यसकारण गगन थापा अब प्रधानमन्त्री बन्नुपर्छ

राजन श्रेष्ठ
२१ मंसिर २०७९ १४:५३

मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मपपरिणाम सार्वजनिक भएको छ। गत स्थानीय चुनाव जस्तै यो पटक पनि युवाहरूले राजनीतिको नेतृत्व गर्नुपर्छ र अगाडि आउनुपर्छ भन्ने मान्यताले विशिष्ट रूपको स्थान पाएको छ। त्यस कुराले यो पनि पायो कि उम्मेदवारको क्षमता र मतदातालाई आकर्षण गर्नसक्ने भिजन तथा जनप्रेमी एजेन्डा दिनसक्ने उम्मेदवारको व्यक्तित्व।

त्यतिमात्रै होइन जनताका बिचमा ल्याउन सक्ने जनप्रिय किसिमका एजेण्डाहरू दिनसक्ने उम्मेदवारले जनताको मत हासिल गरेको पाइयो। युवा बहसको आलोकमा अर्को एउटा शक्ति अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीकोे पनि राष्ट्रिय राजनीतिमा उदय भएको छ।

यस्ता शक्तिको उदयका पछाडि अर्को पनि एउटा कारण हो राजनैतिक फ्रस्ट्रेसन। माओवादी जनयुद्धको विकास र सो युद्धको सहज अवतरणका लागि गरिएको जनसेक्रिफाइस अर्थात् निरकुंश राजतन्त्रको अन्त्य गर्न २०६२ फागुनमा भारतको मध्यस्थतामा गरिएको तत्कालीन सात दलीय मोर्चा र माओवादीको १२ बुँदे दिल्ली सम्झौताको जगमा नेपालमा भएको १९ दिने जनआन्दोलन भयो।

त्यस जनआन्दोलनमार्फत जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नका लागि तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकार र तत्कालीन माओवादी सुप्रिम कमाण्डर अध्यक्ष प्रचण्डसँगको शिखर बार्तामा एउटा विन्दुमा भएको सहमति ऐतिहासिक बन्यो।

ती सहमतिमध्ये एउटा ऐतिहासिक सहमति संविधान सभा मार्फत् नयाँ संविंधान बनाउने सहमति थियो र सो संविधानअनुरुप भएको सविंधान सभाको निर्वाचन तथा त्यस निर्वाचनपश्चात् बनेको संविधान सभाले समय सीमाभित्र संविधान बनाउने गरी नेपाली जनताले म्याण्डेट दिएका थिए।

पहिलो संविधान सभाले समय सीमाभित्र संविधान बनाउन सकेन र थप गरिएको समय पनि गुजारिरहँदा मुलुकमा एउटा प्रकारको अन्योलता सिर्जना भयो। जसका कारण जनतामा चरम राजनैतिक वितृष्णा जाग्यो। नेपाली समाजको भाग्य र भविष्यको फैसला गर्ने नेपाली जनताको हातबाट संविधान लेखेर नयाँ युगको सुरुवात गर्ने कुरामा राजनैतिक दलहरू पटकपटक चुके।

त्यसरी चुकेको राजनैतिक दलप्रति जनताको आक्रोश तथा घृणाको भाव देखिन थाल्यो। अब राजनैतिक वितृष्णा बढ्ने परिस्थिति सिर्जना हुँदा नेपालमा युवाहरूले राजनैतिक हस्तक्षेप गरेर युवा नेतृत्वसहितको राजनीतिको सुरुवात गर्नुपर्छ भन्ने मान्यताको विकास क्रमशः भइरहको थियो।

तत्कालीन नेकपा माओवादीबाट प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पहिलो संविंधान सभाको २०६९ साल जेठ १५ गते विघटन गर्‍याे।  त्यस घटनाले आम नेपाली जनतालाई निरास बनायो।

त्यस बेलासम्म विभिन्न प्रकारले युवाहरूले राजनैतिक नेतृत्वमा आफ्नो उपस्थिति जनाउनुपर्छ भन्ने अनुभूति नेपाली समाजले गरिरहँदा २०७० साल मंसिर चार गते भएको दोस्रो संविधान सभा मार्फत बनेको सुशिल कोइराला नेतृत्वको सरकारले २०७२ असोज ३ गते संविंधान गरेपछि नेपालमा स्थिर सरकार बन्छ र राजनैतिक आसा तथा स्थिरता देखिन्छ भन्ने जनआसा पलाउन थाल्यो तर त्यस्तो दृश्य देखिएन।

२०७४ साल मंसिर १० र ११ गते भएको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनले दुईतिहाइ बहुमत हासिल गर्यो। त्यसपछि दुवै पार्टी एकीकरण भएर बनेको नेकपाको दुई तिहारको सरकार विभिन्न परिस्थितिमा विभिन्न घटना परिघटनाको शिकार भई अन्त्य भएपछि घनिभूूत रूपमा युवाको मुद्दा अगाडि बढ्यो।

युवाले समाजको परिवर्तन गर्नुपर्छ भन्ने मान्यतालाई २०७४ बैशाख ३१ गते भएको स्थानीय निर्वाचनले समेत एक प्रकारको छनक दिएको थियो। जतिबेला विवेकशील नेपाली दलकी रन्जु दर्शनाले २३ हजार ४३९ मत ल्याएपछि नेपाली राजनीतिमा युवाको नेतृत्वमा जनचासो देखिएको प्रस्टै देखियो र राजनीतिमा युुवामैत्री नेतृत्व वा युवाहस्तक्षेप भन्ने पाटोबाट राजनीतिलाई हेरिन थालियो।

नेपालमा युवाहरूले राजनीतिलाई कुनै दिन हस्तक्षेप गर्नेछन् भन्ने कुराको सङ्केत गत स्थानीय चुनावले पुष्टि गरेको छ। स्थानीय चुनावमा धरानका हर्क सामपाङ, काठमाडौँका बालेन शाह तथा धनगढीका गोपी हमाल लगायत स्वतन्त्र व्यक्तिहरू जननिर्वाचित भएपछि नेपालको राजनीतिमा एउटा नयाँ आयाम तथा आसाको दीयो बल्न थाल्यो।

भर्खरै सम्पन्न २०७९ साल मंसिर चार गतेको निर्वाचनले पनि यो कुरा पुष्टि गरेको छ अर्थात् अबको संसदभवनमा भिजन भएका युवा नेताहरूले प्रबेश पाएका छन्। विगतको तुलनामा आसा गरिएका युवाको जमात् अब नेपालको संसद भवनमा देखापरिसकेको छ।

नेपाली समाजमा स्वतन्त्र अर्थात् कुनै पनि पार्टीको सहारा नलिइकन सांसद बन्ने अथवा जनप्रतिनिधि बन्ने लहर पनि चल्यो। अझ जसरी बालेन शाह लगायतका जनप्रतिनिधिहरूले कामयावी बनेर काम गरिरहेका छन त्यसरी नै त्यस्तै प्रकृतिबाट सांसद बनेर संसदमा बहुमत पुर्‍याएर सकार गठन गर्ने कुरा कोरा कल्पना मात्र थियो।

त्यो कोणबाट एक किसिमका मानिसहरूले व्यक्त गरेको बहस विचार मन्थनका दृष्टिकोणले महत्वपूूर्ण भए पनि राज्य सन्चालनका दृष्टिकोणले व्यावहारिक भने पटक्कै थिएन। यो समयको घटनाक्रममा नेपालको राजनैतिक बृत्तमा भएको एउटा घटना हो।

यसको अर्थ स्वतन्त्रहरूले सरकार बनाउनु हुँदैन भन्ने मेरो मान्यता विलकुल होइन। स्वतन्त्र जनप्रतिनिधि बालेन जस्ता व्यक्तिले गरिरहेको राम्रो कामको हामी सधैं समर्थक हौँ, अझ नेपाली जनताको हित हुने ढङ्गले काम गर्ने जो कोही जनप्रतिनिधिलाई पनि हामीले सहयोग गर्नुपर्छ, तर कुन व्यावहारिक हो वा कुन व्यावहारिक होइन भन्ने कुरालाई मिहिन तरिकाले हेर्नुपर्दछ।

सम्पूर्ण रूपले हामीले यो पटक कुन पार्टीको युवा भन्ने भन्दा पनि समकालीन नेपाली राजनीतिमा सबैका लागि सर्वस्वीकृत तथा सर्वप्रिय वा सर्वमान्य को छ भन्ने हिसावले बहस गर्नु जरुरी हुन्छ।

उमेरका हिसाबले खालि युवा भनेर मात्र पनि हुँदैन युवा त युवा नै हो तर त्यो युवाको काम गर्ने शैली, तरिका, सोंच तथा उसको जनउत्तरदायित्व एवम् उसको योग्यता, क्षमता र उसले काम गरेर देखाएको उदाहरण आदि कुरालाई हेर्नु जरुरी हुन्छ।

नेपालको भूूराजनीति तथा सो सँग जोडिएका सामरिक दृष्टिकोणमा अन्तर्राष्ट्रिय चासो तथा स्वार्थले नेपालमा पार्न सक्ने खरावीहरूलाई समेत हेरेर नेपालको चौतर्फी विकासका लागि आवश्यक पर्ने व्यवस्था जो निर्माण गर्नु पर्दछ, ती सबै कुरालाई हेरेर निर्णय गर्नसक्ने अनुभवी युवा प्रधानमन्त्री अब चाहिएको छ। युवाहरूले साँच्चिकै प्रधानमन्त्री भएर देशकै नेतृत्व गरी काम गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा समेत नेपाली समाज हेर्न चाहन्छ।

अर्को एउटा कुरा समकालीन विश्व राजनीतिमा उदाएका युवा राजनीतिज्ञ, प्रधानमन्त्री र मन्त्री तथा नेताको उदाहरणसमेतलाई हामीले हेर्नु आवश्यक छ। हरेक समाजको माग र आवश्यक्ताका आधारमा नै कतिपय कुराको परिपूर्ति हुन्छ।

अर्थशास्त्रीय दृष्टिकोणका हिसावले हेर्ने हो भने अपबादका हिसावले कहीं कतै समाजको आवश्यक्ताअनुसार माग र पुर्तिको नियम लागु नहोला। अन्य देशको जस्तो हाम्रो देशको परिस्थिति पनि नहोला, कतिपय देशहरू विकासको उच्च गतिमा अगाडि बढेका पनि होलान् तर हाम्रो देशको समृद्धि आर्थिक विकास, भौतिक विकास, औद्योगिक विकास, शैक्षिक विकास, स्वास्थ्थ क्षेत्रको समुचित व्यवस्थापन जस्ता कुराहरूको व्यवस्थापनमा भर पर्दछ।

स्थिर सरकारको चाहनाले तड्पिरहेको देश हाल अस्थिरताको थिलथिलोमा छ। देशले अनेकौँ अभावको सामना गरिरहेको छ । त्यसकारणले पनि नेपालको विषयमा अबको प्रधानमन्त्री नवीन सोंच तथा चेतनाले युक्त व्यक्ति बन्ने कुरा महत्वपूर्ण छ।

युवा प्रधानमन्त्रीका रूपमा हामीले फिनलैण्डका प्रधानमन्त्री सन्ना मरिनको उदाहरण लिन सक्छौँ। उनी सन् २०२० मा ३४ बर्षको उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बनिन्। फिनलैण्ड र हाम्रो् अवस्था विकासको दृष्टिकोणले आकास पातालका बिचको फरक छ।

त्यहाँको आवश्यक्ता र हाम्रो आवश्यक्ता फरक हुँदा पनि त्यहाँ प्रधानमन्त्री क्षमतावान युवा सन्ना मरिन छिन किनकि त्यहाँको समाजले क्षमतावान् युवाहरूलाई अथवा समाजप्रति जनउत्तरदायी नेतृत्वलाई स्थान दिन्छ। त्यसकारण सन्ना मरिन त्यहाँको राष्ट्रिय आवश्यक्ता बनिन्। तसर्थ त्यहाँको समाजको आवश्यक्ताअनुसार नेतृत्व चयन गरियो।

युवा नेतृत्वका यस्ता थुप्रै उदाहरण छन्। विभिन्न समयमा ३५ बर्षको उमेरमा ओलेस्कि ओन्चरुक युक्रेनका प्रधानमन्त्री भए। इआइ साल्भाडोरमा नायव बुकेले ३८ बर्षको उमेरमा राष्ट्रपति भए भने जसिण्डा अरडेन ३९ बर्षको उमेरमा न्यजिलैण्डका प्रधानमन्त्री बने।

यसकारण हामीले पनि एकपटक क्षमताले भरिएको आम रूपमा लोकप्रिय र राष्ट्र्रिय जीवनमा ख्यातिप्राप्त व्यक्तिलाई एकपटक टेस्ट गर्न आवश्यक छ। यो नै नेपालका लागि सबैभन्दा महत्वपूर्ण विषय हो।

आज हामीले सोचेको राष्ट्र्रको आवश्यक्ता महशुस गर्नसक्ने नेता भनेका नै गगन थापा हुन् उनलाई यो देशले प्रधानमन्त्री बनाएर टेस्ट गर्न चाहन्छ।

नेपाली जनताले यदि गगन थापालाई प्रधानमन्त्री बनाउने हो भने उनले के के काम गर्न सक्छन्, नेपाली समाजको आवश्यक्ताको परिपूर्ति कसरी गर्न सक्छन् भन्ने कुरा नेपाली समाजले हेर्न चाहेको छ।

गगन थापा नै किन प्रधानमन्त्री हुन आवश्यक छ ?

पहिलो कुरा कुनै व्यक्तिलाई किन देशको बागडोर सम्हाल्न दिनु पर्दछ भन्ने विषयमा मन्थन हुनु जरुरी छ। त्यो व्यक्तिले नेपालको राजनीतिमा कस्तो प्रकारको योगदान गर्यो। आफ्नो राजनीतिको यात्राका दौरान उसले स्थापित हुनका लागि के के गर्यो भन्ने कुरा हेर्न अत्यन्तै आवश्यक हुन्छ।

गगन थापा २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट नै राजनीतिमा सक्रिय नाम हो। उनी सक्रीय राजनीतिमा लाग्न थालेको त्रिचन्द्र क्याम्पस पछि हो।

उनी २०५१ सालमा नेविसंघको सदस्य भए। त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदूस्यमा २०५१ सालमा निर्वाचित भएका उनी २०५५ सालमा त्रिचन्द्र कलेजको स्ववियु सभापति बनेका थिए।

नेपाल विद्यार्थी संघको महामन्त्रीमा निर्वाचित उनलाई २०५१ सालमा पहिलोपटक पक्राउ गरी हिरासतमा राखिएको थियो। उनी हिरासत परेको समयमा केपी शर्मा ओली गृहमन्त्री थिए भने एमालेको अल्पमतको सरकार थियो र उक्त सरकारको नेतृत्व मनमोहन अधिकारीले गरेका थिए।

उनी नेपालको राजनैतिक परिवर्तनका खातिर कम्तीमा १० पटक जेल परेका थिए। जब उनी जेल जाने छुट्ने हुन थाल्यो त्यसपछि गगन थापाको राजनैतिक जीवन कहिले सडकमा त कहिले जेलमा हुन थाल्यो।

२०५९ साल असोज १८ पछि सूर्यबहादुर थापाको सरकार बन्यो र सो सरकारले गगन थापा र गुरुराज घिमिरे जस्ता युवाहरूलाई राजद्रोहको मुद्धा चलायो। जब ज्ञानेन्द्र शाहले माघ १९ गते सम्पूर्ण अधिकार आफ्नो हातमा लिए तब पनि उनको राजद्रोहको मुद्दा यथावत रह्यो।

आन्दोलनको रापताप र जेलजीवनका कठोर दिनहरूले गगन थापालाई प्रखर बक्ता बनाए। उनका लेखहरू समाज परिवर्तनका लागि अर्थ दिने खालका भए।

बिस्तारै गगन थापा सबै दलका युवाहरूका बिच रोजाइको विषय बने। अन्य दलका युवाका लागिसमेत उनी नमुना नेता बने। निडर, निर्भीक तथा स्वाभिमानी गगन थापा २०६२/ ६३ सालको आन्दोलनसम्म आइपुग्दा लोकतन्त्रका नायक भएर निस्किए। एकपटक समानुपातिक गरि हालसम्म उनी ३ पटक सांसद भइसकेका छन्।

वि.सं. २०७४ सालमा भएको आम निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं ४ बाट एमालेका डा. राजन भट्राईलाई पराजित गरि उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने हाल पनि उनी सोही निर्वाचन क्षेत्रबाट भारि मतले विजय भएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा भएको सरकारमा उनी स्वास्थ्यमन्त्री भए। त्यस बेला उनले ल्याएको स्वास्थ्य विमा हाल स्वास्थ्य क्षेत्रको सर्वाधिक लोकप्रिय कार्यक्रम हो।

गगन थापा आन्दोलनले जन्माएका नेता हुन्। उनीसँग हरेक कुरामा स्पष्ट रूपमा आफ्नो कुरा राख्ने सक्षमता छ। उनी निडर, निर्भीक, स्वाभिमानी र सालिन व्यक्ति हुन् । उस्तै परिआउँदा उनी आफ्नै नेता, पार्र्टी, सभापति र आफ्नो सरकारको आलोचना गर्न सक्छन र राम्रा कामको स्वामित्व लिन सक्ने साहस राख्छन्।

उनी अध्ययनशील छन्। नेपाली समाजको चौतर्र्फी विकासका लागि उनीसँग भिजन छ, आत्मविश्वास छ, त्यो भिजन कार्यान्वयन गर्न सक्ने सामथ्र्य पनि उनीसँग छ। नेपालमा अब युवाहरूले राजनीतिको बागडोर सम्हाल्नु पर्छ र बहुुआयामिक विकास गर्नुपर्छ भन्ने विषयमा उनी प्रष्ट छन्।

अबको करिब दसवर्ष राजनीति गरी सकेपछि उनले नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने विषयमा उनले राखेको कुरा र नेपाली समाजले खोजेको कुरा मिल्दो जुल्दो छ । लोक कल्याणकारी अर्थनीति र तेस्रो विश्वका नागरिकहरूको उन्नति र प्रगतिका बारेमा उनी धेरै अनुभवी छन्।

उनीसँग जोशजाँगरले भरिएका लाखाैं युवाहरूको साथ दिने पङक्ति छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा उनको आफ्नै विशेष पहिचान रहेको छ। स्वास्थमन्त्री हुँदा उनले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम नेपालको स्वास्थ्य क्षेत्रको एक लोकप्रिय कार्यक्रम मात्रै बनेन त्यस कार्यक्रमले इतिहास निर्माण गर्‍याे।

आजको नेपालको राजनैतिक नेतृत्वको आवश्यक्ता भनेको गगन थापाको नेतृत्व हो र गगन नै त्यसका लागि योग्य पात्र हुन्। एक कुशल विकासका कैयौं आयामहरू कोर्नसक्ने तथा व्यवस्थापन गर्न जानेको व्यक्ति एवम् आगामी दिनमा नेपाली समाजलाई अन्तर्राष्ट्रिय विकासको गतिमा हाँकेर नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विकासलाई शिखरमा पुुुुर्याई आम नेपाली जनताको माग र चाहनाका आधारमा विकास गर्नसक्ने नेताको नमुना पनि गगन थापा नै हो।

भौगौलिक रूपमा भू-परिवेष्ठित राष्ट्रका विकासका लागि कतिपय अवस्थामा कठिनाई होला तर नेपाली समाजमा भएका स्रोत र साधनको समुचित परिचालन गरेर मात्रै भए पनि विकासका लागि व्यवस्थापन गर्नसक्ने नेतृत्वको आवश्यक्ता समाजलाई छ। यदि यो समाजलाई त्यस्तो नेतृत्व आवश्यक छ भने त्यो नेतृत्व भनेकै गगन थापा हो।

आज कुनै पार्टीमा हामीले हेर्याैं भने गगन जस्तोे भिजन भएको नेता आजको समकालीन राजनीतिमा पाउन सक्दैनौं। अबको समाजमा समयको गतिशीलताको बोध गरी आर्थिक विकासका लागि व्यवस्थापनमा जोड दिन सक्ने खालको नेता चाहिन्छ।

देशले गगन थापाको नेतृत्व खोजिरहेको बेला नेपाली कांग्रेस पार्टीले पनि एकपल्ट आफ्नै महामन्त्री वा युवा नेतृत्वको नमुना गगन थापालाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बनाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्नुपर्दछ भन्ने आम मानिसहरूको चाहना छ।

नेपाली कांग्रेसकै ओजन बढाउनका लागि तथा जनविश्वास जोगाउनका लागि एकपटक गगन थापालाई थप हिम्मत दिएर देशको बागडोर सम्हाल्ने वातावरण बनाइदिनुपर्छ भन्ने कांग्रेस तथा गैरकांग्रेसको पनि आवाज देखिएको छ।

गगनको क्षमतालाई एकपटक काम गर्ने स्थानमा सदुपयोग गरेमा नेपाली समाजले पक्कै मुहार फेर्नेछ वा नेपाली समाज गगनको परीक्षण गर्न चाहन्छ । उनको रगत उम्लने भाषणको फ्यान बनेको युवा जमात् एकपटक गगनलाई देशको बागडोरमा बसाउनका लागि काँध थाप्न तयार छ। तसर्थ सबै नेपालीको एउटै स्वर र चाहना हुँदाहुँदै किन हामीले एउटा मौका नदिने?

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *