कथा : रासलिला
‘भगवान् श्रीकृष्णसँग वृदावनमा रास लिला गर्ने १०८ गोपनीहरू कसैका पत्नी पनि थिए। आफ्ना पतिलाई छोडेर भगवान् कृष्णसँग रासलिला गर्न आएक थिए।’
अस्ति, एक हप्ता पहिले, मेले यो कुरा भावना दिदीलाई भन्दा उहाँको मगज खल्बलिएको थियो। प्रतिवाद गर्दै भन्नु भएको थियो, ‘तिमीहरू जस्तो अल्प ज्ञानीलाई कुनै विषयको केवल बोक्रे अर्थ मात्र थाहा हुन्छ। भित्र गुदीमा के अर्थ छ त्यो थाहा हुँदैन।’
‘भित्र गुदीमा के अर्थ छ त भावना दिदी?’ मैले उहाँको विचार जान्न खोजेको थिएँ।
‘भगवान् कृष्णसँग रासलिला गर्ने ती गोपनीहरू यथार्थमा कसैका पत्नी होइन। ती राधाका नै अनेक रुपहरू हुन्। तिनीहरू प्रेमका अनेक रुपमा राधा हुन्। पुरुष र नारी बीचको प्रेमलाई दर्शाउन र जीवनमा प्रेमको महत्व अनुभूत गर्न भगवान्ले रासलिला गर्नु भएको हो। गोपनीहरूको श्रृजना गर्नु भएक हो। काम वासनामाको वशीभूत भएर रासलिला गर्नु भएको होइन।’
भावना दिदीको यो भनाइले मलाई सन्तुष्ट पार्न सकेको थिएन। मैले भनेको थिएँ, ‘भावना दिदी, भगवानले अनेक युवतीहरूको रुप र यौवनको आनन्द लिन रासलिला गर्नु भएको हो। वृन्दावनमा भगवान कृष्णले गर्नु भएको रासलिला के पुष्टि गर्छ भने भगवान् निकै कामुक हुनु हुन्थ्यो र जहिले पनि आफ्नो वरिपरि सुन्दर युवतीहरू राख्नु उहाँको उद्देश्य हुन्थ्यो। होइन त?’
‘तिमीहरू जस्तो अल्प ज्ञानीसँग म कुरा गर्दिन।’ भावना दिदी बढीनै क्रोधित हुनु भएको थियो।
त्यो दिन म भावना दिदीकहाँ ढिलोसम्म बसिन। म जति ढिलोसम्म त्यहाँ बस्यो उहाँको मुड त्येतिनै मैले खराब गरिदिने अनुमान गर्दै म हिँडेको थिएँ। भावना दिदीले साँझको पूजा गर्ने समय पनि हुन थालेको थियो। म हिंड्दा साँझ परिसको थियो।
कृष्णको पक्का भक्त भावना दिदी लामो समय लगाएर कृष्णको पूजा गर्नु हुन्छ। श्रीमद् भगवद् गीताका अनेक श्लाेकहरू उहाँलाई याद छन्। ती श्लोकका अर्थ मात्र होइन तिनका भावलाई पनि विस्तारमा भन्न सक्ने क्षमता राक्नु हुन्छ।
कुनै पुरुषले कुनै महिलासँग कुनै होटलमा रात बिताए त्यो स्थिति त्यो पुरुषको लागि बहादुरी हुने तर कुनै महिलाले कुनै पुरुषसँग कुनै होटलमा रात बिताए त्यो स्थिति त्यो महिलाको लागि बेइज्जति हुने? म यस्ता कुराहरुमा विस्वास गर्दिन।
कहिले काहि मैले भावन दिदी तपाइँ त विदुषी गार्गी नै हो पनि भनिदिने गरेको छु। देवताहरू मध्ये सर्वाधिक श्रद्धा भावना दिदीले भगवान् कृष्णलाई गर्नु हुन्छ।
उमेरमा चालिस वर्षको नजिक पुगिसकेको भावना दिदी परिवारमा, आफ्ना मातापितासँग नै बस्नु हुन्छ। गृहस्थी जमेको छैन। विवाह भएको छैन। विवाह नभए पछि सन्तान हुने कुरा पनि भएन। तर स्वावलम्बी जीवन भने बाँच्नु भएको छ।
कलेजको प्रोफेसरको जागिरले उहाँलाई हात खोलेर खर्च गर्न दिएको छ। वृद्ध मातापिताको खर्च पनि उहाँले नै धान्नु भएको छ। दिदीका चार दाजुभाइहरू त छन् तर कसैले पनि हेर्दैनन्, आफ्ना मातापितालाई।
मातापिता, नातागोतालाई राम्रो गरी हेर बिचार गर्नेमा उहाँ चर्चित नै हुनु हुन्छ। त्येतिकै चर्चित, असल चरित्र र शुद्ध आचरणका लागि पनि हुनु हुन्छ। टोल छिमेकमा भावना दिदी अलि कडा महिलाको रुपमा कहलिएकोले न त युवा कालमा न त पछि नै कुनै युवकले उहाँसमक्ष प्रेम प्रस्ताब राख्न सके।
‘विवाह किन नगर्नु भएको भावना दिदी?’ मैले कतिपटक प्रश्न गरिसकेको छु।
‘जीवनमा विवाह गर्न के अनिवार्य छ? के विवाह नगरी बाँच्न सकिँदैन? म कसैको अधिनमा रहेर बाँच्न चाँहिदन, स्वतन्त्र भएर बाँच्न चाहन्छु, पुरष बिना। यौन भनेको रहर हो, आवश्यकता होइन’ उहाँले जहिले पनि दिने जवाफ यही हो। त्यसकारण आजकाल मैले भावना दिदीलाई विवाह बारे प्रश्न गर्न छाडिदिएको छु।
एक महिना पहिले म भावना दिदीको घर जाँदा पनि त्यस्तै चर्को बहस भएको थियो। उहाँले झर्को मान्दै भन्नु भएको थियो, ‘चेतना, तिमीले जहिले पनि चाहिने नचाहिने, केवल सुनेको भरमा, कल्पना गरेर, अनेक कुरा गर्ने गरछेउ। कसले भन्यो तिमीलाई राधा, भगवान् कृष्णकी केवल प्रेमिका मात्र थिन भनेर।
कसले भन्यो तिमीलाई राधा र कृष्ण कहिलै सँगै बस्न पाएनन भनेर। केवल कृष्णको यादमा नै राधाले आफ्नो सम्पूर्ण जीवन बिताइन् भनेर। राधाको पति हुँदा हुँदै पनि उनले केवल कृष्णलाई प्रेम गरिन् पतिलाई गरिनन्, कृष्णको विवाह रुक्मिणीसँग भएको थियो, राधासँग होइन भनेर। अनि यी कुरा कसरी तिमीलाई थाहा भयो चेतना?’
राधाकृष्णको प्रेम प्रसंग मैले नै उठाएको थिएँ। मैले भनेका कृष्ण, रुक्मिणी र राधा सम्बन्धी कुराहरू सत्य पनि थिए। भावना दिदीलाई, यो उमेरमा अनेक तर्कहरू सुनानएर उहाँलाई मनोवैज्ञानिक रुपमा बिवाहको लागि तयार पार्ने मेरो उद्देश्य होइन।
न त प्रेम, यौन र सम्भोग बिना मानिस बाँच्न सक्तैन भन्ने कुरा उहाँलाई प्रमाणित गरिदिने नै मेरो उद्देश्य हो। मेरो उद्देश्य, केवल हाम्रो जीवनमा हामीलाई, समय अनुसार प्रेम, यौन र सम्भोगको आवश्यकता पर्ने रहेछ भन्ने कुरा, जुन मेरो मनमा लागेको छ, त्यो भावना दिदीलाई अनुभूत गराउनु मात्र हो।
मैले उठाएको राधाकृष्णको प्रेम प्रसंग भावना दिदिलाई पटक्कै मन परेको थिएन। उहाँले भन्नु भएको थियो, ‘हेर चेतना, हामीले भगवानकाे, देवी देउताको चरित्रमाथि प्रश्न उठाउने होइन। हामीले त केवल स्रद्धा गर्न हो। बिना कुनै शंका भगवान् माथि विश्वास गर्ने हो। केवल श्रद्धा, भक्ति प्रकट गर्ने हो।’
केही महिना पहिले म भावना दिदीको घरमा पुगेको थिए। घरमा कोही पनि थिएन। दिउँसोको समय थियो। उहाँका वृद्ध माता पिता छिमेकतिर घुम्न जानु भएको थियो। मैले त्यस्तै अनुमान गरें। तर म पुगेको केही क्षण पश्चात नै उहाँ आइपुग्ने भएको थियो।
त्यसै दिन हामीले त्यस हप्ताको अन्त्यमा कोटी लिंगमा पूजा गर्न जाने योजना बनाएका थियौं। त्यहाँ पूजा गर्ने जाने योजना भावना दिदीले नै बनाउनु भएको थियो। मैले केवल साथै गइदिनु पर्नै थियो।
हामी कोटी लिंग बिहानै पुगेका थियौ। पूजा गर्ने भक्तहरूमा पुरुष भन्दा महिलाहरूको संख्या नै बढी थियो। भक्तहरूले लिंगहरूको परिक्रमा गर्दे भगवान् शिवप्रति आफ्नो अगाध श्रद्धा र भक्ति पर्दशित गर्दै थिए। म र भावना दिदी पनि परिक्रमा गर्दै, पूजा गर्दै, लिंगप्रति आफ्नो भक्ति अर्पण गर्दै थियौं।
‘भावना दिदी, नेपालमा मात्र योनी र लिंगको पूजा हुन्छ, संसारको अन्य कुनै मुलुकमा हुँदैन। त्यस्तो हो?’, मैले परिक्रमा गर्दै प्रश्न गरेको थिएँ।
‘तिमी उल्टो उल्टो कुरा मात्र गरछेउ। कसले भन्यो त्यस्तो?’
‘पशुपतीनाथमा लिंगको पूजा हुन्छ भने गुहेश्वरीमा योनीको पूजा हुन्छ’, मैल प्रमाण पेश गरेको थिएँ।
‘योनी र लिंग केवल सृष्टिका स्रोत मात्र होइन, ती प्रेमका प्रतीक पनि हुन्। आनन्द र सन्तुष्टिका स्रोत हुन्। जसरी योनी र लिंग बिना सृष्टि चल्न सक्तैन त्यसैगरी योनी र लिंग बिना प्रेम हुँदैन, यौन हुँदैन, सम्भोग हुँदैन, विवाह हुँदैन, परिवार हुँदैन, समाज चल्दैन।’ मैले थपेको थिए।
‘यी कारणहरूले गर्दा पनि योनी र लिंगको महत्व हरेक संस्कृतिमा स्वीकार्य छ। नेपालमा त योनी र लिंगको पूजा नै हुन्छ।’ मेरो तर्कको पुष्टिको लागि भनेको थिए।
‘तिमीले कलेज पनि समाप्त गरेकी छैनौ, चेतना। अहिलेदेखि दार्शनिक कुरा गर्न थालिसक्यौ’, भन्दै मतिर हेरेर भावन दिदी नैकै बेर हाँस्नु भएको थियो।
भावना दिदीकहाँ गएको एक वर्ष भइसको छ।
आज विहान समाचारपत्रमा छापिएकोले एउटा खबरले मलाई विचलित पारिदिएको छ। समाचारपत्रमा, एक होटलका अनेक केठाहरूमा एक दर्जन यौनकर्मीहरू आपत्तिजनक अवस्थामा प्रहरीद्वारा समातिएको खबर छापिएको खबर छ।
कतिपय महिला पुरुषहरू सम्भोगरत अवस्थामा नै थिए रे, प्रहरी बलपूर्वक ढोका फोडेर कोठाभित्र पसेर हेर्दा, समाचारले उल्लेख गरेको छ। त्यो समाचारपत्रमा त्यसरी समातिने महिला पुरुषहरूको तस्वीर पनि छापिएको छ तर उनीहरूको मुख रुमालले छोपिएको छ। चिन्ह नसकिने गरी।
म त्यो खबरबाट विचलित भएको कारण के हो भने मेरो कलेजको साथी रिता पनि त्यस होटलमा समातिएको हो कि भन्ने अनुमान मैले गरेको छु। तर म निश्चित हुन सकेको छैन। समातिएकी एक महिलाले लगाएको कपडा रिताले लगाउने कपडासँग ठ्याक्कै मिलेको छ।
तर मुहार देख्न नसकेको हुनाले रितानै हो भनी मैले यकिन गर्न सकेको छैन। तैपनि ममा एक किसिमको बैचनी छ। रितालाई बदमान गर्नेहरूले थप मसला पाउने भए सोच्दै चिन्तित छु।
अहिले म रिताको घरामा आइपुगेको छु। रितासँग भेट भयो। उनी सित कुरा पनि गरिरहेको छु। आफूले रिता उपरशंका गरेको रत्ति भर सुईंको उनलाई हुन दिएको छैन। तर रिता माथि मैले शंका गर्नुको कारण छ। र त्यो कारण बलियो पनि छ।
रिताको मिजास रंगीन किसिमको छ र दिमाग खुला किसिमको। उनेल धेरै पटक भनेकी छन्-कुनै पुरुषले कुनै महिलासँग कुनै होटलमा रात बिताए त्यो स्थिति त्यो पुरुषको लागि बहादुरी हुने तर कुनै महिलाले कुनै पुरुषसँग कुनै होटलमा रात बिताए त्यो स्थिति त्यो महिलाको लागि बेइज्जति हुने? म यस्ता कुराहरुमा विस्वास गर्दिन।
कुरैकुराबाट रिता होटलमा भएको त्यो घटनामा संलग्न नरहेको मलाई प्रस्ट भएको छ।
रितासँग कुरा गर्दागर्दै घर फर्कने योजगा गरें। घर फर्किँदै छु। तर मनमा एउटा विचार आयो। भावना दिदीलाई पनि भेट्दै जाउँ। मनले भन्यो-हिंड जाउँ। बाटोमा नै त पर्छ भावना दिदीको घर।
भावना दिदीको घर जाने बाटोमा छु।
आज विहान पढे खबर भावना दिदीलाई पनि सुनाउने निधो गरें। त्यसरी समातिनेहरूलाई भावना दिदीले अनेक गाली गर्ने, पतीतहरू समेत पनि उहाँले भन्ने मैले कल्पना गरें।
भावना दिदीको घरमा आइपुगेको छु। भावना दिदीका मितापितालाई भेटें। हामी सबै बैठकमा छौ। दिदीका मातापिता थकित, गलित मुद्रामा देखिनु भएको छ। साँझसम्म पनि छोरी घर नआएकोले उहाँहरू चिन्तित भएको मैले अनुमान गरेको छु।
वातावरण एकदम शान्त छ। कोही बोल्ने मनस्थिति छैन। किन होला? आफैसँग प्रश्न गर्छु।
‘आमा, भावना दिदी साँझपर्दा सम्म पनि घर नआएकोमा चिन्तित हुनु भएको हो?’, म प्रश्न गर्छु।
भावना दिदी बालक हो र? हराउनु हुन्छ भनी चिन्ता गर्नु भएको? आउँदै हुनु हुन्छ होला। आज भोलि बसमा निकै भिड हुन्छ, ट्राफिक जाम पनि उस्तै। काठमाडौको जाम त संसारमा प्रख्यात होला।’ म दुबै जनालाई आवस्वस्त पार्न खोज्छु।
‘नानी, भावनाले त हाम्रो नाकनै काटी दिई।’
भावना दिदीको पिताले भनेको यो कुराले म अत्तालिएँ। भावना दिदीले यस्तो उस्तो, परिवारको लागि नाक काटिने कार्य गर्नु हुन्न भन्ने मा विश्वस्त छु। मलाई आफ्नो चरित्रमाथि जति विश्वास छ त्यो भन्दा बढी भावना दिदीको चरित्र माथि विश्वाश छ। म बरु भावनामा बगरेर, जे पनि गरिदिने स्थितिमा पुग्न सक्छु।
‘भावना दिदीले त्यस्तो के गर्नु भयो आमा? कसैसँग झगडा गर्नु भयो?”, म प्रश्न गर्छु। उत्तर पाउन ब्यग्र पनि हुन्छ।
आज विहान काठमाडौको एउटा होटलको अनेक कोठाहरुमा महिलापुरुषहरू आपत्तिजनक अवस्थामा सामातिएको खबर पढेऊ चेतना?, आमाको यो प्रश्नले म अलि सशंकित भएको छु।
‘पढें आमा’, मेरो जवाफ।
‘त्यसरी त्यस होटलका अनके कोठाहरूमा समातिने अनेक महिला पुरुषहरू मध्ये भावना पनि एक हो। भावनाले नै हामीलाई फोन गरेर भनेकी हो’, त्यो घटनाबारे……..।, आमाले दिनु भएको यो जानकारीले मलाई पातालमा पुर्याएको छ।
‘अब हामी सोच्दै छौं, भावनालाई यो घरमा पस्न नदिने वा हामीहरू नै यो घर छाडेर अन्त कतै जाने।’ भावना दिदीको पिताले भन्नु भएको यो कुराले मेरो मनमा आगो नै बालिदिएको छ।
म, भावना दिदीका मातापिता, सबै शान्त छौ। कुरा कसरी अगाडि बढाउने केवल सोचिरहेका छौं। एक अर्कालाई केवल हेरिरहेका छौं। साँझ छम्मक्क भएर एक प्रहर बितिसकेको छ।
Facebook Comment