माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘सन्नाटा’

शरद रिजाल
१६ मंसिर २०७९ ७:०२

काठमाडौं । विहीबार दिउँसो नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा पुग्दा पार्टी कार्यालय सुनसान देखिन्थ्यो। कार्यालयमा महासचिव देव गुरुङ, कार्यालयका मुख्य सचिव तथा कोषाध्यक्ष श्रीराम ढकाल र सचिव डोरप्रसाद उपाध्याय लगायत अन्य केही नेतामात्रै भेटिए।

त्यहाँ पुग्दा उनीहरु चुनावी समीक्षामा ब्यस्त देखिन्थे। कतिपयले एकल रुपमा चुनावी मैदानमा उत्रिएको भए पनि यो भन्दा राम्रो परिणाम आउने अनुमान लगाउँदै थिए भने कतिपयले गठबन्धनका अन्य दलले यथोचित सहयोग नगरेको गुनासो गरिरहेका थिए।

माओवादी पार्टी कार्यालय पहिले भन्दा सुनसान नै थियो। त्यहाँ कार्यकर्ता र नेताहरुको उल्लेख्य उपस्थिति देखिएन। यही क्रममा माओवादी केन्द्रीय सदस्य विमल अधिकारी भेटिए।

उनले केन्द्रीय कार्यालयको तल्लो तलामा रहेका पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव तथा कोषाध्यक्ष श्रीराम ढकालसँग भेट गराए। माथिल्लो (दोस्रो)तलामा महासचिव देव गुरुङ कार्यकर्ता भेटघाटमा ब्यस्त थिए।

माओवादीका उपत्यका प्रदेश विशेष समन्वय समितिका अध्यक्ष श्रीनाथ अधिकारी पनि त्यही कोठामा रहेछन्। उनीहरु चुनावी परिणामको विषयमा वार्तालाप गरिरहेका थिए।

त्यहाँ पुगे लगत्तै उनीहरुले कुराकानीलाई निसंकोच अगाडि बढाए। ती दुबैको कुराकानी एमालेलक्षित नै थियो। उनीहरु भन्दै थिए, ‘एमालेमा संगठित कार्यकर्ता छन् हाम्रा त सबै नेतामुखी मात्रै भए। न लेबीको मतलब छ। न संगठन निर्माणमा तदारुकता,’ उनले अगाडि थपे, ‘म एउटै पार्टी हुँदा केन्द्रीय कार्यालय सचिव भएका बेला धुम्बाराही पार्टी कार्यालयमा देखेको उनीहरुले अनिवार्य लेबी तिर्छन् कार्यकर्ता संगठित छन्। स्वरोजगारमूलक गतिबिधिमा जोडिएका छन्।’

उनले आफ्नो पार्टीको सांगठनिक अवस्था भद्रगोल भएको कार्यकर्ता सहरमुखी र परनिर्भर भएको भन्दै असन्तुष्टि ब्यक्त गरिरहेका थिए।

यही क्रममा गठबन्धनबाट यथोचित सहयोग नभएको निश्कर्ष निकाले नेता विमल अधिकारीले। उनले भने, ‘गठबन्धनबाट सहयोग भएन बरु एक्लै लडेको भए पनि यो भन्दा बढी सीट आँउथ्यो। उनको कुरा सकिन नपाउँदै माओवादी कार्यालयका मुख्य सचिव तथा कोषाध्यक्ष ढकालले भने, ‘सबैतिरबाट माओवादीलाई आक्रमण भयो हामीले जनताकाबीच पनि प्रष्ट ढंगले समानुपातिक मत माग्न सकेनौ। एक्लै लडेको भएपनि यति त आउँथ्यो।’ उनले अधिकारीको कुरामा नै सहमति जनाए।

बाहिर ढोकानेरै घाम ताप्दै गरेका केही माओवादी कार्यकर्ता भने यत्रो बलिदानी गरेर आएको पार्टी भन्दा पाँच महिना अगाडि खुलेको रवि लामिछानेको पार्टीले समानुपातिकमा बराबरी सीट ल्याउन लागेको भन्दै रोष प्रकट गर्दै थिए। उनीहरु अनपेक्षित चुनावी परिणामले पार्टी कार्यालयमा सन्नाटा छाएको भन्दै एक-आपसमा कानेखुशी गरिरहेका थिए।

त्यसपछि माथिल्लो (दोस्रो) तलामा उक्लियौं। जहाँ माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय आफ्नै कार्यकक्षमा थिए। उनीसँग केही कुराकानी गर्दा उनीे भने माओवादीको चुनावी परिणामप्रति सन्तुष्ट रहेको बताए।

परणामलाई सन्तोषजनकरुपमा लिएको बताउँदै अन्य त्यहाँ उपस्थित केही नेता कार्यकर्तालाई सान्त्वना दिए। उनले गठबन्धनबाट केही असहयोग भएपनि माओवादीको आउने सीट यत्ति नै भएको ठोकुवा गर्दै चित्त बुझाएको बताए। उनी आफन्तको विवाहमा जान हतार भएको भन्दै केही समय गाफिएपछि बाहिर निस्किए।

त्यसपछि त्यही तलामा रहेको महासचिको कोठामा जानै लाग्दा लमजुङबाट आएका माओवादी कार्यकता गुरुङलाई भेट्न पर्खिरहेका थिए। गुरुङ भने भित्र मिडियालाई अन्तर्वार्ता दिन ब्यस्त थिए। सायद उनले कुनै टेलिभिजनमा अन्तर्वाता दिँदै थिए।

केही समयको पर्खाइपछि गुरुङसँगको सामान्य भलाकुसारी भयो उनले चुनावपछि नियमित रुपमा पार्टी कार्यालय आउन थालेको जानकारी दिए। नेता अधिकारीले केही समय महासचिव गुरुङसँग बातचित गर्न भित्र कोठामा लागे। अन्य केही कार्यकर्ता उनको पर्खाइमा वेटिङ रुममा थिए।

यत्तिकैमा हस्याङफस्याङ गदै दुई युवा पार्टी कार्यालयको दास्रो तलामा प्रवेश गरे। उनीहरुले मुख्य सचिव ढकाललाई भेट्न आएको बताए। नजिकै रहेका महासचिव गुरुङका पिएसओले ‘यतै कतै हुनुन्छ’ भन्दै केही समय पर्खन र बाहिर बस्न इसारा गरे। त्यसपछि ती युवाहरु केही समय पर्खेर बसे तर आउने छाँटकाँट नदेखेपछि तल्लो तलामा ओर्लिए।

धेरै समय पर्खदा पनि नआएपछि उनीहरु भेट्न बोलाएर कार्यालयमा नबस्ने भन्दै गुनासो गर्दै थिए, सायद कुनै काम विशेषले आएका थिए होलान्।

सोहीक्रममा तिनीहरुले मुख्यसचिव ढकाललाई फोन गरे। फोनमा ढकालले आफू नआउने बताउँदै कार्यालयमा रहेका अर्को कुनै ब्यक्तिलाई भेट्न आग्रह गर्दै फोन राखे । त्यसपछि ती दुई युवा रिसाउँदै भित्र कोठामा उक्त ब्यक्तिको नाम बोलाउँदै खोज्न थाले।

अन्तिममा बाहिर निस्किने क्रममा ती दुवै निराश देखिएका थिए, सायद उनीहरुको भेट भएन या अपेक्षा अरुबाट पूरा भएन, उनीहरु रुष्ट हुँदै मुलढोकाबाट बाहिर आएर भन्दै थिए, ‘यस्तै भएर त माओवादी सक्किएको हो भेट्न बोलाएर समय नदिने’ आक्रोशित ती दुई युवा पार्टी कार्यालय अगाडि उभिएर फोटो खिचाए त्यसपछि पेरिसडाँडाको गेटबाट बाहिरिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *