग्य रेखा हामी आफैंले कोर्ने हो।
चिन्ता
राष्ट्रकबि माधव प्रसाद घिमिरेलाई बिदाई गर्दा मर्माहत भएको थिएँ। शताब्दी पुरुषको बिदाईले झन् भयभित भएको छु। मातृभूमिको हीरा मोती जुहारत हरायो भनेर। चम्किला ताराहरु अस्ताए भनेर।
सच्चा राष्ट्रियता, राष्ट्रप्रेम, राष्ट्रभक्ति सेलायो भनेर। राष्ट्रिय अनुशासन, इमान, साहस, नैतिकता, त्याग, बिबेक, स्वाभिमान, कर्म, धर्म, प्रेम, भातृत्व, एकता टुट्यो फुट्यो उड्यो भनेर। सयौं थरि फूलको माला चुँडियो भनेर।
मातृभूमिमा किन अरु सत्यमोहन जस्ता कद र ओजका ब्यक्तित्व भेटिँदैनन्। त्यो गम्भीर चिन्ताको विषय हो। त्यस्तो शक्ति भावी पिँढीले आर्जन गर्न जरुरी छ। सबैजनाले गहिरो इष र दृढ इच्छाशक्ति लिएर उहाको जस्तो राष्ट्रभक्ति र राष्ट्रसेवा भर्न जरुरी छ।
मातृभूमिमा नाम लिन लायकको किन एकजना प्रधानमन्त्री, मन्त्री, प्रशासक नभएको होला? राष्ट्रसेवा भर्न प्रधानमन्त्री र संगठन प्रधान हुन जरुरी छैन, नेपाल आमालाई हरक्षण मन मुटु शिरमा राखेर सत्य सेवा गर्ने सत्यमोहन जस्ता सपुत खर्दार भए पुग्ने रहेछ।
जीबित सत्यमोहनसँग छलफल गरेको भए उहाँको सम्मानमा विदा दिने निर्णय उहाले स्वीकृत नगर्ने अवस्यम्भावी थियो। मुलुक ठप्प बन्दको पाप बोक्दिन भन्ने उहाँको ठेट् जवाफ हुँदो हो।
बरु सत्यमोहनलाई सच्चा सम्मान गर्ने हो भने सत्ताले सत्यमोहनका राष्ट्रभक्ति अक्षरश अनुशरण गर्दै उहाँले टल्काएका साझा राष्ट्रिय सम्पदाहरु इतिहास, धर्म, संस्कृति, साहित्य, कलाकीर्ति रक्षा गर्ने प्रतिबद्धता र अठोट् लियोस्। सम्पदाहरु र प्रतिभाहरुलाई दपेट्ने, लपेट्ने, लखेट्ने होइन सधैं प्रेरणा र उर्जा भरेर मान-सम्मान गरोस्।
राष्ट्रिय अस्मिता धुलिसात् पार्ने गरि गाली गलौज र आलोचनामा उत्रिरहेका भावी प्रधानमन्त्रीका दाबेदारहरुले सत्यमोहनको मोहनी गुनहरु अनुशरण गर्ने कि? उहाँको लगनशीलता सहनसीलता नम्रता, शिष्टता, अनुशासन, जवाफदेहीता, त्याग र राष्ट्रभक्ति अनुशरण गरेर लिच्चड् र घटिया चरित्रलाई महान् छविमा रुपान्तरण गर्ने पहलकदमी लिने कि?
अन्त्यमा, शताब्दी पुरुषको त्यो ओजिलो र तेजिलो ब्यक्तित्वलाई युनिभर्सिटी मानेर थप अध्ययन अनुसन्धान गर्दै जाने प्रतिबद्धताका साथ उहालाई भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु।
(लेखक संरक्षणकर्मी हुन्)
Facebook Comment