एसिया कपलाई लिएर भारत र पाकिस्तानका क्रिकेट बोर्डहरूबीच आरोप प्रत्यारोप
काठमाडौं । एसिया कप २०२३ क्रिकेट क्यालेन्डरलाई लिएर भारत र पाकिस्तान क्रिकेट बोर्डहरू फेरि एकपटक विवादमा परेका छन्।
बीसीसीआई र एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष जय शाहले बिहीबार एसीसी क्यालेन्डर २०२३-२४ जारी गरेका छन्।
जसमा एसिया कपका खेलहरू कहिले हुने र कुन टोली कुन समूहमा खेल्ने भन्नेबारे जानकारी दिइएको थियो ।
यसबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष नजम सेठीले असन्तुष्टि व्यक्त गर्दै जय शाहको खिल्ली उडाए।
उनले लेखेका छन्, ‘एसीसी क्यालेन्डर २०२३-२४ एकतर्फी रूपमा प्रस्तुत गर्नुभएकोमा जय शाहलाई धन्यवाद। विशेष गरी एसिया कप २०२३ को सम्बन्धमा, जुन पाकिस्तानले आयोजना गरेको छ। जब तपाईं यससँग जोडिनुहुन्छ, तपाईंले हाम्रो पाकिस्तान सुपर लिगको क्यालेन्डर पनि प्रस्तुत गर्न सक्नुहुन्छ।’
यसअघि पनि एसिया कप आयोजना हुने स्थानलाई लिएर बीसीसीआई र पीसीबीबीच बहस भइसकेको छ ।
यस वर्ष हुने एसिया कप पाकिस्तानमा हुने भनिएपनि बीसीसीआईले पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो ।
यसपछि पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष रमीज राजाले भारतीय टोली पाकिस्तान नआए पाकिस्तानले भारतमा हुने विश्वकपमा सहभागी नहुने बताएका थिए ।
यद्यपी नजम सेठीले कार्यक्रम स्थलको विवादबारे स्पष्ट रुपमा केही भनेका छैनन् ।
त्यसैगरी, एसिया कप क्रिकेट क्यालेन्डर अनुसार यस वर्ष जुलाईमा पुरुष इमर्जिङ टोली, सेप्टेम्बरमा पुरुष एकदिवसीय र डिसेम्बरमा पुरुष अन्डर-१९ टोलीका खेल हुनेछन्।
यी सबैमा भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ ।
Facebook Comment