आत्मदाह, सती प्रथा र आत्महत्या
हालै केही दिन अघि २४ जनवरीमा इलामका एक ३६ वर्षे युवक प्रेमप्रसाद आचार्यले काठमाडौँको संघीय संसद अगाडि आत्मदाह गरे र उनको मृत्यु कीर्तिपुरस्थित बर्न सेन्टरमा भयो।
एक साधारण व्यक्ति र व्यवसायी भएको हैसियतले आफूले जीवनमा विभिन्न प्रकारका हण्डर खान परेको तथा कुनै पनि व्यवसायमा सफलता नमिलेको कुरा उनले आफ्नो मृत्युपत्रमा उल्लेख गरेका छन्।
यो सबको लागि कैयन् व्यक्ति, नेपाली समाज, राज्य, राज्य सञ्चालन प्रणाली, राजनीतिज्ञहरूलाई पनि उनले दोषी ठहर्याएका छन्। झट्ट हेर्दा उनले आफ्नो भाग्य बिग्रिएको कारण निराश भएर आत्महत्या गरेको आभास मिलेको भएता पनि यो प्रकरणले नेपालका राज्य सञ्चालकहरूलाई निक्कै महत्वपूर्ण सन्देश पनि दिएको छ।
मुलुकमा जिविकोपार्जनको निम्ति कुनै ठोस अवसर नभएको भन्दै उनले यो मुलुक दुःख र मेहनतका साथ लगनशील भएर काम गर्नेहरूको निम्ति नभई चोरहरूले मात्र बाँच्न पाउने स्थल भएको कुरा लेखेका छन्।
उनले यो मुलुकका सरकारी कर्मचारी र शिक्षकहरूले समेत निजी क्षेत्रका महँगा विद्यालयमा आफ्ना नानी पढाउँछन्, यहाँ जनताको निक्षेपमा खेलेर बैङ्कहरूले खर्बौं नाफा आर्जन गर्छन्, महँगा विदेशी औषधी खरिद गर्न निरीह जनता मजबुर छन् भने उच्च अध्ययन गरेका मानिस समेत यो देशमा बेरोजगार छन् भन्ने कुरा लेखेका छन्।
सरकारले जीविकाका लागि आवश्यक आधारभुत सामग्री समेत जनतालाई उपलब्ध गराउन सक्दैन भने नेपालमा नै उत्पादित कच्चा वस्तुहरू विदेश पुगेर प्रशोधित रूपमा हाम्रै जनताको उपभोगको निम्ति महँगोमा स्वदेश भित्रिन्छन् भन्दै उनले आफ्नो मृत्यु पत्रमा नेपालको समृद्धि र विकासका लागि २५ बुँदे सुझाव समेत दिएका छन्।
आज मुलुकबाट सबैजसो क्षेत्रका विज्ञ तथा साधारण जनता समेत पलायन हुन खोजेको समयमा नेपालका उच्च नेतृत्व सम्हाल्ने प्रचण्ड सहितका ओली, देउवा, माधव, बाबुराम, झलनाथ, खिलराजले मुलुकभित्रै रोजगारी र खुशहालीको वातावरण बनाउन नसकेका तथा प्रधानमन्त्री प्रचण्डले अब पनि केही गर्न नसके र विकसित मुलुकहरूले भिसामा केही खुकुलो नीति अपनाए जनयुद्धमा मारिएका १७,००० शहिद बाहेक राज गर्ने यहाँ कोही पनि बाँकी हुने छैनन् भनेर उनले मृत्यु पत्रमा लेखेका छन्।
नेपालमा तिव्वती भिक्षुहरूले आत्मदाह गरेका वा गर्ने प्रयत्न गरेका कैयन् घटनाहरू छन्। यसै क्रममा लुम्बिनीको उचित विकास हुनु पर्ने र वौद्ध धर्मको संरक्षण गरिनु पर्ने माग सहित एकजना बौद्ध भिक्षुले राजा वीरेन्द्रको सक्रिय शासनकाल यानी पञ्चायती कालमा नै नारायणहिटी राजदरवार अगाडि आत्मदाहको प्रयत्न गरेका थिए।
विश्वका विभिन्न ठाउँमा बेला बखतमा भएका आत्मदाह वा यसको प्रयास बारे समाचारहरू आउने गर्दछन्। आत्मदाह भनेको कुनै कारणवश आफ्नो शरीरमा आफैं आगो लगाएर मर्नु वा मर्ने प्रयत्न गर्नु हो। यस्तो कार्य खासगरी कुनै गौढ विषयमा विरोध जनाउनको निम्ति गरिन्छ, तथा यस्तो मरणलाई सबैभन्दा कठीन कार्यको रूपमा पनि लिइन्छ।
कैयन् व्यक्तिहरूले घरायसी वा अन्य व्यक्तिगत कारणले पनि आत्मदाह गर्दछन्। कुनै गौढ विषयमा गरिने आत्मदाहले आमजनता र समाजलाई चनाखो तुल्याउन ठूलो भूमिका खेल्ने गर्दछ। तर यस्तो कार्य राम्रै कारणको निम्ति गरिए पनि यसलाई प्रश्रय नदिँदा उत्तम हुन्छ।
हुनत सनातन धर्ममा इशापूर्व ५५० तिरदेखि गुप्त वंशको शासनकालमा शुरुमा पतिको परम सेवाको रूपमा आफू खुशी नै सती जाने प्रथा शुरु भएको हो, तर पछि गएर सती प्रथाले कडाईका साथ मृतकका पत्नीहरूलाई सती जान बााध्य बनाउन थाल्यो र यो प्रथा भारतीय उपमहाद्विपको एक ज्यादै क्रुर प्रथाको रूपमा रहिरह्यो सयौँ वर्षसम्म।
आजको नेपाली भूभागमा सती प्रथा इशापुर्व ४६४ तिर शुरु भएको अनुमान लगाइएको छ। भारतवर्षमा मुगल सम्राट अशोकले सन् १५८२ र औरङ्गजेवले सन् १६६३ मा सती प्रथा उन्मुलन गरेको भएता पनि अधिकांश हिन्दूहरूले लुकिछिपी यो कुप्रथालाई कायमै राखेका थिए।
पछि पोर्चुगिज, फ्रेन्च र बेलायतीहरूले भारतका आजका कैयन् क्षेत्रमा राज गर्दा सती प्रथा उन्मुलन गरेका र सन् १८५० मा त इस्ट इन्डिया कम्पनीका बेलायती अधिकृत सर चाल्र्स नेपियरले महिलालाई सती जान बााध्य गराउनेहरूलाई फाँसीको सजाय दिन सकिने कानुन बनाएपछि भने सती प्रथा विस्तारै मत्थर हुँदै गयो। त्यस्तै बेला भारतका एकजना रजौटा राजा राममोहन रोयले पनि सती प्रथा विरुद्ध अभियान नै चलाएका थिए।
भारतमा इस्ट इन्डिया कम्पनीले भारत पस्ने मौका पाउने बित्तिकै वङ्गालमा चलिआएको सती प्रथाको उन्मुलनमार्फत सुधारवादी कार्य गरेको भनेर यो कुरितिलाई आमजनता माझ लोकप्रिय हुने र धर्म परिवर्तन गराउने समेत हतियार बनायो।
इस्ट इन्डिया कम्पनीका एकजना अङ्ग्रेजले त त्यतिबेला सती जान पतिको चितामा बसिसकेकी महिलासँग आफू बिहे गर्न तयार भएर उनीसँग विवाह नै गरेर उनको जीवन बचाएका पनि थिए। त्यस्तै आफू खुशी सती जाने र जवर्जस्ती सती जान वाध्य बनाउनेहरूको निम्ति कडा कानुन समेत बनाए अङ्ग्रेजहरूले।
नेपालमा पनि जङ्गबहादुरले आफू प्रधानमन्त्री छँदा नै नयाँ मुलुकी ऐन मार्फत यो प्रथाको अन्त गर्न खोजेका थिए। तर त्यतिबेलाको सामाजिक परिवेशले गर्दा यो कुरामा उनी त्यति सफल भएनन्। आखिर चन्द्रशमशेरको पालामा यो सम्भव हुन गयो।
जङ्गबहादुरले सती प्रथा उन्मुलन गर्न सकेनन् तर सत्ताको निम्ति भित्र भित्र चलिरहेको षडयन्त्रको क्रममा उनका अति मन परेका र त्यतिबेलाका शक्तिशाली रानीहरूलाई चितामा बसेर सती जान छानिएको थियो।
आफ्नो परिवार र श्रीमतीहरू प्रति अतिशय मोह भएका चन्द्रशमशेरले पनि दुनिया वा समाजको परिवर्तन गर्ने हेतुले सती प्रथा हटाएको नभई आफ्ना रानीहरूले आफ्नै पार्थिव शरीरमा जलेर मर्न नपरोस् भनेरै यो प्रथाको उन्मुलन गरेका हुन्।
त्यतिबेला आफू मरेपनि आफ्ना नजिकका रानीहरू बाँचे भने तिनको प्रभाव आफ्नो पक्षको राजनीतिमा परिरहने भएकाले आफ्ना सन्तती नै शक्तिमा रहिरहने सम्भावना बढी हुने गर्दथ्यो।
तर पनि सती प्रथालाई आत्मदाहकै संज्ञा भने दिन मिल्दैन। आत्मदाह आफू स्वयम्ले आफ्नो शरीरमा आगो लगाउने प्रकृया हो भने सती जाँदा पतिको शवसँगै पत्नीहरूलाई पनि जलाउने प्रथा हो।
सती एक क्रुर पितृसत्तात्मक प्रथा भएता पनि त्यतिबेलाका महिलाहरूले मन भित्र भयानक डर हुँदा हुँदै पनि पति मरेपछि बाँच्न केही सिप नलाग्ने भएकोले चुपचाप आफ्नो मृत पतिको चितामा गएर बस्न वाध्य हुने गर्दथे।
लिच्छवी राजा मानदेवले आफ्नी आमालाई सती जानबाट रोकेका थिए। यस्ता घटनाहरू लिच्छवी शासनकालका राजप्रासादमा धेरै पटक घटेका थिए। अर्को अर्थमा त्यतिबेलाका शासक वर्गमा सती प्रथालाई त्यति अनिवार्यताका साथ लागू गरिएको थिएन, तर आमजनतामा भने त्यतिबेलाको सामाजिक परिपाटीले गर्दा यो प्रथा अनिवार्य जस्तै नै थियो।
चिनियाँ वौद्ध भिक्षुहरूले आजभन्दा १,८०० वर्ष पहिलेदेखि नै राजनैतिक र धार्मिक कारण देखाएर आत्मदाह गरेका घटनाहरू ऐतिहासिक दस्तावेजहरूमा भेटिन्छ। सुख्खा याममा वर्षा गराउन देउतालाई खुशी पार्ने हेतुले पनि चीनमा परापूर्वकालमा त्यहाँका धार्मिक नेताहरूले चर्को घाममा कुनै पहिरन विना बसेर शरीरमा जलन गराउने कार्य गर्दथे र यो क्रममा कैयन्को मृत्यु पनि हुन्थ्यो।
चीनमा पछिल्ला समयमा खासगरी धार्मिक स्वतन्त्रता र तिव्वतको स्वतन्त्रताको पक्षमा आत्मदाह भएका घटनाहरू घटेका छन्। यस्तै क्रममा काठमाडौँको बौद्धमा एक तिव्वती भिक्षुको सन् २०१३ मा तिव्वती स्वतन्त्रताकै पक्षमा आत्मदाह गरेर मृत्यु भएको थियो।
नेपालमा तिव्वती भिक्षुहरूले आत्मदाह गरेका वा गर्ने प्रयत्न गरेका कैयन् घटनाहरू छन्। यसै क्रममा लुम्बिनीको उचित विकास हुनु पर्ने र वौद्ध धर्मको संरक्षण गरिनु पर्ने माग सहित एकजना बौद्ध भिक्षुले राजा वीरेन्द्रको सक्रिय शासनकाल यानी पञ्चायती कालमा नै नारायणहिटी राजदरवार अगाडि आत्मदाहको प्रयत्न गरेका थिए।
रुस तथा फ्रान्सका केही कट्टर पादरीहरूले जेजस क्राइस्टले आफ्नो अन्तिम समयमा पाएको सकसलाई सम्झेर आफ्नो शरीरका विभिन्न अङ्ग, खासगरी तिघ्रा जलाएर, आफूलाई सकस पु¥याउने काम गरेको घटना पनि इतिहासमा छँदैछ। रुसको एउटा गाउँमा भएका पादरी र पुरै गाउँवासीले पुरातन धार्मिक विश्वासमा गरेको आत्मदाहलाई क्रिस्चियनहरूले ‘फायर व्याप्टीज्म्’ भन्दा रहेछन्।
सन् १९७० र ८० को दशकमा तत्कालिन सोभियत संघ र पुर्वी युरोपका कम्युनिष्ट मुलुकहरूमा पटक पटक आत्मदाहका घटनाहरू घटे। अधिकतर त्यस्ता घटनाहरू राजनैतिक स्वतन्त्रतासँग नै सम्बन्धित थिए।
हाम्रो छिमेकी राष्ट्र भारतमा पनि विभिन्न आर्थिक र सामाजिक विषयलाई लिएर सरकारलाई सचेत गर्न आत्मदाह गरेका धेरै घटनाहरू घटेका छन्। सन् २००० र २००१ मा मात्र भारतमा करिव ३,००० आत्मदाहका घटनाहरू घटेका थिए र ती मध्ये अधिकांश घटना दलित र उत्पीडितको हक र अधिकार संरक्षण तथा शिक्षा, रोजगारी तथा अन्य महत्वपूर्ण पक्षहरूमा आरक्षण दिनु पर्ने विषयमा केन्द्रित थिए।
सन् १९६० र ७० को दशकमा दक्षिणी भियतनाममा अमेरिकी प्रभुत्व भएको बेलामा क्रिष्चियन धर्म फैलाउने कार्यको विरोधमा बौद्ध भिक्षुहरूले पटक पटक आत्मदाह गरेर धर्म प्रचारको कार्य रोक्न दवाव दिएका थिए भने अमेरिकी जनतालाई आफ्नो सरकारको भियतनाम माथिको अत्याचार र धर्मप्रचार बारेको सन्देश दिन अमेरिकामा नै पनि आत्मदाह गरेका थिए।
यस समयमा त्यहाँ झण्डै १०० आत्मदाहका घटनाहरू रेकर्ड गरिएका थिए। भियतनामबाट शुरु भएको आत्मदाहको क्रम अन्य सुदुरपुर्वी राष्ट्रहरूमा पनि सरेको थियो। बर्मामा सैनिक शासनको विरोधमा र बौद्ध धर्मको संरक्षणको पक्षमा धेरै भिक्षुहरूले पटक पटक आत्मदाह गरेका छन्।
इरानमा सन् १९७९ को जनक्रान्ति पश्चात राजतन्त्र हटाएर कट्टर इस्लामिक शासन शुरु भएपछि मुलुकलाई सामाजिक रूपमा आदिम युगतिर फर्काउन लागेको विरोधमा धेरै आत्मदाहका घटनाहरू घटेका थिए।
उत्तरी अफ्रिकी तथा मध्यपुर्वी राष्ट्रहरूमा पनि राजनैतिक स्वतन्त्रताको पक्षमा आत्मदाह गरेका धेरै रेकर्डहरू छन्। कैयन् मुलुकहरू जस्तै अमेरिका, जापान, ताइवान, अष्ट्रेलिया, टर्की आदिमा जलवायु परिवर्तन, कोभिड आचार संहिता, रोजगारी आदि विषयमा केन्द्रित भएर पनि आत्मदाहका प्रयासहरू भइ नै रहन्छन्।
हालका दलाई लामाले एक अन्तरर्वार्तामा आत्मदाहलाई शान्तिप्रिय आन्दोलनको एक अङ्गको रूपमा बौद्ध धर्मावलम्वीहरूले अपनाउने गरेको विचार व्यक्त गरेका छन्।
उनको विचारमा यस्तो आत्मदाहले आफूलाई मात्र पीडामा पारेर मृत्यु अँगालेर सरकारलाई दवाव दिने काम गरिन्छ, जबकी शरीरमा बम राखेर आत्मघाती हमला गर्दा धेरै धनजनको क्षति हुन जान्छ र त्यस्तो कार्यले समाजमा अशान्ति मच्चाउँछ।
आत्मदाह एक प्रकारले आत्महत्या नै हो। तर आफ्नो निम्ति भन्दा पनि समाजको हितको निम्ति आत्मदाह गरेर मर्ने व्यक्ति शहिदको रूपमा गनिने भएता पनि उनको मृत्यु निक्कै कष्टकर हुने गर्दछ।
आत्मदाह गर्ने व्यक्ति कदाचित बाँचिहाल्यो भने पनि उसका धेरै अङ्गहरूले काम नगर्ने गरी कुरुप अवस्थामा बाँकी जीवन व्ययतित गर्न उ बााध्य हुन्छ। निरीह र सोझा राजनैतिक कार्यकर्तालाई एक प्रकारले एकोहोर्याएर यस्ता कार्य गर्न उक्साउने परिपाटी पनि विभिन्न उग्र विचार राख्ने राजनैतिक र धार्मिक गुटहरूमा अझै रहेको पाइन्छ।
आत्मदाह गर्ने व्यक्तिहरूले सो कार्य गर्नु भन्दा पहिले अति प्रज्वलनशील पदार्थ आफ्नो शरीरमा खनाउँछन्। तत्पश्चात शरीरमा आगो पर्ने वित्तिकै आगोको लप्काले तिव्रता पाउँछ र व्यक्तिको छाला डढेर भित्री तहसम्म ह्वात्तै जल्छ र उसको शरीरका साना रक्त कोशिका र स्नायु प्रणालीलाई नराम्ररी जलाईदिन्छ।
आगोको निलो र अदृश्य लप्का नाक र मुखबाट फोक्सो तथा पेटमा पुगेर फोक्सो तथा शरीर भित्रका अङ्गहरूलाई पनि नराम्ररी पोली दिन्छ। यो प्रकृयामा शरीरको रगत र पानी समेत घट्न गएर विभिन्न प्रकारका जटिलताहरू पैदा हुन्छन्।
आत्मदाहको प्रयास पश्चात सो व्यक्तिको शरीरको आगो निभाएर अस्पताल पुर्याइए पनि यदि शरीरको सुरक्षा कवचको रूपमा रहेको अधिकांश छाला नै डढेको छ भने ज्यादै पीडादायी तवरले शरीर पोल्न थाल्दछ।
स्नायु प्रणाली र रक्त नली ध्वस्त हुनाले शरीरका भित्री भागहरूमा पनि रक्त सञ्चार कम हुँदै जान्छ र पोल्न थाल्छ। यस्तो परिस्थितिमा जलेको मानिस कुनै पनि बेला बोल्दा बोल्दै मर्न सक्दछ। यदि बाँचेको खण्डमा पनि यस्तो जलनको घाउ निको हुन ज्यादै गाह्रो पर्दछ।
हालैको प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणलाई केही सञ्चार माध्यम र सामाजिक सञ्जालले डिप्रेशनको चरम अवस्थाको रूपमा मात्र हेरेको देखियो।
राज्यले पनि कुनै पनि घटना घटेपछि औपचारिकता निभाउन एउटा छानबिन आयोग बनाउने परम्परा नै बसिसकेको छ, तर समस्या जहाँको तहीँ नै रहिरहन्छ।
यस्ता घटना समाजमा किन घट्छन्, विभिन्न आर्थिक, राजनीतिक तथा सामाजिक मुद्दाहरूमा सरकारले आँखा चिम्लिएर बसेपछि एक थरी भ्रष्ट, बदमास र बाठा समुदायले मात्र तर् मार्ने र बाँकी आमजनताको जीवनचर्या ज्यादै कठिन हुने तथा आमजनतालाई माथि उठाउन सरकार र अन्य निकायले के के गर्नुपर्छ भन्ने कुरामा कुनै पक्षले पनि विशेष ध्यान नदिए पछि विभिन्न प्रकारका विरोधका कार्यक्रमहरू अघि बढाउन जनता बाध्य हुन्छन्।
ती मध्येकै सबैभन्दा भयावह तरिका हो आत्मदाह। त्यसैले आत्मदाह डिप्रेसनको मात्र लक्षण हुँदै होइन।
यो घटनालाई साधारण तवरमा मात्र हेर्नु वास्तवमै ज्यादै गलत कुरा हो। लामो समयसम्म नेपाली जनताले राजनीतिक रूपमा पाएका चरम धोखा र राज्यको अवहेलना र लापरवाहीका कारण भित्र भित्र पिल्सिएका आवाजहरू बाहिर निस्कन लागेको संकेत हो यो।
फटाहा र टाठा-बाठाले लुटेर र चुसेर खाने जमानामा सोझो किसिमले नेपालमा कुनै इलम वा व्यवसाय गरेर जिविकोपार्जन गर्न नसकिने भएकोले या त सरकारले जनताको जीवनस्तर उकास्न र समृद्धि तथा सुशासनको निम्ति विशेष पहल गर्न सक्नु पर्दछ, या राज्यले ज्याद्रो नै भएर आउँदा दिनहरूमा आमजनसमूदायको विशाल भिड, प्रदर्शन र विरोधका कार्यक्रमबाट आफ्नो आक्रोश पोख्ने क्रमसँग जुध्ने सामथ्र्य राख्न सक्नु पर्दछ।
संक्षेपमा भन्नु पर्दा सरकारको लाचारी, लापरवाही, गैह्रजिम्मेवारी र आमजनता प्रतिको बेवास्ताको भयानक रूप नै हो आत्मदाह।
लेखक विकास अर्थशास्त्री र पूर्वबैंकर हुन् ।
Facebook Comment