कप्तानी छाड्ने र आफ्ना उपकप्तानबारे प्रश्नमा बाबर आजमको जवाफ चर्चामा

डिसी नेपाल
२५ पुष २०७९ १३:३३

काठमाडौं । आजबाट कराँचीमा सुरु हुने न्यूजिल्याण्डसँगको एकदिवसीय शृंखलाअघि पाकिस्तानी क्रिकेटर बाबर आजम कप्तानी छोड्ने र उपकप्तान शान मसूदसँग सम्बन्धित प्रश्नको जवाफका लागि चर्चामा आएका छन् ।

बाबर आजमले न्यूजिल्याण्डसँग सुरु हुने सिरिजको बारेमा पत्रकार सम्मेलन गर्दै थिए । यस क्रममा एक पत्रकारले उनलाई टेस्ट म्याचमा खराब प्रदर्शन र उनको कप्तानीको बारेमा प्रश्न गरे, जसको बाबर आजमले अलिकति रिसाएर जवाफ दिए।

यससँगै उनले शान मसुदलाई प्लेइङ इलेभेनमा समावेश गर्ने विषयमा कुनै स्पष्ट जवाफ दिएनन् । मसूद यस सिरिजमा उपकप्तान रहेका छन् ।

एक पत्रकारले बाबर आजमलाई सोधे, “सचिन तेन्दुलकर, ब्रायन लारा, सईद अनवर महान क्रिकेटर हुन् तर राम्रो कप्तान साबित भएका छैनन्। घरको पिचलाई हेर्नुहोस्, हामीले अन्तिम रातो बल खेल (टेष्ट) मा एक खेल पनि जित्न सकेनौं। महान ब्याट्सम्यान बन्ने यात्रालाई सजिलो बनाउन टेस्ट कप्तानी छोड्नुपर्छ जस्तो लाग्छ ?”

यसको जवाफमा बाबर आजमले भने, “अहिले सेतो बल (ओडीआई) भइरहेको छ। टेस्ट सकिएको छ। यदि सेतो बलमा कुनै प्रश्न छ भने सोध्नुहोस्।” पाकिस्तानले भर्खरै इंग्ल्याण्डसँगको टेष्ट सिरिजमा ३–० ले हारेको थियो ।

यसपछि बाबर आजमलाई न्युजिल्यान्डविरुद्धको प्लेइङ ११ मा शान मसुदलाई समावेश गर्ने कि नगर्ने भनेर सोधिएको थियो । यसमा उनले भने, ‘एउटा खेलाडीमाथि कुरा गर्न मिल्दैन, उनी उपकप्तान होउन् वा जो कोही, उनी प्लेइङ इलेभेनमा हुन्छन् कि हुँदैनन्, त्यसबारे अहिले छलफल गर्छु ।’

बाबर आजमको यो बयानलाई लिएर धेरै प्रतिक्रियाहरु आइरहेका छन् । न्युजिल्यान्ड विरुद्धको शृंखलामा शान मसूदलाई उपकप्तान चयन गर्ने बारे बाबर आजमलाई कुनै जानकारी नदिइएको अधिकांश मानिसहरुको विश्वास छ ।

जियो न्यूजका पत्रकार अरफा फिरोज जेकले पनि यो कुरा उल्लेख गर्दै लेखेकी छिन्, ‘बाबर आजमले उपकप्तान शान मसूदलाई प्लेइङ इलेभेनमा लिने वा नलिने भन्ने निश्चित छैन ।’ यसले शान मसूदलाई उपकप्तान घोषणा गर्नुअघि बाबर आजमलाई मुख्य चयनकर्ताले विश्वासमा लिएको थिएन भन्ने चर्चालाई जन्म दिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *