व्यंग्य : पुुरानो बोतलमा नयाँ रक्सी
दलहरुले यसोउसो र जसोतसो गरेर चुनावको झटारो सक्नासाथ जनताको हित र भलाईको लागि सरकार बनाउने चटारोमा लागिसके। यो ज्यादै राम्रो खबर पनि हो। जनताको भोट देखाएर मनग्गे नोट कमाउने र सांसद भएर खुसीले रमाउने कामको लाईसेन्स रिन्यू भएपछि दंग नहुुने कुरै भएन।
आफ्नो लाईसेन्स रिन्यू भएपनि जनताको सवारी चालकको लाईसेन्स पाँच बर्षमापनि रिन्यू हुने ब्यबस्था गर्न नसकेको देख्दा चाहिँ जनता अलि खिन्न हुनुलाई त्यति भिन्न रुपमा लिन हुँदैन। त्यस्ता सानातिना र झिनामसिना कुुरालाई वास्ता गरिराख्न आबश्यकपनि छैन।
जनताको सबैखाले पिरमर्का निर्मुल पारिन्छ भनेर निकै चर्का कुरा गरेपनि उनिहरुलाई आफ्नै पिरलोले सधैंभरि पिर पारेकै देखिन्छ। आआफ्नै किसिमका पिर नभएका र तिनकै पछि नगएका यो दुुनियामा को नै छन् र ? माननीयहरुकापनि आआफ्नै पिर छन्।
केही महिना अघिसम्म चुनावमा टिकट पाइन्छ कि पाइन्न भन्ने पिर,टिकट पाएपनि कति तिरेपछि पाइने हो भन्ने पिर, केही हप्ता अघिसम्म आफ्नै दलका बागिले दुुख देलान् भन्ने पिर,अलि दिन अघिसम्म जनताले भोट नदेलान् कि भन्ने पिर,केहि दिन अघिसम्म धाँधली गरेर हराइ दिन्छन् कि भन्ने पिर,फेरि चुनाव जितेपछि मन्त्रि बन्न पाइन्छ कि पाइन्न भन्ने पिर,अहिले त अझ कतिलाई त सरकार प्रधान बन्न पाइन्छ कि पाइन्न भन्ने पिरपनि थपिएको र त्यो पदमा पुुग्ने मैँ हुुँ भनेर आफ्नै नाम जपिएको धेरैजनाबाट सुनिएको छ।
यसपालि सरकार प्रधान मैले खान पाउन पर्छ र अरु सबैजना मेरो समर्थनमा आउन पर्छ भनेर धेरैले भनेको पहिलो पल्ट सुनिएको हो । यसबाट पुराना धेरै अनुुभवीहरुलाईपनि पिर र नयाँ आकाँक्षीहरुलाईपनि पिर परेको देखिन्छ। चुनावको पुरै नतिजा नआउँदै सरकार प्रधानमा हानथाप भएको देख्दा र सुुन्दा नतिजा आएपछि र को सरकार प्रधान हुने भन्ने थाहा पाएपछि खुुट्टा तानातान अनि भित्रभित्र हानाहान भएको भब्य प्रदर्शन हेर्न त बाँकि नै छ।
यसपाली रुख हँसियाहथौडा कलम लोसपा आदिको बाम लोकतान्त्रिक गठबन्धनले एकातिर र सूूर्य हलो गाइ राजपा आदिको अर्को बाम लोकतान्त्रिक नै गठबन्धन दुुबैले बहुमत ल्याएर देखाइदिने उद्घोष गरेपनि र आफैंले सरकार बनाउने भ्रम छरेपनि त्यस्तो नतिजा आएन।
बालकोटे कामरेडले त सबैलाई एक कदम अगाडि उछिन्दै मंसिर पन्ध्र गतेभित्र आफ्नो नेतृत्वमा सरकार बन्ने र अरुले रिसले आफ्नो खोइरो खन्ने घोषणा गरेर सबैलाई हँसाए। हुनत उनले यसअघिपनि यस्ता धेरै घोषणाहरु गरेर स्वदेश बिदेश सबैतिर बस्ने जनतालाई प्रशस्त मनोरन्जन गराइ सकेका छन्।
कसैको बहुमत नआएर र कसैले पनि एकलौटी खान नपाएर संसदमा आएका सानातिना दलहरुलाई धपाएर खान खोज्नेहरुलाई साना दलको ढोका धाउने बनाएको देख्दा कहिले कसको पालो कहिले कसको पालो भनेको ठिकै रहेछ भन्न सकिन्छ।
बुढानिलकण्ठे सभापतिपनि अरुसित टाँसिएर र भोट नआउने डरले गाँसिएर चुनाव लड्दा बहुमत नपुगेर आफ्नैले सरकार प्रधान खान र छैँठौ पटक त्यो पदमा जान दिन्छन् कि दिँदैनन् भनेर झस्केका छन्।
स्वघोषित महान नेता खुमलटारे कामरेडले निकै फूर्तसाथ सरकार प्रधान खान मुख मिठ्याएर गठबन्धन गर्दै चुनावमा होमिएकोमा रुखवालाले हँसिया हथौडामा भोट नहाल्नाले चोट बेहोर्न परेको भनेर खुलस्त भनौँ भने आगामि सरकारमा सोचेजस्तो स्थान नपाइएला भनेर मुखमा बिर्को लगाएर बसेका छन्।
सत्र हजार मान्छे मारेर आएको सत्र बर्षपछिको चुनावमा प्रत्यक्षतर्फ जम्मा सत्रै सिटमा झारेर जनताले उनको औकात देखाइ दिएकोमा आक्रोशित भएपनि यिनले पहिले जस्तो डरधम्कीयुक्त भाषामा कसैलाई केही भन्न सकेका छैनन्।
चुनावको नतिजाले भित्रभित्र जलेपनि र जनताको नजरमा यिनको हैसियत क्रमशः ढले पनि गठबन्धन छोडेर अनि दिशा मोडेर अन्त जान सक्ने अबस्था नभएकोले बाहिर निकै फुर्ति गरेजस्तो गर्दै दुबै हात जोडेर सरकारमा राम्रै भाग भेट्याउने कसरतमा यिनको सबैथोक केन्द्रित छ।
बुहारीसहित आफ्ना ज्यादै भित्रिया सहयोगीहरुले लाजमर्दो तरिकाले चुनाव हारेको र आफूले हेपेको उम्मेदवारले बाजी मारेको देखेर यिनले आफ्नो भबिष्यको चित्रदेखि सकेपनि मुखले फ्याट्ट बोल्न सकेका छैनन्।
आफ्नो दल छोडेर धेरै दलहरुमा चहारेर टिक्न नसकेपछि फर्केर सहकर्मी हुन आएका पिएचडी कामरेडकी छोरीलाई राजधानीको एउटा सिट दिँदै फकाएर गोरखाको उनको चुनाव क्षेत्र नहत्याएको भए चितवनका जनताले नपत्याएको कारणले चुनाव हारेर उनै छोरीको अबस्था बेहोर्न पर्ने रहेछ भन्ने यिनलाई लागेको हुनुपर्छ।
राजधानीमा साफ हुनु, सूदुर पश्चिममा साफ हुनु, बहालवाला होनहार मन्त्री, होनहार महिला नेत्रीसमेतका नेताहरुले चुनाव हार्नु र त्यस्ता ठाउँमा अर्कैले बाजी मार्नु भएको देख्दा अब सरकारमा बार्गेनिङ गर्ने हैसियत अलि खस्केको अनि स्वतन्त्र र पहिले हेपेको साना दलहरुबाट झस्केको हुनाले पहिले पहिले यिनले पस्केको हावादारी योजनाहरु जनताबाट अनुमोदन नभएको हो कि भन्ने उपबुज्रुकहरुको कुरा सुन्न हुँदैन।
अहिले चुनाव जितेको गोरखाका जनताले अब बिकासको अनुभूति गर्न पाउने र त्यहाँ आकाश पातालको फरक आउने भनेको सुुन्दा यसभन्दा अगाडि चुनाव जितेको तिन निर्वाचन क्षेत्रका जनताले अनुभूति गरेको बिकासको नमूना देख्दैमा सबैले पत्याइ सकेका छन्।
मूलधारको राजनीतिमा आएपछिको पहिलो संबिधान सभाको चुनाव पछिका हरेक चुनावमा स्तर खस्किँदै गएको देख्दा अब धेरै समय मस्किँदै हिँड्ने अबस्था हुन्छ जस्तो देखिँदैन।
फलानालाई मैले यहाँ पुुर्याएको, फलानालाई मैले त्यहाँ पुर्याएको, फलानालाई मैले नै जिताएको र फलानालाई मैले नै बिताएको भन्ने गफ सुन्नपनि अब अलि गाह्रो पर्ला कि जस्तो पो देखियो। अंक गणीतीय राजनीतिमा संसदमा संख्या घटेपछि र औकातले डाँडो कटेपछि साइन बोर्डमा सीमित भएका पुराना हस्तीहरुका दललाई हेरेर पनि केही पाठ सिक्न जरुरी होला।
आफूले जितेको ठाउँमा जनाधार बलियो भएको र अन्य ठाउँमा धाँधली भएर नतिजा अन्यत्र गएको भन्ने पुरानो रोग यसपाली पनि बल्झिएको अनि कतिपय हरुवाहरु यसैमा अल्झिएको देख्दा चुनाव हारेकाहरुलाई जनताले सहानुभूति सहित खुच्चिङ गरेको देख्दा जनता कति आजित भएका रहेछन् भनेर बुझ्न पर्ने हो।
केही स्वघोषित नेताहरुले हारेको र केही नयाँ आशावादी अनुहारहरुले नयाँ एजेण्डासहित जितेर केही आशा अघि सारेको देख्दा अब केही हुँदैन भनेर माया मारेको अबस्थामा केही सुधार हुने हो कि भनेजस्तो देखिन्छ।
कसैको बहुमत नआएर र कसैले पनि एकलौटी खान नपाएर संसदमा आएका सानातिना दलहरुलाई धपाएर खान खोज्नेहरुलाई साना दलको ढोका धाउने बनाएको देख्दा कहिले कसको पालो कहिले कसको पालो भनेको ठिकै रहेछ भन्न सकिन्छ।
हुँदाहुँदा सरकार बनाउन संख्या पुर्याउने उद्देश्यले प्रहरीसहितको हत्या आरोपमा कैद सजाय भोगिरहेका ब्यक्तिलाई पनि तीनतीन जना पूर्ब सरकार प्रधान हतार हतार भेट्न गएको अद्भुत दृश्य यहाँ बाहेक अन्यत्र हेर्न, देख्न र सुन्न नपाइने घटनामै पर्छ होला।
बहालवाला सरकार प्रधानले पनि आफ्नो सुत्रमार्फत तिनैलाई सम्पर्क राखेर सहयोगको याचना गरेको र उनको सहयोगबाट छैठौं पटक सरकार प्रधान हुनेमा ढुक्क परेको भन्ने सुुनेर उनको ज्योतिषीकोसमेत नाक फुलेको देख्दा भोट दिएर जिताउने जनता खुसी नहुने कुरै भएन।
आफ्नै दलका भाइ पुस्ता, छोरा पुुस्ता र नाति पुुस्ताले बसिरहेको कुर्सीबाट खसाल्न र त्यसमा नयाँलाई बसाल्न खोजेको चाहिँ उहाँलाई पटक्कै मन परेको देखिन्न। अहिलेसम्म सबैलाई मिलाएर, सबैलाई चाहेको सबैथोक दिलाएर र देशलाई चाहिँ अकर्मण्यताको नमूना पिलाएर खाइरहेको ठाउँ छोड्ने कुरा पनि आएन।
उता बालकोटे कामरेडले भने जति सिटमा जित्न नसकेपनि गठबन्धनका नेता र कोटेश्वरे कामरेडले भने जस्तो बिजोग भने भएको देखिएन। आफ्नो बहुुमतको सरकार, छ-छ ओटा प्रदेश सरकार आदि सबै सेलाएर भएपनि गफ र उखानद्वारा बिरोधीहरुको टाउकाको जुुम्रा केलाएर रेललगायतका ठूला योजनाहरुबाट जनतालाई केटाकेटी जसरि खेलाएर फेरि पहिलेकोभन्दा बढि सिट जितेर बहुमतको सरकार बनाउने पक्का भएको हल्ला धेरै सुुनिएपनि त्यो अनुुसारको नतिजा भने देखिएन। उहाँ अझै नचेतेको देख्दा कोही पनि अचम्मित भएका छैनन्।
अब त उहाँका यस्ता हाँसो ठट्टा सुुन्न नपाए जनतालाई भातपनि नपच्ने भइसकेको छ। आरी सबैको गफै हो। बहुमत ल्याएर ठूलो दल बन्ने गफ दिँदै हिँडेका कोटेश्वरे कामरेडको दश सिट र समानुुपातिकमा ज्यादै न्यून मत आएको देख्दा राष्ट्रिय दलमासमेत नपर्ने हो कि जस्तो भएकोले छँदा खाँदाको दल छोडेर अरुको पछि लागेर हिँड्नुको फल कस्तो हुुने रहेछ भन्नेपनि धेरैले बुझेको हुनुपर्छ।
छोटो समयमा उदाएका र कसैले नसोचेको संख्यामा भोट कुुदाएका दललाई जनताले अत्यधिक बिश्वास गरेको पाइन्छ। उनीहरुलेपनि पुराना हस्तीहरुकै देखासिकी गरेर उनिहरुकै जस्तो मोजमस्ती तिर मात्रै लाग्ने हो भने जनता फेरि जाग्ने र आफ्नो भोटको हिसाब किताब माग्ने हुनाले घोषणा पत्रमार्फत भने अनुुसारको कार्यशैली अबलम्बन गर्न सुरु गरिहाल्न पछि पर्न नहोला। नत्र पुरानो बोतलमा नयाँ रक्सि हालेकोभन्दा केहि फरक भएन भने खासै उपलब्धि के नै भयो र?
Facebook Comment