नेपालको लगातार तेस्रो जित, आसिफ र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारी
काठमाडौं । विश्वकप लिग दुई अन्तर्गत नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको हो ।२७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरे । उनीहरुले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका हुन् । जुन एकदिवसीय अन्तराष्ट्र्रियमा नेपालका लागि हालसम्मकै उच्च साझेदारी हो ।
आसिफ शेखले ८१ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ६५ रन बनाएर आउट भए । यस्तै अर्का ब्याटर कुशल मल्लले पनि अर्धसतक बनाएर आउट भए । उनले ४९ बलमा ६२ रन बनाए । कप्तान रोहित पौडेलले ३९ रन बनाए भने दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल १-१ रनमा आउट भए। बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यान र बर्नार्ड स्कोल्जले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।
नामिबियाका लागि जेन ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको साझेदारी गरे । ग्रिनले ७५ रन बनाएर नटआउट रहँदा फ्रान्स ४९ रनमा रनआउट भए । यस्तै रुबेन ट्रम्पलम्यानले २४ बनाए भने लरेन्सले ४१ बनाउँदा माइकल भान लिंगेनले २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४६ रन खर्चिए । यस्तै करन केसीले एक विकेट लिए भने अन्य बलर विकेटबिहिन रहे ।
यसअघि नेपालले नामिबियालाई २ तथा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । नेपाल २७ खेलमा ११ जितसहित २४ अंक जोडेर अंक तालिकाको छैठौँ नम्बरमा रहेको छ ।
Facebook Comment