प्रचण्डको यो अन्तिम कार्यकाल

शंकरप्रसाद रिजाल
१२ पुष २०७९ ११:३०

पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होमिएपछि नेपाली कांग्रेस ठूलो दल बन्न सफल भयो। गठबन्धनमा सहभागी अन्य दलले पनि गठबन्धनबाट लाभ नै लिए। हामीले अंगीकार गरेको निर्वाचन प्रणालीमा चुनावमा गठबन्धन गर्नु अहिलेको आवश्यकता हो।

तर गठबन्धनप्रति त्यसमा आवद्ध दल कति इमान्दार रहन्छन् त्यो महत्वपूर्ण विषय हो। कतिपय दलले गठबन्धनलाई अवसरमा रुपमा लिने र त्यसपछि गठबन्धनको मूल्यमान्यता विपरित काम गर्ने गरेको दृष्टान्त धेरै छन्।

नेपाली कांग्रेससँग गठबन्धन गरेर तेस्रो ठूलो दल बनेको माओवादी केन्द्रले हठात् गठबन्धन तोडेर एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भए। यद्यपि गठबन्धन तोड्नका पछाडि सबैका आआफ्ना तर्क छन्।

अहिलेको राजनीतिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड नै मुख्य गरी प्रधानमन्त्रीका दाबेदार देखिए। राजनीतिक चतुर खेडाली प्रचण्ड त प्रधानमन्त्री भइसके भने यो पटक ओलीले ठूलो भूमिका निर्वाह गरे।

राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने हठ कारण कांग्रेसले मुखैमा आइसकेको सत्ताबाट हात धुनु परेको छ। यसरी हेर्दा राजनीतिलाई संभावनाको खेल भनिएको ठिकै जस्तो लागेपछि अहिले नेपालमा भइरहेको घटनाक्रमले राजनीतिलाई फोहोरी खेल भन्दा पनि फरक नपर्ने देखियो।

संसदको यो कार्यकालमा देउवा ओली र प्रचण्ड बाहेक अन्य नेता प्रधानमन्त्री बन्ने संभावना देखिँदैन। तर यी तीनै जना नेताको कार्यकाल नेपाली जनताले हेरिसकेका छन्। जनताले परिवर्तनको अपेक्षासहित नयाँ शक्ति निर्माण गरेका छन्।

यो पटकको निर्वाचनका नयाँ पार्टीको उदय भएको छ भने युवा अनुहारले प्राथमिकता पाएका छन्। यसको अर्थ अब पुस्तान्तरण हुनुपर्छ भन्ने जनादेश थियो। तर बारम्बार टेस्ट भइसकेका नेताहरुले नै सत्तामा कब्जा जमाइरहँदा जनतामा निरासा उत्पन्न भएको छ।

यद्यपि नयाँ सरकार भर्खरमात्रै गठन भएको छ, यसले पूर्णतासमेत पाइसकेको छैन। यो सरकारको जनभावना बमोजिम काम गर्नुपर्ने प्रमुख दायित्व छ।

यहाँ देश र जनताप्रति उत्तरदायी हुने भन्दा पनि आलोपालो गरेर सत्ता चलाउने अनि आफू र आफू वरिपरीकालाई पोस्ने चलन धेरै छ। सत्तामा पुगेपछि जनता र मतदातासमक्ष गरेका प्रतिवद्धता बिर्सिँदै सखसयलमा भुल्ने प्रवृत्ति फस्टाउँदो छ।

अब यो नयाँ सरकारले जनभावना अनुरुप काम गर्नेमा जनता आशावादी छन् किन भने यो सरकारमा परिवर्तन पक्षधरको पनि सहभागीता छ।
तर सत्ता प्राप्तिका लागि जे पनि गर्न सक्ने प्रचण्ड विचारलाई बुझ्न नसक्दा अहिले कांग्रेसको हातबाट सत्ता गुम्यो।

निर्वाचनमा सबैभन्दा बढी सिट जितेको कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड नामको अल्टर कार्ड फ्यालेपछि त्यो कार्ड एमाले अध्यक्ष केपी ओलीले टिपेर राजनीतिक म्यारिज खेलको गेम शो गरे। यस्तै खेलै खेलले नेपालको राजनीतिको खेल २००७ सालदेखि चलिरहेको छ।

भर्खरै सम्पन्न आम चुनावमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस र दोस्रो ठूलो दल बनेको नेकपा एमाले मिलेर सरकार बनाएको भए त्यसले राजनीतिक स्थिरता दिन सक्थ्यो।

अहिले गठन भएको सरकारमा सात दल सम्मिलित छन्। सबै दलको चित्त बुझाउँदै गर्दा सरकारले जनतामा राम्रो डेलिभरी गर्न सक्दैन। सरकार जोखाउमा नै प्रधानमन्त्रीको ध्यान केन्द्रित हुन्छ।

फेरि अहिलेको सरकारमा फरक विचारधारा भएका दलहरुको गठबन्धन हो। यसमा ससाना कुरामा पनि विवाद हुनसक्छ र जतिबेला पनि यो सरकार अल्पमतमा पर्न सक्छ।

राजावादी र उग्रबाम पन्थीको सहभागितामा बनेको प्रचण्डको सरकारको आयु कति हो भन्न सकिने अवस्था छैन। ओली र प्रचण्डको स्वार्थ मिलेसम्म यो सरकारले निरन्तरता पाउन सक्छ। तर हिजोका दिनमा ओलीलाई प्रचण्डले दिएको धोका उनले सायद बिर्सिएका छैनन्।

दुई तिहाइ बहुमतको सरकार ढालेर पार्टी नै कब्जा गर्ने नीति लिएका प्रचण्डलाई राजनीतिका चतुर खेलाडी ओलीले रोक्न नसकेको भए आज ओलीको हातमा केही पनि हुने थिएन।

एक्लै चुनाव लड्ने हिम्मत नभएका प्रचण्ड कहिले ओली र देउवासँग मिलेर आफ्नो अस्तित्व जोगाउँदै आएका प्रचण्डको यो प्रधानमन्त्रीकाल अन्तिम हुन सक्छ। किनभने यसपछि माओवादीको अस्तित्व कायम रहने कुरामा नै शंका छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *