फिफा विश्वकपः अर्जेन्टिनालाई पहिलो गाँसमै ढुंगा
काठमाडौं । फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले खराब सुरूवात गरेको छ।
मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिना साउदी अरेबियासँग पराजित भएको हो । साउदी अरेबियाले पहिलो खेलमै उत्कृष्ट गर्दै अर्जेन्टिनालाई २–१ गोलले हराएको हो ।
लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो ।
खेलको २८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ४९औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ को जित दिलाए ।
Facebook Comment