बादै बाद भित्रको ‘खाओबाद’

शंकरप्रसार रिजाल
२२ पुष २०७९ ७:२८

राजनीतिमा धेरै बादहरु समाबेस भएका हुन्छन्। यो आजमात्र र कुनै एक देशमामात्र होइन, सयौं बर्षदेखि विश्वका सम्पूर्णजसो देशमा रहिआएको छ।

कोही राष्ट्रबाद, कोही आदर्शबाद, कोही स्वतन्त्रबाद, कोही पुँजीबाद, कोही साम्राज्यबाद, कोही समाजबाद त कोही साम्यवाद विचारधाराका छन्। संसारमा यिनै बादहरुको अनुशरण गरी राज्य संचालन हुँदै आएको छ।

माथिका सबै बादहरु कुनै न कुनै न कुनै आदर्श बोकी हिँडेका छन्। तर बादलाई आ–आफ्नै तरिकाले छिन्न भिन्न पारी नयाँ नयाँ नामाकरण गरी पार्टी खोलेर त्यसलाई मागी खाने भाँडो बनाउने चलन चल्न थालेको छ।

वास्तवमा सबै बादहरुको आ-आफ्नो मूल्य र मान्यता छ। कसैले पनि आफ्नो देशको राज्यनीति बिग्रियोस भन्दैनन्। देशको राजनीतिकलाई कस्तो बनाउने भन्ने विषय देशका राजनेतामा निर्भर रहन्छ। राजनेता कुशल, बिबेकी, निश्वार्थ र आँटिलो भएमा बाद जुनसुकै भए पनि देश नमुना बन्छ।

साम्यवाद नराम्रो हो भने चीन, उत्तर कोरिया, क्युबा, अजरबैजान, इरान र रसियामा यत्रो विकास कसरी सम्भव भयो? पुँजीबाद नराम्रो भन्ने हो भने संयुक्त राज्य अमेरिकालगायत अन्य पुँजीबादी देशहरु आज बिकासको चुलीमा कसरी पुगे?

समाजबाद नराम्रो हो भने भेनेजुएला, कोस्टारिका, न्युजिल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, फिनल्याण्ड, स्वीडेन डेनमार्क र नर्वे जस्ता मुलुकहरु कसरी बिकसित भए? त्यस्तै आदर्शबाद नराम्रो हो भने तात्कालीन ग्रीस राज्यमा जन्मिएका महान दार्शनिकहरु प्लेटो, सुकरात, अरिस्टोटल, हेगेल, कान्ट र ग्रीनहरु यही आदर्शवादको बिचारले संसार प्रशिद्ध भएका थिए।

यो देश भित्र हरेक बादका जे जस्ता नेताहरु र कार्यकर्ता हुन्, उनीहरुले एउटा यस्तो बाद साथै अंगालेका छन् जसले जुन जहाँ जे जस्तो तरिकाले भए पनि देशको सम्पूर्ण श्रोत र साधन जस्तै वन जंगल, जडिबुटी, नदीनाला दोहन गरी भ्रष्टाचार र अनियमित क्रियाकलापबाट राष्ट्रको सम्पत्ति दोहन गर्नु मुख्य उद्देश्य देखिन्छ।

तर यो व्यक्ति व्यक्ति बीच रहेको आदर्शात्मक सोच मात्र भएकोले यसले संगठनको रुप लिन सकेन। तर यो नराम्रो पटक्कै होइन। त्यस्तै अर्को स्वतन्त्रबाद जुन आफैंमा स्वतन्त्र छ, उ आफ्नै नैतिक धरातलमा उभिएर देश र जनताको बिकास गर्ने काममा सधैं आफ्ना सकारात्मक विचारहरुका बारुद पडकाउँदै मूल पार्टीहरुलाई सबकको सन्देश दिँदै आएको छ।

वास्तवमा बाद या बिचार अनेक अन्वेषण र बिचारको समिश्रणबाट जन्मिएको हुन्छ र यसको कठोर पालनामा नै शासनसत्ता बन्दै जाने हो। बादको कठिन पालनाबाट बिकसित हुँदै जाने प्रत्येक राष्ट्रको बिकास, सभ्यता, धर्म आफैंमा एउटा प्रतुत्पादक मात्र हो। तर चलन चल्तीका राजनैतिक बादहरु भन्दा सबैभन्दा मूल सतहको रुपमा रहेको बाद भने ‘कर्मबाद’ नै हो।

सबैले आज आफूले अंगीकार गरेको बादको मात्र प्रबचन दिँदै आएको भए आज तिनै बादले संसारको आजको अकल्पनीय विकासलाई कुनै लछारपाटो लगाउन सक्ने थिएन। यसमा कर्मबादको कर्मशील हातखुट्टाहरु र चैतन्यको खुबीले गर्दा नै आज विश्वले जमिनलाई छोडेर चन्द्रमा र मंगल ग्रहमा आफ्नो अधिकार जमाउन सफल भएका छन्।

अमेरिका चन्द्रमामा उत्रन सफल भएको छ भने यसको ठिक बिपरित बिचाधारा बोकेका चीन र रुस पनि त्यही चन्द्रमामा पुग्न सफल भएका छन्। किनकि ती देशरुले जे र जस्तो बाद अंगालेका भए पनि कर्मबादलाई भने पटक्कै छोडेनन्।

आज यसैको परिणाम स्वरूप संसारमा जे जस्तो भएता पनि चीन, भारत, बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, इटली, जापान र सिंगापुरको नाम नलिई कुनै पनि बिकासको कुरा अपुरो हुन जान्छ। यसरी बिकासको कुराको सिलसिलामा बादहरुको बिबेचना गर्दा भूगोलको दक्षिण एसियामा पर्ने नेपाल जस्तो हिमवत् खण्डको वीर, कर्मशील र कर्मबादको जननीको देशमा आज एउटा नयाँ बादको सृजना भएको छ।

यो देश भित्र हरेक बादका जे जस्ता नेताहरु र कार्यकर्ता हुन्, उनीहरुले एउटा यस्तो बाद साथै अंगालेका छन् जसले जुन जहाँ जे जस्तो तरिकाले भए पनि देशको सम्पूर्ण श्रोत र साधन जस्तै वन जंगल, जडिबुटी, नदीनाला दोहन गरी भ्रष्टाचार र अनियमित क्रियाकलापबाट राष्ट्रको सम्पत्ति दोहन गर्नु मुख्य उद्देश्य देखिन्छ।

विभिन्न बादको आवरणमा उनीहरु सत्तामा पुग्ने र देशको साधन स्रोतको दुरुपयो गर्दै त्यसको दोहन गर आफू र आफ्नाका लागि कमाउने र सात पुस्तासम्म पुग्नेगरी अर्थोपार्जन गर्ने आनन्दको जीवन बिताउने प्रचलन बढ्दो छ। यो ‘खाओबाद’ नभए के हो?

आज नेपालको झन् झन् खास्किँदो अस्तित्व र अनुहार हेर्दा यी खाओबादीहरुले विश्व रुप धारण गरिसकेका छन्, चाहे कुनै पनि पार्टीहरु किन नहुन। धेरै र थोरै मात्र हो। हरेक ठेक्का पट्टामा खाने, हरेक निर्माणमा खाने, हरेक उत्पादनमा खाने, सरकारी अफिसमा थोरै काम गरेर खाजा नास्ता र मिनरल वाटरको खोलो बगाउने, दिनभरी चिया कफी पिउने, सरकारको बिभिन्न बजेट कटौती गरी आफू र आफ्नो पार्टी पोस्ने जस्ता खाओबादमा पल्केका तमाम सत्ताधारीहरुको घर महल सम्पत्ति सबै टन्न भएको छ।

राजनीति र जनताको सेवामा लागेका तमाम व्यक्तिहरुको आलिशान महल कहाँबाट आयो? सबैका गाला र अनुहार आज फोक्सो फुलेको जस्तो देखिन्छ। कसैको अनुहारमा पीर र सुर्ता केही देखिन्न।

तर जनता भने दिनपर दिन बैदेशिक ऋणमा चुर्लुम्ब डुबेका छन्। हाल सम्म २० खर्ब १७ अर्ब ऋणको भार देशले बोकिसकेको छ। निर्यात लगभग शून्य छ आयात भने ९५ प्रतिशतमा दौडेको छ। तैपनि नेताहरुमा कुनै गम्भिरपना पटक्कै देखिँदैन।

बिकास बिकास भन्दै देशलाई सधैं जर्जर अवस्थामा धकेल्दै जाने, तर आफू भने सम्पत्ति आर्जन गरी बलियो सँग बस्ने। सडक, पाखा पखेरा, पुल पुलेसा, खानेपानीको कुनै व्यवस्था हुन सकेको छैन। सारा युवा युवतीलाई विदेश धकेलेर २५ सौं वर्ष सम्मपनि रेमिट्यान्सको आयले देशले गुजारा गरिरहनु पर्ने। जनता निर्धो हुँदै जाने र नेता र पार्टीभने मोटाउँदै जान यो ‘खाओबाद’ नभए अरु के हुन सक्छ?

यस्तो प्रत्येक अंगमा मुखै मुख भएका सारा नेता, कार्यकर्ता, भ्रष्ट आचरण भएका सरकारका सेवकको नैतिकतामा ब्यापक सुधार नआएसम्म कुनै पनि बादले र व्यवस्थाले यो देशको कायापलट हुने देखिन्न, चाहे बहुमतको सरकार होस् वा बिभिन्न स्वरुपको गठबन्धनको सरकारको पुनरावृत्ति होस्। तसर्थ यो खाओबादको कुकर्मबाट उम्किएर कर्मबादको शंखघोष गरी देशमा अमन चयन कायम रहोस्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *