पाठकको योजना र बीरेन्द्रको प्रयासमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल

कपिल लोहनी
२३ पुष २०७९ ८:१३

नेपालको तेश्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि गत जनवरी १ तारिखदेखि खुलेको छ। काठमाडौँबाट नजिकै भएकोले सिमराको हवाई मार्ग नै प्रयोग गर्ने भएकोले यो विमानस्थलमा भने निकट भविश्यमा नै भारत, चीन र अन्य मुलुकबाट मध्यम दूरी तय गर्ने जेट विमानहरू छिट्टै आउन शुरु हुनु पर्ने हो।

हाल पर्यटकहरूको लागि राम्रो मौसम भएको बेला पनि त हो। त्यसमाथि पोखरा र यसको नजिकका क्षेत्रमा पर्यटकहरूले सजिलैसँग हप्ता दश दिन बिताएर घुम्न सक्ने धेरै मनोरम ठाउँहरू पनि त छन् नि।

फेसबुकमा योगेश भट्टराईको स्टाटसमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेकोमा उनको सपना र मेहनत साकार भएको खुलासा। सोही स्टाटसमा प्रतिकृया दिँदै धेरै व्यक्तिहरूले रवीन्द्र अधिकारीको योगदान भुल्न नहुने कुरा व्यक्त।

खुशीको कुरा के हो भने रवीन्द्र र योगेश अनि पछिल्लो समयका प्रेमबहादुर आलेले पनि पर्यटन मन्त्रीको हैसियतमा यो विमानस्थल समयमा सम्पन्न गर्न निक्कै प्रयास र अनुगमन गरेका हुन्।

तर दुखको कुरा भने पहिलेका शासक र प्रशासकले गरेका राम्रा कुरा सबै बिर्से जस्तो गर्ने र आफ्ना पार्टीकाले मात्र राम्रो काम गरेका भनेर ठान्ने आजको गलत प्रवृत्तिले नयाँ पिँढीलाई गुमराहमा पार्ने काम भइरहेको छ।

नेपाल राष्ट्रको एकिकरण गरेर आज हामीलाई नेपाली पहिचान दिने बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई त तथानाम गाली गरेर उनको नामसमेत लिन नचाहनेहरूले उनैको सन्तती विकासप्रेमी शालिन राजा वीरेन्द्रका देनहरूको स्मरण वा उच्चारण त कहाँ पो गर्थे र।

तर सच्चाईलाई कसैले पनि बङ्ग्याएर बाङ्गिँदैन। प्राकृतिक सौन्दर्यले अति नै भरिपुर्ण पोखराले नेपाली वा विदेशीलाई मात्र होइन, राजा-महाराजाहरूलाई पनि निक्कै मोहित तुल्याएको थियो। राजनीतिमा जति नै कठोर वा प्रजातन्त्रका विरोधीमा गनिए पनि राजा महेन्द्र साहित्य र त्यसमा पनि कविता विधालाई ज्यादै मन पराउँदथे।

उनले आफ्नी जेठी पत्नीको मृत्युको वियोगमा अति सुन्दर रारादहमा गएर लेखेको ‘उनैको लागि’ र ‘फेरि पनि उनैको लागि’ नामक कविता संग्रह निक्कै प्रख्यात भएका थिए।

पोखरालाई ज्यादै मन पराउने उनले पोखरामा फेवातालको किनारामा आफ्नी रानी रत्नको नाममा ‘रत्न मन्दिर’ दरवार नै बनाउन लगाएका थिए र बेला बेलामा त्यहाँ गएर आराम गर्ने गर्दथे। त्यस्ता कैयन् अवसरमा उनले फेवातालमा दर्जनौँ डुङ्गामा लालटिन बालेर साँझपख प्रख्यात कविहरूको सम्मेलनको पनि आयोजना गर्ने गरेका थिए।

राजा महेन्द्रकै छोरा राजा वीरेन्द्र पनि पोखराको सौन्दर्यबाट औधी प्रभावित थिए। उनले रत्न मन्दिरलाई अझ ठूलो र सुविधाजनक बनाएर त्यहाँ बरोबर गएर बस्ने गरेका थिए।

युवराज छँदा खेरी नै वीरेन्द्रले आफुसँग कुरा मिल्ने विकासविद्हरू जस्तै डा. हर्क गुरुङ, डा. भेषबहादुर थापा, मेरा पिता गोविन्दप्रसाद लोहनी, यदुनाथ खनाल, डा. मोहनमान सैँजु, डा. बद्रीप्रसाद श्रेष्ठ, डा. यादवप्रसाद पन्त, शंकरराज पाठक, त्रैलोक्यनाथ उपे्रती, देवेन्द्रराज उपाध्याय, महेशकुमार उपाध्याय, पशुपतिशमशेर राणा, शंकरनाथ रिमाल, गौरीनाथ रिमाल आदिसँग सल्लाह लिने गरेका थिए।

आफू राजा भएपछि त यी सबैजसा विद्वानहरूलाई विभिन्न महत्वपूर्ण पदहरू सम्हाल्न लगाएर उनले विकास सम्बन्धि एउटा वृहत टोली नै खडा गरेका थिए। विकास सम्बन्धि धेरै सभा तथा सम्मेलन गर्ने थलो पोखरा नै भएको थियो त्यतिबेला।

एकचोटी वि.सं. २०३२ सालतिर राष्ट्रिय विकास परिषद्को वैठक नै पोखरामा आयोजना गरिएको थियो। त्यतिबेला ११–१२ वर्षको म पनि पिताजीसँग भर्खरै बनेर तयार भएको पृथ्वी राजमार्ग हुँदै पोखरा गएको थिएँ।

यो राजमार्ग बन्नु भन्दा पहिले सिद्धार्थ राजमार्ग वा हवाई मार्गबाट वा पैदल मात्र पोखरा पुग्न सकिन्थ्यो। हामी पोखरा पुग्दा रात परिसकेको थियो। त्यतिबेला पोखरा शहर ज्यादै सानो थियो र हेर्दा गाउँ जस्तै नै देखिन्थ्यो। आजको नेपाल राष्ट्र बैङ्क भएको ठाउँबाट अलिक पर फेवातालको किनारामा सबैजसा सरकारी कार्यालयहरू र गेष्ट हाउस थिए।

आजका जस्ता होटेल र रेष्टुरेन्ट थिएनन् त्यतिबेला। हामी खाना खान एउटा टुकी बलिरहेको तर बन्द गर्न लागेको खाना खाने ठाउँमा पुग्यौँ। बचेखुचेको भातका डल्ला र अण्डा खाएर हामी राष्ट्र बैङ्कको गेष्ट हाउसमा बस्न गएका थियौँ। विकास परिषदको वैठक पञ्चायत प्रशिक्षण केन्द्रमा बसेको थियो। त्यहीँको भान्सामा सबै सहभागीको निम्ति खाना तयार हुन्थ्यो।

तत्कालीन मन्त्री खड्गबहादुर सिंहले एकदिन खाना खान कुरेर बसेको बेला भान्सेलाई ‘आज सिकार के छ?’ भनेर सोध्दा उसले कुखुरा छ भनेको कुरा म अझपनि सम्झन्छु। आज पनि पुराना मानिसहरू मासुलाई ‘सिकार’ नै भन्छन् गाउँघरमा।

त्यस्तै पञ्चायतकी नेतृ शुशिला थापाले विकास परिषदकै सभा चलिरहेको बेलामा काठमाडौँमा उनको नाति जन्मेकोले उसको नाम ‘विकास’ राखेको कुरा बताएकी थिइन्। त्यतिबेला राजेश्वर देवकोटा र उनकी आमा विद्यादेवी देवकोटा दुवैजना पञ्चायतका ठूला नेता थिए।

नेपालमा भर्खरै आधुनिक मेट्रिक प्रणाली शुरु भएको त्यो बेलामा विद्यादेवी देवकोटाले ‘के हो किलो भनेको? हाम्रा बाउ बाजेले चलाएको माना–पाथी बिस्थापित गर्न पाइँदैन’ भनेर एकछिन हङ्गामा मच्चाएकी थिइन्। उनको तर्कको जवाफ दिएर उनलाई विश्वस्त बनाउन हाम्रा पिताजीलाई बडो हम्मे परेको थियो।

त्यतिबेलाको खुल्ला, हराभरा र स्वच्छ फेवाताल, बेगनास र रुपा ताल, सिमलचौर, महेन्द्र गुफा, के.आइ. सिंह पुल, चिप्लेढुङ्गा, बगर (बागबजार), सेती नदी किनारा, विन्दवासिनी र बाराहीका मन्दिर, सानो विमानस्थल, ज्यादै थोरै मोटरगाडी चल्ने बाटाहरू, नेपाली भेषभुषामा देखिने मानिसहरू, थोरै जनसङ्ख्या, भर्खरै नगर विकास अन्तर्गत खनिन थालिएका आजका न्युरोड र घर बनाउने योजनावद्ध प्लटहरु, नयाँ विमानस्थलको लागि अधिग्रहण गरिएको जमीन आदि देख्दा एक अनौठो ठाउँमा पुगेको अनुभूति भएको थियो।

फेवातालमा माछापुच्छे्र र अन्नपुर्ण हिमश्रृंखलाको प्रतिबिम्ब र ज्यादै नजिक विशाल माछापुच्छे्र हिमालको मनोरम दृश्य आँखा अगाडि आइरहँदा मेरो बाल मष्तिस्कले पनि ज्यादै आनन्द लिएको थियो।

पार्दीबाँध भत्किएर फेवातालको पानी घटेकोले त्यतिबेला बाराहीको मन्दिरमा पनि हिँडेरै जान मिल्दथ्यो। पार्दीबाँधबाट केही किलोवाट बिजुली समेत उत्पादन हुने गरेकोमा त्यो पनि बन्द भएर पोखरामा बिजुलीको आपुर्तीमा कमी आएको थियो।

त्यस्तै विन्दवासिनीको मन्दिरसँगै कवी भूपि शेरचनकी नजिककी नातेदारको ‘भाउजुको होटेल’ भन्ने प्रख्यात भट्टी पसल थियो। त्यहाँ हाम्रा पिताजीहरू जिस्किँदै कोदोको रक्सी र मासुका परिकार खानु हुन्थ्यो।

हामीलाई पनि त्यहाँ खाना खान लग्नु हुन्थ्यो। सायद पोखरामा थकाली खाना पाइने होटेलको शुरुवात त्यहीँबाट भएको होला। त्यही क्षेत्रमा नेवार व्यापारीहरूको बाक्लो बसोवास थियो। घरहरू पनि नेवारी वास्तुकलामा नै आधारित। त्यहाँ चोयाका ब्याग र सजाउने सामान तथा पोखरेली उनी गलैँचाहरू पनि बिक्रीमा राखिएका हुन्थे।

त्यतिबेला विदेशी सामान किन्न बृटिश लाहुरेहरूको घरमा जानुपर्दथ्यो। बिदामा आएका सफासुग्घर लुगा लगाएका तथा हेर्दै समृद्ध देखिने र गमक्क परेर बसेका लाहुरेहरूकहाँ साडी, लत्ताकपडा, गलैँचा, सौन्दर्य प्रशाधनका सामान, झोला, जुत्ता, घडी, रेडियो क्यासेट, साना फ्रिज, सुन, चाँदी आदि सामान किन्न पाइन्थ्यो। काठमाडौँदेखि मानिसहरू पोखरा गएर त्यस्ता सामान किन्दथे।

त्यतिबेला शंकरराज पाठक पोखराका अञ्चलाधीश थिए। पञ्चायत कालमा अञ्चलाधीश निक्कै शक्तिशाली हुने तथा धेरै जसा अञ्चलाधीशहरू क्रुर प्रकृतिका भएता पनि कतिपय भने विद्धान र नम्र व्यक्तिहरू पनि हुन्थे। मैले देखेका त्यस्ता केही नम्र र भद्र अञ्चलाधिशहरूमा शंकरराज पाठक, कृष्णमान श्रेष्ठ, विष्णुप्रताप शाह आदि थिए।

शंकरराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर पर्यटकहरूलाई विदेशबाट सिधै त्यहाँ ल्याउन सकिने कुरा राजा वीरेन्द्रलाई सुनाए पछि उनलाई पनि यो कुरा ठीक लागेर गौरीनाथ रिमाल जस्ता त्यतिबेलाका खारिएका इन्जिनियरको टोलीलाई बोलाएर पोखरामा त्यस्तो ठूलो विमानस्थल बनाउन मिल्ने वा नमिल्ने र मिलेमा कुन क्षेत्र सबैभन्दा उपयुक्त छ भनेर अध्ययन गराएका थिए।

यसो गर्दा हाल नयाँ विमानस्थल बनेको क्षेत्रमा नै पुर्व-पश्चिम रनवे निर्माण गर्दा राम्रो हुने सुझाव पाएपछि राजा वीरेन्द्रको आदेशमा नै शंकरराज पाठकले आजभन्दा ५० वर्ष अघि त्यतिबेलाको बजार मूल्यभन्दा पनि केही बढी रकम प्रदान गरेर जमीन अधिग्रहण गराएका रहेछन्।

तर त्यो विमानस्थल निर्माण भएर तयारी अवस्थामा पुग्न भने ५० वर्षभन्दा बढी समय लाग्यो। पछि हालको न्यूरोड बनाउन र टाउन प्लानिङ गर्न पनि उनकै सक्रियताले काम गरेको रहेछ तर अन्य केही महत्वपूर्ण भित्री सडक चौडा पार्न भने स्थानीय बासिन्दाको विरोधले गर्दा उनको केही लागेन छ।

आज राजा वीरेन्द्रको, उनको र त्यतिबेलाका प्रवुद्ध स्थानीय व्यक्तित्वहरूको ठूलो सपना साकार भएर पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएकोमा खुशी व्यक्त गर्दै शंकरराज पाठक ९० वर्षको उमेरमा पनि केही दिन अघि पोखरा पुगेछन् र नागरिकको अभिनन्दन र माया समेत पाएछन्।

त्यसैले पनि सबै राम्रा काम मैले गरेको भनेर इतिहास बङ्ग्याउँदै हिँड्ने आजका कैयन् आपैm जान्ने आफैं सुन्ने स्वार्थी र झुठा नेताहरूलाई सच्चिएर आफूभन्दा पहिलेका अग्रज र शासकहरूको कदर गर्ने सुझाव दिन चाहन्छु।

राजतन्त्र अब इतिहास भइसकेको छ। राजा पृथ्वीनारायण, महेन्द्र वा वीरेन्द्र अब आएर प्रजातन्त्र बिथोल्छन् भन्ने चिन्तै लिनु पर्दैन। राजा ज्ञानेन्द्र पनि खुशी साथ सत्ता छोडेर आफ्नै देशमा रमाएर चुपचाप बसेका नै छन्। तर उनीहरूले गरेका राम्रा कामको कदर गर्न र तीनलाई पछ्याउन भने कुनै धक मान्नु पर्ने देखिँदैन।

पहिलेको त्यही सानो र सुन्दर पोखरा शहरमा पछि पछि जाँदा प्रत्येक पटक नयाँ नयाँ विकास कार्यहरू हुँदै गएको देख्न पाइयो। पर्यटकको ओइरो लाग्न शुरु भएपछि लेकसाइड नामाकरणसँगै त्यहाँ खानपान गर्ने र बस्ने स्तरीय होटेलहरू धमाधम खुल्न थाले।

सन् १९७० को पूर्वाद्धतिरै हिप्पीहरू पोखरा भ्रमणमा गएर त्यहाँ रमाउन र लामो समयसम्म बस्न थालिसकेका थिए। पोखरा हुँदै अन्नपुर्ण क्षेत्रको ट्रेकिङ, बाग्लुङ जाने सडकको निर्माण, पर्यटन तथा विज्ञान सम्बन्धि संग्रहालयहरू, मेडिकल कलेज, अन्य स्तरीय कलेजहरू, विश्वविद्यालय आदिको निर्माणसँगै आन्तरिक र विदेशी पर्यटकको आगमनमा पनि वृद्धि हुँदै गयो।

साराङकोटको टुप्पोमा पुगेर सूर्योदय हेर्न पैदल हिँडेर डाँडा चढ्नु पर्दथ्यो भने केही समय पछि डरलाग्दो कच्ची सडक निर्माण भयो, र त्यसपछि त्यो सडक पनि चौडा र कालोपत्रे भयो र अब त केवलकार पनि चल्ने भइसक्यो त्यहाँ। सो डाँडामा ज्यादै स्तरीय होटेलहरू खुलेका छन् भने त्यहाँबाट उत्तरतिर पनि पोखरा शहर निक्कै फैलिइसकेको छ।

साराङकोट र अन्य पहाडहरूबाट सन् १९९६ देखि हुँदै आएको प्याराग्लाइडिङ र फेवाताल किनारबाट हुने गरेको बेलुन उडानबाट ठूलो नाम कमाएको पोखराले नयाँ विमानस्थलको शुरुवातसँगै हवाई सुरक्षाको कारणले गर्दा अब उप्रान्त त्यहाँबाट ५ किलोमिटर टाढाको मान्द्रेढुङ्गा डाँडाबाट मात्र यस्तो साहसिक पर्यटनको पर्याय प्याराग्लाइडिङ गराउन पाइने भएको छ।

हालै दशैँ-तिहार पछिको भैरहवा-बुटवल भ्रमण पश्चात मोटर बाटोबाट सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको पहिरो छिचोल्दै मर्मत सम्भार नदेखेको जुक भइसकेको साँघुरो र घुमाउरो सडकबाट पाल्पा, स्याङ्जा हुँदै हामी पोखरा पुगेका थियौँ।

नेपालको मुख्य राजमार्ग पूर्व-पश्चिम राजमार्गको अवस्था त ज्यादै निराशाजनक छ भने यस्ता खासै नचल्ने पहाडी राजमार्गहरूको मर्मत सम्भारमा कसको ध्यान जानु। राजमार्गको दुर्दशाले गर्दा थकित भएर पोखरा पुगे पछि हामी लेकसाइडमा होेटेल खोज्न गयौँ।

होटेल र रेष्टुरेन्ट त पोखरामा ज्यादै राम्रा खुलेका छन् तर अब कोभिडको महामारी घट्दै गएर पर्यटकहरूको ओइरो लाग्न थालेपछि भने पहिले सस्तोमा दिने गरेका कोठाहरू महँगा हुँदै गएका रहेछन्। एउटा उच्चकोटी कै होटेलमा दिनको ७,००० मा कोठा लिएर बसियो।

खाना खान भने लेकसाइडको शुक्रबारको रमझम हेर्दै घुमेर एउटा युरोपियन खाना पाइने रेष्ट्रेन्टमा गयौँ। निक्कै भिड सो रेष्ट्रेन्टमा खाना मिठो पनि र महँगो पनि। विदेशी पर्यटकहरू सबै खाले स्तरिय खाना पाइने रेष्टुरेन्टहरू भएको र तालको किनारामा रहेको पोखराको गुल्जार ठमेलजस्तो लेकसाइडमा निक्कै रमाइरहेका थिए।

भोलिपल्ट तालको किनारै किनार प्रातःकालीन हिँडाईमा निस्कँदा ज्यादै रमाइलो अनुभव भयो। सफा तथा पक्की हिँड्ने बाटो तथा ठाउँ ठाउँमा ताल हेर्दै आराम गर्ने विश्रामस्थलहरू। अब त त्यो हिँड्ने बाटो पनि धेरै परसम्म बनिसकेको रहेछ। हिँड्ने बाटोमा छाडा चौपाया घुस्न नसकुन् भनेर मानिस मात्र पस्न सक्ने फलामे बार राखेको।

तर अपाङ्ग मैत्री बनाउन थपिएको बाटोमा भने ढोका नराखिएकोले त्यहीँबाट चौपायाहरू भित्र सहजै पस्न सकिने अवस्था। ताललाई ढाकेर बसेको जलकुम्भीको व्यवस्थापन गरिएकोले ताल सफा देखिएको तर ठाउँ ठाउँमा भने प्लास्टिकका बोतल र फोहर जम्मा भइरहेकोले यो पुरै क्षेत्रको शोभामा नै असर परेको। निक्कै पहिले स्थापना भएको मत्स्य विकास केन्द्रको प्रगती भने न्युन देखिन्छ।

रत्न मन्दिर पनि नेपालमा गणतन्त्र स्थापना भएदेखि रित्तो र शून्य भएको छ। त्यहाँको एउटा भागमा राष्ट्राध्यक्ष, सरकार प्रमुख र सभाध्यक्ष तथा प्रधानन्यायधीश जस्ता अति उच्च व्यक्तित्वहरूलाई विश्राम गर्न जाने स्थल बनाएर बाँकी दरवार क्षेत्रलाई अथाह रकम खर्च गरेर बस्न सक्ने पर्यटकहरूको लागि दरवारशैलीको होटलमा परिणत गर्न सके कति राम्रो हुने थियो होला।

यस्तो होटेलको कुनै भागमा सार्क वा सोभन्दा पनि परका मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले बिदा मनाउन आउँदा बस्ने अति विशिष्ट कक्ष भएको सुरक्षित होटेल पनि बनाउन सकिन्थ्यो।

फेवातालको दक्षिणी पहाडमा जापानीहरूले निर्माण गरेको वौद्ध गुम्बा तथा शिवजीको विशाल मुर्तिले पर्यटकहरूलाई हेर्ने अतिरिक्त कुरा प्रदान गरेका छन्। त्यस्तै यो ठाउँसम्म पुग्न कालोपत्रे सडक वाहेक आधा दिनको पदयात्रा गर्ने जैविक पदमार्गको पनि निर्माण भएको छ।

हिजो आज त नयाँ विमानस्थलको उत्तरमा अवस्थित काहुँडाँडा पनि निक्कै प्रसिद्ध हुँदै गएको छ। त्यस्तै रमाइलो स्थलको रूपमा सेती पारीको डाँडाले पनि ख्याती पाउँदै गएको छ। यसरी पोखराको विकास र विस्तार निक्कै तिव्र गतिमा हुँदै गएको छ।

शंकरराज पाठकले आजभन्दा ५० वर्ष अघि त्यतिबेलाको बजार मूल्यभन्दा पनि केही बढी रकम प्रदान गरेर जमीन अधिग्रहण गराएका रहेछन्। तर त्यो विमानस्थल निर्माण भएर तयारी अवस्थामा पुग्न भने ५० वर्षभन्दा बढी समय लाग्यो। पछि हालको न्यूरोड बनाउन र टाउन प्लानिङ गर्न पनि उनकै सक्रियताले काम गरेको रहेछ तर अन्य केही महत्वपूर्ण भित्री सडक चौडा पार्न भने स्थानीय बासिन्दाको विरोधले गर्दा उनको केही लागेन छ।

न्युरोडको पालिखे चोकमा अवस्थित हिमालयन रिडर्स कर्नरको पनि पुनःअवलोकन गर्ने मौका पाइयो। बिक्री र पढ्नको निम्ति राखिएका पुस्तकको आनन्द लिँदै युवा तथा अन्य वौद्धिक व्यक्तित्वहरू त्यहाँ चिया-कफीको मज्जा लिइरहेका थिए। मेरो नयाँ पुस्तक ‘विविध आयाम’ र मेरा पिताजीको स्मृतिग्रन्थ तथा केही पुस्तकहरू त्यहाँ हस्तान्तरण गर्ने मौका मिल्यो।

सडक फराकिलो गर्ने वैध वहानामा मुग्लिङदेखि खैरेनीटारसम्मको बाटो भने अस्तव्यस्त भएकोले हामीलाई पोखराबाट काठमाडौँ फर्कँदा यो क्षेत्र पार गर्न मात्र ५ घण्टा लागेको थियो भने मुग्लिङदेखि थानकोटसम्म अर्को ५ घण्टा।

कोभिडको महामारीको समय पर्यटक गन्तव्य तथा त्यस्ता गन्तव्यसम्म पुग्ने बाटो र पूर्वाधारको विकास, विस्तार र मर्मत-सम्भार गर्ने एउटा स्वर्णीम मौका थियो। यसो गर्न सकेको भए महामारीको बेला धेरैले रोजगारी पनि पाउने थिए र कोभिड पछिको पर्यटनले पनि ठूलो फड्को मार्ने थियो।

तर निजी क्षेत्रले यो समयको फाइदा उठाएर आफ्ना संरचना तथा पूर्वाधारहरू विस्तार गर्न सकेको भएता पनि सरकारी तहमा खासै केही हुन सकेन।

कुनैबेला भारतीय र बृटिश लाहुरेहरू घर फर्कँदा ल्याएका मालसामान खरिद बिक्री हुने पोखरामा आज विशाल मल तथा बजारहरूको स्थापनाले गर्दा विश्वभरका सरसामान सहजै उपलब्ध हुने अवस्थाको सिर्जना भएको छ।

त्यस्तै पूर्वको लेखनाथ नगरपालिका र अन्य ससाना गाउँपालिकाहरू पनि गाभिएर ४६४ वर्ग किलोमिटरमा बनेको पोखरा-लेखनाथ महानगरपालिका आज नेपालकै सबैभन्दा ठूलो महानगरपालिका बन्न पुगेको छ। केही हदसम्म नगर विकास योजना अन्तर्गत योजनावद्ध तवरले नै बनेको यो शहर काठमाडौँ भन्दा ज्यादै नै व्यवस्थित छ।

खेलकुदको निम्ति पोखरामा छुट्याइएको ठूलो भुभागमा केही समय अघिमात्र नयाँ बहुउद्देश्यीय कभर्ड हल, आधुनिक फुटबल मैदान, टेनिस, सुटिङ आदिका कोर्ट र सो परिसर वरिपरी हिँड्ने ट्राकको पनि निर्माण गरिएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण भएर चल्तीमा आइसकेको यस शहरमा आउँदा दिनहरूमा भारत र चीनबाट ठूलो संख्यामा पर्यटकहरूको आगमन हुने तथा अन्य देशका पर्यटकहरूको पनि संख्या बढ्ने कुरामा कुनै शंका छैन। त्यहाँका पर्यटन व्यवसायीहरूको प्रयास पनि त्यहाँ वर्षेनी १० लाख विदेशी पर्यटक आकर्षित गर्ने भन्ने छ, आन्तरिक पर्यटकको त कुरै छोडौँ। अधिकांश आन्तरिक पर्यटकको पहिलो गन्तव्य नै पोखरा नै हो।

नयाँ विमानस्थलको निर्माण पश्चात पुरानो विमानस्थलको ठाउँमा के गर्ने भन्ने पनि वहस नचलेको होइन। यो स्तम्भकारले पनि बेला बेलामा सो सुन्दर विमानस्थललाई पहाडी इलाकामा चल्ने विमानहरूको लागि र हेलिकप्टर तथा अल्ट्रालाइटहरू तथा सेना र उद्धार सम्बन्धि विमान सेवाको निम्ति प्रयोगमा आइरहनु पर्ने धारणा व्यक्त गरेको थियो।

अहिले आएर त्यस्तै नै हुने समाचार पढ्दा निक्कै खुशी लागेको छ। तर नागरिक उड्डयन प्राधिकरणले त्यहाँको केही जमीनमा बिजनेस कम्प्लेक्स बनाउने योजना बनाएकोमा भने त्यति चित्त बुझेको छैन। निजी क्षेत्रले नै त्यो क्षेत्रमा धेरै काम गरिसकेको बेला सरकारी क्षेत्रले त्यस्तो निर्माण थालेर भाँडामा दिने कुरा गर्दा कता कता भ्रष्टाचारको गन्ध आएको महसुस भएको छ।

नयाँ र पुराना दुवै विमानस्थलहरू पुर्ण क्षमतामा चलेर पोखरा र समग्र देशको विकासमा नै एउटा नयाँ कोशेढुङ्गा थपोस् र प्रत्येक महिना वा वर्ष यस्तै गौरवका आयोजनाहरूको निर्माण सम्पन्न भएर मुलुक समृद्धिको बाटोमा लागोस् भन्दै नयाँ वर्षको एक चोटी पुनः शुभकामना छ।

– लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *