व्यंग्य : बहिस्कार गरें ‘पोएट आइडल’
सबैमान्छेलाई जन्मेपछि केही गरेरै मर्न पाए हुन्थ्यो भन्ने हुटहुटी हुन्छ। कसलाई के गर्न मन हुन्छ भन्ने कुरा मान्छे नै पिच्छे फरक हुन्छ तर सबैलाई आँखाले देखे जस्तै अनि कानले सुनेजस्तै ठूलो मान्छे हुने चाहाना हुन्छ।
हुनत एक दिन वा महिनाअगाडि सम्म कतै नदेखिएका अनि नसुनिएका मान्छेहरु राता रात चर्चित र सम्पन्न भएका छन्। त्यसो त मान्छेलाई छिट्टो चर्चाको शिखरमा पुर्याउने माध्यम पनि बजारमा फालाफाल छन्।
समयले मानिसलाइ ठूलो मान्छे बन्न सजिलो बनाइदिएको छ। त्यस्तै माध्यमहरु मध्ये सबैभन्दा छिटो र मिठो माध्यम बनेको छ रियालिटी सो।
गीतका र डान्सका रियालिटी सोहरु कै कारण कैयौं मान्छेहरुको जीवनमा कायापलट भएको खबरहरुले बजार तातिरहेको बेला कविताको पनि रियालिटी सो- ‘द पोएट् आइडल’ आउने भयो भन्ने खबरले मनमा निक्कै खैलाबैला मच्चायो।
किनकि म पनि औसत मान्छेहरु जस्तै आफूलाई ठुलै भएको देख्न चाहनेमा पर्दछु। कविता लेख्ने मान्छेलाई कविताकै रियालिटी सो आउनु भनेको ढुंगा खोज्दा देवता भेटिए जत्तिकै खुशी र गौरबको बिषय हुनुपर्ने हो। तर मचाहिं दुखी भएँ।
कविता लेख्ने मान्छेलाई कविताकै रियालिटी सो आउनु भनेको ढुंगा खोज्दा देवता भेटिए जत्तिकै खुशी र गौरबको बिषय हुनुपर्ने हो। तर मचाहिं दुखी भएँ। किनकि त्यो पोएट आइडल मलाइ खाउँ भने दिनभरीको सिकार नखाउँ भने कान्छा बाउको अनुहार भने जस्तै भयो।
किनकि त्यो पोएट आइडल मलाइ खाउँ भने दिनभरीको सिकार नखाउँ भने कान्छा बाउको अनुहार भने जस्तै भयो।
सबभन्दा पहिलो कुरा मलाई मेरै फेसबुके प्रसिद्धि बाधक भयो। एउटा कविता लेखेर हाल्यो सयौं लाइकहरु र कमेन्टहरुको बर्षा हुन्छ : बधाइ छ (congratulations!), निरन्तरता दिनु (keep it up!), राम्रो काम (good job !) आदि आदि।
आफ्नो फेसबुकको पोस्टिङको तल लाइक र कमेन्ट लेखेको ठाउँमा क्लिक गर्यो अनि एसो फुर्सद पाउने बित्तिकै कति लाइक आए अनि कति कमेन्ट आए भनेर हतार हतार गन्यो अनि मख्ख पर्यो। जान अन्जान मित्रहरुले देखाएको मायाको बर्षाले निथ्रुक्क भिज्यो। मन ढक्क फुल्छ। नाक ठाडो हुन्छ।
त्यस्तो आत्मरतिमा रमाउन छोडेर किन हार्ने जोखिम लिने। त्यसैले मैले चाहिं आइडल बहिस्कार गर्ने निधो गरें।
अब भन्नु होला तपाईंजस्तो भाइरल कबिको लागि त्यो पोएट आइडल त झन् दाहिने हातको खेल हुनुपर्ने हो। एउटा सुन्दर प्लेटफर्म हुनुपर्ने हो।
त्यसमाथि लाखौं रकम जित्न सकिन्छ। एक दुईवटा किताब छाप्ने कन्ट्रयाक पनि गरिदिने भनेका छन्! तपाइले किताब छाप्नकै लागि न त कुनै संस्थाका संचालकको आसामी बन्नु पर्छ न त छापाखाना मालिकको गुलामी नै गर्नु पर्छ।
अथवा आफ्नै खर्चमा छापे पनि कम्तिमा जितियो भने दुई चार लाख पैसा नै जोगिन्छ। त्यसै पनि दुइचारपटक तपाईँकी श्रीमतीले किताब छाप्न पैसा खर्च गरेको देखेपछि कटु बचनले छेडछाड त गरेकै होलिन्।
अनुत्पादक काममा पैसा डुबाउनुभन्दा मलाई गहना किनिदिएको भए हुन्थ्यो नि भनेर फन्किएकै होलिन्। लागे लाग्छ मोहनी नत्र घरमै छ भनेर एकपटक कोसिस गर्दा के नै हुन्थ्यो र!
हो तपाईंको कुरा त ठिकै हो। जितियो भने त राम्रै हुन्छ। तर हारियो भने के हुन्छ तपाईंलाई के थाहा छ र? यत्रो बर्ष लगाएर कमाएको फेसबुके कबिको दर्जा चिलिम हुन्छ। भोलिदेखि मेरा कबिताले लाइक पाउन छोड्छन्।
कमेन्टमा ‘फ्लप कबि’ भनेर लेख्न थाल्नेछन्। हुनत फेसबुकले फ्लप कबि भन्ने अटो कमेन्ट त बनाएको छैन क्यारे। कसैले टाइप गर्ने समय नै खर्चेर त कमेन्ट नगरिहाल्लान तर पनि लभ र लाइकका इमोजी त ख्वात्तै घट्छन्।
किन मतवाली कबि धेरै छानेको भन्ने। बाहुनबाट राज्य खोस्न नसकेर कलम खोस्न खोजे भन्ने। बन्दुक बोकाइरहेका मान्छेलाई कलम दिएर आफ्नै खुट्टामा बन्चरो हाने भन्ने।
फेसबुकमा लाइक र कमेन्टको खडेरी आउँछ। आइडलमा गएर फेल भएको कविलाई कस्ले पत्याउने ? त्योभन्दा बर्बाद अरु के हुन् सक्छ र जिन्दगीमा।
जाने मन त कसलाई थिएन र। मलाई पनि भर पुर जान मन थियो। कमसेकम ती आला काँचा ठिटा ठिटीभन्दा त राम्रै कबिता लेख्या छु जस्तो लाग्छ। यदि मेरा कबिता नराम्रा भए त्यसरी मान्छेहरुको लाइकको ओइरो किन लाग्थ्यो मेरो फेसबुक पेजमा।
तर फेरि आफुले राम्रोसँग नपत्याएका ती जजहरुका अगाडि सानो भएर कबिता सुनाउन मनै मानेन भन्या। तिनीहरुभन्दा म के कम? म झन् धेरै फेसबुके फ्यान भएको मान्छे। मलाई जज हुन नबोलाएर उनलाई बोलाउने? मलाइ त ती आयोजकसगै झोक चलेर आयो।
कहिल्यै कतै नदेखिएका, नसुनिएका कलिला केटा केटी बटुलेर तिनीहरु माथि त्यत्रो पैसा लगानी गर्ने? त्यसको सट्टा त मजस्ता भाइरल कबिका कबिता छापेर बिमोचन गरिदिएको भए कमसेकम मैले पनि बधाई त दिन्थें। ती आयोजकले हामीजस्ता वरिष्ठ कबिको कवित्वको अवमुल्यन गरे जस्तो लाग्यो।
आइडल बहिस्कार गरे पनि मनमा चाहि खटपटी भै नै राख्यो। त्यो मनको बेचैनीलाई निदान गर्ने मैले राम्रो उपाय आविस्कार गरें। आइडलका आयोजकका बिरुद्ध सामाजिक संजालमा खनिने। भएन भन्ने। मिलेन भन्ने।
समाबेशिताको नेपाली सिद्धान्त नेपाली शासकहरु बाट किन सिक्न नसकेको भन्ने। किन मतवाली कबि धेरै छानेको भन्ने। बाहुनबाट राज्य खोस्न नसकेर कलम खोस्न खोजे भन्ने। बन्दुक बोकाइरहेका मान्छेलाई कलम दिएर आफ्नै खुट्टामा बन्चरो हाने भन्ने।
नेपाली कविता आइडलमा अंग्रेजी बोल्ने भनेर पेल्ने। फेसबुकमा नेपाली साहित्यलाइ बिगारे भनेर बिष बमन गर्नेहरु जस्तै आइडल आयोजकलाई नकारात्मक कमेन्टको हुरी बतास चलाएर उडाउने। त्यसो गर्दा कम से कम मनमा शान्ति त मिल्दो रहेछ।
Facebook Comment