कथा : बिगडल छौँडा

खेमराज पोखरेल
१४ माघ २०७९ ६:३०

हिलटन रेस्टुरेन्टमा योजनाबद्ध भेटिएका थियौँ जिब्रान र म।
०००००
उहिलेको कुरा हो। उसकै बाबु गुनासो गरिरहन्थे-हल्लनटट्टु हुने भयो। भुईँ नाप्नुबाहेक केही काम नगर्ने भयो। बाबुबाजेको बिडो थाम्ला कि भन्यो, न थाम्ने भो। दरदियादको थाँक्रो होला कि भनेको, नहुने भो। खानको काल।

बरालिनको राजा थियो ऊ। मैथिल समाज थियो । समाजका नजरमा ‘धनी बापका बिगडल छौँडा’ थियो ऊ । माथिसम्म पढेन । त्यो समाजमा लगभग ऊ निकम्मा भइसकेको थियो । संयोग उसलाई डीभी पर्‍याे । अमेरिका हान्नियो । र, अमेरिकामा नाम फेर्‍याे – जीवनाथबाट ‘जिब्रान’।

म अभिजात वर्गको थिइनँ । कठोर अनुशासनमा बस्न सिकाएथ्यो समाजले। सामान्य कुलमा जन्मे। धेरै मान्छेले नपढेको गाउँमा मैले माथिसम्मै कनीकनी पढेको भए पनि विचरा समाज भन्थ्यो -यो हाम्रो समाजको मियो बन्छ।

तर एक दिन म पनि अमेरिका भासिएँ । र, कैयौँ वर्षको अन्तरालपछि भेटिएका थियौँ दुवै यार।

पार्किङ लटबाट रेस्टुरेन्टसम्म आउँदा पसिनाले भिजाउन थालेको थियो । सोफामा बस्नेबित्तिकै भनेथ्यो- त्यसै पनि टेक्ससको गर्मी मापाको हुन्छ, त्यसमाथि जुलाई महिना। धेरै वर्षपछि भेट भइयो। यो रेस्टुरेन्टमा टेक्ससको नम्बर वन लोकल ह्विस्की पाइन्छ । त्यही खाऊँ है ? कि तँलाई अरू थोक खाने मन छ?

अनि हामी ह्विस्की पिउन थालेका थियौँ। कडै हुँदोरहेछ त्यो। ५ मिनेटमै रनाहा दिन थालेको थियो। हालखबर आदानप्रादन गर्ने क्रममा उसले मलाई भन्यो- हेर्दाहेर्दै राम्रो कथाकार भइसकिस्।

‘अरे यार ! राम्रो त के हुनु र ? मापक पनि के हुन्छ र ? तर पत्रिकाले यौनकथा मागेर हैरान पारे। लेख्ने सामग्री नै सकिए। म के लेखिदिऊँ ?’- मैले भनेथेँ।

उसले भनेथ्यो- मेरा जीवनकथाहरू लेख् न।

‘तेरा आफ्नै जीवनसँग लेख्नलायक यौनकथा छन् र ?’ मैले उक्साएको थिएँ।

उसले मजाले जबाफ दिएथ्यो – अचम्म ! कसका जीवनमा यौनकथा हुँदैनन् यार ? कसको जीवनमा बैँस आउन्न र ? भन्ने कि नभन्ने मात्रको कुरा हो। म तेरा लागि त भन्छु नि। आखिर तैँले ती कथालाई गोलमटोल पारेर आख्यान बनाउँछस् क्यार! मलाई के फरक पर्छ र?

०००००

ऊ आफ्नो अतीत भन्दै थियो-

‘तँलाई थाहा छ कि म लगौँटी कसेर बस्ने मान्छे होइन। म त बिगडल छौँडा हुँ। समय जसरी चल्यो उसैगरी चलेँ म। समयका अगाडि जे पर्‍याे  सोही गरेँ। अमेरिका आएपछि अरू केही सिप थिएन। बाबुको धन सवै नेपालमै छोडेर आएको थिएँ। जिन्दगी बाँच्नका लागि ग्यास स्टोर चलाएँ।

मेक्सिको, होन्डुरस याने कि दक्षिण अमेरिकाबाट चोर बाटोहुँदै आउने तरुनीहरू सजिला थिए। दुईचार बोतल बियर र चुरोट मात्र दिँदा पनि काम चल्थ्यो । दुईचार दिन आफ्नो डेरामा बास दिँदा मात्र पनि हुन्थ्यो। तिनले पो यौनकर्म के हो भनेर सिकाए। विचरा नेपाली परम्परागत आदर्शवादी महिलाहरू तिनलाई के पत्तो?

मैले प्रतिप्रश्न गरेको थिएँ- तैँले बिहे गरेको थिइनस् र त्यो बेलासम्म ?

उसले उत्तर दिएथ्यो – थिइनँ नि। तर के गर्ने बिहे नगरी पनि हुँदो रहेन छ। सन्तानको कुरा पनि महत्त्वपूर्ण रहेछ। नेपाल गएर बिहे गरेँ। मेरी श्रीमती बाबुआमाले खान्दान, थर, रूप, गोत्र, भर्जिनिटी सवै मिलाएर खोजिदिएकी कन्या थिइन्। एकदम परम्परावादी। आदर्शवादी। पति परमेश्वर भनेर पूजा गर्ने। शालीन। तर जब ओछ्यानमा पुग्यो अनि उफ!

अनि मैले हाँस्दै भनेको थिएँ- खाइछस् केटा तैँले। चोक्टा खान गएको झोलमा डुबेर मरिछस् नि यार?

‘हो नि त। तर पनि २ छोरा जन्मिए। व्यवहारले तान्यो। जिम्मेवारी पनि थपियो। आफन्त र समाज पनि लौरो लिएर उभिन्थ्यो  यस्तै हो भनी दिन कटाउन थालेको थिएँ।’ उसले भन्यो।

‘अनि के भयो त ?’ मेरो प्रश्न थियो।

उसले भन्यो- ग्यास स्टोरमा पैसा त कमाएँ तर झमेला भयो। अर्कोतिर श्रीमतीसँग भित्रभित्र मनमुटाव हुन थाल्यो। खासमा भन्ने हो भने दिक्क लाग्न थाल्यो। सेयरतेयरमा लगानी गरेको थिएँ। त्यसैले जीवन चलिहाल्थ्यो। त्यसो भएपछि मैले जागिर खाने सोच गरेँ। जागिर खायो भने कमसे कम हप्तामा दुई दिन शनिबार तथा आइतबार त छुट्टी हुन्छ। नभन्दै हुलाकमा दिएको अन्तरवार्ता सफल भयो। पहिलो दिन नै अफिसमा पुगेँ। हाकिमको छातीमा नेमप्लेट टाँसिएको थियो ‘अर्चना’।

‘के हाकिम भारतीय मूलकी रहिछन् ?’ मैले प्रष्ट पार्न भनेँ।

ऊ भन्दै गयो – सुरुमा त मैले भारतीय मूलकी होली भन्ने ठानेँ नि अर्चना नाम देखेर। तर नेपाली पो रहिछे। म उसको च्याम्बरमा पुग्दा ऊ कुनै ठाउँमा कुरा गरिरहेकी थिई। आम्ममा उसको अङ्ग्रेजी! गोराले नभ्याउने खालको। मैले उसको हुलियालाई चोर बिरालोले झैँ हेरेको थिएँ। अनुमान गरेँ कि मभन्दा १० वर्षजति जेठी हुनुपर्छ । तर कति सेक्सी नि। अफिसियल कालो सुटमा थिई ऊ। आँखामा चस्मा। कपाललाई ब्वाइज कट काटेको। गहुँ गोरी । बोल्दा निकै कमान्ड भएकी। व्यक्तित्व अति प्रभावशाली लाग्यो मलाई। त्यसो त मलाई कर्मचारीहरूले उसका बारेमा भनेका थिए कि उनको प्रशासन असाध्य तगडा छ। उसले पुरस्कार तथा सम्मान त कति हो कति पाएकी छ रे । मीठो बोल्ने, काममा कुनै सम्झौता नगर्ने कामचोर कर्मचारी थुरथुर पार्ने व्यक्तित्व थियो उसको।

‘अनि त्यसपछि ?’ मैले कुरा अगाडि बढाउन प्रेरित गरेँ ।

ऊ भन्दै गयो – उसले मेरो छातीमा रहेको ‘जिब्रान’ नेमप्लेटलाई हेरी र भनी- ह्याभ ए सिट मिस्टर जिब्रान। हाउ आर यु ? अनि मैले भनेको थिएँ- एक्चुअली माई नेम इज जीवनाथ। बट आइ वुड लाइक टु कल मी जिब्रान फर कन्भिनियन्स।

यसरी कुरा हुँदा उसले पनि चाल पाई कि म नेपाली हुँ।

त्यसपछि उसले मेरो शरीरलाई खाउँलाजस्तो गरेर नियालेर हेरी। म नियमीत जिम जान्थेँ। मेरो शारीरिक बनौट झन्डै भी आकारको हुन थालेको थियो। मलाई उसले यसरी हेरी कि मेरा अनुभवी आँखाले अर्कै अर्थ लगाउन थाले।

‘आखिर तँ त चोट्टा नै होस् नि। हाकिमलाई पनि आँखा लाउन सक्ने आँटिलो होस् तँ’- मैले भने।

‘खैर जे होस्। नेपाली भएका नाताले हाकिमसँग व्यवहार गर्न सजिलो त भयो नै। अनि उसले एकदिन मलाई भनीथी- मिस्टर जिब्रान! आज अफिसपछि फुर्सद भयो भने मेरो घरमा गएर एकएक कप कफी पिउँला। हुन्न ?

घर पुगेपछि उसले कफीको साटो बियर अफर गरी। बियरको एक चुस्की लिँदै ऊ लुगा फेर्न कोठमा पसी। म उसको बैठक कोठालाई नियाल्न थालेको थिएँ। भित्तामा यौन बुझाउने अमूर्त चित्र टाँगिएको थियो। सङ्गमरमरको सम्भोग मुद्राको रति तथा कामदेवको मूर्ति सजिएको थियो।

अक्वेरियममा राता पहेँला ससाना भुरा माछाहरू सलबलाइरहेका थिए। भित्तामा नेपाल र अमेरिकाको नक्सा अनि झण्डा मिलाएर राखिएको थियो। ७५ इन्चको टिभीले बैठक कोठाको शोभा बढाइरहेको थियो। यत्तिकैमा ऊ पहेँलो फ्रक लगाएर बैठकमा छिरी।

उसको फ्रक घुँडाभन्दा माथि नै थियो। सिनित्त परेका तिघ्राले कामुकता पस्किरहेको थियो। एउटा सानो तुनाले अड्याइएको फ्रकले वास्तवमा नेपाली पाराले भन्ने हो भने कतै पनि ऊ छोपिएकी थिइन। मजाले धौ फुकाएर हाँस्दी रहिछे। ऊ हाँस्दा उसका स्तन हल्र्याङ् हल्र्याङ हल्लिन्थे। समग्रमा भन्ने हो भने अलि उत्ताउली र यौनातुर परी नै देखिएकी थिई।

यही मौकामा मैले उसलाई पासो हालेँ – म्याम! तपाईँ कति सुन्दरी हौ ? यो ड्रेसमा त टिनेजर जस्तै लाग्छ। बोलीचाली, हाउभाउ, जीवनशैली, व्यक्तित्व कति भव्य हौ तपाईँको?

मलाई थाहा थियो कि महिलालाई तिनका सुन्दरताका बारेमा प्रसंशा गरिदियो भने ज्यादै रमाउँछन्। मोहित हुन्छन्। तर उसले मलाई तलदेखि माथिसम्म फेरि हेरी र भनी- ‘हो र ? यति चाँडै परख गरिसक्नु भयो तपाईँले? अनि कुन सुन्दरताको कुरा गर्नुभएको तपाईँले? सफ्टवेयर कि हार्डवेयरेको?’

उसको कुरा सुनेर मैले सुस्तरी भनेँ-दुवैको।

उसले भनी – आम लोग्नेमान्छे जस्तै तपाईँ पनि ढाँट हुनुहुँदोरहेछ। सिल्ली, छली र कपटी। न त तपाईँले मेरो हार्डवेयर पत्ता लगाउनु भएको छ, न सफ्टवेयर नै। त्यसै भनिदिनु हुन्छ ‘राम्री’। म आम स्वास्नीमानिसजस्तो बिनामतलब राम्रीको गुणगान सुनेर फुरुक्क पर्ने महिला होइन नि। त्यो चरण मैले पार गरिसकेकी छु। बुझ्नु भयो ?

म हाँस्तै थिएँ। मलाई किनकिन भित्रभित्र लाग्दै थियो- आज भगवानले कुटीकुटी खुवाउँछन् जस्तो छ’।

उसले मलाई हठात् प्रश्न गरी- हेर्दा त सानो गाँठीको तर कसिलो शरीर भएको देखिनुहुन्छ। शरीर र बोलीले त खली भएको बताउँछ त?

माछा जालमा पर्लाजस्तो भयो अनि मैले पनि नढाँटी भने- खली त हुँदै होइन। तर परिवेशले मलाई एक पत्नीव्रतको मान्छे बन्न भने दिएन।

ऊ हाँसी। र, सोधी- कति वर्षदेखि थाल्नु भएको?

मैले भनेँ- १३ वर्षको छँदा

उसले भनी- वाओ ! १३ वर्षमै ??

मैले भने- के गर्नु त? घरछिमेकमा ४० वर्षजतिकी र अलि परको नातामा भाउजू पर्ने तर विधवा तथा सन्यासधारण गरेकी माईराम हुनुहुन्थ्यो। उहाँले नै सिकाउनु भयो। विचरा उहाँ बिहेभएको ६ महिनापछि नै १८ वर्षको उमेरमा विधवा हनुभएको थियो रे।

वातावरण अलि सम्वेदनशील बनाई उसले। माईरामको जीवन सुनेर अनुहारलाई क्रोधिलो बनाई। र, सुस्केरा हालेर भनी – विचरा अन्धविश्वासी नेपाली समाज! विचरा माईराम! विचरा नेपालका महिलाको जिन्दगी। हाय रे सामाजिक न्याय, मृत्यृ एउटाको दण्ड अर्कालाई । कति क्रुर छ समाज!

‘के गर्ने त ? समाज ज्यादै कठोर हुन्छ। समाजका नियम मान्नुको विकल्प हुँदैन।  जैविक आवश्यकतालाई पनि चोर्नु पर्छ।’ मैले भनेँ।

उसले बियरको पेग रित्याउँदै भनी- भयो छोड्नुस्।  के गर्ने ती कुरा गरेर। समाजलाई मैले जत्ति तपाईँले सायद चिन्नु भएको छैन। मैले त ती सवै नियम तोडताड पारेर मात्र यहाँसम्म आइपुगेकी हुँ। आफूलाई रिकभर गरेकी हुँ।

‘मेरो मुखबाट अनायाश निस्क्यो – ए हो र?

सायद बियरको मात लाग्न थालेको थियो। आफ्ना कुरा भन्न थालेकी थिई -बुझ्नु भयो जिब्रान! बिहे हुँदा म ३० वर्षकी थिएँ। लोग्नेस्वास्नीको सम्बन्ध भएपछि विश्वासका लागि आफ्ना पुराना कुरा नढाँटीकन सेयर गर्नु पर्छ तथा विवाहेत्तर सम्बन्ध स्थापना गर्नु अपराध हो भन्ने मान्यता राख्थेँ म। बिहेपछि एक पतिपत्नी मान्यता थियो मेरो। मेरो लोग्ने पनि सोही मान्यता राख्दो रहेछ।

र, उसले बिहेपूर्वका शारीरिक सम्बन्धहरूका बारेमा क्रमैले बतायो। ५ जना गर्लफ्रेन्डसँग शारीरिक सम्पर्क गरेको अनुभव रहेछ ऊसँग। अनि मलाई सोध्यो – अनि तिम्रो नि? मैले पनि भनेँ- मेरो भर्जिनिटी काका पर्ने मान्छेले वलात्कार गरेर तोड्यो। यो कुरा मैले घरमा भनेँ। तर न्यायको साटो चुपचाप सहन सिकाइयो। बिहेपूर्व एउटा केटासँग १५ दिनसम्म भारत घुमेको र त्यो बेला शारीरिक सम्बन्ध स्थापना गरेको कुरा बताएँ। त्योसँग बिहे गर्ने कुरा भएको थियो। तर ऊ भाग्यो।

‘अनि ?’ मैले कुरालाई अघि बढाउन खोजेँ।

‘अनि के नि मेरो बिहे भयो। उसको विवाहपूर्वको यौन सम्बन्ध भन्दासम्म त ठिकै थियो। तर जब मेरो यौन सम्बन्धका कुराहरू उसलाई सुनाएँ उसको अनुहारको आभा उड्यो। उफ ! पुरुष सत्ता। उसले मलाई अर्काकी स्वास्नी जस्तो गर्न थाल्यो। त्यो कुरा ओछ्यानमा देखिन थाल्यो। व्यवहारमा देखिन थाल्यो। बोलीचालीमा देखिन थाल्यो।

‘तिम्रो नाममा के छ र? मेरो नाममा अडिएकी न हौ’ भनेर हेप्न थाल्यो। ऊ परस्त्रीसँग सहवास गर्न थाल्यो। मैले चाल पाएँ। तर उसले होइन भनेर किरिया नै खायो । यसरी उसले झुटो बोल्यो। झुटो बोलेपछि सँगै बस्ने कुरा भएन। मैले डिभोर्स गरेँ। साला समाज! साला पुरुषसत्ता !! बिहे ३० वर्षमा गर्ने अनि भर्जिन मान्यता राखेर हुन्छ? पुरुष आफू चरुवा भएको पाच्य हुने, महिलासँग दुर्घटना भयो भने पनि त्याज्य हुने। उफ! विभेद।

‘समाजमा त कति विभेदविभेद नि । त्यसमाथि महिलामाथि त झन् धेरै विभेद । के गर्ने हाम्रो समाज नै त्यस्तो।’ मैले सारमा सार मिलाएको थिएँ।

ऊ आज बाँधबाट फुत्केको पानी जस्तै बहाबमा थिई। अनि उसले भनी – मिस्टर जिब्रान! मलाई उसको यौनजीवनले भन्दा ‘तिम्रो नाममा के छ र? मेरो नाममा अडिएकी न हौ’ भन्ने भनाइले धेरै दुख्यो। अनि डिभोर्स गरेर आफूलाई एक्लै उभ्याउन वल गरेकी हुँ। करिअर र लोग्नेमा करिअरलाई रोजेकी महिला हुँ। समाज हेरिरह्यो। म हिँडिरहेँ। एक्लै उभिएकी छु। फुकाफाल जीवन बाँचेकी महिला हुँ म।

म चुप लागेँ।

बियरको मातमा उसले फेरि भनी – म तपाईँको बडी ल्याङ्गुएज तथा बोलीचालीबाट बुझ्दै छु कि तपाईँ मप्रति आकर्षित हुँदै हुनुहुन्छ। प्रष्ट भन्नुस्, के तपाईँ मसँग सहवास गर्न इच्छा राख्नु हुन्छ?

सहवासकै क्रममा उसले मलाई भनेकी थिई- बुझ्नुभयो जिब्रान! नेपाली महिला त लोग्नेसँग ओछ्यानमा पुग्दा पनि सतिसावित्री हुन खोज्छन्। सातपत्रे लुगा लगाएर सुत्न पुग्छन्। हाहाहाहा । लोग्नेसँग ओछ्यानमा पुगेकी स्वास्नी पतिव्रता हुन खोजीभने काम लाग्दैन बुझ्नु भो? जोडी नै शारीरिक तथा मानसिक कामकलाले परिपूर्ण हुनुपर्छ। जौडे हुनुपर्छ। काम याने यौनकर्मलाई जीवनको उच्चतम् उपलब्धि ठान्ने हुनुपर्छ। राजीखुसीले ओछ्यानमा पुगेपछि लाज, घिन, शर्म जस्ता कुराको विषय होइन नि यौन।

म यो बेला आफ्नै श्रीमतीलाई सम्झिरहेको थिएँ ।

उसले आफ्नो भनाइलाई अघि बढाई-फेरि अर्कातिर ओछ्यानमा स्वास्नी देख्नेबित्तिकै हाङ्ग्राले पाङ्ग्रा निले झैँ खनिने लोग्ने पनि कायर हो। त्यसका केही विधि छन्। ती विधि पूरा नगरी खनिँदा वर्षा यामको खोल्सी झैँ उर्लने हो र कटान गरेर विसर्जन हुने हो। त्यसको के काम?

यो बेला म आफूलाई कायर महसुस गरिरहेको थिएँ। सायद मैले श्रीमतीलाई बुझ्न सकिनँ कि?, उसका उच्छवासलाई बुझ्ने प्रयन्त गरिनँ कि?

ऊसँगको सहवासले निकै यौनानन्द दियो। अहा! ऊसँगको सामिप्य सहवास कति खुला ! कति विशाल !! कति रोमाञ्चक !!! कति यथार्थ!!! कति स्वभाविक !!!

अनि मैले उसलाई सोधेँ- अहिले भर्खर हामीले गरेको सहवासको अर्थ के हो ? प्रेम?

मेरो प्रश्न सुनेर ऊ हाँसी र भनी – हाहाहाहाहा प्रेम? प्रेम त पूजा हो। प्रेमको सूत्र हृदय हो। प्रेमको सूत्र यौन हो। तपाईँ संसारभरिका गीत, सङ्गीत, काव्य हेर्नुस् त्यहाँ प्रेम हुन्छ। प्रेम हृदयबाट निस्कन्छ। हृदयलाई यौनले पगाल्छ। त्यसैले प्रेम गर्ने हो भने स्वार्थरहित भएर गर्नु पर्छ। हिन्दुले मात्र होइन संसारले भगवान कृष्णलाई प्रेमका देवता भनेर मान्दछन्। कारण भगवान कृष्णले अर्काकी स्वास्नी राधालाई प्रेम गरे। कृष्णलाई राधा अर्काकी स्वास्नी हो वा होइन भन्ने कुराले प्रेममा कुनै फरक परेन। विवाहेत्तर सम्बन्ध वर्जित हो भन्ने मान्यताले पनि केही फरक परेन। अर्कोतिर कृष्णले गोपिनीसँग प्रेम गरे । कृष्ण अर्काको लोग्ने हो भन्ने कुराले गोपिनीहरूलाई फरक परेन। केवल प्रेम मात्र रह्यो। यो कुरा त भगवान कृष्णको हो। तर अहिले त्यो कहाँ सम्भव छ र ? दायित्वलाई प्रेम भन्ने भ्रम पालेको छ मान्छेले। मान्छे भौतिक जड भएको छ प्रेमको परिभाषामा। हृदय र यौनलाई पन्छाएर प्रेम गरेको नाटक गर्छ मान्छे। अहिले त झन् नक्कली जमाना आएको छ। रातभरि दिनभरि कटाक्ष गरेर जीवन बितेका जोडी संसारलाई झुक्याउन विविध मायाका पोज फोटो खिचेर फेसबुकमा उतार्छन्। र कत्ति न आफ्नो जोडी प्रेमिल छ भनेर देखाउँछन्। कसलाई के भन्नु र? खासमा यौनकर्ममा दुवै जना तृप्त हुनुपर्छ। सन्तुष्ट हुनुपर्छ र मात्र एकअर्कामा माया पलाउँछ।

‘प्रेम होइन भने के हो त ?’ मैले प्रतिप्रश्न गरेको थिएँ।

अनि उसले भनीथी- स्वार्थ हो। यौनरागको स्वार्थ। यौनरनाहा शान्त पार्ने स्वार्थ। तपाईँले पनि सुनेकै कुरा हो कि यो संसार स्वार्थले बनेको छ। भर्खरै हामीले गरेको यौनकर्म पनि स्वार्थको परिणाम हो। यो संसारमा कोही पनि इमान्दार छैनन्। स्वार्थको इक्विलिब्रियम जीवन हो। सम्बन्ध हो। संसार हो । संसार स्वार्थविहीन हुन पनि सक्दैन। मान्छे, जीवन र संसारलाई स्वार्थविहीन बनाउँछु भन्नु मुर्खता हो। म आफ्नै जीवनलाई स्वार्थले डोर्याएको पाउँछु। जतिबेला मेरा स्वार्थका अगाडि चुनौती आयो मैले तिनलाई त्यागेकी छु । आमाबाबु, लोग्ने, समाज, नेपाल त्याग्ने कुरा मेरो स्वार्थको बेग हो। अनि म कोही मान्छे स्वार्थी छैन भनेर कसरी भन्न सक्छु र? जीवन व्यर्थ हो भन्ने ठानेर सन्यास धारण गरी गेरु वस्त्र लगाएको मान्छे पनि त्यहीँ आफ्नै संसारभित्र स्वार्थी हुन्छ। यौन हुन्छ। तपाईँ हाम्रो यो सम्बन्ध ‘युज एन्ड थ्रो’ हो।

उसले भनेको कुरा सुनेर म अचम्मित भइरहेको थिएँ।

अनि उसले फेरि भनी- तपाईँको अनुहारमा अचम्मित भएका रेखाहरू सल्बलाएका छन्। म तपाईँलाई मेरै बाबुआमाको दृष्टान्त सुनाउँछु। मेरा बाबुआमा समाजमा ज्यादै असल र नमुना जोडी भनेर चिनिन्थे। तिनले रिसाएको, अनुहार अँध्यारो बनाएको वा गुनासो गरेको कसैले चाल पाएन। तर खास भित्रको कुरा भने त्यस्तो थिएन। बुवाले ताक पर्नेबित्तिकै घरमा कामगर्न आउने सहयोगी महिलालाई धनसम्पत्ति दिएर यौनकर्म गर्नुहुन्थ्यो। आमालाई त्यो कुरा थाहा थियो। तर आमा सम्बन्ध जोगाउन तथा सामाजिक अपगालबाट जोगिन भनेर चुपचाप सहनु हुन्थ्यो। आमा घरैमा बसेको लक्का जवान गोठालोलाई आँखा तथा दिलका इसाराले लोभिनु हुन्थ्यो। यसरी मेरा आमाबा एकअर्कालाई शंका गर्थे। शंका मात्र होइन, घृणा गर्थे। तर बाहिर समाजलाई देखाउँदा नौटङ्की गर्थे। समाजमा आडम्बर जोगाउनु थियो दुवैलाई । बरु वर्तमान पुस्ता इमान्दार छन्। अचेल उनीहरूको जिन्दगी म्युचुअल अन्डरस्ट्यान्डिङमा चल्न थालेको छ। जुन दिन अन्डरस्ट्यान्डिङ भत्किन्छ, त्यो दिन उनीहरू आआफ्ना बाटा लाग्छन्। कुरेर बस्दैनन्।

मलाई उसको कुरा सुनेर अचम्म लागिरहेको थियो। अनि मैले सोधेँ-मान्छेको पारिवारिक जीवनमा यति बिघ्न समस्या किन आएको होला?

उसले जवाफ दिई- पहिलो कारण त पुरुषसत्ता हो। पुरुषसत्तामा विकास भएका लोग्ने भनाउँदाहरूलाई घरमा स्वास्नी होइन, नोकर्नी र उसका सन्तान पाइदिने मेसिनजस्ती आमा चाहिन्छ।  अरू कुरा जे भए पनि बच्चा पाइदिनु पर्छ। चर्नका लागि त घरबाहिर हरियो चौर छ।  अर्कोतिर स्वास्नीहरूलाई पनि बच्चा पाउन पाए पुग्यो। घरको सुसेधन्दा राम्रोसँग गर्न जान्यो भने पुग्यो। प्यारासाइट हुन खुब मजा लाग्छ ती स्वास्नीहरूलाई पनि। तिनीहरू आफ्नो बिहे नै बाबुआमाले छानिदिएको केटा वा केटीसँग गर्छन्। बाबुआमा डिबिया बालेर आफ्नो छोरा वा छोरीको लागि बुहारी वा ज्वाइँ खोज्न निस्कन्छन्। आफ्नो सेक्स पार्टनर छान्न नसक्ने हुतिहारा केटाकेटीलाई यो परम्परावादी समाजले गतिलो ठानिदिन्छ। राम्रो कुलिन ठानिदिन्छ। गोप्य ठानिएको सेक्स कर्मका लागि पार्टनर खोज्न नसक्ने क्षणभन्दा हास्यास्पद के हुन्छ मान्छेका जीवनमा ? तिनका लागि समानताको नारा बेकारको कुरा हो। तर भर्खर भर्खर यो कुरामा केही परिवर्तन हुन थालेको छ । त्यसैले परिवर्तनले समाजको परम्परागत जीवनमा खटपट त ल्याइहाल्छ नि।

‘तपाईँ डिभोर्स गरेकी महिला हुँ भन्नुहुन्छ। अनि सेक्स अति आवश्यक हो पनि भन्नु हुन्छ। तपाईँलाई कसरी सम्भव छ त्यो नियमित सेक्स ?’ मैले प्रतिप्रश्न गरेको थिएँ।

उसले भनीथी- हाहाहाहा। कसरी तपाईँ मसँग लोभिनु भयो। यो एउटा तरिका हो। धेरै भौतिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मैले त डिभोर्स गरेर बसेँ र प्रविधिले दिएको सुविधा प्रयोग गर्छु। न हरहर न कचकच। त्यसो त कहिलेकाहिँ तपाईँजस्ता मान्छे पनि त आइलागी हाल्छन् नि।

‘अनि सन्तान नि?’ मेरो प्रश्न थियो।

उसले भनीथी- त्यसो त मेरो एउटा छोरा छ। न्युयोर्कमा छ। त्यसले त्यही पापी पुरुषसत्तावाला लोग्नेकै सम्झना गराइरहन्छ। कहिलेकाहिँ त सम्झन्छु कि त्यो दिन मैले मेरो विवाहपूर्वको सम्बन्धलाई गोप्य राखेको भए सायद मेरो वैवाहिक जीवन पनि चल्थ्यो होला। तर मनभित्र तुस पालेर कति बस्नु? एउटा कुरा बुझिराख्नुहोस् कि महिलालाई लोग्ने भएर मात्र पनि हुँदैन। बच्चा भएर मात्र पनि हुँदैन। त्योभन्दा अझैँ धेरैधेरै कुरा चाहिन्छ। माया र विश्वास चाहिन्छ। बच्चा त अनाथालायबाट ल्याए पनि हुन्छ । अनाथालयबाट ल्याउन मन लागेन भने विर्य बैँकबाट विर्य किनेर ल्याएर पनि सन्तान जन्माउन सकिन्छ नि।

उसका कुराबाट म निकै अचम्मित भइरहेको थिएँ। हिँड्ने बेला भएको थियो। उसले मलाई सोधी- समय फेरि कसरी आउँछ थाहा छैन। फेरि….??

०००००

जिब्रानको कुरा सुनेर म रोमाञ्चक भएँ। जिब्रान कस्तो भाग्यमानी? अनि मैले उसलाई भनेँथेँ-तँ कस्तो भाग्यमानी छस् यार! मोज गरिछस्। आफूले त ३० वर्षमा बिहे गर्दा पनि नजानेर हैरान भएको थियो। तँ त १३ वर्षमै अनुभवी भइछस्।

यसै बेला उसलाई नेपालबाट फोन आयो -….. ।

ऊ उत्तर दिँदै थियो- हुन्छ नि। पचास लाखको त कुरा रहेछ नि। म पठाइदिन्छु।

म अचम्मित हुँदै थिएँ। उसले मलाई भन्यो- हेर तँलाई लाग्ला कि मैले बेस्सरी पैसा कमाएको छु। तर मसँग त्यस्तो पैसा छैन। नेपालमा बृद्धाश्रम चलाएको छु। एउटा कोष खडा गरेको छु। के गर्ने यार जिन्दगीसँग दिक्क पनि लाग्छ सम्झँदा। आमाबुवा हुनुहुन्न अब यो संसारमा। उहाँहरू मलाई धेरै पढाउन चाहनुहुन्थ्यो – मैले पढिनँ।  ठूलो मान्छे बनाउन चाहनु हुन्थ्यो – त्यो पनि सकिनँ। कुलको थाङ्ग्रो बन भन्नुहुन्थ्यो- त्यो पनि सकिनँ। ‘नेपाल फर्केर आइज आइज’ भन्नु हुन्थ्यो-फर्किनँ। समय बित्यो। केही नगरे पनि बित्दोरहेछ जीवन। नपढे पनि बित्दो रहेछ जीवन। ठूलो मान्छे नभए पनि बित्दो रहेछ जीवन।

म मनमनै सम्झँदैछु घर, गाडी आदिका प्रिमियम तिर्न हत्तु भएको जीवन सम्झेँ मैले। जीवनलाई कठोर अनुशासन नामको बन्धनभित्र राखेर बाँचेँ। मैले जीवनमा के पाएँ? जिब्रानले बन्धनलाई टेरेन। के गुमायो ??

छुट्टिने बेला भएको छ। ऊ एक सुरमा भन्दैछ- ती मेरा कथा होइनन्। अरूका कथाको म पात्र मात्र हुँ। ती कथा समयका ईप्सा हुन्। मलाई त परिवेशले कुटीकुटी खुवाएको मात्र हो। तर एउटा प्रश्न समाजका अगाडि गर्छु। यो कस्तो न्याय हो ? जबर्जस्ती खुवाउने सामाजिक परिवेश, अनि ‘बिगडल छौँडा’ म??

 

 

सान मार्कोस, अमेरिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *