इङ्ल्यान्डका कप्तान बटलर र पाकिस्तानी महिला क्रिकेटर सिद्रा अमीनले आईसीसी अवार्ड जिते
काठमाडौं । इङ्ल्यान्डका कप्तान जोस बटलर र पाकिस्तानकी महिला क्रिकेटर सिद्रा अमीनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नोभेम्बर महिनाको प्लेयर अफ द मन्थ अवार्ड दिएको छ ।
अष्ट्रेलियामा भएको ट्वान्टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत बटलरलाई ‘आईसीसी पुरुष प्लेयर अफ द मन्थ’को उपाधि दिइएको छ । योसँगै अमिनले घरेलु मैदानमा आयरल्याण्ड विरुद्धको एकदिवसीय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेबापत ‘महिला प्लेयर अफ द मन्थ’ अवार्ड जितिन्।
बटलरको कप्तानीमा इंग्ल्याण्डको टोलीले ट्वान्टी–२० विश्वकप जित्न सफल भएको थियो । भारतविरुद्धको सेमिफाइनल खेलमा बटलरले ४९ बलमा अविजित ८० रन बनाएका थिए । पाकिस्तानविरुद्धको फाइनल खेलमा उनले महत्वपूर्ण २६ रन बनाएका थिए ।
प्रतियोगितामा उनको कप्तानीको पनि प्रशंसा भयो । योसँगै अमिनले नोभेम्बरमा आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा २७७ रन बनाएकी थिइन्। पाकिस्तानकी निदा डारले अक्टोबर महिनामा यो अवार्ड पाएकी थिइन् ।
आईसीसीका अनुसार बटलर र अमीनलाई ग्लोबल भोटिङबाट अवार्डका लागि छनोट गरिएको हो । ती मतदानमा मिडिया प्रतिनिधिहरू, आईसीसी हल अफ फेममा समावेश गरिएका खेलाडीहरू, पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरू र आईसीसी वेबसाइटमा दर्ता भएका प्रशंसकहरू थिए।
Facebook Comment