टेलिभिजनमा सुशासन कायम गर्न खबरदारी गर्ने गृहमन्त्री लामिछानेलाई कार्यान्वयन गर्न चुनौती

मौखिक आदेश प्रहरीले पालन नगरेको भन्दै निरीहता प्रकट

शरद रिजाल
८ माघ २०७९ ७:०८

काठमाडौं। खबरदारी र सुसूचित गर्न सजिलो छ तर कार्यान्वयन गर्न निकै कठिन भएको पुष्टि हालका गृहमन्त्री रवि लामिछानेको निरीहताले दर्शाएको छ।

टेलिभिजनमा बेथितिका विरुद्ध खरो रुपमा उत्रने लामिछाने कार्यान्वयन गर्ने तहमा पुग्दा निरीह साबित हुन थालेका छन्। उनको टेलिभिजन कार्यक्रममा देशका राजनीतिक, सामाजिक र सास्कृतिक क्षेत्रका विकृति सम्बन्धित निकायलाई सुसूचित गराउने प्रयत्न गर्थे।

जसबाट सकारात्मक परिणामको अपेक्षा समेत उनले गर्दथे। उनका हरेक टेलिभिजन कार्यक्रम देशमा सुशाशन कायम गराउन सहयोगी भएको देखिन्थ्यो।

देशमा ब्याप्त दण्डहिनता र मुलुकका अन्य क्षेत्रका विकृत पाटाहरुको उजागर गर्नमै उनको कार्यक्रम केन्द्रित हुने गर्दथ्यो। ती उजागर गरेरै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनी आज स्वयम् कार्यान्वयन गर्ने तहमा पुगेका छन्।

टेलिभिजन पत्रकारिताबाट राजनीतिमा होमिएका रवि लामिछाने सरकारको उपप्रधान तथा गृहमन्त्री पदमा पदासिन छन्। लगातार ६२ घण्टा टेलिभिजनमा कायक्रम प्रस्तुत गरेर विश्व किर्तिमानी कायम गरेका लामिछाने छोटो समयमै उपप्रधान तथा गृहमन्त्रीको कार्यभार सम्हाल्न पुगेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेको केही समयमै आम निर्वाचनामा होमिएको उनको दलले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सांसदसहित सदनमा चौथो दलको हैसियत कायम गरेको छ।

टेलिभिजन कार्यक्रममा देशको विद्यमान बेथिति, विकृति र विसंगतिका विरुद्ध सुसूचित गराएका उनी आफैं स्वयम कार्यान्वयन गराउने निकायको नेतृत्व गरेका छन्।

तर, उनी पछिल्लो समय स्वयम विवादमा तानिएका छन्। नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई नियन्त्रण गर्न नसकेको भन्दै सदनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले विहिबार ध्यानाकर्षण गराएको थियो।

महोत्तरी क्षेत्र नं १ बाट निवार्चित कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गरेका थिए। उनी कर्तब्य ज्यान मुद्दामा फरारको सूचीमा रहेका छन्।

कांग्रेसका सांसद रामहरि खतिवडाले फरार अभियुक्तका रुपमा रहेका सांसद लक्ष्मी महतो खुलेआम सदनमा प्रवेश गरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

जवाफमा गृहमन्त्री लामिछानेले अपराध कर्ममा रहेका जोसुकैलाई नियन्त्रण गरिने प्रतिवद्धता जनाए। उनले कानूनविपरीतका गतिबिधि गर्ने जो कसैलाई कानुनी दायरामा ल्याउने बताए।

यद्यपि सदनमा कानुनी दायरामा ल्याउने दाबी गरेका उनले शुक्रवार गृहमन्त्रालयको आदेश प्रहरीले पालन नगरेको भन्दै निरीहता प्रकट गर्दै गृहले विज्ञप्ति जारी गर्न पुग्यो।

गृहको विज्ञप्तिमा बहालवाला गृहमन्त्रीको मौखिक आदेश प्रहरीले परिपालन नगरिएकोमा ध्यानाकर्षण भएको उल्ल्ोख गर्दै तत्काल पक्राउ गर्न लिखितरुपमा पत्राचार गरिएको जानकारी दिइएको छ।

देशको शासकिय संरचना अनुरुप गृहमन्त्रालय मातहत रहने प्रहरीले बहालवाला मन्त्रीकै आदेश उल्लंघन गरेको जस्तो गम्भीर विषय उनले विज्ञप्तिमार्फत सार्वजनिक गर्नुले उनको निरीहता पुष्टि गरेको हो।

देशमा शान्ति अमन चयन कायम गरी काुननी राज परिपालन गराउने निकायकै नेतृत्व गरेका उनको आदेश प्रहरीले इन्कार गर्नु गृहमन्त्रीकै अवज्ञा हो।
यहीे परिस्थितिलाई दृष्टिगत गर्दै शुक्रबार सदनमा कांग्रेसकै सांसद खतिवडाले पुनः गृहमन्त्रीको उक्त कार्यप्रति ध्यानाकर्षण गराएका छन्।

उनले मन्त्रालयकै आदेश विभागीय निकाय नेपाल प्रहरीले परिपालन नगरेको देखाएर गृहमन्त्रीबाट कस्तो सुशासन कायम गर्न खोजिएको हो भन्दै उक्त कार्य बचकनापन भएको टिप्पणी गरेका छन्।

लामोसमय देखिटेलिभिजनमा कार्यक्रम सञ्चालक हुँदा उनले राजनीतिक क्षेत्रका विकृतिका विरुद्ध विषवमन गर्ने गर्दथे। उनका भिडियो क्लिपहरु आजपनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

आफैं कार्यान्वयन गर्ने देशकै शक्तिशाली मन्त्रालयको नेतृत्व गरेका उनको कायसम्पादन नै विभागीय सुरक्षा निकायले आदेश पालन नगरेको दर्शाउनुले उनको निरीहाको पराकाष्टा प्रदर्शित गरेको छ।

शुक्रबार गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिको चौतर्फी आलोचना हुन थालेको छ। सत्तारुढ दलकै नेताहरुले समेत उनको आलोचना गरिरहेका छन्।

विगतका अभिब्यक्तिको प्रतिबिम्बले सायद उनलाई आजपनि खबरदारी गरिरहेको आशय उनले शनिबार प्रकट गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विगतका अभिब्यक्तिको आफूलाई हेक्का रहेको सहर्स स्वीकार गरेका छन्।

तर कार्यान्वयन गराउने तहामा पुग्दा उनलाई विगतका अभिब्यक्ति नै चुनौतीपूर्ण रहेको आफैंले स्वीकार गरेका छन्। उनले आफूविरुद्ध आएका समाचारहरुप्रति ब्यंग्य गर्दै मिडियाका हेडलाईन परिवर्तन गर्न नसकेपनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउने बाचा समेत सामाजिक सञाल फेसबुकको स्टाटसमार्फत जनाएका छन्।

गृहमन्त्रीको जिम्मेवारीमा रहेका उनले पुराना फरार मात्रै होइन नयाँलाई समेत फरार हुन नसक्ने गरी सुरक्षा ब्यबस्था गर्न लागिएको उक्त स्टाटसमा बताएका छन्।

उनले सांकेतिक रुपमा विद्यमान शासकीय संरचना अन्र्तगतका विभिन्न निकायहरुको कमजोरी औंल्याएका छन्। उनले मुलकका संरचनामा पुरानो धुलो ब्याप्त रहेकाले त्यसलाई सफा गर्न केही समय लाग्ने भन्दै प्रयत्नशील रहेको जनाएका छन्।

उनले लेखेका छन्, ‘पुराना “फरार“हरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ। हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोटमाग्दा गरेका वाचाहरुको हेक्का छ। मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’

पछिल्लो समय ‘बोल्न सजिलो छ गरी पुर्याउन गाह्रो छ’ भन्ने नेपाली उखान उनीेमाथि चरितार्थ भएको छ। जिम्मेवारीमा नपुगुञ्जेल अरुलाई अर्ती दिन सजिलो हुने तर वहन गरेर कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण रहेको स्वयम लामिछानेकै स्वीकारोक्तिबाटै प्रष्टै हुन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *