सेमिफाइनलमा हारपछि भावुक बनेका विराट कोहलीले के भने ?
काठमाडौं । अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डसँग भारतीय टोली नराम्ररी पराजित भएको छ । इंग्ल्याण्डले भारतलाई १० विकेटले हरायो ।
अब पाकिस्तानले आइतबार इंग्ल्याण्डसँग खेल्नेछ । भारतबाट यस विश्वकपको स्टार खेलाडी विराट कोहलीले अहिले ट्वीटमा आफ्नो निराशा व्यक्त गरेका छन् ।
अष्ट्रेलियाबाट भारत जानुअघि उनले ट्वीट गर्दै आफ्नो सपना पूरा नगरी निराशाका साथ अस्ट्रेलिया छाडिरहेको लेखेका छन् ।
उनले लेखेका छन्–समूहका रूपमा हामी यहाँबाट अझ राम्रो गर्ने लक्ष्यका साथ धेरै अविस्मरणीय पलहरू हामीसँग लिएर जाँदैछौं । विराट कोहलीले भारतीय टोलीलाई समर्थन गर्न ठूलो संख्यामा स्टेडियममा आएका सबै क्रिकेट फ्यानहरूलाई धन्यवाद पनि दिए।
भारतको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्दा सधैं गौरवको अनुभूति हुने उनले लेखेका छन् । यो विश्वकपमा भारतले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर भारतको टोली सेमिफाइनलमा पराजित भएको थियो ।
यस विश्वकपमा भारतले दुई खेल मात्रै हारेको छ । समूह चरणमा दक्षिण अफ्रिका र सेमिफाइनलमा इंग्ल्याण्डसँग । विराट कोहली भारतका सबैभन्दा ठूलो खेलाडी साबित भए । उनले ६ खेलमा २९२ रन बनाए, जुन यस विश्वकपमा सबैभन्दा धेरै रन हो। उनले सेमिफाइनलमा पनि अर्धशतक बनाएका थिए ।
Facebook Comment