विश्वकप लिग २

स्कटल्याण्डको सहज जित, नेपाल जितविहिन

डिसी नेपाल
२२ मंसिर २०७९ १८:३९

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग सहजै पराजित भएको छ । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटले पराजय हुँदै आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ ।

नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमा १७ ओभरमै भेट्टायो । स्कटिस ओपनर केल कोर्टजरले १६ रन तथा जर्ज मुन्सेले ४५ रन बनाए । यस्तै क्रिस्टोफर म्याकब्राइड ४६ रनमा तथा कप्तान रिची बेरिङटन १२ रनमा अविजित रहे ।

बलिङमा नेपालका दीपेन्द्र र गुल्सन झाले १–१ विकेट लिए । यसअघि युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो ।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाए । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले समान २–२ विकेट लिए । क्रिस सोल, क्रिस्टोफर एसी ब्राइड र क्रिस ग्रियभ्स्ले १–१ विकेट लिए ।

नामिवियामा भएको यो शृंखलाको पहिलो खेल वर्षाका कारण रद्ध हुँदा नेपालले नामिवियासँग अंक बाँडेको थियो । आफ्नो दोस्रो खेलमा नेपाल टिम स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । नामिवियासँगको दोस्रो खेलमा बुधबार ८६ रनको पराजय ब्यहोरेको नेपालले शृंखलामा जितविहीन रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *