एउटा नयाँ संक्रमणकालको उदय
नेपाली राजनीतिमा फेरि नयाँ संक्रमणकालको उदय भएको छ। पुरानो पुस्ताको राजनीति रक्षात्मक अवस्थामा पुगेको छ भने नयाँ पुस्ता आक्रामकरुपमा अगाडि आएको छ।
दशकौंदेखि एकपछि अर्को लगातारको संक्रमणकाल व्यहोरेर केही आशा र निराशाको संघारमा गुज्रिरहेको हाम्रो देशको राजनीति आउने दिनहरुमा झनै रोचक हुने देखिन्छ।
देशको राजनीतिको मियो ठान्ने ठूला दलहरु आफ्नो अस्तित्वको रक्षाको लागि गठबन्धन गरेर चुनाव लड्नु पर्ने अवस्थामा पुगेका छन्। तर त्यो गठबन्धन समग्र पार्टी पंक्तिको चाहानाले भन्दा पनि ब्यक्तिबादी, अहंकारी र सर्बसत्ताबादी नेतृत्वको राजनैतिक अभिष्ट पुरा गर्ने उद्देश्यले गरिएको देखिन्छ।
प्रजातन्त्रको संस्थागत बिकास गर्ने क्रममा रहेको हाम्रो देश जहाँ अझै पनि मासु भात ख्वाएर वा एक डबका जाँड बढी ख्वाएर भोट फकाउन सकिन्छ त्यहाँ प्रजातन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्नु केवल झुटको खेतीबाहेक केही होइन।
त्यो गठबन्धनमा सबैका आ-आफ्नै स्वार्थ जोडिएका थिए भन्ने बुझ्न गाह्रो छैन। देउबालाई छैटौं पटक प्रधानमन्त्री बन्नु पर्ने र आरजु देउवालाई राजनीतिमा स्थापित गर्नु पर्ने, माधब नेपाललाई जसरी भएपनि राजनीतिमा अस्तित्व जोगाउनु पर्ने अनि प्रचण्डको प्रधानमन्त्री बन्नै पर्ने र अस्तित्व रक्षाको लागि राजनैतिक संरक्षण पाइराख्नु पर्ने बाध्यताको उपज भएको त्यो गठबन्धन अन्ततोगत्वा असफल हुन वाध्य भयो।
चाहेजस्तो, सोचेजस्तो परिणाम गठबन्धनले प्राप्त गर्न सकेन । तर, अंक गणितको जोड घटाउमा यसपटक पनि सत्ताको मियो बन्ने अवसर भने यिनैले पाउने देखिएको छ।
बिगत तीस बर्षको राजनीतिले ल्याएका परिवर्तनहरु महत्वपूर्ण छन् तर तीनले सर्ब साधारण नेपालीको जिबिकाको सवालमा खासै परिवर्तन भने ल्याउन सकेनन्। अनौठो कुरा त के छ भने जुन राजनैतिक शक्तिको नेतृत्वमा परिवर्नत भए उनैले परिवर्तनलाई संस्थागत गर्न सकेनन्।
थप एकपटकको लागि यस्तो अवसर पाए पनि उनीहरुका लागि अबको समयमा त्यती सजिलो भने छैन । आफूलाई सत्ताको मियो ठान्ने किङ्ग मेकरहरुका अगाडि नयाँ किङ्ग मेकरहरुको उदय भएको छ।
जनताले विद्रोहको भिल्को यो चुनावमा बालिदिएका छन्। त्यो झिल्कोले उचित अवसर पाए जनतलाई ढाँटेर नै राजनीति चल्छ, मासु र रक्सीमै भोट किनिन्छ भन्ने सोच्नेहरु क्रमश खरानी बन्दै जाने छन्।
यहाँ निर बुझ्न गाह्रो जस्तो देखिने कुरा भनेको त्यति ठूलो बौद्धिक र जनस्तरको असन्तुष्टि हुँदा हुदै पनि कसरी तिनै सन्दर्भ सिद्दिएका नेताहरु नै जितेर आए भन्ने हो। त्यसमा दुइवटा पक्षले काम गरेको देखिन्छ-एक, हाम्रो देशको बौद्धिक बर्ग अझै पनि साधारण नेपालीहरुलाई प्रभाव पार्न सक्ने अवस्थामा पुगेको छैन। अथवा शिक्षा र चेतनाको कमी छ। अर्को पक्ष भनेको उनीहरुले आफ्नो सुरक्षाको लागि सिर्जना गरेको राजनैतिक सिन्डिकेट छ।
देउबालाई जिताउँदा फाइदा पुग्ने पोषित र संरक्षित् समूह यति बलियो छ त्यसलाई भत्काएर अर्को अनुहारलाई जिताउन उनी जत्तिकै घामट खेलाडी आउनु अघि सर्नुपर्छ नत्र त्यो गिरोहले जरा गाडेको छ।
निम्न र मध्यम स्तरीय बौद्धिकता भएका ती गिरोह संचालक मानिसहरु केवल आफ्नो स्वार्थको पूर्तिका खातिर राजनीति गर्छन्। तिनीहरु तबसम्म निस्तेज हुदैनन् जबसम्म उनीहरुलाई माथिबाट कसैले पोस्न छोड्दैन। उनीहरुको आफ्नै अस्तित्व हुदैन तर उनीहरु परिचालित र संरक्षित हुन्छन्।
त्यो कुरा देउबाको राजनीतिक विश्रामपछि हाल उनको पछाडि ज्यान दिएर लाग्ने मानिसहरुको राजनैतिक रंगमंचमा कस्तो प्रस्तुति देखिन्छ भन्ने कुराले प्रस्ट पर्नेछ। कतिपय त छेपाराले रंग फेरेजस्तो पनि गर्लान् तर अधिकांशको चुरीफुरी हराउने छ।त्यही कुरा प्रचण्ड र ओलीमा पनि लागु हुन्छ।
अब केही समय नेपाली राजनीति यथास्थितीबादी र परिवर्तन पक्षधरबीचको द्वन्द्वमा गुज्रिन सक्ने देखिन्छ। यो मुलत पार्टी र शासनको नेतृत्व परिवर्तनसँग सम्बन्धित छ।
यहाँनिर यथास्थितिबादी भन्नाले २०४६ र ६३ सालपछिका राजनैतिक परिवर्नतहरुको नेतृत्वको श्रेयको आधारमा सत्ताको पहिलो भागिदार ठान्ने पाको पुस्तालाई भन्न खोजिएको हो भने परिवर्तन पक्षधर भन्नाले राजनीतिलाई बिकास र अवस्था परिवर्तनका मुद्दासंग जोडेर उदाइरहेका नयाँ राजनैतिक शक्तिलाई भन्न खोजिएको हो।
पुरानो पुस्ता अझै पनि परिवर्तनको नेतृत्व गरेको नाममा सत्तामा आफ्नो अधिकार जमाइरहेको छ भने नयाँ पुस्ता पुरानो नेतृत्वको अक्षमताबाट दिक्क भएर देशको नेतृत्व लिन हतारिएको छ। नयाँ राजनैतिक शक्तिको उदय पुरानो नेतृत्वको अकर्मण्यता र राज्य संचालनमा देखिएको प्रभावहिनताको प्रतिक्रिया स्वरुप भएको छ।
विश्वमा भइरहेका परिवर्तनहरुलाई आफ्नो आँखा अगाडि नियालिरहेका नयाँ पुस्ताका नेपालीका लागि उधारो सम्बृद्धिको भाषण गर्ने राजनैतिक नेतृत्व असान्दर्भिक भैसकेको छ। नारा लगाएर, भाषण गरेर अनि सडकमा टायर बालेर, जेल र नेलको अनुभव बेचेर नेता बन्ने र नेतृत्वमा टिकिरहेने प्रवृत्तिलाई नयां पुस्ताले क्रमश चुनौती दिइरहेका छन्।
सामाजिक काम गरेर, राज्य संयन्त्रका कमी कमजोरीलाई नजिकबाट नियालेर अनुभव हाँसिल गरेका सचेत बर्गका बौद्धिक मानिसहरु राजनीतिमा उदाउन थालेका छन्। यो हाम्रो देशको लागि शुभ समाचार हो। धेरैपछि हाम्रो राजनीतिको बजारमा त्याग र तपस्याले सफलता पाएका छिटफुट उदाहरणहरुले पनि नयाँ पुस्ताको नेपाली राजनीति बढी उत्पादन मुलक र सुझबुझ पूर्ण हुने सङ्केत देखिन्छ।
बिगत तीस बर्षको राजनीतिले ल्याएका परिवर्तनहरु महत्वपूर्ण छन् तर तीनले सर्ब साधारण नेपालीको जिबिकाको सवालमा खासै परिवर्तन भने ल्याउन सकेनन्। अनौठो कुरा त के छ भने जुन राजनैतिक शक्तिको नेतृत्वमा परिवर्नत भए उनैले परिवर्तनलाई संस्थागत गर्न सकेनन्।
२०४६ साल पछी स्खलित भएको कांग्रेस र शान्तिपूर्ण राजनीतिमा आए पछी स्खलित भएको माओबादी त्यसका प्रमाण हुन्। उनीहरुको मुख्य कमजोरी भनेको राजनीतिलाइ विकास सँग जोडेर लान नसक्नु हो। केहीलाइ छोडेर त्यो युगका बहुसंख्यक मुख्य नेताहरु कुनै खास दृस्टीकोण र कार्ययोजना नभएका फगत सत्तालिप्त शासक मात्र हुन् सके।
देशलाई केन्द्रमा राखेर राजनीति गर्न नसक्नु उनीहरुको कमजोरी हो। उनीहरु सँग राज्य संचालनको अनुभव थिएन भन्नु केवल एउटा बहाना हुन् सक्छ तर यथार्थमा उनीहरुसँग दुरदृस्टी थिएन अनि समर्पणको भावना थिएन भन्ने नै उनीहरुका हाल सम्मका गतिबिधीले पुस्टी गर्दछन्।
दशकौदेखि पुरानो पुस्ताका कमजोरीहरु नियालेर हुर्केको नयाँ पुस्ताको नेपाली राजनीतिले पक्कै पनि देशमा नयाँ परिवर्तन ल्याउन सक्छ । तर त्यो बाटो सरल र सहज भने छैन।
ठूलो राजनैतिक उथलपुथल ल्याउन सक्ने नेताको उदय नभएसम्म दशकाैंदेखि सिन्डिकेट बनाएर स्थापित भएका पुराना नेताहरुलाई पाखा लगाएर नयाँ पुस्ताको राजनीति स्थापित गर्न सजिलो भने अबश्य हुने छैन । तर संकेतहरु स्वागतयोग्य छन्।
हाल सानफ्रान्सिस्को, अमेरिका
Facebook Comment