गद्य कविता : चुनाव!
सगरमाथा खिस्याउँदै छ
मेचीकाली गुहार माग्दै छन्
कुला
कुलेसा
नहरहरू
ठाडो घाँटी लगाएर
मिनिरल वाटर
घुटुक्क घुटुक पार्दै छन्
न्याउली कुरीकुरी भन्दै छे
आश्वासनका चाङ्ग पाएर
नौ रङ्गी पङ्ख फिँजाउँदै
मयूर परबाट गिज्याउँदै छ
जिस्क्साउँदै छ
नर्तकहरूको
नाँच देखेर
चुनावको
दङ्ग पर्दै
राता दाँतले भरिएका
गिजाहरू
न्याक्ल्याक्क पार्दै
बुढी बजू
गमबुटमाथि
मिन्स्कट लगाएर
ढलकढलक
ढल्किँदै छिन्
बाइरोडको बाटोमा
ताली पड्काउँदै छन्
खङ्ग्रङ्ग परेका रूखहरूले
सायद बजूको
भेषभुषा देखेर
चुनावको
दङ्ग पर्दै
काले कौवा
संचारको तारतम्यमा
ब्यस्त
र मस्त छ
चरन छोडेर
भेडा बाख्राहरू
चौतारीमा
जुलुस
र सभाको
रौनक हेर्दै
उग्राउँदै छन्
चाला देखेर
चुनावको
दङ्ग पदै
पैह्राहरू
ताली पिटीपिटी हास्दैछन्
सायद देखेर
नयाँ नेपालको शुभ सङ्केत
र
सुनेर
भाषण चोटिला
फेरिने भयो
नयाँ लगौटी
देखेर चुनावको
दङ्ग पर्दै
केही भनेजस्तो
केही सोचेजस्तो
मुखामुख गर्दै
पूर्वमा टिष्टा
पश्चिममा काङ्गडा
गद्गद् हुँदै छन्
सायद फन्दामा
नपरेर
चुनावको
दङ्ग पर्दै
खुसुखुसु
कानेखुशी गर्दै
कमिलाहरू
छ्यापछ्याप छाप
ठोक्न आतुर छन्
यो पटक पनि भनेर
विश्वस्त होलान्
उम्मेद्वार
फेरि पनि
तर
अवश्य जरूरत छ
सोचविचार
मननको
आवरणले गुदी
चिनाउँदैन
नकार्नु पर्छ
बाबाआमाको
बात पनि
लोकको लागि
हाम्रा होइन राम्रो
तेरो मेरो हइन हाम्रो
रोजौँ
ठोकौँ छाप राम्रोलाई
र पो त
जुलुसले स्वागत गर्छ
नाँच्दै गाउँदै
सबै सँगै भेटौला
उठाउँदै देशको झण्डा
हल्लामा होइन खुशीले
पिटौला ताली
दङ्ग पर्दै
हाँस्ने छ सगरमाथा
नाच्ने छ मयूर
गद्गद् हुनेछ
पाएर परिणाम
चुनावको
मुस्कुराउने छ
दङ्ग पर्दै।।
Facebook Comment