जियाङ जेमिनको शासनकाल
बीसौँ शताब्दिको अन्ततिर र एक्काइसौँ शताब्दिको प्रारम्भको समयमा चीनलाई प्रभावकारी नेतृत्व प्रदान गरेका नेता जियाङ जेमिनको गत ३० नोभेम्बर २०२२ मा ९६ वर्षको उमेरमा ल्युकेमियाको कारण साङ्घाई शहरको एक अस्पतालमा निधन भयो।
जियाङ जेमिन (चियाङ चेमिन)ले चीनमा सन् १९९३ को मार्च २७ देखि सन् २००३ को मार्च १५ तारिखसम्म दुईवटा पूरा अवधिसम्म राष्ट्रपतिको रूपमा शासन गरे। त्यसपछि उनले राजनीतिबाट अवकाश लिएको भएता पनि उनको प्रभाव निकै पछिसम्म चीनको राजनीतिमा रहिरह्यो।
चीनी जनसङ्घर्ष पश्चात १९४९ मा स्थापित जनगणतन्त्र चीनका आजसम्मका शासकहरू मध्येका ४ अति शक्तिशाली तथा नयाँ चीनको निर्माणमा ठूलो योगदान पुर्याएका राजनेताहरूको पङ्क्तीमा उनी पनि पर्न गए।
उनीसहित ती राजनेताहरू हुन् माओ जेदुङ्ग (माओ त्सेतुङ्ग), डेङ्ग जियाओ पिङ्ग (तेङ्ग सियाओ पिङ्ग) र सि जिन पिङ्ग। यी बाहेकका झाउ एनलाई (चाउ एनलाई)ले सर्वोपरि नेतृत्व गर्ने मौका नपाएको भएता पनि उनले निक्कै लामो समयसम्म माओका विश्वासीला सहयोगी र चीनका प्रधानमन्त्री भएर रहने सौभाग्य प्राप्त गरे भने राजनीतिक उतार चढाव बीच माओबाट हुन गएका गल्तीहरूलाई कुटनीतिक रूपमा सच्याउन उनलाई घच्घच्याइरहने काममा पनि ज्यादै नै सक्रिय रहे।
त्यस्तै मार्सल जुदेह (चुतेह), जसले सन् १९३० को दशकमा शुरु भएको ऐतिहासिक लङ्ग मार्चमा र त्यसपछि पनि माओलाई साथ दिएका थिए, उनको योगदानलाई पनि सदा स्मरण गरिरहनु पर्ने हुन्छ।
जियाङ्ग जेमिनको जन्म सन् १९२२ को अगस्त १७ मा पुर्वी चीनको जियाङ्सु प्रान्तमा भएको थियो। चीन जनगणतान्त्रिक मुलुक हुनुभन्दा केही वर्ष पहिले त्यहाँको कम्युनिष्ट पार्टीको सदस्यता लिएका जियाङ इलेक्ट्रिक इन्जिनियर थिए र आफ्नो व्यावसायिक दक्षताको आधारमा उनी केही वर्ष रुसको मस्को स्थित एक मोटरगाडी कारखानामा काम गर्न गएका थिए।
१९८९ मा उदाएको जियाङको शक्ति रूपी सूर्यको अस्त २००४ मा हुन गयो। पछि हु जिन्तावोको विश्राम पश्चात फेरी अर्का नक्षत्र सि जिन पिङ्गको उदय सन् २०१२ मा हुन गयो। माओ पछिका सबैभन्दा शक्तिशाली नेता हुन पुगेका सि आज चीनलाई नयाँ उँचाईमा पुर्याउन र विश्वमा नै चीनको मान प्रतिष्ठा बढाउन तथा मुलुक भित्रको भ्रष्टाचार निर्मुल गर्ने कदमको साथै अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ आयामहरूको शुरुवात गर्न तेस्रो कार्यकालसहित अघि लम्किरहेका छन्।
त्यस्तै १९७०को दशकमा उनी चीनको विदेश विभागको अधिकारीको रूपमा रोमानियामा विभिन्न मेसिनरी कारखानाहरूको स्थापना कार्यमा खटिएका थिए। डेङ्ग जियाओ पिङ्गको कार्यकालमा विशेष आर्थिक क्षेत्रको अवधारणा बने पछि यस्ता क्षेत्रको विकास गर्ने कार्यको उच्च आयोगमा जियाङको विशेषज्ञताको पनि उपयोग गरिएको थियो।
यसै क्रममा करिव १ दर्जन मुलुकका यस्ता विशिष्ट आर्थिक क्षेत्रको अवलोकन पश्चात जियाङले चीनका यस्ता क्षेत्रमा विदेशी लगानी र प्रविधि भित्राउनु पर्ने कुरा पनि अघि सारे। सन् १९८० मा इलेक्ट्रोनिक उद्योग मन्त्रालयको सहायक मन्त्रीमा नियुक्त भएका जियाङ्ग १९८५ मा चीनको सबैभन्दा ठूलो औद्योगिक शहर सांघाईको मेयर बन्न पुगे।
चीनको कम्युनिष्ट पार्टीमा क्रमिक रूपमा पकड बढाउँदै गएका जियाङ्ग जेमिनलाई सन् १९८९ मे २० मा डेङ्ग जियाओ पिङ्गले चिनी कम्युनिष्ट पार्टीको महासचिवमा नियुक्त गरे।
यही पदमा रहेका हुयाओ वाङको निधन पश्चात महासचिव बनेका नेता जाओ जियाङले टियानानमेन स्क्वायर र सांघाइमा प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरूको समर्थनमा बोलेका तथा जियाङले एकातिर सांघाईका प्रदर्शनकारीहरूलाई थपथपाउन सफल भएका तथा अर्कोतर्पm सरकारले टियानानमेन स्क्वायरमा गरेको दमन र सेना परिचालनको समर्थन समेत गरेकोले उनी दुवैतर्फ लोकप्रिय हुन पुगेका थिए।
जियाङ्ग जेमिनले डेङ्ग जियाओ पिङ्गका सुधारवादी कदमलाई अझ प्रभावकारी बनाउँदै कट्टरपन्थीहरूलाई हतोत्साहित गर्न सफलता प्राप्त गरेका थिए। उनको विचारमा चीनले अँगालेको सुधारवादी कदमलाई छोडेर आर्थिक विकासको बाटोमा वामपन्थतिर फर्कनु भन्दा दक्षिणपन्थतिर अघि बढ्नु नै उत्तम हुने हुँदा पछि हट्नु लाभदायी बाटो थिएन।
चीनको विकासको क्रममा समुद्र किनारका क्षेत्रमा चरम समृद्धि आउँदा भित्री भागहरूले त्यो स्तरमा प्रगती गर्न नसकेको तथा निजी क्षेत्र र विदेशी लगानीलाई प्रोत्साहित गर्दा हजारौँ सरकारी औद्योगिक प्रतिष्ठानहरू बन्द हुन पुगेर लाखौँ मानिसको रोजीरोटी हरिएको र बेरोजगारी निक्कै बढेकोले जियाङले बरु आर्थिक वृद्धिदर केही समयको निम्ति बढाउन नसके पनि र राजनैतिक सुधारलाई अघि बढाउन समय लाग्ने भए पनि सर्वप्रथम पछाडि परेका क्षेत्रहरूको प्राविधिक, आर्थिक र व्यवस्थापकीय सुधारमा समृद्ध क्षेत्रहरूले समेत सघाउनु पर्ने नीतिलाई अघि बढाएका थिए।
जियाङ्ग जेमिनको कार्यकालमा चीनले संयुक्त राज्य अमेरिका र रुससँगको सम्बन्धमा अभिवृद्धि गर्ने ठूलो अवसर पायो। सन् १९४८ मा जनगणतन्त्रको स्थापनादेखि नै अमेरिकाले ताइवानको समर्थनमा चीनलाई मान्यता नदिएको, संयुक्त राष्ट्र संघमा समेत चीनलाई ओझेलमा पारेर सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने गरि ताइवानलाई मान्यता दिएको तथा कोरियाली युद्धमा समेत अमेरिकाले दक्षिण कोरियाको पक्षमा र चीनले उत्तर कोरियाको पक्षमा लडेर एक अर्कामा ज्यादै गाढा वैरभाव साँधेकोले यी दुई विशाल मुलुकहरूको सम्बन्ध अति नै बिग्रेको थियो।
तर सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गरेर अध्यक्ष माओ जेदुङ्गसँग भेट गरेपछि भने यी दुई मुलुकको सम्बन्धमा निक्कै हदसम्म सुधार आउन सक्यो। आखिर सन् १९७९ को जनवरी १ तारिखको दिन अमेरिकाले चीनलाई औपचारिक रूपमा मान्यता दिए पछि भने दुई देशको सम्बन्धमा क्रमिक रूपले सुधार आउन थाल्यो। त्यतिबेला देखि नै जिम्मी कार्टर बाहेक सबै अमेरिकी राष्ट्रपतिले चीनको भ्रमण गरेका हुन्।
तर पनि अमेरिकाले ताइवान सम्बन्ध बारेको एउटा कानुन नै बनाएर भएपछि उसँगको सम्बन्ध कायमै राखेको थियो र हाल पनि सो सम्बन्ध ज्यादै गाढा छ। चीनको कम्युनिष्ट सरकारबाट पनि उ सशंकित नै रहिरहेको थियो भने हाल आएर चीनको तीव्र आर्थिक विकास र बढ्दो सैनिक शक्तिबाट अमेरिका ज्यादै चिन्तित भएको छ।
माओ त्सेतुङ्गको लामो शासनकालभन्दा अघि चीन सामन्तवादमा नराम्ररी जकडिएको मुलुक तथा जापान लगायत विभिन्न मुलुकको औपनिवेशिक शासनबाट पीडित एक गरिव तथा विखण्डनोन्मुख राज्य थियो।
त्यस्तो अवस्थाबाट माओको नेतृत्वमा लामो संघर्ष पश्चात स्थापना गरिएको साम्यवादी जनगणतन्त्र चीनलाई औद्योगिक विकासको पथमा ठीकसँग लग्न र योजनावद्ध आर्थिक विकासको बाटो पक्रन त्यसपछिको दशकौँको मेहनत परेको थियो।
एकातिर मुलुक आफैं जर्जर अवस्थामा रहेको र अर्कोतिर अमेरिका लगायत सोभियत संघसँग समेत मतभेद बढ्दै गएकोले चीनले आफ्नो नयाँ स्वरुपको राजनैतिक व्यवस्था र संगठनलाई कायम राख्न निक्कै गाह्रो भइरहेको थियो।
यस्तो अवस्थामा शक्ति राष्ट्रहरूले चीनका केही नेताहरूलाई अन्य मुलुकहरूमा जस्तै प्रभावमा पार्ने कोशिश गरेकाले चीनमा राजनैतिक विचलन आइरहेको थियो भने माओ स्वयम्ले सत्ता गुमाउनु पर्ने अवस्था पनि बेला वखतमा आइनै रहेको थियो।
त्यतिबेलाको एक दशक लामो सांस्कृतिक क्रान्ति जस्तो अति नै ठूलो भूल पनि यस्तै राजनीतिक परिस्थितिको उपज थियो। त्यसो भयो भन्दैमा माओमा भएको राजनैतिक परिचालन गर्न सक्ने तथा चीन जस्तो विशाल मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने गुणलाई नकारेर वहस गर्न मिल्दैन। उनकै नेतृत्वको समयमा चीनको आर्थिक विकासलाई तीव्र गतिमा अघि बढाउन जाउ एनलाई जस्ता शिक्षित र व्यावहारिक प्रधानमन्त्री त छँदै थिए।
डेङ्ग जियाओ पिङ्गले चीनको लामो कम्युनिष्ट आन्दोलनताका लङ्ग मार्च, जापानसँगको युद्ध आदि सबै कालखण्डमा माओलाई साथ दिएर हिँडेको भएता पनि चीनको साँस्कृतिक क्रान्तिको समयमा माओसँग मतभेद हुन शुरु भएपछि उनि बेला बेलामा पार्टीको नेतृत्व तहबाट टाढिनु पर्ने अवस्था आइरहन्थ्यो भने त्यस्ता बेलामा जाउ एनलाईको माओलाई विश्वस्त बनाउन सक्ने गुण र माओ आफैंमा पनि सहकर्मीहरूको सही पहिचान गर्न सक्ने क्षमताले गर्दा डेङ्ग चीनको शासन प्रणालीमा अडेरै रहन सफल भएका थिए।
सन् १९७२ मा रिचर्ड निक्सनको चीन भ्रमणको बेलामा आयोजित स्टेट ब्याङ्क्वेटमा माओले आफूसँगै बसेर रात्रीभोजको आनन्द लिइरहेका निक्सनलाई टाढाको टेबुलमा अन्य विशिष्ट व्यक्तिहरूसँग बसेर डिनर खाइरहेका डेङ्गलाई देखाउँदै ‘डु यु सि द्याट लिटल म्यान ? हि इज डेङ्ग।
भेरी इन्टेलिजेन्ट’, भनेका थिए रे। आखिर उनको बुढेशकालको फाइदा उठाएर उनको नाममा शासन गर्ने ‘ग्याङ्ग अफ फोर’को पतन पछि चीनलाई विकास र समृद्धिको पथमा अघि बढाउने व्यक्ति तिनै ‘लिटल म्यान’ डेङ्ग हुन पुगे।
यसरी माओ आफ्ना पार्टीका सबै खाले व्यक्तिहरूका गुण र दोषको राम्ररी पहिचान गर्ने खुबी भएका महान् नेता थिए भने विभिन्न परिस्थितिवश माओले गरेका केही भूलहरूलाई क्षमा गरेर पछिल्ला राजनेताहरूले आज पनि माओलाई महान् नै बनाएर पुजेका छन्।
सन् १९७६ सेप्टेम्बरमा माओको देहान्त भएको २ वर्ष पश्चात यानी डिसेम्बर १९७८मा नै चीनको शासनसत्ता सम्हाल्न सफल डेङ्ग जियाओ पिङ्गले चीनलाई बजार अर्थतन्त्रवादी सुधारतर्फ डो¥याएकाले उनलाई आधुनिक चीनका निर्माताको रूपमा पनि लिइन्छ।
फ्रान्समा उच्च अध्ययन सकेर चिनीया कम्युनिष्ट पार्टीमा आवद्ध भएका कम्युनिष्ट योद्धा डेङ्गले नै सेन्जेन विशेष आर्थिक क्षेत्रको निर्माणसँगै चीनमा आर्थिक र औद्योगिक क्रान्ति शुरु गरेका थिए भने उनकै प्रयासमा सन् १९७९ जनवरी १ मा चीन र अमेरिका बीच दौत्य सम्बन्ध स्थापित भएर सन् १९८० मा अमेरिकाको भ्रमण गर्ने प्रथम चिनियाँ सर्वोपरि नेता डेङ्ग नै हुन पुगे।
डेङ्गले परम्परागत आवधिक आर्थिक योजनालाई महत्व दिनुको साटो मुलुकमा विदेशी लगानी र प्रविधि भित्राउनुका साथै चिनीया श्रमशक्तिलाई विश्व बजारमा पुर्याउने र खुला अर्थतन्त्र अँगाल्ने बाटो खोलिदिएका थिए।
माओको शासनकालमा अनियन्त्रित रूपमा बढेको चीनको जनसंख्यालाई नियन्त्रणमा ल्याउन उनैले ‘एक परिवार एक बच्चा’को अवधारणा लागु गरेका थिए।
उनको अथक प्रयासले गर्दा तथा उनका उत्तराधिकारी जियाङ्ग जेमिनले पनि उनको नीतिलाई पछ्याएकाले नै सन् २०१० मा चीन विश्वकै दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको थियो। डेङ्गले कम्युनिष्ट व्यवस्थामा ल्याएको यस्तो उदार नीतिलाई पछि ‘चिनीया विशेषताको समाजवाद’ वा ‘डेङ्ग जियाओ पिङ्ग थेउरी’ पनि भनिन थाल्यो।
सन् १९८९ को टियानानमेन स्क्वायर घटना पश्चात डेङ्ग जियाओ पिङ्गको छविमा केही गिरावट आए पश्चात जियाङ्ग जेमिन चिनियाँ राजनीतिक मञ्चमा अकस्मात उदाउन पुगे। उनले डेङ्गको आर्थिक सुधार कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन मद्दत पुर्याउनुका साथै समाजवादी बजार अर्थव्यवस्थाको शुरुवात नै गरे। जियाङ्गले ‘वान पार्टी टु सिस्टम’को डेङ्गको विचारलाई अघि बढाएर हङकङलाई १९९७ मा बेलायतबाट र मकाउलाई १९९९ मा पोर्चुगलबाट फिर्ता लिन सफल भए।
जियाङ्ग जेमिनले राजनीतिबाट अवकास लिएपछि उनका उत्तराधिकारी भएर उदाएका हु जिन्तावोले उनकै पदचापमा काम गर्ने गरेका थिए भने निक्कै समय पछिसम्म हुले जियाङ्गसँग परामर्श गरेर नै शासन चलाउने गरेका थिए।
त्यतिबेला यी दुई हस्तीको मेलमिलापलाई लिएर धेरै प्रकारका नराम्रा टिका टिप्पणी पनि हुने गरेका थिए र त्यतिबेला चीनमा भ्रष्टाचारले प्रश्रय पाएको हल्ला पनि नचलेको होइन। सन् २००४ सेप्टेम्बर १९ मा जियाङ्गले केन्द्रिय सैन्य परिषदबाट पनि राजिनामा दिए।
यसरी १९८९ मा उदाएको जियाङको शक्ति रूपी सूर्यको अस्त २००४ मा हुन गयो। पछि हु जिन्तावोको विश्राम पश्चात फेरी अर्का नक्षत्र सि जिन पिङ्गको उदय सन् २०१२ मा हुन गयो। माओ पछिका सबैभन्दा शक्तिशाली नेता हुन पुगेका सि आज चीनलाई नयाँ उँचाईमा पुर्याउन र विश्वमा नै चीनको मान प्रतिष्ठा बढाउन तथा मुलुक भित्रको भ्रष्टाचार निर्मुल गर्ने कदमको साथै अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ आयामहरूको शुरुवात गर्न तेस्रो कार्यकालसहित अघि लम्किरहेका छन्।
अवकास पश्चात पनि विभिन्न समारोहहरूमा देखिँदै आएका जियाङ्गको निधनको झुठो समाचारले सन् २०११ तिर सन्सनी मच्चाएको थियो। तर उनी सो घटना पश्चात पनि ११ वर्ष पछिसम्म बाँच्न सफल भए।
हालै उनको निधनमा चीन सरकारले राष्ट्रिय झण्डा आधा झुकाएर उनी माथि आदर दर्सायो भने राष्ट्रपति सी जिनपिङले उनको पार्थिव शरीरमा फुलमाला चढाएर आदर प्रकट गर्नुका साथै उनको परिवारका सदस्यहरूमा सहानुभूति समेत प्रकट गरे।
चीनका नेताहरू माथि र त्यहाँको साम्यवादी शासन व्यवस्थामा आएको समसामयिक परिवर्तनबारे विभिन्न टिका टिप्पणी गर्ने अधिकांश नेपाली नेताहरू र खासगरी नेपाली कम्युनिष्ट नेताहरूले चीनले विगत ७० वर्षमा गरेको प्रगतीलाई राम्रोसँग बुझ्न सकेका छैनन् र तीनको अनुभवबाट केही सिकौँ भन्ने चेस्टा पनि गरेका छैनन्।
आफूहरूले ज्यादै थोरै औपचारिक शिक्षा प्राप्त गरेको तर सबै कुरा बुझेको ठान्ने र कार्ल माक्र्स, एङ्गेल्स, लेनिन र माओले लेखेका अति प्राविधिक, वौद्धिक र दार्शनिक प्रकृतिका साम्यवादी ग्रन्थ तथा शास्त्रहरू सबै बुझेको जस्तो उनीहरूलाई भान हुनु र चीनले साम्यवाद छोडेर पुँजीवादी बाटो समाइसकेको निश्कर्षमा उनीहरू पुग्नु आफैंमा एक गलत सोचाई र बचकना हुन पुगेको छ।
लेखक विकास अर्थशास्त्री र पुर्व बैंकर हुन्।
Facebook Comment