दाङ २ः पोखरेललाई रेखाको चुनौती, दुई हेभिवेटबीच रोचक प्रतिस्पर्धा
दाङ । दाङ निर्वाचन क्षेत्र नं २ मा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । दुई हेभिवेट शङ्कर पोखरेल र रेखा शर्मा यस क्षेत्रमा प्रतिनिधिसभाका उम्मेद्वार रहेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले दाङलाई राजधानी तोकिनुलाई नै आफ्नो जितको आधारको रुपमा लिएका छन् । उनले चुनावी कार्यक्रमहरुमा प्रदेशमा रहेका बाँकी काम सङ्घीय सरकारमार्फत् पूरा गराउन पहल गर्ने बताउदै आएका छन् । पोखरेल २०७४ को निर्वाचनमा दाङ–२ प्रदेशसभा (१) बाट विजयी भएका थिए ।
यता सामान्य प्रशासनमन्त्री भइसकेकी माओवादीकी प्रभावशाली नेतृ रेखा शर्मा भने आफ्नो जितको पहिलो आधार गठबन्धन रहेको बताउदै आएकी छिन् । शर्मा २०६४ र २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट समानुपातिक सांसदको रुपमा संसदमा रहँदै आएकी छिन् । शर्माले यसपालीको निर्वाचनमा डिजिटल प्रचारप्रसारलाई समेत प्राथमिकता दिदै आएका छिन् । शर्माले महिलाहरुको बढी मत पाउने स्थानीय नेताहरुको आंकलन छ ।
तर, एमालेको महासचिव भइसकेका पोखरेलको केन्द्रीय राजनीतिमा बढ्दै गएको प्रभाव र सजिलै मतदातालाई प्रभावित पार्नसक्ने कलाका कारण पोखरेलको जित सुनिश्चत रहेको एमाले नेताहरुको दाबी छ ।
दाङ क्षेत्र नं २ मा घोराही उपमहानगरपालिकाका १९ वटै वडा, तुलसीपुर उपमहानगरपालिकाको वडा नं १६, १७, १८ र १९ वडा र बङ्गलाचुली गाउँपालिका यही क्षेत्रमा पर्दछन् । स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बङ्गलाचुली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष भने गठबन्धनका उम्मेदवारले जितेका थिए ।
पोखरेल र शर्मा सहित यस क्षेत्र नम्बर २ मा १५ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
Facebook Comment