हरिबोल गजुरेलले गरे उपराष्ट्रपति पद अस्वीकार

पार्टीमा कार्यकारी भूमिकाको अपेक्षा

शरद रिजाल
१३ पुष २०७९ १९:०७

काठमाडौं। माओवादी आन्दोलनमा लागेका समकालीन नेताहरुमध्ये पुराना र अग्रज नेता हरिबोल गजुरेलले पार्टी बनाउने भन्दै कुनै पनि लाभका पद धारण नगर्ने बताएका छन्।

उनले लामो समयदेखि पार्टीमा समस्या देखिएको बताउँदै पार्टी बनाउने अभिभारा आफूले पूरा गर्न तत्काल कुनै पनि राजकीय पदमा  नजाने बताएका छन्।

पार्टी सुदृढ गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले कार्यकारी भूमिकाको माग प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको उनले बताएका छन्।
उनले पार्टीमा उचित कार्यकारी भूमिका दिए परिणाममुखी नतिजा ल्याउने बताउँदै पार्टीमा पछिल्लो समय देखिएका समस्याको हल गर्न सक्षम रहेको डिसी नेपालसँगको कुराकानीमा बताए।

अध्यक्ष प्रचण्डले आफूलाई लाभका पदमा अफर गरे पनि निरन्तर पार्टीमै कार्यकारी भूमिकामै रहने इच्छा ब्यक्त गरेका छन्। उनलाई आइतबाार प्रधानमन्त्रीसमेत रहेका मओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले उपराष्ट्रपति लगायत अन्य कुनै लाभको पदको अफर गरेका थिए। तर, गजुरेलले त्यसलाई अस्वीकार गरेका हुन्।

उनले भने, ‘मूल विषय पार्टी बनाउने र माओवादी आन्दोलनका उपलब्धिको रक्षा गर्ने हो। म अझै पार्टीको काम गर्न सक्षम छु त्यसैले कार्यकारी भूमिका दिए ठोस र परिणाममुखी नतिजा ल्याउने छु।’

पार्टीमा आफूले कार्यकारी भूमिकासहितको जिम्मेवारीको अपेक्षा गरेको बताउँदै उनले अगाडि भने, ‘म पार्टीमा देखिएको समस्या निराकरण गर्ने अहिलेको मुख्य चुनौती भएकाले पार्टीको सांगठनिक अवस्थालाई पुर्नजिवित तुल्याउन कार्यकारीे भूमिकाको अपेक्षा गरेको छु।’

पार्टीमा देखिएको समस्याको निरुपण गर्नुपर्ने अहिलेको मूल चुनौती रहेको भन्दै त्यसको हल गर्न आफू सक्षम रहेको उनको दाबी छ। माओवादीमा लागेका नेताहरुमध्ये अग्रज मानिने गजुरेल पार्टी बनाउने हुटहुटीले सक्रिय राजनीतिमा निरन्तर लाग्ने बताएका हुन्।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई सरकारको काममा पूर्णतया केन्द्रित हुन आग्रह गर्दै पार्टी सञ्चालन अरुले नै गर्दा सरकार र पार्टी दुबैको काम थप प्रभावकारी हुने सुझाब दिएको बताएका छन्।

२०४८ सालमा तत्कालीन नेकपा(एकताकेन्द्र) बाट माओवादी अध्यक्ष प्रचण्डसँग जोडिएका गजुरेल त्यसयता निरन्तर रुपमा प्रचण्डकै नेतृत्वको पार्टीको बिभिन्न उच्च तहमा जिम्मेवारी वहन गर्दै आएका छन् ।

एकता केन्द्र हुँदै २०५१ सालमा गठित माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रभावकारी भूमिका खेलेका गजुरेल शान्ति प्रक्रियापछि एकीकृत नेकपा (माओवादी)काे कोषाध्यक्ष भएका उनी हाल नेकपा (माओवादी केन्द्र) को उपमहासचिवको जिम्मेवारीमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *