समय र समुद्रको छाल
अगाडि पनि जान नसक्ने, पछाडि पनि जान नसक्ने एक पल जसलाई हामी समय भन्छौं। हिजो जहाँ खुसी थियो, आज त्यहाँ शून्य र त्रास छ, यही समय हो।
समयले कहिले रात र कहिले दिन हुन्छ। समयले नै आकाशमा चन्द्र, सूर्य र ताराहरु चम्किरहने र विलीन भइरहेका छन्। समयको पाबन्दीले नै जीवनमा रौनक ल्याउँदछ र अध्याँरो पनि। तसर्थ मानिसलाई समयको चक्रले सदियौंदेखि घुमाइ रहेको छ।
समयले कसैलाई जन्माउँदछ, कसैलाई जवान बनाउँदछ, कसैलाई बुढो बनाउँदछ र अन्त्यमा सबैलाई मृत्युको शैय्यामा पनि पुर्याउँदछ। यही हो समयको घडी।
समयले आज बनाउँदछ भने भोलि बनाएका सबै चिज बस्तुहरु नास भएर जान्छन्। समयले सबैलाई अधिनमा राख्दछ र समयले नै फेरि सबैलाई समाजदेखि पर सारी आफू अगाडि बढ्ने काम गर्दछ।
समय एक फूलको ताज हो भने समयनै फेरि दुःख, झण्झट र आपतको एक सरताज पनि हो। अतः सबैले समयदेखि सधैं डराउँने हैन बल्कि सजग र सचेत रहनु पर्छ।
किनकि थाहा छैन यसले देश, समाज र मानिसलाई कहाँबाट कहाँ पुर्याउँदछ। मानिसले हरेक कुरालाई केही हदसम्म रोक्न र छेक्न सक्लान्। तर समय त्यस्तो चीज हो जसलाई कसैले पनि रोक्न सक्दैनन्।
यो समुद्रको छाल सरह आउँछ र जसरी आउँछ त्यसरी नै जान्छ। त्यसैले त भन्छन् समय र छालले कसैलाई पनि पर्खिँदैन। अंग्रेजीमा एउटा भनाइ छ- ‘टाइम एण्ड टाइड वेट फर नन्’ समयको अगाडि सबै गुलाम छन् र समयको सबै माथि सत्ताराज छ।
संसारमा सृष्टिको सुरुवातदेखि कैयौं कुराहरुको निर्माण भए। कैयौं कुराहरु भत्किए, भत्काइए र नष्ट भए। पुनर्निर्माण भए। फेरि भत्किए, भत्काइए अनि फेरि निर्माण भए। यो एक समयको खेल हो। करोडौं जन्मिए र करोडौंको मृत्यु पनि भयो।
हिजोको जंगली जीवन आज सभ्य बनेको छ। हिजोको उजाड भूमि आज झिलिमिली भएको छ। त्यस्तै फेरि हिजोको सुन्दर देश युक्रेन आज चिहान बनेको छ। बम बारुद र धुवाँले देश क्षत विक्षत भएको छ।
संसार एकातिर हाँसोमा आफ्ना आरजु उडाइरहेको छ भने आर्कोतिर भोका नांगाहरुको रोदन र क्रन्दनले छटपटाइ रहेको छ। बस समय र समयको चक्र अनि चक्रपात यही हो। यसैलाई समय भनिन्छ।
यो संसारमा को आए को गए, कसले के बनाए र कसले के बिगारे त्यो सब कुरा समयलाई राम्ररी थाहा छ। तर हावा जस्तै उ मौन छ। उसका सबै काम र क्रियाकलाप गोप्य रुपमानै भएको पाइन्छ।
हावा जस्तै उ कहिले आउँछ मिठो सुवास र सुगन्ध बोकी मानिसको जीवनमा आउँछ भने कहिले यही समय राक्षस बनेर मानिसको जीवनमा ताण्डव नृत्यको खेल देखाउँछ र कहाँ त्यसै हराएर जान्छ कसैलाई थाहा हुँदैन। समय भनेको यही हो।
समयले नै मानिसलाई नजिक बनाउँछ भने यही समयले फेरि मानिसलाई मानिसबाट टाढा बनाउँछ। तसर्थ यो समयको पाबन्दीले संसार र संसारमा भएका सम्पूर्ण चिज बस्तुहरु र जीव जीवात्मालाई नजरबन्दमा राखेको हुन्छ।
यो समय सधैंभरी आफ्नै वरिपरी घुमिरहेको भएता पनि समयका बादशाह भनिने रावणलाई पनि टाढा बनाई अन्तत उनलाई पनि संसारदेखि छिनेर लगेको इतिहास त्रेता युगका भगवान रामचन्द्रजीको रामायणमा प्रष्ट उल्लेख छ।
अतः समय कसको अधिनमा छ, यो कसैले पनि बर्णन गर्न सक्दैनन्। समयका मालिक भनिने रावणलाई हत्या गर्ने भगवान रामचन्द्रको पनि एकदिन समयको निजाम भित्र रही जीवन लिला समाप्त भएको थियो।
अतः समयको दोष प्रदोष भन्दा माथि यो ब्रम्हाण्डमा कोही छैनन्, जसरी हावा भन्दा माथि कोही हुँदैनन्। किनकि उ माथि माथि, तल तल, दायाँ बायाँ बहेर अन्तत कहाँ यो बास बस्छ त्यो आज कसैले पनि अन्दाज लगाउन सकेका छैनन्।
यो कस्तो छ, यसको स्वरूप कस्तो छ, यो कहाँबाट उत्पत्ति भयो र यसको जात के हो त्यो कसैलाई पनि अत्तोपत्तो छैन।
केवल नाम र कर्मलेमात्र यसले संसारलाई लाखौँ करोडौं वर्षदेखि फेरी लगाउँदै अनन्त यात्रामा मानिसलाई भाग्यवान, अभागी, सुखी र दुखी बनाउँदै हिँडिरहेको सिर्फ एक पल हो जसलाई हामी समय भन्दछौं।
अतः समयलाई बहुतै याद गरी सबैले आफ्नो जीवन लिला सरल, सुखी र आनन्दित बनाउन्। बस् यही नै समयको माग र अपिल हो।
Facebook Comment