भलिबलमा उदाउँदा रवि

डिसी नेपाल
२८ कार्तिक २०७९ १५:५३

बागलुङ– अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू–२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुगेका छन् ।

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये उनी अग्रस्थानमा छन् । उनी आइतबारदेखि बन्द प्रशिक्षणमा छन् ।

नेपाल भलिबल सङ्घले खुला छनोटबाट आएका खेलाडीलाई एक महिनाको अभ्यासपछि अन्तिम १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । उक्त टोली आगामी पुस ५ देखि ११ गतेसम्म बङ्गलादेशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट भाग लिनेछ ।

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा प्रतियोगिता हुन लागेको हो ।

नेपालले पहिलो पटक यू–२३ राष्ट्रिय टोली निर्माण गरी भाग लिन लागेको प्रतियोगिता खेल्न पाउनेमा २२ वर्षीय केसी ढुक्क छन् ।

“खेलाडीका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने इच्छा थियो”, केसीले भन्ने, “टोलीमा पक्कै पर्छु भन्ने लागेको छ, मेहनत पनि त्यसै अनुसार गरिहेको छु ।”

दुई वर्षअघि काठमाडौँमा सम्पन्न भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा रविले डेब्यु गरेका थिए । गलकोट स्पोर्टस् क्लबबाट प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए । ओपन स्पाइकर रविले त्यसता ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेलेका थिए ।

१४–१५ वर्षको उमेरदेखि भलिबल खेल सुरु गर्नुभएका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिएका छैन् ।

“प्रतियोगिताका बेला हुने सामान्य अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर पाएको छैन”, उनले भने, “अहिलेसम्म कुनै क्लबमा पनि आवद्ध भएको छैन ।”

यहाँको गलकोट नगरपालिका–७ मल्ममा जन्मीएका केसी गाउँमै भलिबल खेल्दै र सिक्दै आएका हुन् ।

जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताए ।

“अब अन्तिम १४ मा परेर रविले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेमा हामी विश्वस्त छौँ”, अध्यक्ष भण्डारीले भने, “उनलाई राष्ट्रिय टोलीमा पार्न हाम्रो प्रयत्न रहन्छ ।”

रविलाई सानैदेखि भलिबलतिर आकर्षित गर्न सुरेन्द्र केसीको नाम अघि आउँछ । उहाँ हाल गलकोट भलिबल टिमका प्रशिक्षक समेत हुनुहुन्छ । रवि र सुरेन्द्रले सँगैसँगै थुप्रै प्रतियोगिता खेलेर टोलीलाई जिताएका छन् ।

“रविले सुरुमा वडास्तरीय प्रतियोगिताबाट खेल जीवन सुरु गर्नु भएको हो, मैले नै धेरै ठाउँमा उनलाई अघि सारेर भलिबल सिकाएको हुँ”, प्रशिक्षक केसीले भने, “रवि कुशल स्पाइकर हुन्, अनुशासन र इमान्दारिता उनको अर्को सम्पत्ति हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *