पाँच दिनदेखि जुम्लाको सञ्चार सेवा अवरुद्ध

डिसी नेपाल
२५ कार्तिक २०७९ १६:०३

जुम्ला । पाँच दिनदेखि जुम्लाको सञ्चार सेवा अवरुद्ध हुँदा जुम्लाका स्थानीयवासीदेखि सरकारी तथा गैरसरकारी कार्यालयलाई सास्ती भएको छ ।

जिल्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दुरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सञ्चार जगत्को मत्वपूर्ण भूमिका छ ।

सङ्घ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा जुम्लामा एक सातादेखि सञ्चार सेवा अस्तव्यस्त भएको छ । इन्टरनेट सेवा र भ्वाइसकल पूर्णरुपमा अवरुद्ध भएको छ भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई सास्ती भएको छ । भ्वाइसकल र इन्टरनेट सेवा अवरुद्ध हुँदा चुनावी गतिविधि प्रकाशनलगायतका काम प्रभावित भएका छन् । भ्वाइसकलमा कुरा नबुझिने, फोन नलाग्ने, नाम मात्रको फोर जी देखिने टु जी बजारको काम नगर्ने समस्याले उपभोक्ता मारमा परेका हुन् ।

असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आए पनि पटकपटक अवरुद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ ।

सञ्चार सेवा अस्तव्यस्त भएको गुनासोपछि नेपाल पत्रकार महासङ्घले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम शाखा जुम्ला र निर्वाचन आयोगलाई विज्ञप्ति बुझाउँदै सञ्चार सेवा सुधारका लागि ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जिल्लामा फोर जी सेवा सञ्चालन भए पनि टु जी जस्तो सेवा छ । टेलिफोन र इन्टरनेट सेवा पटकपटक अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कामकाज, निर्वाचन तयारीको काम र सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् । उपभोक्ता मारमा परेको गुनासो बढेको छ । समस्या पहिचान गरी यथाशक्य समाधान गरी सेवा प्रवाह गर्न ध्यानाकर्षण गर्दछौँ ।”

प्रमुख जिल्ला अधिकारी केसरीले जुम्लाको सञ्चार सेवा दयनीय भएकाले सुधारका लागि पहल भइरहेको बताए । क्षमता कम र प्रयोगकर्ता बढी हुँदा समस्या आएकाले चिमारा र माइथाप्लामा क्षमता वृद्धिका लागि काम भइरहेको उनले बताए ।

पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले चुनाव नजिकिँदै गर्दा जुम्लामा सञ्चार सेवा अवरुद्ध हुँदा सबै गतिविधि प्रभावित भएको जानकारी दिए । सार्वजनिक चासोका विषयलाई उजागर गर्न महासङ्घले ध्यानाकर्षण गराएका छौँ । चाँडै सुधार नभए अन्य दबावका कार्यक्रम अघि बढाउने अध्यक्ष शाहीले बताए । नेपाल टेलिकम कार्यालयका प्रमुख रामचन्द्र श्रेष्ठले चिमरा टावरको आइडियु र ओडियु प्रणालीमा समस्या आएको बताए । नयाँ मेसिन जडानको काम भइरहेको टेलिकमले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *