व्यंग्य : गुगलले नभेटेपछि यसरी खोजेँ राजनेता
म बिगत केही समयदेखि राजनेताको खोजीमा थिएँ। किनभने म जन्मेको देशमा बिकास भएन। देशको बिकास गर्न बजेट बोकेर गुडेको गाडी प्रत्येक वर्ष साउने हिलोमा गाडिएको गाडियै भयो। देशमा गाँडहरु पलाए। अनि ती राज्य नामका गाँडहरु पाल्न देशले ठूलो धनराशी खर्च गर्नु पर्याे।
देशमा कमाउनेभन्दा खाने मुख धेरै भए। देशमा खन्चुवाहरुको बिगबिगी भयो। धर्म खाने, स्कुल खाने, अस्पताल खाने त्यतिमात्र नभएर मानिसहरुको बिबेकसम्म खाने घ्याम्पे भुडेँ खन्चुवाहरुको महामारीबाट देश आक्रान्त भएको सुनें।
त्यसपछि म राजनेताको खोजीमा निस्कें किनकि सुनेको थिएँ राजनेताले देशमा परिवर्तन ल्याउन सक्छन्। मलाई राजनेता कस्ता हुन्छन् भन्ने प्रश्नले कुत्कुत्याइरह्यो। एक दिन मैले सबै प्रश्नहरुको उत्तर गुगुललाइ सोधें-राजनेता को हुन् र कस्ता हुन्छन्?
गुगुल खोजी यन्त्रले मलाई विश्वका चर्चित नेताहरुको लिस्ट दियो- लिंकनदेखि गान्धीसम्म, ली क्वानदेखि मण्डेलासम्म। त्यसपछि मैले उनीहरुको बारेमा पढेँ। उनीहरुका संघर्षका कथा पढेँ। उनीहरुका बिचार र सिद्धान्तको बारेमा जानकारी लिएँ। उनीहरुको राजनैतिक जीवनको बारेमा खोजी गरेँ।
मैले बुझ्न खोजें उनीहरु जनताका कुरा सुनेर काम गर्थे कि कोटरीका कुरा? उनीहरु पार्टी र आफ्ना मान्छेका लागि राजनीति गर्थे कि देशका लागि? उनीहरुका लागि सत्ता ठूलो थियो कि देशको सामाजिक आर्थिक परिवर्तन? उनीहरुले कतिचोटी पार्टी फोडे अनि कतिपटक जोडे?
उहाँले प्रधानमन्त्री भएको बेला दक्षिणी ठुल्दाइलाई कसैले नसकेको गाली गर्नु भयो। छिमेकीले हडपेको भूभाग फिर्ता गर्न कागजमै भए पनि देशको नक्सा फेरिदिनुभयो। खोलामा पानी जहाज चलाउने भनेर देशमा पानी जहाज अफिसको स्थापना गर्नु भयो।
मैले यो पनि बुझ्न खोजें सिंगापुरका राजनेता ली क्वानले प्रधानमन्त्री भएपछि आफ्नो पार्टीका कतिजना कार्यकर्तालाई जागीर लागाइदिए अनि कति जनालाइ ठेक्का मिलाइ दिए?
नेल्सन मण्डेलाले भोट जित्न बिदेशी राष्ट्राध्यक्षसँग चन्दा मागेको भनेर समाचार लेखियो कि लेखिएन? गान्धीले प्रधानमन्त्री बनाइमाग्न बिदेशी दुतावास धाए कि धाएनन्?
उनीहरुले श्रीमती र छोरा छोरीलाई सांसद पदमा मनोनित गरे कि गरेनन्? त्यति अध्ययन गरेपछि मलाई लगभग थाहा भयो राजनेताको नालीबेली। त्यसपछि म मेरो देशमा को छ राजनेता भनेर खोज्नतर्फ लागेँ।
हाम्रो देशका नेतालाई पनि राजनेताको लिस्टमा भेट्टाउने कोशिस गरेँ। गुगलले हाम्रा कुनै पनि नेतालाई राजनेता ( statesmen) को लिस्टमा नअटाएको देखेर निक्कै रिस उठ्यो।
देशमा त्यत्रो त्यत्रो क्रान्तिकारी छलाङ मारेका, जेल नेल पर्घेलेर लौह भएका, चुनावमा कहिलै नहार्ने हाम्रा महामहिम नेतालाई पनि नचिन्ने? हाम्रा देशका होनहार नेतालाई नचिन्ने गुगललाई लात हानेर म राजनेता खोज्न मेरै देशभित्र छिरेँ।
एक दिन कफी गफमा ब्यस्त मित्रहरुका सामु मेरो यो जिज्ञासा तेर्स्याएँ। एकजना मित्रले भन्नु भयो हाम्रो पार्टीमा महान क्रान्तिकारी नेताबाहेक अरु को राजनेता हुन सक्छ र? कहिलै कलम समाउन नपाएका मानिसहरुलाई बन्दुक समाउन सिकाउनु भयो।
आफ्नो अधिकार प्राप्त गर्नको लागि आफ्नै दाजुभाइसँग लड्न सिकाउनु भयो। हिजो उहाँले बन्दुक बोक्न नसिकाएको भए आज कुन नेपालीले खाडीलागायतका मुलुकमा सेक्युरिटी गार्डको जागिर पाउने थिए र? उनीहरुले खाडीमा त्यस्तो जागीर नपाएको भए नेपालमा पैसा कहाँबाट भित्रिन्थ्यो?
उनीहरुले पैसा नपठाएको भए प्रत्येक साउनमा हिले बाटा टाल्ने बजेट देशले कहाँबाट पाउँथ्यो। त्यसमाथि, एक जना राजालाई धपाएर सयौं नेपालीलाई राजा हुने बाटो खोलिदिनु भयो। आज देशैभरि राज्यहरु खुलेका छन्।
सर्बसाधारण नेपालीका छोरा छोरीहरु राजा हुन पाएका छन्। राजारानीहरु च्याउजस्तै जताततै उम्रिएका छन्। राजारानीको दर्शन गर्न सजिलो भएको छ। उनीहरुले देशैभरि राजदरबार बनाएका छन्। राजदरबारको दर्शन गर्न काठमाडौँसम्म जानु नपर्ने भएको छ।
त्यस्तो क्रातिकारी परिवर्नतका प्रणेता उहाँ नै हो राजनेता। नभए हेर्नुस् त उहाँलाई मानिसले कत्रो सम्मान गर्छन्। एयरपोर्टबाट झर्न नपाउंँदै मानिसहरु सय किलोको माला लिएर स्वागत गर्न पुग्छन्। जहाँबाट उठे पनि भोट उहाँले नै जित्नु हुन्छ।
ती मित्रको कुरा नसकिदै अर्को मित्रले थप्नु भयो-हाम्रो पार्टीको अध्यक्ष कमरेड नै हो राजनेता। उहाँले प्रधानमन्त्री भएको बेला दक्षिणी ठुल्दाइलाई कसैले नसकेको गाली गर्नु भयो। छिमेकीले हडपेको भूभाग फिर्ता गर्न कागजमै भए पनि देशको नक्सा फेरिदिनुभयो।
खोलामा पानी जहाज चलाउने भनेर देशमा पानी जहाज अफिसको स्थापना गर्नु भयो। बर्षौदेखि बेकामसँग बगेर नाश भैरहेको महाकालीको पानी भारतलाई सुम्पिने सन्धी गर्न महत्वपूर्ण भुमिका खेलेर प्रयोजनहीन सम्पदाको संरक्षणमा योगदान गर्नुभएको छ।
त्यसका अलावा उहाँका केही अनौठा बिशेषताहरु छन्। उहाँको कसैले बिरोध गर्न सक्दैनन् किनकि उहाँ स्वीकृति जनाउनेहरुको नेता हो। त्यसैले उहाँको शासन शान्तिपूर्ण हुन्छ। यहाँको कानभन्दा मुख बढी सक्रिय छ।
उहाँसँग मान्छे हसाउने अद्वितीय क्षमता छ। भनिन्छ धेरै हाँस्ने मानिस स्वस्थ हुन्छन्। त्यो क्षमताले उहाँलाई सर्बलोकप्रिय कमिक नेता बनाएको छ। उहाँजस्तो शान्तिप्रेमी, बिकास प्रेमी, राष्ट्र प्रेमी नेता राजनेता नभएर अरु को हुन सक्छ?
त्यसपछि शरीरभरि रुख, मुखभरि रुख अनि बचनभरि रुख बोकेका मित्र कड्किदै भन्न थाल्नुभयो हाम्रो नेता नै राजनेता हो। उहाँले धेरै पटक प्रधानमन्त्री भएर झन्डै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउनु भएको छ। उहाँ अजेय हुनुहुन्छ। उहाँलाई स्वयम् भगवान् शिवले पनि चुनावमा हराउन सक्नुहुन्न।
कुरै कुरामा ती मित्रहरु नै एक अर्काप्रति आक्रमण हुनुभयो। आरोप प्रत्यारोप गर्न थाल्नु भयो। र आफ्नो नेतालाई राजनेता भन्नु पर्ने भनेर एक अर्कामा झगडा गर्न थाल्नु भयो।
उहाँहरु बाट मेरो प्रश्नको सही जवाफ पाउँला जस्तो लागेन। म त्यहाँबाट कुलेलम ठोकें। मेरो राजनेताको खोजी अझै अधुरै छ। तै गुगलले केही अपडेट पो गरिदिन्छ कि?
Facebook Comment