निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

डिसी नेपाल
४ फागुन २०७९ १०:४९

ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन्। अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए।

सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए। उनी भन्छन्, “आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन्।”

वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ।

स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको बताए। पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने छ। “स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीलाई स्कूल पठाउनै डर छ”, उनले भने।

अघिल्लो वर्ष निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नं ७ को कुतखोलाघाट, वडा नं ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नं १ को माराघाट तथा वडा नं २ धौलेघाटमा पुल निर्माण गरिएको थियो। रु दुई करोड पाँच लाखको लागतमा ती पुल निर्माण गरिएका गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए। यस वर्ष रु तीन करोड ६४ लाखको लागतमा आठ पुल निर्माण भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *