विश्वकपको उदघाटन खेलमा इक्वेडरसँग आयोजक कतार पराजित
काठमाडौं। इनर भ्यालेन्सियाले दुई गोल गरेपछि कतार विश्वकप फुटबलको इतिहासमै पहिलो पटक उद्घाटन खेलमा आयोजक टोली पराजित भएको छ। कप्तान भ्यालेन्सियाको दुई गोल गरेपछि दक्षिण अमेरिकी टोली इक्वेडरले कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आइतबार राति आयोजक कतारलाई २- ० को नतिजामा हरायो।
१९३० बाट सुरु भएको विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको २१औं संस्करणसम्म उद्घाटन खेलमा आयोजकले पराजय भोग्नु परेको थिएन। तर, दोहाको अल बेत रंगशालामा इक्वेडरको जितमा भ्यालेन्सियाले १६ र ३१औं मिनेटमा गोल गरेका थिए।
कतार गोलकिपर साद अब्दुल्लाह अल सेबले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई अग्रता दिलाएका थिए।
त्यसको १५ मिनेटपछि एन्जेलो प्रेसियाडोको क्रसलाई उत्कृष्ट हेड गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई २-० को सहज अवस्थामा पुर्याए। त्यसअघि तेस्रो मिनेटमै भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगबाट रेफ्रीले त्यसलाई अफसाइड करार दिएका थिए।
जितसँगै समूह ए बाट इक्वेडरले महत्वपूर्ण तीन अंक जोडेको छ । कतार भने विना अंक छ।
Facebook Comment