विपश्यना अनुभव : जीवन जिउने एउटा राम्रो मार्गदर्शन

धनकुमार कार्की
२ पुष २०७९ ११:०२

तपाईंहरुलाई बाहिरी संसारसित पूर्णरुपमा सम्बन्ध विच्छेद गरी कोहीसँग नबोली, कुनै संकेत नगरी, लेखपढ समेत नगरी (आर्यमौन) बस्न लगाइयो भने कति दिन बस्न सक्नुहुन्छ ? यसपाली यस्तै एउटा अनुभव गरियो। डिसेम्बर १ देखि ११ सम्म म बुढानिलकण्ठ मुहानपोखरीस्थित धम्मशृङ्ग विपश्यना केन्द्रमा थिएँ।

बाहिरी संसारबाट सम्पूर्ण रुपमा सम्बन्ध विच्छेद गरेर १० दिनका लागि ‘गायब’ हुँदै थिएँ। जानुअघि घरमा र अफिसमा अनि केही नजिकका साथीहरुसँग मात्र कुरा गरेको थिएँ। प्लस टु मा पढ्दादेखि सुनेको विपश्यना ध्यान विधि जसरी पनि एकचोटी जाने हुटहुटी थियो। यो पटक घर र अफिस दुबैतिरबाट जाने समय मिल्यो।

सुरुमा त जाने निर्णय गरेपनि धेरै कुरा बुझिएको थिएन। सुनेको मात्र विपश्यना जाने भइयो । डर पनि लागिरहेको थियो।

के हो त विपश्यना ?

आजभन्दा करिब पच्चीस सय वर्ष अगाडि भगवान गौतम बुद्धले विपश्यना ध्यान विधिबाटै बोधी ज्ञान प्राप्त गरी ४५ बर्ष सम्म त्यसबेलाका मानिसहरुलाई यसको उपदेश दिनुभयो। बुद्धको समयमा मानिसहरुले गुरुचेला प्रथाबाट विपश्यना ध्यान गरी विभिन्न दुःखबाट मुक्ति पाई जीवनलाई धर्मको बाटोमा लैजान सफल भएका थिए।

विपश्यनाको बिधि नेपाल, भारत, श्रीलंका आदि विश्वका सबै मुलुकमा लोप भएछ तर बर्मामा भने यसलाई जोगाएर राखिएको रहेछ। पछि आचार्य गुरु सत्यनारायण गोयन्काजीले बर्मामा राखिएको अनमोल विपश्यना विधिलाई पुःन ब्युँताएर अहिले विश्वभरमा अभ्यास गरिँदैछ।

विपश्यना ध्यान एक सरल प्रयोगात्मक तरिकाले गरिने ध्यान हो। यस ध्यानबाट मानिसहरु शान्ति प्राप्त गर्दछन् र सुखी र आनन्दको जीवन निर्वाह गर्न मद्दत गर्दछन्। विपश्यनाको शाब्दिक अर्थ हो, आफैंले आफैंलाई चिन्नु। प्राकृतिक रुपमा जे जस्तो अवस्थामा चिजहरु छन् तिनीहरुको अवलोकन गर्नु र समता भावले हेरी प्रज्ञा जगाउनु।

विपश्यनाको ध्यानबाट आन्तरिक शान्ति महसुस गर्न सकिन्छ । दिमाग, मस्तिष्क शुद्धिकरण गर्दछ र विभिन्न विकारहरुलाई फाल्न मद्दत गर्दछ। यसले गर्दा यो मानव जीवन सुखी, आनन्दमयी हुन्छ र वरपर संसर्गमा आउनेहरुलाई पनि शान्तिमय जीवनयापन गर्न उत्प्रेरणा गर्छ।

विपश्यना ध्यान गर्न कम्तिमा पनि १० दिने कक्षा लिनुपर्दछ र उक्त अवधिभर ध्यानकेन्द्रमा नै बस्नु पर्दछ। विपश्यना १० दिने कक्षामा सहभागी हुन दृढ संकल्प चाहिन्छ। १० दिन परिवार, आफन्तसँग सम्पर्क विहीन भएर बस्नुपर्ने, आफ्नो दैनिक व्यस्त जीवनको १० दिन यसमा खर्च गर्नु एउटा बहुत कठिन निर्णय हो। १० दिनसम्म शाकाहारी खाना मात्र खान पाइने मांसाहारीका लागि अर्को चुनौतीको बिषय हो।

त्यस्तै कुनै प्रकारको मदिरा, धुम्रपान गर्न नपाइने, गुरु र व्यवस्थापकहरुसँग बाहेक अन्य कोहीसँग पनि १० दिनसम्म बोल्न नपाइने, टेलिभिजन, फोन, कम्प्यूटरको त कुरै छाडौं लेख्न र पढ्न समेत प्रतिबन्ध हुनु साँच्चिकै कडा नियम हो।

१० दिनसम्म ध्यानकेन्द्रको वरिपरि तोकिएको क्षेत्र भित्रमात्र विश्रामको समयमा हिंडडुल गर्न पाइने, आफूले मानी आएको देवी देवताको माला मन्त्र जप्न, व्रत पूजा गर्न नपाइने जुन यस्ता कर्म गर्नेहरुका लागि गाह्रो बिषय हो।

विपश्यना अवधिभर पञ्चशील लिनुपर्ने हुन्छ। यस अन्तर्गत जीव हत्या नगर्नु, चोरी नगर्नु, झुटो नबोल्नु, कुनै किसिमका लागुपदार्थ जस्ता लतको सेवन नगर्नु अनि ब्रम्हचर्य पालना गर्नु अनिवार्य सर्त हो।

अवधिभर आर्य मौन बस्नुपर्नेछ जहाँ वाणी तथा शरीरबाट पनि मौन पालना गर्नुपर्दछ र शारीरिक सङ्केत अथवा लेखपढ गरेर विचार विनिमय गर्न निषेध गरिन्छ। तसर्थ, १० दिनसम्म बाहिरी दुनियाँसँग विच्छेद भएर बस्नु विपश्यनाको नियम हो।

दोस्रो दिन झण्डै भागेँ

कक्षा सञ्चालन हुने दिन भन्दा एक दिन अघि नै ध्यानकेन्द्र पुग्नुपर्ने नियम अनुसार डिसेम्बर १ मै केन्द्रमा पुगे। त्यहाँ १ बजेभन्दा अगाडि नै पुग्नुपर्ने रहेछ। पुगेर नाम लेखाई आफ्नो सुत्ने कोठाको नम्बर लिई सामान राखेँ। आफ्नो मोवाइल, पर्स केन्द्रकै लकरमा राखेँ।

पहिलो दिन त्यहाँ वातावरणमै अभ्यस्त हुन केही समय लाग्यो। धेरैजसो ध्यान गर्न आउनेहरु विदेशी तर सुरुमा कोहीसँग कुरा भने भएन। बेलुका ६ बजे खाजा खाँदै हामी सबैलाई डाइनिङ हलमा राखेर केही निर्देशनहरु दिइयो।

७ बजे १० दिने ध्यानका बारेमा ओरेन्टेसन दिइयो। शिविरमा रहँदासम्मका त्यहाँ बस्दा पालना गर्नुपर्ने नियमहरु, आर्यमौन, शील, समाधी र प्रज्ञाको बारेमा जानकारी गराएपछि सबैजनालाई ८ बजे धम्महलमा आउन भनियो। साँझ ८ बजेको घण्टी बज्यो। सबै जना धम्महलमा प्रवेश गर्‍यौँ।

हलमा हामीलाई साधना सिकाउने गुरु पहिले नै आसनमा बसिसक्नुभएको रहेछ, सहायक आचार्य निमा ग्याल्जेन शेर्पा हुनुहुँदोरहेछ। उहाँका नीति निर्देशन भोलिदेखि शुरु हुने ध्यानका बारेमा केन्द्रित थियो। आ–आफूलाई दिएको सिटमा बस्नुपर्ने। केही निर्देशनपछि ध्यानविधिबारे जानकारी गराईयो अनि सुरु भयो आर्यमौन। ९ बजे सुत्न गइयो।

भोलिपल्टदेखि शुरु भयो हाम्रो दश दिवसीय साधना। बिहान चार बजे उठ्नु पर्ने अनि साढे चारसम्ममा धम्म हलमा पुगेर दिनको सुरुवात गर्नुपर्ने र राति ९ बजेमात्र सुत्न पाइने नियमित तालिका।

शुरुको दिन त आँखा चिम्लियो मन त कुन ठाउँ पुग्छ थाहा नै नपाइने। दिनभरीमा मन कहाँकहाँ पुग्यो भनेर कल्पना नै गर्न नसकिने। छिनछिनमा सामाजिक सञ्जाल चलाउनुपर्ने, अनेक कुरामा तर्कवितर्क गर्नुपर्ने बानी परेको मलाई सुरुकै दिनमा औडाहा भयो।

हाइ काढ्दै मनमा कुरा खेलायो, यसो हात खुट्टा चलायो ध्यान गर्न आएको हो की ध्यान भड्काउन आफैँलाई टुंगो छैन। (आनापाना) आफ्नै श्वासलाई तटस्थ भावले आएको गएको मात्र नियाल्न गुरुले दिएका निर्देशनले कुनै प्रभाव पारेन।

आँखा चिम्लेर ध्यानमा बस्ने बित्तिकै मनमा खेल्ने विगत र वर्तमानले मनमा बेचैनी भइरह्यो। अडियोमा आइरहेका निर्देशन सुनेर त्यही अनुसार गर्नुपर्नेमा मेरो मन धेरै नै अनियन्त्रित भइरहेको थियो। यतिकैमा पहिलो दिन गुजारियो।

दोस्रो दिन मनलाई केही शान्त पार्न सकिएपनि अर्को पीडा शुरु भयो। एउटै आसनमा बस्दा बस्दा सम्पूर्ण शरिरका नसा एकैचोटि दुखे। बाँकी आठ दिन सम्झेर डर लाग्यो । दोस्रो दिको ध्यान सक्दा नसक्ने धारणा बनाइकेको थिएँ।

राति सुत्ने बेलामा भाग्ने विचारसमेत आइसकेको थियो । फेरि ओरेन्टेसन दिँदै अन्तिमचोटि सोच्न दिएको समय सम्झेँ अनि अर्को कुरा भागे पनि मोबाइल माया मार्नुपर्ने भएपछि भाग्न सकिन।

तेस्रो दिनको परिवर्तन, चौथो दिनमा विपश्यना पाउने उत्साह

तेस्रो दिनभरी आफ्नो माथिल्लो ओठको माथि नाकको प्वाल वरिपरिको भागलाई नियाल्ने र समवेदनालाई समता भावले हेर्ने अभ्यास गरियो । एउटै निर्देशन सुनेर वाक्क भएको म चौथो दिनमा भने विपश्यना दिने पूर्वजानकारी गराइयो।

केही समयको आनापाना गरेपछि लगातार दुई घण्टा विपश्यना प्रदान गरियो। गुरुले भनेअनुसार शिरदेखि पाउसम्म हरेक अंगमा पालैपालो आफ्नो ध्यान केन्द्रित गर्ने र समवेदनालाई समता भावले हेर्ने।

विपश्यना पाएको छुट्टै उत्साहका साथ चौथो दिन कट्यो त्यसपछिका दिनहरुमा शरीरका हरेक अंगहरुका समवेदना तर विभिन्न तरीकाले नियाल्ने काम गरियो। पछिल्ला दिनहरुमा ध्यानले शरीरका विकारहरुमा असर पार्दै गएपछि रमाइलो लाग्दै गयो । आठौं दिनमा पुग्दा अति सूक्ष्म समवेदना नियाल्न सक्ने भइसकेपछि सम्पूर्ण शरीरमा धारा प्रवाहको समवेदना महशुस भयो।

त्यसपछि त मलाई १–२ घण्टा लगातार ध्यानमा बस्दा पनि त्यति गाह्रो भएन । जब जब ध्यानको समयमा शरीरमा संवेदनाका छालहरु शरीरमा प्रष्टरुपमा प्रत्येक अंग अंगमा तलमाथि गरेको अनुभूति गर्न थाले । शरीरमा जहाँ जहाँ पीडा धेरै महसुस हुने गर्थ्यो मलाई त्यहाँ संवेदनाका तरंगहरुले धेरै धरै छाल हानेको जस्तो अनुभूति हुन थाल्यो ।

दोस्रो दिन पनि भागेर जाउँ कि लाग्ने मान्छे शिविर सकिँदा अरु केही दिन थपेर जान पाए भन्ने जस्तो समय त कम जस्तो पो लाग्न थाल्यो ।

दश दिवसीय साधनापछि धेरै कुरा अनुभव भएको छ । जीवनका धेरै चिन्ताहरुको कारण मोवाइल हुने रहेछ भन्ने अनुभव भएको छ । समयतालिकामा आफ्ना दैनिक कार्यहरु खाने, पिउने सुत्ने जस्ता कामहरु गरे आधा रोग नलाग्ने रहेछ भन्ने पनि अनुभव गरियो। सँधै ग्यास्ट्रिक भइरहने मलाई १० दिनमा ग्यास्ट्रिकको ‘ग्या’ले पनि छोएन । साथै आफैलाई चिन्ने अवसरको पनि अनुभव गरियो ।

ध्यानबाट फर्केको ५ दिन बितिसकेछ, अहिले मस्तिष्क चंगा भएको छ, जीउ फुर्तिलो भएको छ, मनमा नयाँ जोश जाँगर भरिएर आएको छ। मनमा शान्ति मिलेको छ, जीवन र जगतका बारेमा मनमा रहेका अनुत्तरित धेरै प्रश्नहरुको जवाफ मिलेको छ।

जिन्दगीमा गर्नुपर्ने कामहरुमा धेरै राम्रो काम गरिएछ जस्तो लागेको छ, ठूलो उपलब्धि प्राप्त भएको जस्तो लागेको छ। जीवनका लागि मनमा एउटा राम्रो मार्ग दर्शन मिलेको छ।

विपश्यनाका अन्य कैयौँ सान्दर्भिक व्यवहारिक पाटोहरु छन् । हाम्रो समाजमा ध्यान साधना गर्न जानु भनेको ‘जोगी’ भयो भन्ने बुझाई रहेको छ । त्यस सोचाइमा परिवर्तन आउन नमरी स्वर्ग देखिदैन भनेझै आफैले एकचोटी अनुभव गर्नुपर्ने हुन्छ । विपश्यना के हो भनेर यहाँहरु सबैलाई जानकारी गराउन र आफ्ना अनुभव साट्नका लागि यो लेख लेखेको छु।

जीवनमा एक पटक गर्नुपर्ने एउटा महत्वपूर्ण काम विपश्यना ध्यान हो भनेर नोट गरी आफ्नो व्यस्त जीवनबाट १० दिन निकालेर नजिकको विपश्यना ध्यानकेन्द्रमा सहभागी हुनुहोला भन्ने आशा गरेको छु । सम्पूर्ण प्राणी जगतको मंगल होस् ।

Nepal Vipassana Center




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *