दुःख र सुखको जीवन
दुखको बाढीमा सुखका सारा चिजहरु दुःखको आगोले दनदन बलिरहेका हुन्छन्। यहाँ सुखलगायत अन्य मानवीय पक्ष प्रेम, करुणा, धैर्य, क्षमा सहयोग र सद्भाव जस्ता कुराहरु जलिजली मानिसलाई एक प्रकारको होशहीन र जीवनलाई उदास, उजाड र एक्लो बनाउँदछ।
यस्तो स्थितिमा मानिस आफूले आफैंलाई त्रसित बनाइ झण्डै आत्म-दाह गर्न पनि बेर लगाउँदैनन्। यस्तो घडीमा मानिसले केवल प्रेम, स्नेह र सहयोगकै अपेक्षा राख्दछन्।
तर यो संसारमा दुःखी र गरीबलाई केवल ढाइ अक्षरले बनेको प्रेम नदिई सरकार, समाज, लेखक र साहित्यकार दुखी र गरिबीबारेको साहित्यका ठेली बनाउन दत्तचित्त हुन्छन्। तर दुखी र गरीबको हातमा सिधा रोटी, जिउमा लत्ता कपडा र बस्नको लागि एक बास मिलाउन भने सबैजना पछाडि नै परेको देखिन्छ।
संसारमा दुःखी गरिबीको यत्रो दबदबा किन भयो? धिक्कार छ त्यस्ता सरकारको कपोकल्पित योजना धनीको खुवाई, बसाई र लत्ता कपडा जसका लागि उनीहरु आफ्ना कुकृत्यले कमाएका धन सम्पत्ति हावामा उडाइरहेका हुन्छन्।
बिचरा यी धनीहरुलाई एउटा रोटीको, एकजोर कपडा र एक बासको महत्व बारेको के ज्ञान होस् जसले यी चिजलाई कहिल्यै पनि महत्व राखेनन्। दुखीले त आफ्नो एक रोटी चन्द्रमामा देख्छ भने बास एक रुखमुनी भेट्टाउँछ र अरुले लगाएको लत्ता कपडा र जाडोमा अरुले ओढेका कम्बल सम्झन्छन्।
संसारमा अनेक कारणले मानिस दुखी बन्छन्। यसले सबैलाई डसिनै रहेको हुन्छ। धनी, धनी भएकै कारणले दुखी हुन्छन्। कमाएको सम्पत्ति अरुले डकैती गर्लान् कि भन्ने डर मानेर उनीहरु दुखी हुन्छन् भने गरीब र दुखी भने आधारभूत आबश्यकताको अभाबमा दुखी भइ बस्दछन्।
कोही प्रेममा बिछोड भएर दुखी बन्दछन् भने कोही ब्यापार ब्यबसाय, नोकरीमा तरक्की गर्न नसकी दुखी हुन्छन्। बिद्यार्थी परीक्षामा अनुत्तिर्ण हुँदा दुखी हुन्छन् भने आफ्ना भित्रका इच्छा र आकाक्षा पूर्ति गर्न नपाउँदा मानिस दुखी बन्दछन्।
तसर्थ दुख यो ब्रम्हाण्डलाई चुनौती दिने अर्को ब्रम्हाण्ड हो जसलाई चुम्न र बसमा ल्याउन आजसम्म कसैको पनि हिम्मत देखिएको छैन। चाहे ईश्वर हुन् वा पृथ्वीमा जन्मिएका प्राणी हुन्, ईश्वरले पनि आफ्नो जीवन लिलाम धरै दुख पाएका अनगिन्ती उदाहरण धार्मिक पुस्तकहरुमा प्रशस्त पाइन्छ।
त्यसैले त मानिस जाबो प्राणीले केही क्षण सुख पाएर हाँसे पनि जीवनको अन्तिम घडीमा रोएरै मर्ने गर्दछन्। समुच्चमा भन्ने हो भने सारा मानिसको जीवन सुख हैन दुःखमय नै छ। यो जीव र जगतलाई राम्ररी अनुभव गर्ने बुद्ध, लाओत्से, संतकबिर, फिर्दोश, रामकृष्ण परमहंस र नेपालका शिवपुरी बाबा जस्ता ज्ञानका स्रष्टाहरुले संसार सुखमय हैन दुःखमय छ भनी सम्पूर्ण जीवनको अध्ययनबाट निष्कर्ष निकालेका हुन्।
हो मानिस जब दुःखको बाढीमा पर्दछ उ सुखका सारा आशा र तरंगका पाटाबाट दृष्टिविहीन हुन्छ र जताततै दुखै दुखमात्रको अनुभब गर्दछ। यो सुख र दुखको दुई पाटाबीचको जीवनमा दुखको सट्टासुखको पनि सूर्योदय हुन्छ भन्ने कुराको सोच नराख्ने बिचरा दुखीहरु दुखी नै रहन्छन।
किनकि उनीहरुलाई कर्मको ज्ञान नरहनु, सुख हुने उपाय र सोच नरहनु, दुखमा संयम नरहनु यी आदि कारणले मानिसलाई दुखले डसिरहने हो। बास्तबमा दुख एक अपत्यारिलो डरको भूत हो, जसको पछि होइन अघि नै लाग्नु पर्छ। जसबाट सुखको अनुभव र जीत हासिल गर्न अवश्य सकिन्छ।
समष्टिमा भन्ने हो भने दुख एक साँझ र अध्याँरो रात हो भने सुख बिहानी पखको एक पहलु हो। जसले सधैं सुखको वहार ल्याउँदछ। तसर्थ सुख र दुख मन वा सोचको एक माग हो अरु केही होइन।
दुखको सोचाईमा दुख पाउने र सुखको अनुभवमा आनन्द पाउने यो संसार वास्तवमा एक कल्पवृक्ष हो जहाँ जे चाह्यो त्यही मिल्दछ र क्षणिक उपभोग पछि त्यो आफसे आफ विलीन हुन्छ, नासिन्छ र पुनरावृत्ति प्रवृत्तिको एक प्राकृतिक प्रक्रिया सुरु हुन्छ।
जुन एकपछि अर्को गरी मानिसको सामु आइरहन्छ। यसमा संयम हुनु अत्यन्त आवश्यक र लाभदायक हुन्छ। भनिन्छ ‘सुखमा नपात्तिनु र दुखमा नआत्तिनु’ तसर्थ जीवनलाई तटस्थ स्थितिमा राखी डाेर्याउनु नै मानिसहरुको परम कर्तब्य हुन्छ जसबाट मानिस सधैं सुखी र आनन्दित बन्दछन्।
Facebook Comment