रवि लामिछाने उपप्रधानमन्त्री भएपछि माओवादीमा मन्त्रीका आकांक्षीलाई सकस

यी हुन् माओवादीका संभावित मन्त्रीहरु

शरद रिजाल
१६ पुष २०७९ ९:०१

काठमाडौं। आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन माओवादीका मन्त्रीका आकांक्षीलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका कारण सकस परेको छ।

सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियतमा सहभागी भएसँगै माओवादीमा मन्त्रीका आकांक्षी केही नेतालाई रवि भन्दा वरियतामा पछाडि परिने भएकाले सरकारमा सहभागी हुन संकट परेको हो।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा गठित आठ सदस्यीय मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रवि लामिछाने रहेका छन्। उनकै कारण माओवादीका मन्त्रीका आकांक्षीलाई सरकारमा सहभागीताका लागि असहजता पैदा भएको छ।

गएको सोमवार राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहणपछि तीन उपप्रधानमन्त्रीसहित अन्य चार जना मन्त्रीले शपथ लिएका थिए। माओवादीबाट उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठ सरकारमा तेस्रो वरियतामा रहँदै सपथ लिएका थिए।

तर, वरियतामा असन्तुष्टि जनाउँदै माओवादीबाट सरकारमा उपप्रधानसहित सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ केही दिन यता मन्त्रालय गएका छैनन्।

उनको असन्तुष्टि एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई आफू भन्दा माथिल्लो वरियतामा राखेको भन्दै असन्तुष्ट बनेका छन्।

नेकपाकालमा आफूभन्दा जुनियर रहेको भन्दै मन्त्री श्रेष्ठले असन्तुष्टि ब्यक्त गरेको बताइएको छ। तत्कालीन नेकपामा श्रेष्ठको वरियता छैठौं र पौडेलको नवौं रहेको थियो।

माओवादीमा अझै रोचक पक्ष त के छ भने अन्य बाँकी मन्त्रीका आकांक्षीहरु उपप्रधानमन्त्री रहेका लामिछानेकै कारण सरकारमा सहभागीता जनाउन सकस परिरहेको छ।

प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुले शपथ ग्रहण समारोहमा मन्त्रीका लागि तयारी अवस्थामा रहेका वर्षमान पुन उनकै कारणले मन्त्री बन्न पाएनन्।
पटक पटक अर्थ, उर्जा लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका पुन आफू भन्दा पछि राजनीतिमा प्रवेश गरेको लामिछाने उप्रधानसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा सरकारमा रहँदा आफ्नो अपमान महशुस गरी सरकारमा सहभागी हुन इन्कार गरेको माओवादी नेताहरु बताउँछन्।

आफ्नै पार्टी अध्यक्षको सरकारमा सहभागी हुने स्वर्णीम अवसर गुमाउनु पर्दा माओवादी नेताहरु दःुखी रहेको स्रोत बताउँछ।
पार्टीमा मन्त्रीका आकांक्षी रहेका सिनियर नेताहरु लामिछानेकै कारण पछिल्लो समय ‘नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाउको अनुहार’ भनेजस्तै भएको छ।

‘अब पुनः मन्त्री हुने अवसर आउने हो या होइन कुनै यकिन छैन। यही मौकामा मन्त्री बनिहाल्नुपर्ने बेलामा रविकै कारण असहज भएको छ ’, माओवादी निकट स्रोतले भन्यो।

माओवादीमा यसपटक पार्टीका प्रभावशाली नेताहरु शक्ति बस्नेत र वर्षमान पुन तीव्र मन्त्रीको आकांक्षीमा रहेका थिए। उनीहरु यस पटक सरकारमा सहभागी हुने लगभग निश्चित रहेको थियो।

यद्यपि लामिछानेकै कारण मन्त्री बन्न पुनलाई असहजता उत्पन्न गराए पनि बस्नेत भने मन्त्री बन्न पछिल्लो समय तयार रहेको माओवादी स्रोत बताउँछ।
माओवादीले अब ६ मन्त्रालय पाउने बताइएको छ। जसमा आकांक्षीहरुको संख्या भने बढ्दो छ।

तीन पटक निर्वाचित भएर पनि हालसम्मै मन्त्री हुन नसकेका भोजपुरबाट निर्वाचित सुदन किरातीको प्रवल संभावना रहेको बताइन्छ।
दाङ २ बाट एमाले महासचिव शंकर पोखरेलाई पराजित गर्दै महिलातर्फ एक मात्र विजयी रेखा शर्मा मन्त्री बन्ने निश्चित जस्तै छ।

यस्तै माओवादीकै निर्वाचन चिन्ह लिएर सर्लाही-२ बाट निर्वाचित महेन्द्र राय यादव मन्त्री हुने लगभग सुनिश्चित छ। उनी बाबुराम भट्टराईको पार्टीका नेता हुन्। बाबुरामकै लबिङमा मन्त्री बन्ने निश्चित जस्तै भएको माओवादी स्रोत बताउँछ।

यसपटक माओवादीका काभ्रे-१बाट निर्वाचित सूर्यमान दोङको पनि संभावना बढेकोे छ। पूर्वराज्यमन्त्रीसमेत रहेका उनी माओवादीमा कम लाभको पदधारण गर्ने नेताहरुमा पर्दछन्।

यस्तै नुवाकोट-१ बाट निर्वाचित हितबहादुरतामाङको मन्त्री हुने चर्चा छ। पूर्वमन्त्री रहेका उनको संभावना मन्त्री बन्ने संभावना रहेको माओवादी वृत्तमा चर्चा छ।

मोरङ- ४ बाट निर्वाचित अमनलाल मोदीको संभावना समेत बढेको बताइन्छ। उनी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए। २०७४ सालमा मोरङ ४ बाट निर्वाचित भएका उनी अहिले सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।

दोलखाबाट निर्वाचित गंगा कार्की पनि मन्त्रीको सम्भावित सूचीमा रहेको बताइन्छ। उनी माओवादीमा लागेका पुराना र हालसम्म कुनै लाभको पद धारण नगरेको नेतामा पर्दछन्।

त्यस्तै सिन्धुपाल्चोक- १ बाट निर्वाचित माधव सापकोटाको समेत संभावना रहेको बताइन्छ। उनी माओवादी नेता तथा निवर्तमान सभामुख अग्नि सापकोटाका आफ्नै भतिज हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *