श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलका सबै प्रकारका क्रिकेटबाट निलम्बित
काठमाडौं । श्रीलंका क्रिकेट बोर्डले दानुष्का गुणातिलकालाई तत्काल प्रभावबाट सबै प्रकारका क्रिकेटबाट निलम्बन गर्ने निर्णय गरेको छ । अष्ट्रेलियाको सिड्नीमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा दानुष्का गुणातिलका पक्राउ परेका छन् ।
समितिले यी आरोपपछि उनको नाम क्रिकेटको कुनै पनि फर्म्याटमा छनोटका लागि विचार नगर्ने जनाएको छ । बोर्डले उक्त कथित अपराधको तुरुन्त अनुसन्धान गर्न आवश्यक कदम चाल्ने र बोर्डले अदालतको निर्णयमा खेलाडी दोषी पाइएमा कारबाहीका लागि कदम चाल्ने जनाएको छ ।
श्रीलंका क्रिकेट बोर्डले यस्तो आचरणको लागि “शून्य सहनशीलता” नीति अपनाउने र घटनाको निष्पक्ष छानबिन गर्न अष्ट्रेलियाका कानून प्रवर्तन अधिकारीहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने स्पष्ट पारेको छ।
क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा गुणातिलकालाई बलात्कारको आरोपमा शनिबार पक्राउ गरेको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘गुनातिलका तीन साताअघि घाइते भएका थिए, त्यसपछि एसेल बन्दाराले टोलीमा स्थान पाएका थिए । तर टिम व्यवस्थापनले उनलाई फिर्ता पठाउनुको सट्टा अष्ट्रेलियामै राखेको थियो ।’
यस मामिलामा, सिड्नी प्रहरीले एक विज्ञप्ति जारी गरेर भनेको छ कि गत हप्ता सिड्नीमा एक महिलासँग कथित यौन दुराचारको आरोपमा श्रीलंकाली नागरिकलाई पक्राउ गरिएको छ। विज्ञप्तिमा कसैको नाम नखुलेको तर चारवटा बलात्कारका घटनामा पक्राउ परेको बताएको छ ।
प्रहरीका अनुसार यी महिला विगत केही दिनदेखि अनलाइन डेटिङ एपमार्फत आरोपीसँग कुरा गरिरहेकी थिइन् । त्यसपछि दुवैको भेट भयो । उक्त घटना नोभेम्बर २ मा आफूमाथि भएको महिलाले आरोप लगाएकी छन् ।
यस मामिलामा आइतवार सिड्नीको ससेक्स स्ट्रिटमा रहेको होटलबाट ३१ वर्षीय पुरुषलाई पक्राउ गरिएको थियो ।
Facebook Comment