भारतीय राजदूतको बधाइ फोनमा प्रधानमन्त्री प्रचण्डलाई गर्व ?

टीभीमा दिएको अन्तर्वार्ताले नेपालीको अपमान(भिडियोसहित)

डिसी नेपाल
१४ पुष २०७९ ७:३९

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राजदूतको बधाई फोन सम्बाद र प्रधानमन्त्री भएपछि पहिलोपल्ट भारतीय टीभी च्यानललाई अन्तर्वार्ता दिन पाएकोमा गर्व लागेको बताएका छन्। यो भनाइले पदभार ग्रहण गर्दा गर्दैै प्रधानमन्त्री दाहाल फेरि विवादमा परेका छन्।

मुलुकको प्रधानमन्त्री हुँदा गर्व गर्न छाडेर भारतीय राजदूतसँग फोनमा कुरा गर्न पाएको र पहिलोपल्ट भारतीय टीभी च्यानलमा अन्तर्वार्ता दिएकोमा गर्व गरेको कुराले नेपालमा उनको चर्को आलोचना शुरु भएको छ।

दाहालले भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा म प्रधानमन्त्री भएर राष्टपति कार्यालयबाट फर्कँदै गर्दा मलाई पहिलो बधाई भारतीय राजदूतले दिनुभएको हो र उहाँलाई नै मैले तपाईं पहिलो कुटनीतिज्ञ हो मलाई बधाई दिने भने। त्यसको तुरुन्तै भारतीय प्रधानमन्त्री मोदीजीको ट्वीट आयो र वधाई दिँदै उहाँले नेपाल भारत सम्बधलाई अझ मजबुत गर्ने अपेक्षा व्यक्त गर्नुभयो। अझ यो संयोगको कुरा हो भन्नुस् या म पहिलो अन्तर्वार्ता पनि पनि तपाईंसँग, यो भारतीय न्यूज च्यानलसँग दिइरहेको छु यसमा मलाई खुसी र गर्व छ।’

उनले हिन्दी भाषामा दिएको अन्तर्वार्तामा यसो भनेका छन्- ‘सबसे महत्वपूर्ण वात ये है कि जव मैं प्रधानमन्त्रीके रुपमे राष्टपतिके यहांसे निकलरहथा, पहला कन्ग्र्याचुलेसन मुझे आया भारतीय राजदूतकी तरफ से, भारतीय राजदूत एक्सिलेन्सीको मैंने कहा आप ही पहला डिप्लोम्याट है, जिस्ने कन्ग्र्याचुलेट किया, उसके तुरुन्त वाद प्रधानमन्त्री मोदीजीका ट्वीट आया और वधाइ कर्के और नेपाल भारत सम्बन्धोंको और मजबुत कर्ने की अपेक्षाके साथ, वो पहेले प्रधानमन्त्री थे जिस्ने मुझे कन्ग्र्याचुलेट किया, और ये भी संयोगकी वात कहिए या ये पहेला इन्टरभ्यू भी आपसे भारतीय इस् च्यानलको ही मैं दे रहा हूँ। इसलिए मैं बहुत खुसी और गर्व हे।’

(हेर्नुहोस् उनको अन्तर्वार्ताको भिडियो)

भारतको एबीपी टेलिभिजन च्यानललाई आफ्नै निवासमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका थिए। सो अन्तर्वार्ता मंगलबार प्रसारण भएको थियो।

केपी ओली प्रधानमन्त्री हुँदा ओलीलाई हटाएर आफू र कांग्रेस मिलाएर सरकार बनाउन पाए भारतलाई पनि कन्फरटेवल सरकार हुने थियो भन्ने कुरा अन्तर्वार्तामै बोलेर भारतभक्ति देखाएको भन्दै अत्यन्त विवादमा परेका दाहाललाई भारतीय राजदूतको बधाइ फोनमै गर्व गर्नुपर्ने अवस्था आउनु निकै अस्वाभाविक छ।

उनी मुलुकका प्रधानमन्त्री हुन् र प्रधानमन्त्रीको बोली र व्यवहारले मुलुकको इज्जत प्रतिष्ठा र मुलुकवासीको मान सम्मानलाई अभिव्यक्त गर्दछ।

प्रधानमन्त्री दाहालकै भनाइले पनि भारतीय प्रधानमन्त्री मोदीले उनलाई ट्वीटरमार्फत बधाइ दिएका हुन् फोन गरेर होइन। विगतमा हरेकजसो प्रधानमन्त्री नियुक्त हुँदा शपथ सकिनासाथ भारतीय प्रधानमन्त्रीको वधाइ फोन आउँथ्यो र सो फोन कुराकानीमै भारत भ्रमणको निम्तो पनि हुन्थ्यो। तर, यसपटक दाहाललाई मोदीले हालसम्म फोन गरेका छैनन् । भारतीय राजदूतले मात्र फोन गरेका छन्।

यो कुरामा दाहालले गरेको गर्वले उनी आफ्नो मुलुकको प्रधानमन्त्रीको हैसियतलाई भारतीय राजदूतको समकक्षतामा चिनाइरहेका छन्। भारतीय राजदूतको पद सहसचिव स्तरको हो।

प्रधानमन्त्री दाहाल आखिर किन यति नतमस्तक भएर झुकिरहेका छन् त भारतसँग? सत्ताच्यूत हुनुपर्ला भन्ने पीर पक्कै यसमा होला तर सबैभन्दा खतरनाक कुरा नेपाली जनताको इज्जतको हो।

मुलुकको प्रधानमन्त्री भारतको राजदूतसँग समकक्षताको हैसियत आफैं देखाएर सार्वजानिकरुपमा गर्व गर्छ भने त्यो मुलुकका जनताको हविगत के हुन्छ? मुलुक र जनतालाई निहुर्‍याउने अधिकार प्रधानमन्त्री नै भए पनि दाहाललाई छैन।

जनताको सार्वभौमितालाई यसरी भारतीय पाउमा लतार्दै जाने हो भने दाहालका लागि नेपालीको आक्रोश थामिनसक्नुरुपमा बढ्न सक्छ भन्ने हेक्का हुनु जरुरी छ।

भारतीय संचारमाध्यमहरुले चीनसँग नजिक रहेका नेता केपी ओलीले प्रधानमन्त्री बनाएको भन्दै दाहालको आलोचना गरिरहेका छन् र उनलाई ओलीको इशारामा नाच्ने व्यक्ति भन्दै प्रचार गरिरहेका छन्।

दाहालको अन्तर्वार्ता लिने भारतीय पत्रकारलाई नेपालविरुद्ध दुस्प्रचार गरेको भन्दै नेपाली युट्युव च्यानलका एकजना रिपोर्टरले र्‍याख्र्‍याख्ती पारेका थिए।

यस्तो परिस्थितिमा दाहालमा देखिएको भारत भक्तिको रहस्य के हो ? हुन त हाल भारतीय विदेश सचिव भएका विनयमोहन क्वात्रा नेपालको राजदूतबाट विदाइ भएर भारत फर्कनेक्रममा भारतीय दूतावास लैनचौरमा आयोजना गरेको विदाइ भोजमा आफ्नो हैसियत विर्सेर विदाइको फूलगुच्छा चढाउन दौडनेमा दाहाल पनि थिए।

तत्कालीन वाहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा र भूपू प्रधानमन्त्रीहरु दाहाल र माधवकुमार नेपाल सो भोजका लागि दूतावास पुगेको कुरा दूतावासबाटै तस्वीर सार्वजानिक गरिदिएर छरपस्ट पारिएको थियो।

मुलुकको प्रधानमन्त्रीले विदेशीसामु शिर निहुर्याएर मुलुक र जनतको पनि शिर निहुरिन्छ भन्ने चेत नेपालका नेताहरुलाई कहिले आउला ?

तस्विरः सामाजिक सञ्जाल



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *