पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह
घोराही। दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ।
अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ पुनले बताए। जिल्ला बाहिरबाट पनि सर्वसाधारण घुम्न आउने गरेको उनको भनाइ छ। दैनिक सरदर ४० जना यहाँ आउने गरेका छन्। मङ्सिरदेखि वैशाखसम्म बढी भीड हुन्छ।
पुनले तीन वर्षदेखि दहमा डुङ्गा चलाइरहेका छन्। मासिक रू १५ हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। एक सय २० मिटर गहिरो उक्त दहको १२ बिघा क्षेत्रमा पानी छ भने वरिपरीको क्षेत्रफल पाँच किलोमिटर छ।
ज्यामिरे दहलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले डुङ्गा सञ्चालन गरिएको छ। यहाँ डुङ्गा सवार गर्न, पौडी खेल्न र वनभोजका लागि सर्वसाधारण पुग्ने गरेका छन्। प्राकृतिक रूपमा रहेको उक्त दह बवरपर पर्खाल निर्माण गरिएको छ।
बिदाको समय तथा चाडपर्वमा डुङ्गा शयर गर्नेको घुइँचो लाग्छ। डुङ्गा शयर गरेबापत एक जनाबाट रु ५० लिने गरिएको छ। ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै यहाँ व्यापारसमेत बढेको घोराही उपमहानगरपालिका–१३ कमलघारीकी गीता नेपालीले बताइन्। उनी चार वर्षदेखि ज्यामिरे दहनजिकै व्यापार गर्दै आएकी छन्।
दह रहेको क्षेत्रमा प्रतिक्षालय र खानेपानीको व्यवस्था भए सहज हुने स्थानीय टीकाराम गिरी बताउँछन्। प्रतिक्षालय नहुँदा घुम्न आउनेलाई समस्या भएको छ। “यस क्षेत्रको विकास गर्न सके धेरै सम्भावना छन्”, उनले भने। यसलाई पर्यटकीय हब बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनकोे भनाइ छ। – रासस
Facebook Comment