अमेरिकाको भर्जिनियास्थित हर्नडन नगर परिषद सदस्यमा ढकाल निर्वाचित
वासिंगटन डिसी । अमेरिकाको राजधानी नजिकको राज्य भर्जिनियाको एउटा शहर हर्नडनमा नेपाली मूलका प्रदीप ढकाल नगर परिषद् सदस्य निर्वाचित भएका छन् । नोभेम्बर ८ मंगलबार भएको सो निर्वाचनको राति अवेर आएको परिणाम अनुसार उनले ३३५० मत प्राप्त गरेका छन् ।
नेपालमा हुंदा झापा जिल्लाका बासिन्दा रहेका ढकाल अमेरिकी राजनीतिमा लाग्ने युवा पुस्ताका नेपाली हुन् । उनले यसअघि सोही पदमा दुई कार्यकाल निर्वाचित भई काम गरिसकेका छन् । विगत १० बर्षदेखि भर्जिनियाको हर्नडन शहरमा स्थायी बसोवास गर्दै आएका ढकाल स्थानीय नेपाली समुदायका संघसंस्थामा सक्रिय रुपमा सामाजिक काम गर्दै अमेरिकाको मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । कम उमेरमै स्थानीय राजनीतिमा पाएको उनको सफलताले अमेरिकाको राज्यस्तर र केन्द्रीय राजनीतिमा पनि उनका लागि बाटो खुल्ने आशा नेपाली समुदायले राखेको छ । उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००६ मा अमेरिका आएका थिए ।
ढकालले स्थानीयका समस्याहरु विद्यालयको स्तरोन्नति, समावेशिता, शहरको ट्राफिक व्यबस्थापनमा सुधारजस्ता विषयहरुलाई आफ्नो चुनावी मुद्धा बनाएका थिए । उनको विजयले मतदाताका रुपमा नेपाली मूलका समुदायको उल्लेख्य उपस्थिति नहुंदा पनि स्थानीय राजनीतिमा आफूले अघि सारेका मुद्धाहरुका कारण जनताको मन जित्न सकिन्छ भन्ने कुरालाई स्थापित गरेको छ । अमेरिकामा किरण सिटौला, ह्यारी भण्डारी, सरहाना श्रेष्ठ, रामचन्द्र श्रेष्ठसंगै प्रदीप ढकाल पनि नेपाली मूलका अमेरिकी राजनीतिकर्मीको लाइनमा दह्रोसंग उभिएका छन् ।
Facebook Comment