नयाँ वर्षको खुशियाली

कपिल लोहनी
१६ पुष २०७९ ७:१५

हामी मानवजातीलाई आफ्नो जन्मदिन आउँदा जस्तै नयाँ वर्ष शुरु हुँदा पनि ज्यादै खुशी लाग्छ। तर प्रत्येक जन्मदिन र नयाँ वर्षसँगै हाम्रो छोटो जीवनको एक वर्ष सकिँदै गएको कुराबारे हामी त्यति धेरै ध्यान दिँदैनौं वा सोच्ने गर्दैनौं।

तर पनि जन्मदिन होस् वा नयाँ वर्ष नै किन नहोस् यी दिनलाई हामी उत्सवको रूपमा नयाँ जीवनको थालनी गर्ने दिनको रूपमा लिने गर्दछौं र यो दिन हामी आआफ्ना आस्थाका ईश्वरलाई सम्झन्छौं र पुज्छौं, भरसक परिवारको नजिक हुने कोशिश गर्दछौँ, मिठा मिठा परिकार बनाएर खान्छौँ, सिनेमा हेर्छौँ, संगीत सुन्छौं, अनि घुमघाम पनि गर्दछौं। यो वाहेक हामी एकापसमा नयाँ वर्षको शुभकामनाको आदान प्रदान पनि गर्दछौं।

प्रत्येक नयाँ वर्ष यानी वर्षको पहिलो दिनलाई नयाँ शुरुवातको रूपमा लिँदै हामी धुमधामसँग नयाँ वर्ष मनाउँछौं र मनमनै नयाँ वर्षको संकल्प यानी न्यु यर रिजोल्युसन तयार गरेर पारित गर्दछौँ र नयाँ वर्षबाट गर्ने र नगर्ने कामहरूबारे संकल्प गर्दछौं।

तर विरलै मात्र मानिसका त्यस्ता संकल्प दृढ रूपमा कार्यान्वित हुने गर्दछन्। किनकी हामीले लिने संकप्ल खासगरी हाम्रा खराव आदत जस्तै धुम्रपान र मद्यपान त्याग्ने वा कम गर्ने, फजुल खर्च कम गर्ने वा नराम्रो संगत छोड्ने, स्वस्थ रहने आदि जस्ता हुन्छन् र ती सब संकल्पहरू केही दिन भित्रै हाम्रा नियमित काम, व्यस्तता र दृढतामा आउने कमजोरीका कारण हामी बिर्सँदै जान्छौं।

नयाँ वर्ष भन्ने वित्तिकै हाम्रा अगाडि आफ्नो चलि आएको सम्वत्को गते, महिना र साल भएका विभिन्न खालका क्यालेन्डर बारेको सोच आउनु त्यति अनौठो कुरा होइन। नेपालीका निम्ति सर्वप्रथम दिनहुँ प्रयोगमा आउने हाम्रो राष्ट्रिय सम्वत् विक्रम सम्वत्, त्यसपछि विश्वभर सबैभन्दा बढी प्रचलित गे्रगोरियन सम्वत् र त्यसको पनि पछि नेवाः, वौद्ध, इस्लामिक तथा अन्य सम्वत्हरू आखा अगाडि आउँदछन्। विभिन्न समयमा विश्वमा प्रतिपादित क्यालेन्डरहरूले मानवजातीको संस्कृति, मान्यता र धार्मिक आस्थालाई झल्काउने गर्दछन्।

विश्वमा पहिलो चोटी नयाँ वर्ष मनाएको तथ्य मेसोपोटामियाको सभ्यताबाट प्राप्त भएको छ। २,००० बीसी पहिले यानी आजभन्दा ४,२०० वर्ष अघि शुरु भएको नयाँ साल मनाउने परिपाटीले आज विश्वव्यापी रूप धारण गरेको छ। नयाँ वर्षको दिन विश्वका सबैजसा राष्ट्रमा सार्वजनिक बिदा दिने पनि चलन छ।

विश्वमा आजसम्म फेला परेको सबैभन्दा पुरानो क्यालेन्डर ८,००० वर्ष पहिलेको हो। यो क्यालेन्डर स्कटल्याण्डमा पाइएको थियो र मानवजातीले सिकार गरेर जिविकोपार्जन गर्ने आदिम जमानामा नै यस्तो क्यालेन्डरको विकास गरेका थिए।

त्यस्तै ४,२४१ बी.सी.मा अलेक्जेन्ड्रियन क्यालेन्डर यानी मिश्रको क्यालेन्डर प्रयोगमा आएको थियो। विश्वमा नै आजसम्म पत्ता लागेको सबैभन्दा पुरानो र व्यवस्थित क्यालेन्डरको रूपमा यो क्यालेन्डरलाई लिइन्छ। आजको इजिप्ट वा मिश्रको सभ्यताबाट प्रतिपादित यो क्यालेन्डर आजसम्म पनि इजिप्टमा प्रचलित छ।

मिश्रको सभ्यता विश्वका विभिन्न ठाउँका पुरातन सभ्यताहरू मध्येको निक्कै अग्रणी हो। अलेक्जेन्ड्रिया मिश्रको ज्यादै पुरानो र दोश्रो ठूलो शहर हो। यो शहर अलेक्जेन्डरले ३३१ बी.सी.मा बसाएका थिए। जङ्गबहादुरले सन् १,८५० मा बेलायतको भ्रमण गर्दा यो शहरमा बास बसेका थिए र मिश्रका शासकहरूसँग भेटेका पनि थिए।

क्यालेन्डरहरू सोलार (सूर्यलाई घुम्न पृथ्वीले लगाउने समय) र लुनार (पृथ्वीलाई चन्द्रमाले परिक्रमा गर्दाको औंसी र पुर्णिमाको समय) हुन्छन्।

हिन्दू क्यालेन्डर मध्ये सबैभन्दा बढी चल्तीमा रहेको विक्रम सम्वत्, इश्लामिक क्यालेन्डर यानी हिज्री सम्वत्, यहुदी क्यालेन्डर यानी हिब्रु सम्वत्, चिनियाँ क्यालेन्डर आदि लुनार प्रणालीमा आधारित हुन्छन् र तिथि अनुसार चल्दछन् भने अन्य अधिकांश क्यालेन्डरहरू जस्तै रोमन, ग्रीक, ग्रेगोरियन, जापानी आदि सोलार प्रणालीमा आधारित हुन्छन्। तर जुलियन, वौद्ध आदि क्यालेन्डर भने सोलार र लुनार यानी लुनीसोलार प्रणालीमा आधारित हुन्छन्।

प्रत्येक १९ वर्षमा हाम्रो सौर्य प्रणालीका सबै ग्रह र उपग्रह पुरानै थलोमा पुग्ने भएकोले सोलार र लुनार प्रणाली दुवैले यो अवधिलाई पनि मध्यनजर गरेका हुन्छन्।

प्रत्येक नयाँ वर्ष यानी वर्षको पहिलो दिनलाई नयाँ शुरुवातको रूपमा लिँदै हामी धुमधामसँग नयाँ वर्ष मनाउँछौं र मनमनै नयाँ वर्षको संकल्प यानी न्यु यर रिजोल्युसन तयार गरेर पारित गर्दछौँ र नयाँ वर्षबाट गर्ने र नगर्ने कामहरूबारे संकल्प गर्दछौं।

ल्याटिन भाषामा ‘एडी’ यानी एन्नो डोमिनोको मतलब ‘प्रभु पैदा भएको साल’ भन्ने बुझिन्छ। त्यस्तै ‘बीसी’ वा बिफोर क्राइष्टको मतलब जेजस क्राइष्ट जन्मनु भन्दा पहिले भन्ने बुझिन्छ। जेजस क्राइष्ट ० देखि १ बीसीको बीचमा जन्मेको भन्ने विश्वास गरिए पनि कैयन् धर्मशास्त्र र ऐतिहासिक दस्तावेजहरूमा उनी ४ देखि ६ बीसीको बीचमा जन्मेका हुन सक्ने कुरा पनि उल्लेख छ।

उनको जन्म डिसेम्बर २५ मा भएर उनलाई त्यसको ७ दिन पछि बेप्टाइज गरिएकोले सो दिनलाई नयाँ सालको थालनी अर्थात् जनवरी १ को रूपमा मानिएको पनि विश्वास छ।

विश्वका जुनसुकै कुनामा प्रतिपादन भएका सभ्यताहरूमा पनि धेरै समानताहरू पाइँदा रहेछन्। क्यालेन्डर कै कुरा गर्दा पनि हजारौँ वर्ष पहिले एक ठाउँका मान्छेको अर्को ठाउँका मान्छेसँग कुनै सम्पर्क नहुने भएता पनि गणित, ज्यामिती, खगोल तथा अन्य शास्त्रहरूमा मिल्दो जुल्दो अध्ययन भइरहेको तथा तिनले प्रतिपादन गरेका सिद्धान्त र विचारधाराहरूमा पनि नजानिँदो तवरले समानताका बिन्दुहरू फेला पर्दा रहेछन्।

सम्वत् कै कुरा गर्दा पनि जता बनाइएका क्यालेन्डरमा पनि पृथ्वीले सूर्यलाई ३६५ दिनमा नै एक फन्को मारेको, पृथ्वी र चन्द्रमाको सम्बन्घ, इश्वर, धर्म, संस्कृति, मानिस जन्मेको केही दिनमा गर्नु पर्ने कामकाज जस्तै छैँठी, न्वारान, बेप्टिजम् तथा खगोलशास्त्रको आधारमा नामाकरण गरिने आदि कुरामा निक्कै समानता हुँदोरहेछ।

इश्वी सम्बत्को शुरुवातलाई कमन एरा (सीई) र सो भन्दा पहिलेलाई बिफोर कमन एरा (बीसीई) भनिन्छ। यो हिसाबले कमन एरा र एन्नो डोमिनोको शुरुवातलाई एकै दिन मानेर हेर्नु पर्दछ। हाल विश्वमा प्रयोग हुने मुख्य क्यालेन्डर एडी र बीसीले क्रिश्चियन धर्मको प्रतिनिधित्व गर्ने भएकोले पनि आधुनिक युगमा सीई र बीसीईलाई बढी प्राथमिकताका साथ प्रयोग गरिन्छ।

हाल विश्वमा सबैभन्दा बढी प्रयोग हुने क्यालेन्डर ग्रेगोरियन हो। सन् १५८२ मा पोप ग्रेगोरी आठौँले शुरु गराएको यो क्यालेन्डर जुलियन क्यालेन्डरबाट प्रभावित छ र त्यसैको परिस्कृत रूप हो।

१ जनवरी ४६ बीसी मा रोमन राजनेता जुलियस सिजरले प्रतिपादन गरेको जुलियन क्यालेन्डरका निर्माताहरू त्यतिबेलाका विख्यात ग्रीक ज्योतिषशास्त्र तथा गणितका विज्ञद्वय थिए र यो क्यालेन्डरलाई रोमन क्यालेन्डर पनि भनिन्थ्यो।

यसमा पनि १ वर्षमा ३६५ दिन नै थियो र यसको नयाँ वर्ष पनि १ जनवरीबाटै शुरु हुन्थ्यो। यो क्यालेन्डर ग्रेगोरियन क्यालेन्डर भन्दा १३ दिन पछाडि छ यानी आज ग्रेगोरियन क्यालेन्डरको ३१ डिसेम्बर हो भने जुलियनको १८ डिसेम्बर हो।

ग्रेगोरियन क्यालेन्डर शुरु हुनु भन्दा पहिले १,६०० वर्षसम्म जुलियन क्यालेन्डर कै वर्चश्व थियो विश्वका धेरैजसा भूभागमा। यस्तै समयतिर इथियोपियन क्यालेन्डर पनि प्रयोगमा आउन थालेको हो।

पर्सियन क्यालेन्डर आजभन्दा २,००० वर्ष अघि शुरु भएको हो र यो आज पनि इरानमा प्रयोगमा छ। त्यस्तै यहुदीहरूको हिब्रु क्यालेन्डर पनि सन् १० तिर शुरु भएको हो।

आज पनि यो क्यालेन्डर इजरायलमा प्रयोगमा छ। राजा विक्रमादित्यले आजभन्दा २०७९ वर्ष पहिले शुरु गरेको विक्रम सम्वत् हिन्दूहरूको मुख्य क्यालेन्डर हो भने वौद्ध क्यालेन्डर गौतम बुद्धले परिनिर्वाण प्राप्त गरेको दिनमा आधारित छ र यो आज २,५६५ वर्ष पुरानो भइसक्यो। तर सबै वौद्ध मुलुकहरूले एउटै मितिलाई मान्दैनन् र उनीहरूको सम्वत् आआफ्ना इतिहास र संस्कृति मुताविकका छन्।

इश्लाम धर्मावलम्बीहरूको हिज्री क्यालेन्डर प्रयोगमा आएको पनि सन् ६२२ मा हो। इस्लामिक मसिहा यानी पैगम्वर हजरत मोहम्मदले १,४०० वर्ष अगाडि मक्का र मदिनाबाट यो क्यालेन्डरको शुरुवात गरेका हुन्।

नेपालमा विशेष गरी नेपाली नयाँ वर्ष (विक्रम सम्वत), ग्रेगोरियन क्यालेन्डर अनुसारको नयाँ वर्ष (इश्वी सम्वत्), नेवाः नयाँ वर्ष (नेपाल सम्वत्), विभिन्न जातजातीका ल्होसार आदि मनाइन्छ। तमु ल्होसार हिजो मात्रै हर्षोल्लासका साथ मनाइयो भने इश्वी सम्वत्को नयाँ वर्ष पनि भोलि र पर्सी मनाइँदैछ। त्यस्तै अन्य जातिका ल्होसार पनि अब धमाधम शुरु हुँदैछ।

इश्वी सम्वत्को नयाँ वर्ष विश्वभर भव्यताका साथ मनाउने बेलामा हालै विश्वकै फुटबलको इतिहासका सबैभन्दा लोकप्रिय पात्र ब्राजिलका पेलेको निधन हुन गयो। विश्वकपको समापन र नयाँ वर्षको शुरुवातको बेलामा यो एकदम दुखद घटना सुन्नु परेकोले यसपालीको नयाँ वर्ष केही हदसम्म नुन नभएको तरकारी सरी हुने पक्का छ।पेलेलाई हार्दिक श्रद्धाञ्जली छ।

क्रिसमसको खुशीयालीसँगै विश्वभर यो एक हप्ता नयाँ वर्ष मनाउन धेरै मानिसहरू आतुर भएर बसेका हुन्छन्। हामी नेपाली पनि अधिकांश हिन्दू र वौद्ध धर्मावलम्वी हुनुका साथै यहाँ मुस्लिमहरू समेत भएता पनि क्रिसमस र नयाँ वर्ष पनि हामी निक्कै हर्षोल्लासका साथ मनाउँछौं। वास्तवमा हामी सबै धर्मका चाडवाडहरूमा रमाउँछौं। यो नै हाम्रो धार्मिक सहिष्णुताको द्योतक हो।

ग्रेगोरियन नयाँ वर्ष विश्वभर नै मनाइने भएकोले र आज विश्व सुलभ सञ्चार माध्यमका कारण ज्यादै सानो हुँदै गएकोले टेलिभिजन र इन्टरनेटको माध्यमबाट हामी विश्वभर उनीहरूको स्थानीय समय अनुसार राति १२ बजे मनाइने नयाँ वर्ष सिधै हेर्न सक्दछौं।

अष्ट्रेलियाको समय हाम्रो भन्दा ५ घण्टा १५ मिनेट अगाडि भएकोले हामीले मात्र होइन, पुरै विश्वले सबैभन्दा पहिले अष्ट्रेलिया र न्युजिल्याण्डको नयाँ वर्ष हेर्न पाउँछन्। सिड्नी हार्वरमा नयाँ वर्ष शुरु हुँदा गरिने आतिशवाजी विश्वमा नै प्रख्यात छ।

त्यसपछि हामीले जापान, चीन, कोरिया, सिंगापुर तथा सुदूरपूर्वी राष्ट्रहरूको नयाँ वर्ष हेर्न पाउँछौं। केही समयको हाराहारीमा दक्षिण एशियाका सबै मुलुकमा एकैचोटी जस्तो नयाँ वर्ष मनाइन्छ भने भारतका टेलिभिजनहरूले अन्तको भन्दा विशेष रोचक कार्यक्रमहरू पेश गर्दछन्।

अनि पालो आउँछ, मध्यपुर्व, अफ्रिका, युरोप र अमेरिकी राष्ट्रहरूको नयाँ वर्ष। दुवईको नयाँ वर्षमा गरिने आतिशवाजी पनि विश्वमा प्रसिद्ध छ। अन्त्यमा प्रशान्त महासागरका टापु राष्ट्रहरूको।

सन् १९७१ को डिसेम्बरमा म सानै छँदा माता-पितासँग भारतको नयाँ दिल्लीको भ्रमण गर्ने मौका पाउँदा त्यहाँको त्यतिबेलाको क्रिसमस र नयाँ सालको झिलिमिली तथा रमाइलो हेर्ने अवसर मिलेको थियो।

एक हप्ता अघि पुनः यस्तै समयमा दिल्ली जाँदा फेरि क्रिसमसको रौनक हेर्ने मौका मिल्यो। आजको भारतको विशाल र अत्याधुनिक राजधानी नयाँ दिल्लीमा त्रिसमस, नयाँ साल र २६ जनवरीमा मनाइने भारतको गण्तन्त्र दिवसको तयारीले गर्दा दिल्लीको रौनक नै भिन्दै भएको छ।

विशाल शपिङ मलहरूमा खरिदकर्ताहरूको भिडभाड तथा झिलिमिली बढेको छ भने सडकका बत्तिका हरेक खम्बामा तिरङ्गाको बत्ति बलिरहेका। ज्यादै मनमोहक दृश्य।

म सानो छँदा मेरा पिताजी नयाँ वर्षका पार्टीहरूमा भाग लिन गएर राति अबेला घर आउनु हुन्थ्यो, अनि भोलिपल्ट हामीलाई सो पार्टीमा के के भयो, ककसले नाचे, गाए, ककसलाई रक्सी अलिक बढी लाग्यो आदि बारेका रोचक कुराहरू सुनाउनु हुन्थ्यो।

उहाँका ६० वर्षसम्म निरन्तर लेखेका दैनिक डायरीहरूको अन्तिम पृष्ठमा पनि सो वर्ष भएका विशेष कार्य, प्रगति र अप्ठ्यारा तथा अवरोधहरू बारे वर्णन लेख्नु भएको थियो।

मेरा पिताजी पाकिस्तानको लागि नेपाली राजदूत हुनु हुँदा क्रिसमस र नयाँ वर्षमा विभिन्न राजदूतावास, होटेल तथा हाम्रा दुतावाससँग काम पर्ने निकायहरूले नयाँ वर्षको शुभकामना कार्डसहित उपहारस्वरुप केक, फलफूल तथा मसला (ड्राई फ्रुट) आदि पठाउँथे।

निक्कै धेरै ठाउँबाट त्यस्ता उपहार आउने भएकाले मेरा माता-पिताले दुतावासका नेपाली र स्थानीय कर्मचारीहरूलाई पनि ती उपहारहरू बाँड्नु हुन्थ्यो। त्यतिबेला इश्लामावादको जाडोमा त्यस्ता मिठा कुराहरूको साथै नेपाली समुदायको नयाँ वर्षको दिवाभोजको आनन्द लिँदा मन ज्यादै प्रफुल्लित हुन्थ्यो।

जनवरी १ लाई नेपालमा टोपी दिवसको रूपमा पनि मनाइन्छ। त्यो दिन सामाजिक सञ्जाल, खासगरी फेसबुक, नेपाली टोपीमा ठाँटिएका पुरुष तथा महिलाका फोटाले भरि भराउ हुने गर्दछन्। नेपालीहरू विशेषतः भक्तपुरवासीहरूको महान् चाड बिस्केट जात्रा बैशाख १ गतेबाट प्रारम्भ हुन्छ।

तिहारको गोवर्धन पूजाको दिन नेवार जातीको नयाँ वर्ष शुरु हुन्छ। यो दिन नेवार जातिले आफ्नै पूजा (म्हपूजा) गर्ने गर्दछन्। राष्ट्रिय विभूति शंखधर साख्वाले सन् ८८० मा प्रतिपादन गरेको नेपाल सम्वत्को यो वर्ष १,१४३औँ नयाँ वर्ष थियो।

नेपालमा बैशाख १ गतेबाट विद्यालयको नयाँ सत्र शुरु हुन्छ भने कतिपय मुलुकहरूमा जनवरी १ बाट नयाँ सत्र शुरु हुन्छ। नयाँ वर्षको प्रारम्भमा नयाँ सोचको प्रारम्भ गर्ने, नयाँ व्यवसाय शुरु गर्ने, नयाँ कामको थालनी गर्ने, नयाँ कपडा वा सामान किन्ने, नयाँ सिनेमाको रिलिज गर्ने जस्ता कार्य पनि गरिन्छन्।

हिजो आज त सबैलाई आफ्नो जन्म मिति थाहा हुन्छ। तर उहिलेको समयमा आफ्नो जन्म मिति थाहा नभएमा जनवरी १ वा बैशाख १ गते भनेर लेख्ने पनि चलन थियो।

नेपालमा विगत ३-४ दशकमा सबै खालका नयाँ सालहरूमा रमाइलो गर्ने, पार्टी तथा वनभोजको आयोजना गर्ने जस्ता कुराले निक्कै तिव्रता पाएको छ। अब त यही उत्सवको बेलाको सार्वजनिक बिदाको फाइदा उठाएर कतिपय मानिसहरू रात बिताउने गरी विभिन्न स्थानहरूमा घुम्न पनि निस्कन्छन्। नयाँ वर्षको अघिल्लो साँझदेखि नै सबै होटेल तथा रेष्टुरेन्टहरूमा मानिसहरू खचाखच भरिन्छन्।

यसो हुनुमा विभिन्न खाले खाद्य तथा पेय पदार्थ, होटेल, रिसोर्ट र रेष्टुरेन्ट, विमान सेवा, ट्राभल एजेन्सी, लत्ता-कपडा तथा अन्य उपभोग्य वस्तुहरूका विशेष प्याकेजसहितका विज्ञापनहरू नयाँ वर्ष आउनु भन्दा केही दिन अगावैदेखि प्रसार हुन थाल्नु पनि एक विशेष कारण बन्न पुगेको छ।

नयाँ वर्ष मनाउनु, शुभकामना आदान प्रदान गर्नु, मिठो खानपिन गर्नु, भरपुर मनोरञ्जन गर्नु सबै थोक ज्यादै राम्रा कुरा हुन्।

तर खासगरी युवा जमातमा नयाँ वर्ष मनाउने बहानामा अधिक मद्यपान गर्ने वा अझ कडा नशालु पदार्थहरू सेवन गरेर सवारी साधन चलाउने, झैझगडा गर्ने, मारपिट गर्ने, तोडफोड गर्ने जस्ता कार्यले कैयन्को वर्षेनी ज्यान नै जाने गरेको छ भने अन्यको अङ्ग भङ्ग हुने वा कानुनी कार्वाहीमा पर्ने जस्ता विभत्स घटनाहरू समेत घट्ने हुनाले अन्य चाडपर्व जस्तै नयाँ वर्षलाई पनि एक पवित्र पर्वको रूपमा ज्यादै संयमतापूर्वक अनुशाषित तवरले मनाउनु पर्दछ।

गत वर्षको कमी कमजोरीको लेखाजोखा गरेर सच्चिने कोशिशका साथ वर्ष भरी नै अनुशाषनको पालना गर्ने, मेहनत गर्ने र सुखी जीवन व्यतित गर्ने प्रण समेत गर्नु पर्दछ। सबैमा नयाँ वर्षको शुभकामना छ।

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *