न देश, न घर ! एयरपोर्टमा बसिरहेका थिए यी मानिस, अब यो देशले अपनायो
काठमाडौं । एक देशको नागरिक हुनु हाम्रो पहिचानको एक महत्त्वपूर्ण भाग हो, तर यदि कुनै पनि देश छैन भने के हुन्छ? ४१ वर्षीय हसन अल कोन्तार केही दिनअघिसम्म राज्यविहीन अर्थात् कुनै पनि देशको नागरिक थिएनन् । कुनै देशमा घर नभएकाले हसन मलेसियाको एयरपोर्टमा सात महिना बसे तर अहिले उनले आफ्नो देश फेला पारेका छन् ।
वर्षौंको घुमफिरपछि सिरियाली शरणार्थी हसनले अन्ततः बुधबार क्यानडाको नागरिकता पाएका छन् । आफ्नो खुसी व्यक्त गर्दै हसनले अल जजिरालाई फोनमा भने, ‘यति वर्षपछि आज यो जितको घोषणाजस्तै हो । अब म राज्यविहीन छैन ।’ बुधबार उनले क्यानडाको नागरिक हुने सपथ ग्रहण गरेका हुन् । हसनले यो जित आफ्नो वर्षौंको संघर्षको परिणाम भएको बताए । तर यो लडाईमा उनले धेरै गुमाए ।
उनी भन्छन्, ‘यसका लागि मैले एउटा ध्वस्त देश (सिरिया) गुमाएँ । जब मेरो बुबालाई मेरो सबैभन्दा बढी आवश्यकता थियो, म उहाँको लागि त्यहाँ थिइन र अन्ततः उहाँ मर्नुभयो। जब म एयरपोर्टमा फसेको थिएँ र त्यहाँ बसिरहेको थिएँ, जब मेरो भाइको बिहे भयो, म जान सकिन, मैले स्काइपमा बिहे हेरें। मलाई जेल पठाइयो जहाँ मलाई जातीय भेदभाव गरियो।’
हसन युद्धग्रस्त सिरियाबाट भागेर संयुक्त अरब इमिरेट्स पुगे जहाँ उनी ११ वर्षसम्म बसे। तर सन् २०१७ मा उनले सिरियाली नागरिकता त्यागेका कारण देश निकाला गरिएको थियो । उनलाई डर थियो कि यदि उनी सिरियाली नागरिक रहे भने युएई सरकारले उनलाई सिरिया पठाउन बाध्य पार्छ र उनले बसर अल असदको सरकारका लागि सैन्य सेवा उपलब्ध गराउन बाध्य हुनुपर्छ जुन उनी चाहँदैनथे ।
सिरियाली राहदानी नहुँदा युएईले हसनलाई मलेसिया पठायो, जुन सिरियालीहरूले प्रवेशमा पर्यटक भिसा पाउने थोरै देशहरूमध्ये एक हो। हसनको पर्यटक भिसाको म्याद तीन महिनामै सकिएको थियो। हसनले थप केही समय मलेसियामा बस्नका लागि जरिवाना तिरे । उनी इक्वेडर जान चाहन्थे तर उनलाई विमानमा चढ्न दिइएन ।
त्यसपछि उनी कम्बोडिया गए तर त्यहाँबाट पनि मलेसिया फर्काइयो । हसनसँग उनलाई फिर्ता बोलाउने कुनै घर वा देश थिएन। उनीसँग अध्यागमनका लागि आवश्यक कागजात नभएकाले मलेसिया छाडेर अन्य कुनै देशमा जान पाएनन् । हसन त्यसपछि क्वालालम्पुर एयरपोर्टमा बस्न थाले।
यसै क्रममा सन् २०१८ मा उनी पहिलो पटक चर्चामा आएका थिए । एयरपोर्टमा रहँदा उनले जीवनका कठिनाइहरू रेकर्ड गरे र सामाजिक सञ्जालमा सेयर गर्न थाले। उनको सोसल मिडिया पोष्टले विश्वभरका मानिसहरूको ध्यान खिच्यो र मानिसहरूले उनी जस्ता शरणार्थीहरूप्रति सहानुभूति व्यक्त गर्न थाले।
तर मलेसियाली अधिकारीहरूले उनलाई सात महिनापछि विमानस्थलबाट पक्राउ गरी शरणार्थी केन्द्रमा पठाएका थिए। अधिकारीहरूले हसनलाई सिरिया फिर्ता पठाइने बताएका थिए। मलेसियाका शरणार्थी केन्द्रहरूको अवस्था कसैबाट लुकेको छैन। मलेसियाका मानवअधिकार संगठनहरूले ती केन्द्रहरूलाई यातना शिविरको रूपमा लिन्छन्।
हसनले शिविरमा कठिन परिस्थितिको सामना गरिरहेका थिए, तर यसैबीच क्यानडाका केही स्वयंसेवकहरूले उनको सोशल मिडिया पोस्टहरू याद गरे। उनीहरुले हसनको तर्फबाट क्यानडामा शरणार्थी आवेदन दिएका थिए । यसपछि क्यानाडा सरकारले हसनलाई शरणको लागि स्वीकृत गर्यो र उनी नोभेम्बर २०१८ मा क्यानडाको भ्यानकुभर पुगेका थिए ।
क्यानडा पुग्दाको अनुभव बाँड्दै हसन भन्छन्, ‘जब म क्यानडा पुगेँ र एयरपोर्टबाट बाहिर निस्केँ, ताजा हावाले मलाई छोयो । खुला हावामा सास फेरेँ । सडकमा स्वतन्त्र भएर हिड्नु र ताजा हावाको सुगन्ध पाउनु मेरो लागि नौलो कुरा होइन, तर त्यो दिन मैले उनीहरूबाट स्वतन्त्रताको गन्ध पाएको थिएँ।’
हसनले क्यानडामा बस्नका लागि एउटा होटेलमा जागिर थाले जहाँ उनले मानिसहरूलाई चिया र कफी खुवाउँथे। तर अहिले उनले रेडक्रससँग मिलेर मानिसहरूलाई सहयोग गर्न थालेका छन्। उनी कोभिड–१९ खोपको काममा लागेका छन् र बाढीपीडितलाई पनि सहयोग गरिरहेका छन् ।
यसैबीच उनले ‘म्यान एट द एयरपोर्टः हाउ सोशल मिडिया सेभ्ड माइ लाइफ’ नामक आफ्नो अनुभवमा पुस्तक पनि लेखेका छन् । हसनको अब दुईवटा मात्र सपना छन् – शरणार्थीहरूलाई मद्दत गर्ने र १५ वर्षपछि आफ्नो परिवारलाई भेट्ने, जो सिरियाबाट भागेर विगत चार महिनादेखि इजिप्टमा बस्दै आएका छन्।
२०११ मा, जब अरब स्प्रिंग भनेर चिनिने मध्य पूर्वमा तानाशाही सरकारहरू विरुद्ध व्यापक विरोध प्रदर्शन भयो, सिरियालीहरूले लोकतान्त्रिक सुधारहरूको माग गर्दै प्रदर्शन गर्न थाले। तर सिरियाली राष्ट्रपति बसर अल-असदले हिंसात्मक रूपमा नागरिक प्रदर्शनलाई दबाउन थाले। आन्दोलन चाँडै गृहयुद्धमा परिणत भयो।
संयुक्त राष्ट्रसंघका अनुसार यस गृहयुद्धमा ३ लाख ५० हजार भन्दा बढी मानिसहरू मारिएका छन् र १३ लाख भन्दा बढी सिरियालीहरू विस्थापित भएका छन्। यी विस्थापितहरूमध्ये ६६ लाखभन्दा बढीले देश छोडेका छन्। तीमध्ये अधिकांश शरणार्थी शिविरमा फसेका छन् ।
Facebook Comment