कतार विश्वकप: जर्मनीको बहिर्गमनले फैलिएको सनसनी
बीबीसी। “फुटबल भनेको एउटा बडो साधारण खेल हो। २२ जना मानिस ९० मिनेटसम्म एउटा बलको पछाडि कुद्छन कुद्छन्…अनि अन्त्यमा खेल जर्मनीले नै जित्छ।”
विश्व फुटबलमा जर्मनीको दबदबा झल्काउने इङ्ग्ल्याण्डका पूर्व स्ट्राइकर ग्यारी लिनेकरको यो सदा स्मरणीय उक्ति अहिले कस्तो कस्तो लाग्छ।
जारी कतार विश्वकपबाट जर्मनीको पछिल्लो लज्जाजनक बहिर्गमनले त झन् सो उक्ति वास्तविकताबाट अहिले कति पर पुगसक्यो भन्ने देखाउँछ।
जर्मनी कसरी खस्कियो?
कुनै समय जर्मनीलाई यस्तो टोली मानिन्थ्यो जो सधैँ विश्वकप तथा अन्य महत्त्वपूर्ण प्रतियोगिताहरूका अन्तिम चरणहरूमा पुग्ने निश्चित् जस्तै हुन्थ्यो।
गए राति भएको खेलमा जर्मनीले कोस्टारिकालाई ४-२ ले जित्यो तर सोही समूहको अर्को खेलमा जापानले स्पेनलाई पराजित गर्नासाथ जर्मनीको अगाडि बढ्ने सबै आश मर्यो।
योसँगै लगातार दोस्रो विश्वकप प्रतियोगितामा जर्मनी पहिलो चरणबाटै बाहिरिएको छ। सन् २०१८ मा रुसमा भएको विश्वकपमा पनि जर्मनीको यही हालत भएको थियो।
तर त्योभन्दा अगाडिका १६ वटा प्रतियोगितामा त्यस्तो कहिल्यै भएको थिएन। यो अवस्थामा अब जर्मनी फुटबलको ‘बी’ श्रेणीमा खस्कने खतरा टड्कारो छ।
खेलको अन्त्यमा जर्मनीका खेलाडीहरूले रङ्गशालाका खाली कुर्सी हेरे – जुन उनीहरूको पीडादायी अभियानको दुःखद अन्त्य जस्तो लाग्थ्यो किनकी रेफ्रीले अन्तिम सिटी फुक्नु अगावै उसको भाग्य कोरिइसकेको थियो र त्यसले उसका कैयन् प्रशंसक खेल नसकिँदै रङ्गशाला छाड्न आतुर भइसकेका थिए।
खेलको सुरुमा जर्मनीले १ गोल हानेको थियो तर कोस्टारिकाले लगातार २ गोल फर्काएपछि कतै जर्मनी सँगसँगै स्पेन पनि बाहिरिने हो कि भन्ने अवस्था आइपरेको थियो। तर काइ हाभर्ट्जले दुई गोल हानेर त्यो अवस्था आउन दिएनन्। जर्मनीले चौथो गोल पनि थप्यो तर त्यसको खास अर्थ रहेन।
जर्मनीले खेल त जित्यो तर उता जापानले स्पेनलाई पराजित गर्नासाथ त्यो अपर्याप्त हुन पुग्यो।
अन्तिम सिटीको आवाजसँगै जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लीक मलिन देखिए भने रक्षक एन्टोनियो रुडिगर लल्याकलुलुक भए र अनुभवी गोलरक्षक म्यानुएल नोएरले अविश्वासपूर्ण अनि रित्तो नजर दौडाए।
प्रतिष्ठामा दाग
पुरानो प्रतिष्ठा र इतिहासका आधारमा जर्मनीको बहिर्गमन एउटा अप्रत्याशित घटना थियो। तर उनीहरूले गुनासो गर्ने ठाउँ भने छैन। यसअघि रुसमा भएको विश्वकपमा पनि आफ्नो समूहमा जर्मनी अन्तिम स्थानमा खुम्चिनु परेको थियो।
त्यतिखेर उसको समूहमा स्वीडन, मेक्सिको र दक्षिण कोरिया थिए। यसपाली सुरुकै खेलमा जापानसँग जर्मनी हार्यो।
सन् २०१४ मा आर्जेन्टिनालाई हराएर उपाधि उचालेको जर्मनीको अपराजेय शक्तिको छविमा यी पछिल्ला प्रदर्शनहरूले धक्का लागेको छ। सन् २०२० को युरो प्रतियोगितामा पनि जर्मनीको प्रदर्शन औसत रह्यो।
जर्मनीको चर्चित सेतो जर्सीसँग सम्बन्धित डर वा धक बाँकी रहेको देखिएन। सन् २०२१ मा फ्लिक मुख्य प्रशिक्षक नियुक्त भए। तर यसपाली कतारमा पहिलो खेलमै जापानसँग हारेपछि जर्मनीको स्थिति नाजुक बन्यो। स्पेनसँग बराबरी अनि कोस्टारिकालाई जित्दा पनि जर्मनी बाहिरियो।
सफलताको अपेक्षा
जर्मनीमा सफलताको अपेक्षा यति धेरै छ कि यो पछिल्लो हारले त्यहाँ लामो बहस छेडिने पक्का छ – कहाँ गल्ती भयो के कमजोरी रह्यो भनेर खोतलिनेछ।
सही मार्गमा फर्कन के गर्नु पर्छ भन्ने बहस पनि हुनेछ किनकी यो हार जर्मन प्रणालीकै निम्ति स्तब्धकारी रह्यो। फ्लिक र उनका खेलाडीले यो पुनर्स्थापना तत्कालै गरिहाल्नुपर्नेछ किनभने सन् २०२४ को युरो प्रतियोगिता जर्मनीमै हुनेछ।
गृह मैदानमा घरेलु दर्शककै सामु यस्तै पराजय हुने कुरा उनीहरू सोच्न पनि सक्दैनन्। जर्मनीसँग असाधारण युवा प्रतिभाहरू छन्। १९ वर्षका जमाल मुसियाला अनि २३ वर्षका काइ हाभर्ट्ज। तर विगतमा धेरै सफलता दिलाएका पाका खेलाडीहरू अब पाखा लाग्दैछन्।
३६ वर्षका नोयरको पक्कै यो अन्तिम विश्वकप होला। टमस मुलर ३३ वर्षका भइसके। इल्काइ गुन्डोगान ३२ वर्षका भइसके। हुन त निक्लास फुलक्रुगले स्पेन र कोस्टारिकाविरुद्ध गोल हाने तर अन्य खेलाडी घाइते भएकाले मात्र उनले अवसर पाएका थिए।
त्यस्तै २७ वर्षीय योशुवा किमिख आगामी दिनमा जर्मनीका निम्ति महत्त्वपूर्ण खेलाडी हुनेछन्। सारमा के हो भने यो प्रतियोगिताभरि नै जर्मनीको पुरानो चमक देखिएन – त्यो सुदृढ रक्षापङ्क्ति कतै देखिएन भने आक्रमण पनि हलुका किसिमका थिए।
फुटबल प्रतियोगितामा यो भनेको घातक मिश्रण हो। जर्मनीको अपराजेय छवि धुमिलिएको धेरै भइसक्यो। केहि सातायताका प्रदर्शनले केवल त्यसको पुष्टिमात्रै गरेको हो। जर्मनीको टोली अब विश्व फुटबलका पराजित महारथीको ‘ट्याग’ लिएर कतारबाट फर्कँदैछ।
Facebook Comment